जमुनी 'तिनलाई रातभोरी घूरने पोई परून, तिनलाई लुतो आको बेलामा तिनका नौसिरी पाकुन|' एक बिहानै झिस्मिसेमाँ गाउनै थर्काउदै सराप्तई जमुनी उकालो लागी| 'हैन ए जमुनी के भयो एक बिहानै, के को भजन कीर्तन गर्दै उकालो लाग्दै छस? कल्ले के गर्यो तलाई एक बिहानै? " आमा ले भैसीको गोबर मोलखादोमाँ फाल्दै जिस्काउनु भयो| हेर्नुन कान्छिमा, गाऊका बोक्सीका छौडा छौड़ीले फडकेको छपनीमाँ गोब्रयेर मरेछन| कल्चाक्कै पो टेके त, आज को दिन नै अछूतों बनाई दिए| तिनलाई काउसो दल्न नपुगेको| झन आक्रोश पोख्दै थी जमुनी| पश्चिम तीरको एउटा पहाडी जिल्ला मा थियो हाम्रो गाऊ| पुर्व-दक्षिण फर्केको पहाड़- तेहि पहाड़को छातीमाँ टेकेर बसेको थियो मेरो गाऊ| बिहानै उठ, गाई भैसीको स्याहार सुसार गर, खाना खाई वोरी बेसी झर, बेलुका घाम डाडामाँ पुगे पछि गाऊ तीर उकालो लाग- तेहि थियो प्राय गाउलेको दिनचर्या| हामी केटा केटी भने भर्खरै खुलेको प्राथमिक बिद्यालय जान्थौ| म तेती खेर ५ कक्षामाँ थिए, जमुनी चाई ४ मा| म र जमुनी दाजू भाई का नाती नातिनी| नाताले म दाईभए पनि न जमुनीले मलाई दाई भनी, न मैले तेल्लाई बहिनीनै भने| मिलिंजेल आफ्ना पुल्टाका मकै समेत दिन्थी, रिसाउन थाले पछि तेस्का मुखा सरस्वोती आउथे| उमेर भन्दा अलीकती नै सानी थी| बानी बहोरा र तेस्को सरीर हेरेर तेल्लाई हामी 'मरिचे ' भनेर जिस्काउथौ| जमुनी र आमा कुरा गर्न थाल्दा म पनि उठी सकेको थिए| पोहोरको दशैमा किन्देको जांघे र कमीज लगाए, चप्पलको फीता चुडिएर, एसो एउटा पाटको त्यांद्रो चुदीएको फीता मा बादेर चप्पल को प्वालमा अड्काएको थिए, एसो तेस्लाई घुसारे| "ओई मरिचे जमुनी-कति प्यार-प्यार कराइ राकी, हिड स्कूल जाने बेला भयो"- मैले आफ्ना किताब काखीमा च्याप्दै भने|मलाई थाहा थियो, पक्कै पनि जमुनीले अब तांडव नाच देखाउछे भनेर| खै के ठानेर हो वा, दिन भोरी को रिस अघिनै पोखेर हो, चुप चाप स्कूल तीर लागी जमुनी| भिरालो परेको पहाड़को टूपपामा हाम्रो स्कूल थियो| हाम्रो घर, जमुनीको घर र स्कूल को बिचमा पर्थ्यो| तेसैले सधै जमुनी हाम्रो घर तीर बाट आउथि र हामी संगै स्कूल जान्थौ|भदौको महिना थियो, सरहरुको दिउसो कोदो गोड्ड्नु पर्ने भएकोले हाम्रो बिहानी स्कूल थियो| हाम्रो घरबाट तर्पाय तर्पाय उकालो लागेर जंगल छिचालेर फेरी ठाडडै उकालो लाग्नु पर्थ्यो स्कूल जानलाइ| जंगल काटेर पछाडी हेर्यो भने हाम्रो गाऊ स्पस्ट देखिन्थ्यो| एक बिहानै हरियो कोदो बारीको डिलमा डोकोमा गाग्री बोकेर पधेरा तीर लागेका रंगी चंगी आइमाईहरुको लाइन अति सुन्दर देखिन्थ्यो| ओई राजेशे, यो बर्ष पनि त फस हुन्छस? की होल फस नै हुन्छस? फस र होलफ़स मेरै गोजीबाट हुनेजस्तो गरि सोधी जमुनिले|मैले पनि झोक रोक्न सकिन र भने- मलाई के था, मैले बनार हुने भे त म होलफस हुन्थे, त जमुनीलाई फेल पारथे नि"| 'सक्ने भए फेल पार्न त राजेशे बजिया| आफु भने साथी जस्तो गरेर सोध्यो, मर्न नसकेको - अझै मलाई फेल पार्छु पो भन्छ| तेरै अघाडी मै होलफ़स भएर देखाइदिन्छु , अनि बल्ल थाहा पाउछस|" आक्रोश र चुनौती दिदै गर्जी | "'सक्ने भये देखान तेरो पाइन, हेरौ हामी पनि| होलफ़स नै भैहालिस भने हामी पनि भनुला- यो बर्ष को होलफ़स हुने छात्रा - जमुनी मरिचे खरेल | ' मैले पनि एक सासमाँ आफ्नो रिस फेरे| के के गाली फलाक्दै जमुनी टम टम परि| त्यों दिन भोरी बोलीन जमुनी मसँग| येसैगरि कहिले झगडा गर्थौ, कहिले एकदम मिल्थौ, जमुनी र म| जमुनीको घरमा केराबारी थियो, उसकोमाँ केरा पाकेपछि लुकाएर भयेपनि प्राय एक हातो केरा मलाई दिन्थी| उसको दाजू भाईलाइ जत्तिकै माया गर्थी मलाई| बिस्तारै गाउलेको कोदो गोडेर पनि सकियो, हाम्रो स्कूल पनि अब फेरी पहिलाकै जस्तो दिउसोमाँ सरने भयो|दिनहरु बित्दै गए - त्यों बर्ष को दशैपनि दैलोठेलोमाँ आइपुग्यो| गाउलेहरु त्यों बर्षको दशैमाँ दमै चौताराको रोहोटे पिंगको खामा फेर्ने तयारीमाँ थिए| दुई महिना अगाडीनै पिंगको खामा र मादललाइ भनेर दुई तिन वोटा सालका रुखहरू राके बनमाँ ढालेर राखेका थिए|आधारातमाँ मशानले राको बालेर हिड्छ भनेर त्यों बनलाई राके बन भन्थे|अर्को शनिबार बिहानै गाउले जम्मा भएर तास तुस पार्ने र खामा घिसार्ने कार्यक्रम थियो| सायद अलिक छाडा कुरा गर्ने भएकोले होला "आइमाईको रतौली र लोग्नेमान्छेको मुडो घिर्साई " भन्थे| तेसैले खामा घिसार्ने दिन जमुनी जान नपाउने भै| मलाई पनि केटा केटी भनेर लादैननकी भन्ने डर थियो| शनिबार गाउले दमै चौतरामाँ जम्मा हुने कार्यक्रम थियो| अति जिद्दी गरे पछि बा ले अरुका छोरा आएका रहेछन भनेमात्र तलाई लैजान्छु, न त्र त चौताराबाट घर फर्कनु पर्छ भन्नु भएको थियो| भाग्यबस मेरा साथीहरु जनके, तीर्थे, रामेश्वोर आएका रहेछन र म पनि खामा घिसार्न जान पाउने भये| राके बन पुगियो| गाउले ले बनादेउताको पूजा गरि, खामा र मादल तास तुस पारे| कसैले खामा घिसार्ने नाल काटे| हामी केटाहरुलाइ मुडो घिसार्नेका जुत्ता चप्पल बोक्ने जिम्मा दिए| म र तीर्थेले चप्पल बोक्ने भयौ, रामेश्वोर र जनकेले जुत्ता बोक्ने भये| लहरोमा चप्पल उनेऊ| पोहोर बहुदल आए पछि गाउको प्रधान पंचलाई लगाएको चप्पलको माला जस्तै देखियो| लहरोंको एउटा छेउ तीर्थेले बोक्ने भयो, अर्को छेउ मैले| जनके र रामेश्वोरले पनि जुत्ताका तुना एउटा नालमाँ बादेर बोक्ने भये| नाकै फ़ुटाल्ने गरि डंग डंग गनाएका जुत्ता बोक्न हामी मात्र सक्दैनौ भनेर कीच कीच गर्दै थिए| तर कही सिप लागेन|गाउलेले पनि डोरी, नाल कसी, खामा घिसार्न ठिक्क पारे| "उकाली मुख -होस्टे, बल गरेर ठेल -हैसे" भन्दै बनै थर्कौदै खामा घिसार्न थाले|बेला बेलामाँ छिल्लिदै , हासी मजाक गर्दै आखिर खामा दमै चौतारामा सम्मै घिसारेर ल्याए| क्रमश: भाग-२ कमेरो र रातोमाटोले घर लिपेर गाउनै नौलो देखिएको थियो| केटा केटी , तरुना, तरुनी, बुढा, बूढी सबलाइ झ्याप्प दशैले छोई सकेको थियो| हामी भने स्कूलबाट फर्कने बित्तिकै झोला फाल्यो, लाग्यो चौतारा तीर उकालो | दिन भरी चौतारामाँ बसों, चौरमाँ लडाएका खामा, पिंगका बाहा, घुर्रा, पिरका हेर्यो | गाउलेले पिंगका पुराना खामा निकालेर तेहि खाल्डोमाँ फेरी नया पिंग हालने भये| हेर्त माइला- साच्चै भनेका हुन १०० बर्ष बड़ा, १०० बर्ष खडा, १०० बर्ष लड़ा भनेर| फलाके बुढा भर्खरै खाल्डोबाट निकालेको पुरानो खामो तीर हेरेर बोल्दै थिए| " मेरा हजुर्बाले घिउ खा थे, मेरो हात सुन्घ्त" भने जस्तै तिनका हजूरबाऊको फलेकले छाएको घर थियो रे, तेसैले यी बुढालाइ पनि फलाके भन्थे| "तेहि त, अझै १०० बर्ष गडा, औराख भनेको औराख नै हो, की कसो फलाके बा? " माइला बाले पनि फलाकेबुढा संग हो माँ हो मिलाए|सारै बिचित्रको थियो हाम्रो गाऊ| ठुलो एउटा परिवार जस्तो थियो| सुख, दुःख, हासो, खुसी मिले सम्म एक आपासमाँ बाढेर बस्थे| परार साल असारमाँ गाउमा फैलेको हैजाले तिनै फलाके बुढाकी बुहारीलाइ लिएर गयो| असारको महिना, बिचारा बुढाको खेत बाझो रहला भन्ने पीर| तिनै माइला बा परेली थिए, बुढाका| मरेर जाने त गए गए, बाच्नेले अर्को बर्ष फेरी जिउनै पर्थो|तेती खेर गाउले मिलेर फलाके बुढाको खेत ४ दिनमा रोपर सकेका थिए| जिउदाको जन्ति मोर्दाको मलामी-साच्चै येस्तै थियो हाम्रो गाऊ| सरहरुको दशैको तयारी गर्नु पर्ने भएकोले हाम्रो स्कूल नौरथा लाग्नु भन्दा २ दिन अगाडी नै बिदा भयो| तेस पछि त जमुनीको बासै हाम्रोमाँ हुने भयो| बिदाको पहिलो दिन| बिहानै आमा बोलेको सुने| यसो बार्तलीबाट हेरेको त जमुनी मून्ट्टि सकेकी रैछ| कुकुरले गल्ली पनि चाटन नभ्याउदै कति चाडै गाजेछन ये मरिचे तलाई ? भन्न मन लागेको थियो तर दशैमा पाकेका केरा गुम्लान भन्ने डरले चुप लागे| बिदाको दिन पनि किन एति बिहानै आइथिस ये जमुनी? भैसीको गोठमाँ सोथ्थर फ्याक्दै आमाले सोध्नुभयो| "आज दरै गाउमाँ खसी किन्न जाने की नजाने रे भनेर कान्छाबालाइ सोधेर आईज भनेर बा ले पठाउनु भको" जुठेल्नु तीर पिच्च थुक्दै जमुनीले भनी| दशैको लागी १ -२ दिन अगाडी बाले आँगन खुर्किनु भएको थियो| आमाले गोबर र माटोले लिप्नु भएको थियो| एकदम सफा देखिन्थ्यो हाम्रो आँगन| आँगनको एउटा छेउमाँ काठको जुठेल्नु थियो| आँगनको अर्को छेउमाँ तार्कू बांसको एउटा झिक्रो गाडिएको थियो|तेहि झिक्रोमा ५-७ वोटा पहेला भएर पाकेका काक्रा थिए| टिकाका लागी भनेर बाले ती काक्रा कापेमा बाधेरा राख्नु भएको थियो| ' जाने हो जाने ,खाना खाएर झर्छु भन्देल तेरो बाउलाई" बाले भैसी दुहने बाल्टी पखाल्दै भन्नुभयो| "ए राजेस्या बा, राजेशेलाइ पनि लिएर जानू है, खसी किन्न जादा, तेल्लाई पनि रमाइलो हुने, नभए दिन भोरी घरमा चलेर बस्छ| " मैले कतिनै दुखः दिने गरि आमाले भन्नु भयो|आमा, बा र जमुनी कुरा गरेको बार्तलीमाँ बसेरा हेरी रहे| खोई काम लिएर आएकी भएर हो, वा किन हो, जमुनीले मेरो बारे खोजी निति नगरी फर्की| नत्र त "तेरो पूठा आएर कौआले ठुग्ने बेला सम्म किन सुत्छस ए राजेशे" भनी सक्थी| जमुनीका २ जना दाईहरु अलिक ठूला भैसकेका थिए| जेठा दाई देशा लाहुरे थिए अनी कान्छा त्यों बर्ष एस एल सी दिने| २ दाईकी एउटी बहिनी, बुढेस कालमाँ जन्मेकी सारै चढेकी| तेसका त बाऊ आमाले गाली पनि नगर्ने| दिनभरी मुलुकी झै गाऊ डूलेर आये पनि हुने| खप्पर चाई लियेरै आयेकी जस्तो लाग्थ्यो|हाम्रो घरमा जम्मा तिन जना- म, आमा र बा| आमा मासु नखाने| दशैमा प्राय: जमुनिको घर र हामी मिलेर अलिक ठुलो खसी ल्याउथेउ, उनिहरु तिन खुट्टा राख्थे, हामी १ खुट्टा| यो दशै पनि तेस्तै नै हुने भयो| म, बा, जमुनी, र जमुनिका बा भएर दरै गाऊ तीर लागेउ|"रातो राजा, कालो काजी सेतो पाजी, बुझिस कान्छा २-४ पैसो बढ़ी परे पनि किन्न चाई रातै खसी किन्नू पर्छ|" जमुनीका बा हाम्रा बालाई सम्झाउदै थिए|यो गाऊका बुढाहरुको राशि गिद्द्दनै परे जस्तो छ| अस्ति पनि पिंग हाल्ने ठाउमा दुई जना दात नभएका बुढा "दशैको मासु त लोहोराले पिसेरै भये पनि खानु पर्छ है" भन्दै थिए|२ - ४ घरका खसी हेरेपछी बल्ल एउटा रातो खसी किन्न्ने भये| ये राजेश, ल खसी घिच्च्या, जमुनी चाई खसी धपा |" बाले खसी बांदेको डोरी मेरो हातमाँ दिदै भन्नुभयो| खसी हेर्दा मैले खसिलाई हैन, खसीले मलाई घिच्च्याउला जत्रो थियो|तै पनि खसी नभागोस भनेर आफ्नो कम्मरमाँ एकफन्को बादे| खसी भन्दा पनि मलाई तेहि मरिचे माथी शंका थियो| नभन्दै, लूरू लूरू हिडेको खसिको राज्खानी घोचेर मरिछे| तेत्रो खसी बुर्लुक्क उफ्रादा मैले के धान्न सक्थे र, भल्यात्तै लडायेरा मलाई घिसार्न पो थाल्यो| लड़दा लड़दै भये पनि "ओई मारोगी मरिचे, तलाई पख" भन्न चाहि भ्याइहाले| बाहरु हामी भन्दा अलिक अगाडी थिए, म कराएको सुन्नुभएछ र कस्सों बचे| खसी घर आइपुग्यो| जमुनिको म २-३ वोटा बाख्रा थिए, तेसैले साथी हुन्छन् भनेर खसी जमुनिको मा नै राख्ने भये| फेरी आमालाइ पनि खसी काटेको हेर्न मन नपर्ने| अर्को दिन पिंग हाल्ने भए गाउलेले| गाऊ भरका केटा केटी अरु भन्दा पाहिले चौतरामा पुगे| भाग -३ पिंग हाल्ने दिन| गाऊभरका केटा केटी बिहानै चौतरामाँ पुगे|तेतिन्जेल सम्म गाउका बुढा पाकाहरु आईपुगेका थियेनन| केटा केटीहरु उखु बारिमा सारु करा जस्तो कराइ रहेका थिए| कोई भने पिंगको मादलमा ढुंगाको चोके हालेर चाकाचुली खेल्दै थिए| जमुनी र म अरु संगै चाकाचुली खेल्दै थियेऊ| " अनिकालका काल, बर्सौटेहरु, यिन्का थाप्ला लौरी भाच्न नपुगेको, भाच्ने भये मादल|" अंतरे बुढा कराएको थाहा पाउने बित्तिकै मादलको एउटा टुप्पातीरका मादल छाडेर भागीहाले| म र जमुनी अर्को टुप्पामाँ थियेऊ, डन्ग्रन्गै पछारियेऊ| जमुनिले चाई के गरि कुन्नी, मैले त तिरिमिरी झ्याई तोरीका फुल देखे| एकातिर दुखाई, अर्को तीर अंतरे बुढाको गाली| तर पनि चुप्प लागे| "ओई असती बुढा, तिम्रै स्वास्नी बर्ष पिच्छे कुकूर ब्याये जस्तै ब्याउछिन, घर भोरी ग्याल्ग्यालती छन, अझै हम्लाई बर्सौटे भन्न लाज लाग्दैन" सहनै सकिनछ क्यारे जमुनिले आफ्नो चोथाले मुख खोली हाली| लाजैले होला, अंतरे बुढा जमुनीलाइ नसुने जस्तो गरि पर्खालमाँ बसेर कंकड़ सल्काउन थाले| हुन पनी बुढाको कान्छी छोरीनै नातिनी भन्दा कान्छी रे| बिस्तारै गाउलेहरु राबो, बसौला, घन, करौती, खुरपा हातमाँ बोकेर चौतारामाँ जम्मा हुन थाले| गाउलेको हूलमा हातमा चप्पल बोकेका ठाकुरेदाई पनि देखिये|५-६ महीना अगाडी ठाकुरे देश भाग्यो रे भन्ने हल्ला थियो- गाऊ भोरी |छोरो भागे पछि २-४ दिन त ठाकुरेका बाऊ आमा न भोक न निंद्रा माँ थिए| भागेको १०-१५ दिनमा गोरखपुरमा छू भन्ने चिठ्ठी पाए पछि मात्र बुढा बूढीले अलिक होलो संग साश फेरे | खै किन हो, फेरी ५-६ महीनामा नै पत्लुंग लाउने भएर फ़र्केछन ठाकुरे दाई|यी गाउका केटाहरु मकै छरेर देश भाग्छन अनि दोहोरो गोड़ने बेलामा " यी लम्बी लम्बी पात क्या का हे माँ जी?" भन्दै गाऊ फ़र्कन्छन| कलकत्तेहरु |हुन त १-२ दिन अगाडी "ओई राजेशे, ठाकुरे दाई त लाहुर बाट फ़र्केछन नि ' भन्दै थी जमुनी| हुन पनि जमुनीलाइ गाउमा कस्को भैसी ब्यायो, कस्को भैसी तुहियो, कस्कि स्वास्नी को संग पोहीला गई, को देश भाग्यो, कस्का लोग्नेले कल्लाई पिट्ट्यो, सब थाहा हुन्थ्यो| मुलुकी न परी| "हैन ए दाई, त्यों खुट्टामा लाउने चप्पल किन हो हातमा?" लाहुरे दाइको नजिकै गएर सोधे| "अरे यो त हाम्रो कान्छाबा को बेटा जैसे पो लाग्छ|अरे भैया, तेरा नाम के रे यार? " नारिवलको तेलले चिप्लिक्क परेको जुल्फी हल्लाउदै सोधे दाइले| "ल ठाकुरे दाई पनि, कति चाडै हो बिर्सेको? म राजेश नि| " सामीप्यता देखाउदै मैले भने| "हो त, सब कुछ याद आयो अब त राजेश भैया| " अरे भैया, यो चट्टी को जो बात छ, त्यों अंतरे बुढाको घर नेर मेने टट्टी देखे यार, टट्टी को पार कर्न लाग्दा तो, चट्टी त टूट गयो यार, साला पहाड़मा यी आदमी को टट्टी कहा करने हो सिकाउनु पर्छ| कंपनी १५ रुपियामा खरीदेको चट्टी टूट गयो|" के के नै जाने जस्तो ठाकुरे दाइले लैन छोकडी हिंदी छाटी हाले| ठाकुरे दाई र म चौतरामा नै थियौ| रुखबाट चराहरूले खादै गरेका पाकेका बरका गेडा फ़्यात्त खसेर प्वात्त फुट्थे| सायद तिने गेडाको गंधले होला, ठाकुरे दाईको नारिवलको तेलको गंध फीका थियो| गाउलेहरु आफ्नै सुख दुःखका कुरा गरी रहेका थिए| पिंग बनाउने हरु पनि ब्यस्तनै थिए|बाहा, डांडी, ठेडी सब ठोक ठाक पारेर पिंग लगभग तयार भैसक्यो|पिंग थाल्नु भन्दा अगाडी पिंग वोरिपोरीका काठका टुक्रा, ढुंगा टिपेर सफा बनाउने जिम्मा चाही हामी केटा केटी को भयो|काठका टुक्रा टिप्न केटा केटी सबै पिंग को वोरिपोरी गएऊ|'ओई राजेशे, हेर्न मलाई त कस्तो चर्पी जान पर्यो| त चाई तिप्दै गर है " भन्दै जमुनी त तूफ़ान चौतरा मुन्तिरको खरबारीमा हाम फाली हाली| "तैलाई किन यो लगनको बेलामा हगन हुन्छ ये मरिचे?" भन्न पनि भ्याइन, उ त खरबारीमा छिरी सकिछ| यो खान की काललाइ काम पर्योकी यसका पेटमा सुल चल्छ| हामी तेसेरी काम छोडेर खरबारी पसेको भये तेल्ले "तिम्लाई मोहि तिघ्रे काम टारा हो, काम परेसी तिम्लाई छेर्पाटे लाग्छ" भन्दै खरबारीमा ढुंगा पल्टाइसक्थि| उसलाई मन परेको कुरा छ भने सब भन्दा अगाडी पुग्थी| गाउमा सत्यनारायणको पूजा को नैबेद बाड्दा होस वा श्रीपंचमीमास्कूल मा सरस्वोती पूजाको लड्डू बाड्दा होस, भीड़माँ सब भन्दा पाहिले मरिचेनै हुन्थी| पिंग तैयार भयो| सधै जस्तो यस बर्षको पहिलो फंको पनि कन्या केटीलाइ राखेर घुमाउने भये|२ मिनेट अगाडी मात्र पेटा सुल चलेर खरबारी हल्लाउन गयेकी जमुनी त पिंग चड़नलाइ तछाड मछाड गर्न पूगी सकिछे|जमुनी, मैना, देबी र श्रीमाया छानिए पहिलो फंको घुम्नलाई| पिर्कामा देबी, जमुनी, श्रीमाया र मैना क्रमश बसे|जमुनी मादलमाथी पुग्दा मैना सिधै उसको तल पर्ने भई|मैना एकदम सोझी थी| तर तेल्लाई जमुनिले देखि सहन्नथि| एकपटक मैनाको घरमा एउटा बाख्रो थियो| हरियोको नाममा लुतो आएको बेलामा दल्ने अन्गेरको पात देखि काचोपात सम्म खाने भएर तेस्को नाम नै अघोरी राखेका थिए| खोई कहिले हो कुन्नी, तेहि अघोरी बजियाले जमुनिको आँगनमुनि लगाएको काचोपात खाइदियेछ|"हाम्रो काचोपातबारी तेरो बाउको गौचरण हो? " भन्दै जमुनिले बिचारा मैनाको कपाल घास काटने हसियाले मुडीदिएकी थी| तेस्पछि त यी दुई जना कुकुर बिराला जस्ता थिए| पिंग हल्लाउनेहरुले पिंग हल्लाउन थाले, पिंग क्वावा गर्दै पहिलो फनको घुम्न थाल्यो|पिंगका पिर्कासंग संगै सबैका आंखा तल माथी गर्न लागे| पिंग अलिक चाडो घुम्न थाल्यो| हामीचाइ हाम्रो पालो कुरेर बसी रहेका थियेऊ| क्रमश: भाग ४ त्यो दिन पिंगमा २ -४ फंको लगाएर आइयो| रोहोटे पिंगको आनन्द नै बेग्लै| घटस्थापनाको भोली पल्ट- द्दित्तियाको दिन, जून हेर्न लाइ गाउलेहरु साझपख फेरी चौतारामा जम्मा भए|हामीभने दिनभरी कहिले घर, कहिले चौतराको पिंगमा थियौ| द्दित्तियाका जून, तेती सजिलोसंग कहा देख्न सकिन्छ र| केटा केटीहरु देखी हालिन्छ की भनेर " छोड्देल चमारे मामा छोड्देल " भनेर कराइरहेका थिए|गणेश चौथीमा झुक्कियर जून देखे भने नचोरेको पनि दोष लाग्छ र आजको जून देखे चोरेको पनि दोष लाग्दैन भन्थे| तेसैले होला गाउका कहलिएका काक्राचोरहरु दिउसै देखी पश्विमतीर घित्रो फर्कायर बसेका थिए|हुन त मैले र जमुनिले त्यों दिनको जून जसरी पनि हेर्नु पर्थ्यो| २-४ दिन अघाडी हो " आमालाई भारीबोक्ने नाम्लो पुर्याएर आईज त राजेशे- आमा सिस्नेरीमाँ घास काट्दै छ, तैले पनि एउटा मूठो एसो टाउकामा हालेर आईज|" नाम्लो र भारी बादने डोरी देखाउदै बाले भन्नु भयो|सिस्नेरी खेत गाउको बेसीमा पर्थ्यो| बिच छातीमा गाउको टाउकोबाट खुट्टासम्म जोड़ने गल्ली- गल्ली ओरालो झरेर तल्लो पदेरा बाट फलाके बुढाको गल्ली हुदै जानु पर्थ्यो सिस्नेरी पुग्नलाइ|जमुनी साथी जान्छेकी भनेर तेस्का घर तिर झरे|"ओई जमुनी, हेर्न म सिस्नेरी जान ला'को, त पनि हिडन हेर" नरम स्वरमा मैले भने| "जान्न|अरु बेलामा चाई मरिचे र सरिचे भन्छस काम परेसी चाई रुझेको बिरालो हुन्छस| तलाई मैले चिन्या छैन र ?" झोक चल्ने पारामा रन्कि जमुनी| "भैगो नि त, अब नभनुला|हिडन हेर, मलाई एक्लै जानै मन छैन| बाटा भरी तैले भनेकै मानुला|" झन नरम स्वरमा भने| किन हो कुन्नी मेरा पाइतला सिस्नेरी तीर एक्लै लाग्न मान्दैनथे| बाटाभरी सेनापति हुन पाउने भए पछि बल्ल जाने भै|"ओई तैले फलाके बुढाका निबुवा देखेको छस? अस्ति त्यों असती बुढाले कसरी गाली गरेको थियो हामीलाई पिंगमाँ? आज तेस बुढाका निबुवा चोर्नुपर्छ बुझिस?" घरबाट अली तलको गौडो काट्नी बित्तिकै जमुनिले फलाके बुढा माथीको तुस फ्याकी| "फलाके बुढाका जुलुशले समातेर निबुवाको रुखमाँ बाधे भने के गर्ने नि जमुनी?" आफु भित्रको कातरपनलाई ह्वात्त बाहिर ल्याए| "पानी मरुवा, जाबो फलाके बुढाका बर्सौटेसंग पनि डराउछ| मैले फालेका निबुवा त टिप्न सक्छस नि? की तेती गर्ने पनि हिम्मत छैन तेरो?" बाघैका जुंगा उखेलौला जस्तो गरेर कुर्ली| पछि पछि फलाके बुढाका खलक र तिनका घरको पाटे कुकुरले कान्ला कान्लै लखेटने लगभग पक्का थियो, तै पनि हुन्छ, तं निबुवा झार, म टिपुला भन्नै पर्यो| कुरा गर्दा गर्दै फलाके बुढाको गल्ली पनि आईपुग्यो|कान्ला माथी लटरम्म निबुवा गल्लीबाट नै देखिन्थ्यो| कान्ला माथी टाउको निकालेर फलाके बुढाका तिर हेर्दा न त आंगनमाँ कोई खेलेको देखे न त कुकुर नै देखे| "ओई हेर्त, बुढाको कुकुरलाइ त बाघ ले घिसारेछ की क्या हो, मैले त देखिन, तैले देखिस?" बिस्तारै सोधे| "के हो तेरा आँखामा फूलो पर्यो की क्याहो, देख्दैनस? उ , त्यहा हेर्त बादेर राखेका छन" दुबै हातले कान्लामाँ घास समातेकी जमुनिले ओठले फलाके बुढाको धन्सार तीर देखाउदै भनी| कुकुर उत्तर फर्केको थियो, हामी दक्षिण| बिस्तारै जमुनी कान्ला माथि चडेर निबुवा टिप्न थाली| पहिलो निबुवा टीपी, अर्को टिप्नमात्र के खोजेकी थी, निबुवा बारिमा भ्वाक्क झरो| फलाकेका खलकले कुकुर फुकाएर लाउनु भन्दा अघाडी नै भाग्नुको अर्को बिकल्प थिएन| हतार हतार कान्ला बाट खुर्मुरिदै हामफाल्यौ र भाग्यौ| कुकुर जोड़ जोड़ ले भुक्दै थियो| फलाक्नी बूढी चाई सात पुस्तालाई पुग्ने गरी सराप्तै थिन|तेहि चोरको दोष नलागोस भनेर जसरी पनि द्दित्तियाको जून हेर्ने सल्लाहा थियो,मेरो र जमुनिको| गाउका लगभग सबै केटा केटी आई सक्दा पनि जमुनी किन हो आइन| त्यों नआएको देखेर एकातिर अब दोष जति तेसैले मात्र पाउछे भनेर रमाइलो लागी रहेको थियो भने कतै "म मात्र हो र राजेशे पनि थियो" भनेर मलाई पनि झोस्छे की भन्ने डर पनि थियो| अली अली होकी होकी जस्तो देखिए पनि जून देखियो देखियो भनेर सब जना कराउथे| एस्सो एउटा आंसीजस्तो आकार क्षितिजमाँ देखियो, तेहि नै रहेछ द्दित्तियाको जून| क्षण भरमाँ नै त्यों जूनको आकृति बिलाएर गयो, तैपनि जमुनी आइन| पक्की पनि तेस्को स्यान्दाईले होला तेल्लाई आउन नदिएको जस्तो लाग्यो| तेस्को स्यान्दाई एस एल सी दिने थियो त्यों बर्ष| हाम्रो गाऊ नजिक हाई स्कूल नभएकोले मामाघरमाँ नै बसेर पद्थ्यो| खुबै जान्ने पल्टनु पर्थ्यो स्यान्दाईलाइ| अरु को अघाडी केही गर्न नसके पनि मेरो र जमुनिको अघाडी दादा हु भन्थ्यो|कहिले काही बिना सित्तिमै जमुनिलाई लपेटा पनि लाउथ्यो| अरु कोहीसंग नडराउने जमुनी त्यों संग डराउथी| भोली पल्ट फेरी जमुनी र म पिंगतीर लाग्यौ| "ओई त हिजो किन जून हेर्न न आकी जमुनी?" मैले जान्न खोजे|"आउछु भनेको त हो नि, त्यों फलाके बुढा को राहिलो हो की ठाहिलो कुनचाही छोराले हाम्रो स्यान्दाइलाइ "तेरी बहिनी त चोर्नी पो रहिछे " भनेर लाइदिएछा | मोर्न नसकेको| काही नभएको छ नि फेरी हाम्रो स्यान्दाई, के के न गर्छु भन्छ, मलाई त पिट पाट पारेर पीढीको खामा पो बादेर राख्यो| अनि कसरी आउनु हेर्त| यो दशै तिहार आएको अति मन पर्छ तर स्यान्दाई आएको मन पर्दैन| " जमुनिले बिलौना पोखी| "अनि तैले फेरी निबुवा चोर्दा राजेशे पनि थियो भनेर त भनिनस?" मैले सोधे|"तै जस्तो हो क्यारे, अर्कालाई पोल लाउदै हिड्ने, आफु त परे परे तलाई किन पोल्थे"|जमुनिले आफ्नो मित्रता ब्यक्त गरि| "होत रहेछ जमुनी, तैले द्दित्तियाको जून हेरिनस र तेस्तो भयो, मैले हेरेर मलाइ दोष लागेन" भन्न मन लागेको थियो फेरी "ए बजिया तलाई बचाउने म की त्यों आशी जस्तो जून? " भनेर फेरी जन्गिन्छे जस्तो लाग्यो अनि चुप्प लागे|क्रमश: भाग - ५ जमरा अली अली उम्रिसकेका थिए | तुलसीको मोठको माटो टपरीमा राखेर आमाले जौका जमरा रोप्नु भएको थियो|अरु गाउलेका घर जस्तै हाम्रो घरमा पनि ढोकाबाट छिर्ने बित्तिकै मजेरी, मजेरीमा २-४ वोटा तामाका गाग्री र एउटा माटोको घैटो राखिएका हुन्थे| गाग्रीबाट करुवामा पनि सार्दा पोखिएर हो वा गाग्रीहरु चुहुने भएर हो , सधैं जसो नै मजेरीमा पानी जमीरहेको हुन्थ्यो|अगेनाको एकापट्टी मुल ओछ्यान र अर्को पट्टी भान्छा थियो|अगेनो भन्दा पर भडार थियो, भडारको एउटा कुनामा मधुस थियो, तेही मधुस नेर राखिएको थियो, जमरा|घटस्थापनाको दिन देखी प्रत्यक बिहान् उठेर मुख धोइ वोरी एकपटक दुर्गा भवानीको तस्बिरमा ढोग्ने अनी जमरामा पानी हाल्ने जिम्मा मेरो थियो|"फेरी जमरामा पानी धेरै हालेर भडारमा आहाल जमाउलासनी" सधैं जमरामा पानी हाल्दा आमाले सम्झाउनुहुन्थ्यो| दसै नजिकै आउँदै गर्दा हामी चाँही झन बेफर्सुदिला हुँदै गइयो|दिन भरी पिङमा झुन्डिनु त छदै छ, अब त दमैको मा पनि धाउनु पर्ने भयो| सोर सरात लाग्ने बित्तिकै बाले बजारबाट सट र पाइटको कपडा किनेर ल्याइदिनुभएको थियो| ४ कक्षामा फस भएकोले पहिलो पल्ट दसैंमा पाइट लगाउन पाउने भए|तेस्को भोली पल्टै भिर्खे दमै दाइ लूगा छेक्न घर आएका थिए| "ल यो बर्ष त हलक्कै बढेछन नि हाम्रा साना , खोइ खोइ साना, तिम्रो नाप लिन पर्यो" भन्दै फन फनी घुम्न लगाए र पिढीको अलिकती रातो माटो चिम्टिएर कपडामा मेरो नाप अनुसारको चिनो राखे|खोइ किन हो, ति दाइले मलाई सधैं साना भनेर बोलाउथे|धनका गरीब भए पनि मनका अती धनी थिए तिनी| जहिले सुकै भेट्दा पनि "ए साना, पढ् है पढ| भोली पर्सी डाग्डर भएर हाम्रो औषधी गर्नु पर्छ| हेर साना, मेरो छोरो मंगले पनि स्कूल जान्छ, तेल्ले पढेन भने कल चलाएर लुगा सिएर खान सक्छ, तिमी बाहुनका छोरा परेउ, न त लुगा सिउन सक्छौ न त घन ठटाउन|" भन्थे| उमेरमा तिनी हाम्रा बाका दामाली थिए, तैपनी जत्रा सुकै केटा केटी ले पनि भिर्खे दाई भन्थे| "हेर भिर्खे दाई, यो पटक चाँही टिकाको दिन भन्दा अघाडी नै यस्को लुगा सिलाएर सक्देउ है, बोरु हाम्रो जहिले भए पनि हुन्छ|" आमाले टाक र धागोको पोको भिर्खे दाईतिर फाल्दै भन्नुभयो| "यो बर्ष त खुट्टे कल किनेको छु,यस्ता लुगा त खटट एकै छिनमा सकी हाल्छुनी बजै, बरु अश्टमी तिर यिनै सानालाई लुगा लिन पठाइदिनु|" बढो आत्मबिश्वास थियो तिन्को त्यो खुट्टाले चलाऊने मेसिनमाथी| "ल ल जे जे किने पनि फेरी पोहोर जस्तो दसैंकै टिको चै ढिलो नबनाइदेउ|" आमाले भिर्खे दाई का कुरा तेत्ती पत्याए जस्तो लागेन| " ल बजै, पोहोर त नवमीको दिनमा कलको सियो भचिएर पो हो, अहिले त त्यस्तो हुन्छ कि भनेर ३-४ वोटा सियो समेत ल्याको छु|" कपडा पोको पार्दै भिर्खे दाइले भने| हुन पनि ति भिर्खेदाइले गाउ भरीका को लुगा सिउन पर्थ्यो|अश्टमी, नवबी र टिकाको दिन बिहान त तिन्का घरमा नयाँ कपडा लिन आउनेहरु को सान्-सानो जुलुशनै हुन्थ्यो|अघिल्लो बर्षको अश्टमी, नवमीको दुबै दिन कुर्दा कुर्दा लुगा नसकिएर टिकाको दिनमा पनि आधी दिन सम्म भोकै, रुदै कुरेको थिए| जमुनिका जेठा दाइले सधैं लाहुरबाट दसैंको छुट्टीमा फर्कादा लुगा ल्याउथे, तेसैले तेल्लाई तेती दमैको मा जानु पर्दैनथ्यो| तर, यो बर्ष चाँही तिन्को कम्पनीले छुट्टी दिएन अरे, तेसैले जेठादाइ दसैंमा नआउने भएका थिए|नभए त घटस्थापनाको दिन देखी नै कलकत्ते झ्याम्फर र कमिज लगाएर चप्पल पड्काउदै दिनको एक पटक गाउ चाहारी सक्थी| यसपटक जामुनिलाई एउटा रेडिमेढ झ्याम्फर तर त्यसमाथी लगाउने लगाउनेको कमिजको कपडा किन्देका रहेछन| तेसैले दमैकोमा जानलाई अब जमुनी साथी हुने भई|फुलपातीको अघिल्लो दिन जमुनी आई |त्यो दिन लुगा सिएर त सकिएको छैन भन्ने पक्का थियो तैपनी भिर्खेदाइ ले कपडा काटेका छन कि छैनन भनेर बुझ्न जाने भएऊ|पिङ भएको चौतरामा पुगियो|त्यहाबाट दाहिने तिर लाग्दा हाम्रो स्कूल पुगिन्थ्यो भने सिधै ठाडो लागे दमै गाउ पुगिन्थ्यो|२-४ फन्को पिङ खेलेर उकालो लागियो| पुरै रातोमाटाले पोतेको घुमाउने घर थियो ति दमै दाइको| घर सँगै एउटा धन्सार थियो, धन्सारमा भैंसीका २-३ वोटा पाडा -पाडी बाधेका थिए|ति पनि खोइ कस्का हुन अधियामा पालेका रे| घरको एउटा पिढीमा लुगा सिउने कल थियो, अर्को पिढीमा कुखुराको खोर |तिनै कुखुराले खोस्रेर फालेकाले होला आगन, मलखादो वरीपरी कपडाका रङीचङी धुजा छरिएका थिए| आगनको बिचमा कुखुराका चल्ला छोपेको डोको थियो|एउटा पिढीमा बस्दा कुखुराको सुली ठ्वास्स गनाउथ्यो भने अर्को पिढिमा रातो कोइला राखेको इस्त्रिको गन्ध|हामी पुग्दा भिर्खे दाई खट्खट पार्दै खोइ कस्को हो दौरा खुट्दै रहेछन|तिन्की बुढी भने निलो रङको एउटा कमिजमा ताक लगाउदै थिन| "लुगा लिन आयौ क्या हो साना?" हामीलाई देख्ने बित्तिकै कलको घुमि�
RajaHarischandra · Jun 21, 2009 3:41 PM · 95,637 views
लौ एक हप्ता साझा बाट बिलाको थिए २ भाग एकै सास मा पढे , ओहो दशै को त्यो पोल्या मासु , रक्ती र चिउरा याद आयो । मुखै रसायो , म त ७ को अन्तिम बाट ८ मा जादा कसरी जामुनी को बिहे हुन आट्यो भनेर सोची रहा , सपना पो रहेछ । लौ टिका को दिन को पनि बर्णण सुनौ , अरु भन्दा नि प्रभु आफु खान को लागि प्रख्यात छु , होइन भने perfectionist लाई सोध्नु त्यसै ले प्रभु खाना को कुरो नि गरौ है । त्यो सिङो खसीको मासु को बेज्जत नगरौ
बैरे · Sep 1, 2009 1:05 PM
भाग ९: (बिभिन्न कारणले गर्दा चाहदा चाह्दै पनि जमुनी को यो भाग अलिक ढिलो हुन गयो| आशा छ, पाठक हरुले यो परिस्थिती लाई बुझिदिनुहुनेछ्| साथै, जमुनिमा जस्तै हाम्रो मा पनि दशै दैलो ठेलोमै आइसकेको यस घडिमा सम्पुर्ण पाठकहरुमा विजया दशमि को शुभकामना ) मुख धुँदा पनि, अघी भर्खर देखेको सपनाको धंगधंगी बाँकी नै थियो| टिकाको दिन, कोतमा बडाई लाउनुभन्दा अघाडीनै ढल्के शमीको रुखमा पूजा गरी सक्नु पर्ने|"कुंभकर्ण जस्तो, यस बेलासम्म सुतेर, हेर, टिकाको साइत नै छोप्न गाह्रो होला जस्तो भयो" समिको पूजा गर्नलाई सप्तपाला माथि दियो र काँचो धागो राख्दै आमाले भन्नु भयो|गाउको पानीखाने ढुंगे धारा कटेर अलीक पर गए पछी एउटा भिरालो भिरालो परेको पातीघारी थियो| बर्सेनीको जल जले पहिरोले गर्दा, प्रत्यक बर्ष त्यसको क्षेत्रफल बिस्तारै घट्थ्यो|घमाइलो त्यो पाती घारी, हिउदे बिदामा गाउका केटा केटी हरु पातीका झ्यांग फ्याकेरै भए पनि ढाली, कपर्दी, डन्डी बियो खेल्न जम्मा हुन्थे| अघिल्लो बर्ष फलाके बुढाकी बुहारी मर्दा त्यही पाती घारिको चौरमा डिकुरो राखेका थिए| त्यसैले होला, घाम अस्ताए पछी एक्लै पधेरो कटेर पाती घारी तिर जाँदा मन ढक्क हुन्थ्यो| पातीघारी को छेउमा खोइ कस्का बाजे बाराजुले बनाएको एउटा समीको चौतारोको निशाना थियो| बर्सौ पुरानो समीका जराले गर्दा चौतारामा समी भन्दा पनि समीमा चौतारो जस्तो देखिन्थ्यो|पहिरोले तानेर होला, समी को रुख प्रत्येक बर्ष बढी बढी ढल्कदै गएको थियो| दसैंमा पूजा गर्ने भएकोले पाप लाग्छ भनेर कपर्दी खेल्ने केटाहरु जती च्यापे पनि समीको रुख तिर जादैनथे|बरु जांघे समातेरै पनि पातीको झांगमा हामफाल्थे| मेरै कारणले ढिला भएर हो कि, अरु गाउले बिहानै गएका हुन, हामी पुग्दा समिको रुखमा थुप्रैले पूजा गरी सकेका रहेछन| दुनुमा तेल राखेर बालेका थुप्रै बत्ती अझै पनि धिप धिप बली रहेका थिए| हामी पूजा गरेर फर्कदा अन्तरे बुढाका खलक भर्खरै समीको रुख तिर उकालो लाग्दै थिए| "ए कान्छा, तेरोमा अली अली खुद्रा पैसा छन कि छैनन हँ? हाम्रो काइलोलाई बजाराँटी लिएर आ है भनेको ल्याएनछ|" अन्तरे बुढाले एकै सासमा कथा सुनाए| "धेरै त छैन होला अन्तरे बा, अली अली छ होला २० -३० रुपैयाँ जती, अहिले फर्कदा पस्नु न " बाले हातको ढाकाको टोपी लाउदै भन्नु भयो| हुन त, ति अन्तरे बुढालाई किन नै धेरै खुद्रा चाहियो र ? जो जो टिका लाउन आए पनि "लौ एउटा सिङै गाइ, बोरु पाल्न सक्छेउ कि सक्दिनौ ?" भन्दै ५ पैसाले झारा टार्थे|छोरा लाई दक्षिणा दिन हुँदैन भनेर तेही गाइ पैसो पनि हामिले त हेर्न सुंघ्न पाइदैन्थ्यो| तेसैले हाम्रा बालाई किन दानी बन्न परेको होला जस्तो लाग्यो| तैपनी चुप चाप बसे| "यी अन्तरे बुढाका घर भोरी जन्ती छन, तैपनी हेर, बुढा मान्छे, दसैंको बिहान खुद्रा पैसा खोज्दै हिंड्नु पर्ने, बार्ह् छोरा तेर्ह् नाती, बुढाको धोक्रो कादै माथि"| अन्तरेका खलक हामीले बोलेको नसुन्ने गरी टाढा पुगे पछी आमाले बुढा माथि दया देखाउनु भयो| "ओइ राजेश्, जा जा, माथ्लो तला बाट बा सुत्ने ओछ्यान मा ओछ्याएको राडी लिएर आइज" घर को पिडिमा कलश राख्दै आमाले भन्नु भयो|"तोप घर मा तोपै पड्काएका छैनन्, ऐले किन ल्याउन पर्यो र आमा ?" माथ्लो तलामा जान नपरोस भन्ने निउ पार्दै मैले भने| " हैन! यो दशैको खसी को कान पोलेर खाएर आफै कान नसुन्ने भैइस कि क्या हो ? अघी भर्खर पहिलो तोप पड्केको सुनिनस ? दस थरी निउ नबना त्, खुरुक्क लिएर आइज, बिहान भरी सुत्छ, अल्छि| " बिहान अलिक धेरै बेर सम्म सुतेकोलाई समेत पुग्ने गरी आमाले हपार्नु भयो | सकी नसकी तलाबाट राडी पोको पारेर ल्याउदा आमाले टिका, जमरा तयार पारी सक्नु भएको रहेछ| भिर्खे दाइकोबाट ल्याएर एकपटक लगाएर राखेको लुगा झिके| पहिला जसरि नै सर्ट्को बाहुला दोब्र्याए, पाइट्को पनि हुक लाउने फिता ल्याएर पेटी अड्काउने घारमा बाँधेको अघाडी अलिक मुजा परे जस्तो लायो, मुजा छोप्न लाई पाइट भित्र हालेको सर्टलाई बाहिर निकालेर छाडिदिए| कपडा संगै किनेको निलो पायाल चप्पल निकाले र बलेसी झर्ने पेटिमा राखे|दोश्रो तोप पड्केको सुनियो|तेती नै बेला अन्तरे बुढा पनि खुद्रा पैसा लिन आइ पुगे| " अर्को चाडैनै पड्काउछन" पातीका अली अली फुल खेल्दै गरेका मुन्टा एउटा आरिमा राख्दै आमाले भन्नु भयो| नभन्दै आमाले भनेको ४-५ मिनेट मा नै अर्को अन्तिम तोप पनि पड्कियो| लगाउने मान्छे पुर्व फर्केर र लागाइदिने पश्चिम फर्केर टिका लगाउनु पर्छ भनेका थिए| दसैंको टिको सधैं मलाईनै पहिला लगाउने चलन थियो हाम्रो मा| म पुर्व फर्केर चुप चाप पलाटी मारेर बसे|बा आमा दुबैले म माथि अक्षता, जमारा छर्दै आशिर्बाद दिन थाल्नु भयो| "आयु द्रोणसुते, श्रीयम दशरथे, सत्रुक्ष्य राघबे: ऐशोर्यम नहुशे, गतिश्च्य पवने, मानश्च्य दुर्योधने: शुरो शान्त नववे, बलं हलधेर, सत्यन्च्य कुन्ती सुते:बिज्ञानं बिधुरे, भवन्ती भवत कृतिश्च्य नारायणे: जयन्ती मंगलाकाली भद्रकाली कपालिनीदुर्गाक्षेमा शिवा धात्री स्वोधा स्वोधा नमस्तुते| बा आमाको आशिर्बाद सधैं थियो म माथि, तैपनी दसैंको आशिर्बाद मलाई किन हो किन बिशेष लाग्थ्यो| बा आमाले टिका लगाइदिनु भयो| " एउटा टोपी लगाएको भए पनि जमारा अडिन्थ्यो होला" मेरो कानमा जमरा घुसार्दै आमाले भन्नु भयो|अक्षता झर्छन कि झर्दैनन भनेर बिचार गर्न यसो टाउको हल्लाए, दहिमा मुछेको अक्षता तेती सजिलो संग नझर्ने रहेछ| एउटा भक्त छोराले जसरी बा आमाको खुट्टा ढोगे| मेरो पालो सकियो| सधैं को दसैंमा जस्तो, घरमा टिका लाए पछी हामी सबै जना जमुनिको मा गएर टिका लगाउने भयौ| पहिला, हाम्रो हजुरबा हुँदा उनिहरु का सबै हाम्रो घरमा आउथे रे टिका लाउन, तर हजुरबा बिते पछी भने हामी उनिहरु को मा जान थाल्यौ| तेही गएर बाले जमुनिका बा र आमासंग टिका थाप्नु हुन्थ्यो| जेठाजुले बुहारीलाई छुन हुँदैन भनेर आमा ले जमुनिकी आमासंग मात्रा टिका थाप्नु हुन्थो| सबैले आफु भन्दा सानालाई टिका लगाइदिने गर्थे| मलाई चाँही जामुनी बाहेक सबैले टिका लगाइदिए|शुरु शुरुमा रातो लाग्छ कि भनेर कपडाको बढो ख्याल राखे, तर जती गरे पनि केहि सिप लागेन्|सब भन्दा कान्छो छोरो भएको ले सबैलाई ढोग्ने म मात्र रहेछु| सबैको ढोग खाने जमुनी| टिका लगाएको पैसा जम्मा पार्न लाई एउटा दोकाधे थैली बोकेर बसेकी थि जमुनि| मैले जमुनिलाई टिका लगाइदिए| दिन्कै कती पटक पैसा गनेर फुर्ती लाउनी हो यो जमुनिले भन्ने थाहा हुँदा हुँदै पनि बाले " जमुनि लाई टिका लाएर यो पैसा देल्" भनेर दिएको ५ रुपैयाँ दक्षिणा दिए|दक्षिणा पाउने बित्तिकै थैली भित्र राखी र ख्वार्र थैलिको मुख तानि| खाना खाएर स्यान्दाइ मामाघर जाने भयो, म र जमूनी चाही गाउमा टिका थाप्न जाने भयौ| जमूनिले को थालमा भात भन्दा मासुको थुप्रो ठुलो थियो, पहिले नै आमाले मलाई थोरै मासु धेरै भात र दाल राखिदिनुभएको थियो| "कस्ती हन्तकाली रहिछे यो, खाने कुराले नै किचेर मरीचे भएकी रहिछे जस्तो लाग्यो, तर केहि पनि बोलिन्| आफुले टिका लाएर फुटेको कौडी पाउने हैन्, त्यसैले पहिला अन्तरे बुढाकोमा जाने बिचार गरे| "ओइ जमूनि- पहिला अन्तरे बुढाको मा जाँउ, अनि तेता बाट तल्लो थर हुँदै माथी लागौला" गल्लिमा पुग्ने बित्तिकै मैले भने| "तं त फेरी ससुराली गाउ पनि जानु पर्ला नि, पारी घर्ती गाउमा छ नि तेरी सिंगाने| " तगाह्रोको गरालो घ्वार्र तान्दै भनि|"मलाई के को ससुराली जा भन्छेस्, हिजो बेलुका धन्नै लाने भएको थियो बरु तैलाई एउटा झुसिल्किराले" रातिको सपना सम्झदै मैले भन्दा केहि पनि नबुझेर अक्क न बक्क परी जमूनि| हामी अन्तरे बुढाको मा पुग्दा, अरु एक दुइ जना टिको लाएर फर्कदै रहेछन्| "ओहो नाती नातीन टिका लगाउन आईच्छान्, लौ आउ आउ" अघी भर्खर हाम्रा घरबाट खुद्रा पैसा ल्याएर हो कि किन हो, अन्तरे बुढाले चेपारे पारेको देखेर जमूनी छक्क परि|"लौ यो राजेश त नाती पर्यो, दक्षिणा दिन भएन्, जमूनिलाई चाही एउटा गाइ सिङै दिनु पर्यो, पाल्न सक्छौ कि सक्दिनौ नातीनि ? " बुढाले नजिकैको तामाको आरी बाट एउटा ५ पैसा को ढ्याक निकाल्दै भने|जमूनिले थापेका २ हातमा अन्तरे बुढाले ५ पैसा राख्दा जमूनिको अमिलो अनुहार हेरेर मनै हरर भयो| बुढिले दिएको केराका एउटा एउटा टुक्रा खाएर हिडौ| "घाँट जाने बेलामा पनि ५ पैसामा लोभ गर्छ अन्तरे बुढो" गल्ली काटेर बाटेगरा मा आउने बित्तिकै जमूनिले भनि|" सबैको आफ्नो आफ्नै मुल्य हुन्छ जमूनि | ५ पैसा सुहाउने लाई ५ पैसा, ५ रुपैयाँ सुहाउनेलाई ५ रुपैयाँ" "गाइ पैसो" को रिस म माथी पोख्छे भन्ने थाहा हुँदा पनि जमूनिले पाउने दक्षिणामाथी को तुस फ्याँके| "तेरो ससुराली गाउमा जा त अनि तेरो भाउ ५ पैसा हो कि २ पैसा हो थाहा पाउछस्" नभन्दै जङी जमूनि| अरु निउ निकालेर झगडा गर्न मन लागे पनि मेरो मुख जमूनिको जस्तो हरा भरा थिएन्, ठीक बेलामा ठीक जवाफ दिने| एक दुइ घर टिको लगाउदै हिडौ| जस्को घर बाट निस्के पनि तगाह्रो काट्ने बित्तिकै एक पटक थैली को मुख खोलेर पैसा हेर्थी जमूनि| "जम्मा ४५ रुपैयाँ भयछ" रतन दाइको घर मा पुग्ने बेलामा भनि| जती पटक तेल्ले थैली हेर्छे तेती पटक "किन यस्को थैली म प्वाल पर्दैन " जस्तो लाग्थ्यो| रतन दाइको मा टिका लाएर जमूनिलाई १० रुपैयाँ दिदा मेरो अनुहार अरुले देखेका त छैनन जस्तो लाग्यो| ठाकुरे दाइकोमा टिका लागाएर फर्कादा श्रीमायाहरु कुरेर बसेका रहेछन्| "ओइ जमूनी आइज पैसा गन्यौ" गौडाको छपनिमा बस्दै श्रीमायाले भनि |"आइज राजेश्" ठुलो छपनिको एकातिर बस्ने ठाउ देखाउदै जमूनिले भनि| जमूनिको थैली बज्दा त सहनै नसक्ने हुन्थ्यो झन पैसा नै देख्दा के होला, जस्तो लाग्यो र "पैसा न सैसा टिकी ट्यास ट्यास्" भनेर हिडे| पर गएर हेरेको जमूनी र श्रीमाया अझै पनि छपनिमा पैसा गनी रहेका थिए| क्रमश: Last edited: 20-Sep-09 12:44 PM
RajaHarischandra · Sep 20, 2009 12:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion