हरदम बढ्नु मेरो प्रकृति हो,क्षण-भरमा बदलिनु मेरो परिचय, हिजोलाई छाडी, आजको बाटो हुँदै भोलिमा जानु मेरो लय । रुप फरक पार्दै परिस्थितिसँग ठोक्किनु मेरो बहाव, आफ्नो कर्मले त्यही परिस्थिति बदलिने, मेरो प्रभाव ।। म केही हैन एक दृष्टिले,म ब्रहाण्ड अर्को दृष्टिले, मेरो क्षमतामै पर्छ सृष्टि रच्ने,मलाई जन्माएको फेरि सृष्टिले। म तुच्छ कीरा पलमा,पलमा म विराट् वृक्ष , पलमा म ब्रहाण्ड त पलमा यसलाई घुमाउने अक्ष ।। शक्तिको मुहान म नै हुँ, तर उसैको रुपमा अल्मलिने म जति छैन कोही , म स्वयं गन्तव्य हुँ, तर ममा आउने बाटो बिर्सिने म जस्तो छैन कोही। म हर वस्तु, हर प्रश्नले मागेको परिभाषा हुँ,तर म भन्दा ठुलो प्रश्न पनि छैन , म हर संकटको समाधान हुँ,नयाँ आयाम हुँ,तर म भन्दा ठुलो संकट पनि छैन।। बनाउने म, मिलाउने म,बिगार्ने पनि त मै हुँ, बढाउने म, फलाउने म,अनि माटोमा मिलाउने पनि त मै हुँ । म समय हुँ, म प्रकृति, अनि म नै त शून्य पनि, म विचार हुँ,म आविष्कार हुँ, अनि हर निर्माणको जन्य पनि ।।
DhungelRicha · Jul 13, 2009 9:18 AM · 99 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion