कथा- "बाँचेको मान्छे"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज पनि बाऊले गाली गरे। सधैंजस्तै आज बिहान पनि ऊ अलिक ढिला गरेर खाना खान घर फर्केको थियो। बाऊको गाली खानबाट जोगिन चाहन्थ्यो ऊ। बाऊको गालीले अघाईसकेपछि खानाको लागि ठाऊँ बाँकीनै रहँदैनथ्यो र ऊ दिनभरि भोकै हुनपुग्थ्यो। घरमा बाऊको चालचूल थिएन, उसले आमालाई सोधेन पनि, बाऊ कता गए भनेर। ऊ भान्सामा उसको लागि भनेर रहेको खाना एकैपटक खन्याएर हतार-हतार खान थाल्यो। “ल हेर, कविज्यू आईपुग्नुभएछ!” खाईसक्ने बेलामा अचानक बाऊ भित्र पसे। “के छ लेखकज्यू?” बाऊ अचेल यस्तै पाराले छेडखान गर्छन् उसलाई। “गधा—साले---! पुरुषार्थ भन्या एक रौं पनि नभा’को---!” यो चाहिँ छेडखान पछि बाऊले भुतभुताऊने ‘मन्त्र’। बाऊ भुतभुताऊँदै आँगनतिर लागे। आमापनि नजिकै थिईन्, अरु दिन भए आमाले ‘खाने बेलाँ पनि किन करा’को?’ भन्थिन् तर आज भने कहि पनि नबोली उस्ले खाएका भाँडा उठाएर बाहिर तिर लागिन्। मनको नरमाईलोलाई अलिक फिका बनाउन ऊ बजार तिर लाग्यो। बाऊको ऊसंगको रिस उसले कमाएन अथवा गतिलो कमाई हुने जागिर खोजेन, २५-२६ हुञ्जेलसम्म पनि हल्लेर बसेको छ भन्ने हो। यतिखेर त अझ बाऊलाई 'सरकारी अधिकृत’ को भूत चढेको छ। उसका दुईटै दाइहरु लोकसेवा लडेर शाखा अधिकृत बनेका थिए र अहिले अरु कुनै जिल्लाहरुतिर पुगेका थिए। बाऊ चाहन्थे, ऊ पनि लोकसेवा लडोस् र शाखा अधिकृत बनोस्। बूढाको अचेलको सपनामा कुनै दिन आफ्ना तिन्टै छोराहरु सचिव हुन्थे। यसैले उनको सपनाको एउटै बाधा बनेको थियो ऊ। 'भुत्राको जागिर---!‘ ऊ मनमा धेरै कुरा खेलाएर हिँडिरहेको थियो। उसलाई यान्त्रिक जागिरे जीवनले कहिल्यै आकर्षण गर्न सकेन। एउटा उमेरबाट उसमा अनौठो ‘भूत’ चढ्यो, ऊ ‘लेखेर बाँच्न’ चाहन्थ्यो। धेरै विदेशी लेखकहरुको सफल जीवनशैलीका बारेमा पढेपछि ऊ एकदम प्रभावित भएको थियो किशोरवयमा। ऊ लेख्ने कुरामा सानैबाट प्रतिभाशालीमा गनिन्थ्यो पनि। विद्यालय र त्यो भेगका लगभग सबैजसो कार्यक्रमहरुमा पुरस्कार पनि हात पार्थ्यो। पछि अलिक उमेर खाएपछि उसलाई आफ्नो सपना र यथार्थबीचको खाडलको बोध भयो। लेखेर कमाएर बाँच्ने कुरा त परै जाओस् अलि गतिलो पत्रिकामा सित्तैमा रचना छपाउन समेत सजिलो हुँदो रहेनछ। उसको भन्दा धेरै तल्लै स्तरका, साह्रै गएगुज्रेका रचनाहरु प्रकाशित हुन्थे, जति पठाए पनि उसका भने कहिल्यै देखिँदैनथे। तीन-चार पटक काठमाडौं पुगेको बेला उसले केहि पत्रिकाहरुको अफिसमै पुगेर पनि रचना छाड्यो र केहि महिना कु-यो तर उसका रचनाहरु देखिएनन्। आफैं किताब छपाओस् भने पनि उसको परिवार त्यसरी पैसा निकाल्न सक्ने परिवार होईन, सक्नेनै भएपनि बाऊले के दिँदा हुन! अचेल ऊ पूरै साहित्यिक प्रकाशन फाँटलाई एउटा फोहरी ‘सिण्डिकेट’ को रुपमा मात्रै लिन्छ जहाँभित्र पस्न कि त गतिलो चिनजानको जालो चाहिन्छ कि आफैं दाम लगाउन सक्नुपर्छ। आफ्नो सपना खाल्डामा परिसकेपछि पनि उसले कुनै एउटा निश्चित निर्णय गर्न भने सकेन। केहि समय विरक्तिएर केहि पनि लेख्दै-नलेखी बस्यो। नलेखी बस्दा झन् उकुसमुकुस बढेकोले फेरि लेख्न थाल्यो तर छपाउने कुरामा चासो राख्न छोड्यो। कहिलेकाहीँ जिल्लाका स्थानीय पत्रिकाहरुका लागि वा सङ्घ-संस्थाका स्मारिकाका लागि रचना माग्न आऊँथे। तिनबाट उसले एक प्रति स्मारिका वा पत्रिका पाऊँथ्यो, कतिले त त्यहि पनि दिँदैनथे। त्यसबाहेक, जिल्लामा हुने साहित्यिक कार्यक्रमहरुमध्ये केहिमा सहभागिता जनाऊँथ्यो। पैसो नभई जिन्दगीको गाडी नचल्ने बोध पलाईसकेको थियो उसलाई केहि वर्ष पहिलानै तर उसलाई कुनै पनि खाले बन्धन भने सैह्य थिएन। लेख्न छोडेनैपनि ऊ एउटा जागिरे बन्न सक्दैनथ्यो होला शायद, किनभने उसको मुख्य सीप र रुचि दुबै भनेकै साहित्य-लेखन मात्रै थियो। त्यसैले जिन्दगी धान्ने तात्कालिक उपायका रुपमा ऊ गाऊँकै एउटा ‘बोर्डिङ्ग स्कूल’ को शिक्षक बन्यो। शिक्षकको जीवन उसलाई ठिकै लागेको थियो र ऊ आफनो स्थायी पेशा पनि यसैलाई बनाउने विचार गर्दै थियो। तलब धेरै थिएन तर उसको आवश्यकता टरेको थियो। तर बाऊको गाली अलिक फरक मात्रै भएको थियो त्यतिबेला पनि। ‘त्यो मु— माष्टरको जागिर पनि काहीँ जागिर हो---?!---- कल्ले दिन्छ छोरी यस्ता मु— माष्टरलाई--?!’ यस्तो हुन्थ्यो बाऊको गाली त्यो ताका। उता छोराको जागिर गतिलो नहुँदा बुहारी बनेर गतिलो घरकी छोरी नआउली भन्ने पीर आमाले पनि देखाऊँथिन्। चारमहिना पहिला ‘बुर्जुवा र दलाल शिक्षा’ पढाएको भन्दै माओवादीले स्कूल बन्द गराईदिए। बजारका ठूल्ठूला ‘बोर्डिङ्ग’ जिऊँदै थिए, मर्नेमा किन हो कुन्नि उसले काम गर्ने, गाऊँको फुच्चे ‘बोर्डिङ्ग’नै प-यो। यता घरमा बिस्तारै बाऊको गाली पनि पूरानै ठाऊँमा फर्कियो। “ओहो--- ‘विवश’ कविज्यू! आज कसरी हाम्रो पसलमा---!?” पैसा बुझ्ने ठाऊँबाटै साहु करायो, उसको साहित्यिक नामलाई अलिक जोड दिएर बोल्दै। मनमा कुरा खेलाऊँदा-खेलाऊँदै पत्तै नपाई कसरी ऊ यो मोतीमान साहुको पसलमा पसेछ। मोतीमान साहुका ताई न तुईका कुरा उस्लाई त्यति मन पर्दैनथ्यो, त्यसैले ऊ सकेसम्म पस्दैनथ्यो यहाँ। “ल आऊनुस्,कविज्यू! बस्नोस्।“ साहुले अघिल्तिरको कुर्सी देखायो र ‘दुईटा चिया ल्याउन’ पसलमा काम गर्नेलाई अह्रायो। “होईन साहुजी, म चिया नलिऊँ होला, भर्खर खाना खाएर आएको।“ आफ्नो अघिल्तिर चिया देख्यो उसले। “लिऊँ, लिऊँ! केहि हुन्न, चिया खानेनै खाना खाएपछि हो---- “ ----- “अस्ति त निकै कविता पढिँदै थियो नि हँ त्यता चोकमा!” यो कुरो ननिक्लेहुन्थ्यो भन्दा-भन्दै साहुले कुरो निकालिहाल्यो। अस्ति पसल नजिकैको भूपि चोकमा एउटा साहित्यिक कार्यक्रम भएको थियो र ऊ र हिरामान साहुका कविताहरु साह्रै चर्चित भएका थिए। कार्यक्रम सकिने बेलामा पनि उनीहरु दुईलाई उनीहरुका केहि थप कविताहरु पालैपालो वाचन गराईएको थियो। मोतीमान साहुले कुरा उप्काएको पनि हिरामान साहुकै कारणले हो। हिरामान, मोतीमानको साख्खै दाजु हो। पुर्ख्यौली सम्पत्तिलाई लिएर दुई भाइमा धेरै वर्ष पहिला बाट बोलचाल बन्द छ र बेला-बेला झगडा परिरहन्छ। उनीहरुको वैमनस्य जिल्लैभरि चर्चित छ। “कविज्यू, यस्सो यो कविता-सविता लेख्ने कुरा हाम्लाई पनि सिकाउनुस् न---!” ऊ पसलबाट हिँड्ने बेलामा मोतीमान साहुले भन्यो। ‘कविता लेख्न सिकाएर सिकिन्छ---?’ बाहिर निस्केपछि गम्यो ‘विवश’ ले। मोतीमानमा रहेको हिरामान प्रतिको ईर्ष्याकै एउटा विस्तार थियो यो पनि भन्ने उसलाई थाहा थियो। आफू कुनै पनि कुरामा हिरामानभन्दा कम नभएको देखाउन चाहन्थ्यो मोतीमान। अरु कुरामा त थियो पनि तर साहित्यिक कुरामा भने मोतीमानले आँट्न सक्दैनथ्यो। हिरामान एउटा प्रतिभाशाली कवि थियो र स्थानीय साहित्यिक वातावरणमा राम्रै नाम कमाएको थियो। ऊ जिल्लाको एउटा सफल ब्यापारी, समाजसेवी र साहित्यसेवी मानिन्थ्यो। ब्यापारी र समाजसेवी त मोतीमान पनि कहलाईन्थ्यो, ऊ अब साहित्यसेवी पनि बन्न चाहन्थ्यो। तर लेख्न त जान्नु-सक्नु प-यो नि! विना उद्देश्य बजारमा बरालिईरहँदा अचानक ‘विवश’को मनमा एउटा झिल्का उठ्यो र ऊ घरतिर लाग्यो। सधैं रात परेपछि घर फर्कने छोरो आज दुई नबज्दै फर्केको देखेर बाऊ-आमा छक्क परेको थाहा हुन्थ्यो, तर भन्नचाहिँ केहि पनि भनेनन् उनीहरुले। ऊ कोठामा पस्यो र चुकुल लगायो। चार बजेतिर, आमाको ‘खाजा खाएर जाने’ आग्रहलाई पनि टारेर ऊ फेरि बजारतिर लाग्यो। “साहुजी, एउटा जरुरी कुरा गर्नु थियो---।“ ग्राहक नभएको मौका पारेर ऊ मोतीमान साहुको अघिल्तिर उभियो। “हुन्छ कविज्यू! भन्नुस् के सेवा गर्नुप-यो।“ “अलि गोप्य कुरा हो। भित्र गएर कुरा गर्न पाए हुन्थ्यो।“ “कविज्यूले के त्यस्तो गोप्य कुरा ल्याउनुभो' त?” मोतीमान साहुले उसको कुरालाई अझै खासै महत्व नदिएको थाहा हुन्थ्यो। एक छिन् पछि पसल काम गर्नेको जिम्मा लगाएर ‘विवश’ कविज्यूलाई लिएर साहु भित्र पस्यो। “---------------------------------------“ “---------------------------------------“ “---------------------------------------“ “खोई हरौं त!" "यी, ल हेर्नुस्।" “ल ठीक छ, तर डेढ लाख त साह्रै बढी भन्यौ कविज्यू--- “ “कसरी बढी भयो साहुजी? तपाईँले यस्सो कोटयाए पनि निक्लिन्छ त्यति त! अब तपाईँलाई नाम चाहिएको, मलाई दाम चाहिएको। कविता भन्ने चीज पनि त्यस्सै बर्सिने होईन, दिमाग लगाउन परिहाल्छ, समय लागिहाल्छ लेख्न।“ “ल ल, धेरै कुरा किन? म एक लाख दिने भएँ यसका लागि।“ एकछिन विचार गरेर मोतीमान साहु बोल्यो। ‘विवश’ कविज्यूको मौनताले स्विकृतिको सूचना दियो। “कविता सबै राम्रा छन् हैन त? अस्ति त्यो भातेले पढेभन्दा पनि राम्रा—“ हिरामान साहुसंगको रिस पोखिन आईपुग्यो यहाँ पनि। “धेरै जसो राम्रै छन्, कुनै-कुनै चाहिँ ठिकै खाले पनि छन्। एकैचोटि वाह! वाह!! पायो भने मान्छेले शंका गर्छन् क्या!” साहुलाई फुल्यायो ‘विवश’ कविज्यूले। खास कुरा चाहिँ के हो भने उसले धेरैजसो आफूलाई एकदमै मन नपरेका र केहि ठिकैमात्र लागेका आफ्ना कविताहरु सारेर ल्याएको थियो। राम्रालाई त उसले जोगाएर राख्नेछ अझै केहि वर्ष! ------ “तर एउटा कुरो कविज्यू, कविता त बीस वटा मात्रै छन् नि!” साहुले गन्न भ्याईसकेछ। "यति थोरैले कविता संग्रह निक्लिन्छ?” “काँ’ अहिल्यै कविता संग्रह निकाल्ने कुरा ग-या साहुजी? मान्छेले पत्याऊँछन्? यस्तो हतार गर्दा चोरेर छापेको भनेर पत्रिकाले लेख्दैनन्? पहिला, महिनाको एक-दुईटाको दरले यिनलाई ठाऊँ-ठाऊँमा पाठ गर्ने, पत्रिका-सत्रिकामा छपाउने र बिस्तारै चिनिँदै जाने। संग्रह त एक-दुई वर्षपछि निकाले हुन्छ। मैले एउटा ‘प्लान’ बना’को छु। त्यहि ‘प्लान’ अनुसार अघि बढ्यो भने कसैले पनि शंका गर्दैन। बरु त्यो ‘प्लान’ बापत डेराभाडाको पैसा पाए म यतै बजारतिरै बस्थें तपाईँलाई सघाउन।“ “हुन्छ कविज्यू। एउटा सस्तो खाले कोठाको भाडा मैले तिर्दिनें भएँ, तर संग्रह निकाल्ने बेलासम्म चाहिँ पचासवटा पुग्नुपर्छ है। बाँकी पनि लेख्दिनुपर्छ नि कविज्यू!” “अलि बढी दाम पाए त्यो ‘काम’ पनि गरिन्छ साहुजी!” ‘विवश’ कविज्यूको अनुहारमा अलिक धूर्त चमक देखिन्थ्यो। “तर अलि-अलि चाहिँ आफैंले पनि लेख्ने कोशिश गर्नुहोला।“ “साह्रै बाठो पो रैछो कविज्यू तिमी त! हेर्दा यस्तो सोझो देखिन्छौ!“ “खोई के सोझो - के बांगो साहुजी!” ----------------------------------------------------------------- भोलिपल्ट 'बजारको एउटा स्कूलमा जागिर मिल्ला जस्तो छ!’ भनेर आमालाई ढाँट्यो र सिरक-डसना, आफ्ना कापी किताब र एउटा पुरानो स्टोभ बोकेर ‘विवश’ले घर छोड्यो। बजारमा बस्न थालेपछि कुनै स्कूलमा ‘अल्झिने’ योजना भने थियो उसको। दुई हप्ताजति पछि बजारको एउटा ‘साहित्यिक भेला’ मा मोतीमान साहुले “म लेख्न जान्ने मान्छे त होईन तर पनि एउटा सानो कोशिश गरेको---“ भन्दै एउटा छोटो कविता पाठ ग-यो र अलि-अलि वाह! वाह!! पनि बटुल्यो। कोहि-कोहिले त ‘रगतमै साहित्यिक प्रतिभा भएको परिवार यहाँको त !’ भनेर पनि फुर्क्याए उसलाई। ‘विवश’ भने त्यो कार्यक्रममा देखिएको थिएन। दुई दिन पछिको शुक्रवारको साँझ, ‘विवश’ कविज्यू कुनै भट्टीमा बिजुली पानी र सुकुटीसंग आफ्ना विचार चपाऊँदै थियो र आफ्नो लेखेर बाँच्ने अधमरो सपनालाई बोकेर कतिञ्जेल ‘महादेव’ भईरहने हो, सोच्दै थियो। “तपाईँका अरु लक्ष, अरु सपना के छन् त?” स्थानीय एफ.एम को कार्यक्रम संचालक कसैको अन्तर्वार्ता लिँदै थियो। “हेर्नुस् भाइ, यो जिन्दगीमा मलाई अरु सबै पुग्या’ छ। अब अलि-अलि साहित्यसेवा गर्ने मन छ। लेख्न सिक्दैछु।-------“ यो त हाम्रो ब्यापारी-समाजसेवी मोतीमान साहु थियो र कार्यक्रम हाम्रो ‘विवश’ कविज्यूकै ‘प्लान’ को अर्को चरण थियो! “साह्रै महान विचार! हजुरको प्रतिभा त अस्तिको एउटा कवितालेनै देखाईसक्या’ छ। शुभकामना छ हजुरलाई अझ धेरै सफलताको! हजुरको आगमन नेपाली साहित्यको लागि एउटा ठूलो शुभ-घटना बन्ने निश्चित छ।----- ।“ “---------“ अन्तर्वार्ता सकिँदासम्म ‘विवश’को मन पनि बिजुली पानीले तातेर रसिक हुँदै आईसकेको थियो। ‘खासमा म लेखेरै त बाँचेको छु नि! आफ्नै नाममा लेखेपनि, अरुकै नाममा लेखेपनि- त्यै लेखेकै भरमा त बाँचेको हुँ म। अझ त्यो मोतीमान साहु पनि अचेल मेरै लेखाईले बाँच्न थालेको छ। म लेख्छु र म बाँच्छु; म लेख्छु र मोतीमान साहु बाँच्छ।' -समाप्त- (Also posted in my blog; - The Road to Nowhere---- ) Last edited: 30-Jun-09 12:37 AM Last edited: 30-Jun-09 12:39 AM

Gautam B. · Jun 30, 2009 12:36 AM · 29,999 views

14 Replies

सारै सटिक पर्स्तुती. एक दम राम्रो लाग्यो दाई.  Reply नगरिकन बस्नै सकिन |

गु · Jun 30, 2009 1:02 AM

वा कथा राम्रो छ। क्रमस: आउँछ भनेको त समप्त पो आयो। चित्त बुझौनै पर्‍यो। एती मै ।।

harikancha · Jun 30, 2009 1:29 AM

Jindagiko euta dukhad satya, sahitya- sirjanaa garnu ko dukha ...kati dukhayo kati yo kathale mero manlai.

sajha_addict · Jun 30, 2009 10:05 AM

गु, harikanchha र sajha_addict; हार्दिक धन्यबाद कथा मन पराईदिएकोमा!!

Gautam B. · Jun 30, 2009 7:28 PM

गु, harikanchha र sajha_addict; हार्दिक धन्यबाद कथा मन पराईदिएकोमा!!

Gautam B. · Jul 1, 2009 7:24 PM

Gautam B ji, Dherai ramro , choto tara satik prastuti, kehi haad saama yayharthyata misiyeko katha. Thanks for posting it

sijupanta · Jul 2, 2009 11:32 AM

बाँच्नु नैं ठुलो कुरा हो, स्वाभिमान, इक्षा, आकाँक्षा, सपना, सबै पछि आँउदा रहेछन जिन्नकिमा। यो कथाले मनको तिर्सना मेट्यो।

crazy_love · Jul 2, 2009 12:24 PM

sijupantaजी र crazy_loveजी, प्रतिकृया र हौसलाका लागि हार्दिक धन्यबाद!

Gautam B. · Jul 2, 2009 9:22 PM

sijupantaजी, crazy_loveजी; प्रतिकृया र हौसलाका लागि हार्दिक धन्यबाद!

Gautam B. · Jul 3, 2009 9:34 AM

sijupantaजी, crazy_loveजी; प्रतिकृया र हौसलाका लागि हार्दिक धन्यबाद!

Gautam B. · Jul 4, 2009 8:48 AM

sijupantaजी, crazy_loveजी; प्रतिकृया र हौसलाका लागि हार्दिक धन्यबाद!

Gautam B. · Jul 4, 2009 8:49 AM

 गोतामे ज्यू,   सराइ राम्रो कथा , झन् अहिलेको जमानामा त यस्ता मोतिमान साहु हरु जता-ततै .... खल्लो लाग्ने बिचरो कवि  सम्झेर तर यस्तै छ जिन्नगि यहाँ ....    ल माथि धकेल्दें है पुरानो राम्रो कथा फेरी ...   - थाहा छैन ( थाने )

ThahaChaena · Aug 9, 2013 11:00 AM

 मैले त यो कथा पढेकै रहेनछ अहिलेसम्म....साझा मा अनौठो खुराक, तृप्त वनायो....।पस्किनुभएको मा धन्यवाद, अनी थानेलाई पनि धागोलाई माथी उचालेकोमा धन्यवाद...

fucheketo · Aug 13, 2013 7:53 AM

thahachaenaज्यू र fucheketoज्यूमा हार्दिक धन्यबाद! प्रेरणाका लागि आभारी छु।.

Gautam B. · Aug 18, 2013 9:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all