A must read Blog

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सानुबुबाको मनोवाद सोमबार, 08 जून 2009 15:06 गुणराज लुइँटेल       बा दंग । छोरी झन् दंग । भर्खरै बनेको नयाँ कुर्सीमा आरामले बसेकी छिन् उनी । छोरीलाई कुर्सीमा देखेर बा डब्बल खुशी छन् । कुर्सी बनाउँदा प्रयोग भएका ज्यावल अझैं भुइँमै छन् । मिलाइसक्न पाएको छैन । छोरीको अनुहारको खुशी देखेर बाले आफूलाई थाम्न सकेका छैनन् । बाको अनुहारको खुशी देख्दा यो सूत्रधार पनि आनन्दित छ । छोरी केही बोलेकी छैनन् । मनमनै गम्दैछिन्- सानुबुबाले मलाई माया गर्नुहुँदो रहेछ । उहाँले कति माया गर्नुहोला भन्ने मलाई सँधै लाग्थ्यो । ठीकै छ । यसपालि भने म उहाँसँग खुशी छु । छोरी हाँसिरहन्छिन् । बा बोल्दै जान्छन् । 'अब त तिमी खुशी छौं हैन छोरी ? तिम्रो कुर्सीका निम्ति मैले चानचुने रुख काटेको छैन छोरी । एकदम सक्कली काठको कुर्सी हो यो । कुर्सीका लागि प्रयोग भएको काठ कांग्रेसकै रुख हो । तिम्रो खुशीका निम्ति कांग्रेसको रुख केही होइन ।' छोरी अझै मुस्कुराइरहेकी छिन् । सुशील कुरो बुझ्दैन। तिनलाई सन्तान सुखबारे जानकारी होस् पनि कसरी ? ती त आजीवन अविवाहित रहे । बिहे नगरेपछि कसरी सन्तानको मुख देख्न पाइन्छ ? सन्तानको मुख नदेखी कसरी माया लाग्छ ? सानुबुबाले कति धेरै माया गर्नुहुन्छ ? छोरी अझै सोचिरहेकी छिन् । मन त्यसैत्यसै पुलकित भइरहेको छ । भर्खरै बनाएको कुर्सीमा बसेकी छोरीलाई देखेर बा अरु भावुक भइरहेका छन् । 'छोरीको बा भएर त हेर यसमा कति आनन्द छ । बाँचेर पनि छोरी पाउन नसक्नेहरू तिमीहरूलाई यो सन्तान सुखको अनुमान कसरी होला ?' बाका कुरा सुनेर छोरी कुर्सीमा खुट्टा हल्लाएर बसिरहेकी छिन् । बा भने आफ्नी छोरीलाई झन् सानी देख्दै छन् । मनमनै सोच्छन्- ऊ बेला क्रान्तिकालमा कहिल्यै यिनलाई मैले बाको माया दिन सकिन । दिन सकूँ पनि कसरी ? मसँग थियो नै के र ? गणेशमानजी, किसुनजीहरूले पछि पार्टी कब्जा गरिहाले । सान्दाजुका पालासम्म मैले चिहाउनै पाउन्नथें । पार्टीमा मात्र होइन, पञ्चायतको जगजगीमा यिनलाई हुर्काउन कति दुःख भा'थ्यो । यिनले भनेको जस्तो गुडिया कहिल्यै दिन पाइन । तर मान्छे यी जब्बरै हुन् । आफूले खोजेको कुरा पुर्‍याउनै पर्ने । जे होस्, यो उमेरमा आएर भए पनि मैले यिनलाई खुशी दिन सकें । मान्छेहरू मलाई धृतराष्ट्र भन्छन् रे । अखबारवालाहरू पनि त्यस्तै छन् यो मुलुकमा । ममात्र धृतराष्ट्र छु र ? प्रत्येक बाबु आफ्ना सन्तानका लागि धृतराष्ट्र हुन्छ । बाबु धृतराष्ट्र नबन्ने हो भने ती सन्तानले कसरी उन्नति गर्न सक्छन् ? म ती प्रत्येक युगका धृतराष्ट्रहरूको निरन्तरता हुँ । हो, म धृतराष्ट्र हुँ । उनी भित्रभित्र बहकिँदै जान्छन् । छोरी कुर्सी छामिरहेकी छिन् । आहा सानुबुबाले कति राम्रो कुर्सी दिनु'भो ? तिनी मनमनै खुशीले गदगदाइरहेकी छिन् । उता बा भने अरु भावुक भइरहेका छन् । यी रामचन्द्रहरूले मेरी छोरीलाई टिक्नै नदिने रहेछन् । लोभीहरू यो बूढाले अझ पनि कुर्सी देला भनेर आश गर्छन् । मैले तिनको मात्र मुख हेर्ने हो भने सुजाताले कहिले उन्नति गर्ने ? सारा जिन्दगी पार्टी र देशका लागि भनेर लगाइयो । परिवारका लागि केही गर्न पाएको छैन । बल्ल यसपालि सानै भए पनि परिवारको दायित्व पूरा गरें । पार्टीमात्र भनेर के गर्नु ? आफ्नै सन्तानका लागि केही गर्न सकिएन भने । बा भित्रभित्र हराइरहेको देखेर कुर्सीमा खेलिरहेकी छोरीले लाडिदै सोधिन्- 'सानुबुबा हजुरले के सोचिराख्या हो ?' छोरीको आवाजले उनी झस्किए । मुस्कुराए । मायालाग्दो गरी छोरीलाई हेरिरहे । उनी यसरी खुशी भइरहे जसरी सन्तानको खुशीमा यो संसारका अरु बाहरू हुन्छन् । (नागरिकको जेठ २५, २०६६ को युवक श्रेष्ठको रेखाचित्र हेरेपछि यो ब्लग-कथा लेखिएको हो ।)

Morange · Jun 8, 2009 4:15 PM · 2,881 views

1 Reply

A picture speaks thousand words itself

Poon-Hill · Jun 8, 2009 5:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all