India displacing Nepalese ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारतीय सुरक्षाकर्मीले लखेट्दा १८०० विस्थापित दुर्गालाल केसी दाङ, भारतीय सीमा सुरक्षा बलले लखेट्दा जिल्लाका छ हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । उनीहरूमध्ये १ हजार ८ सय जना सुरक्षा माग गर्दै दुई दिन पैदल हिँडेर देउखुरी आइपुगेका छन् । जिल्लाको सीमावर्ती क्षेत्रमा बस्दै आएका हजारभन्दा बढी घरपरिवार गाउँ छाडेर हिँडेका हुन् । 'तिमीहरू यहाँ बस्न पाउँदैनौं भनेर हाम्रा घरहरूमा आगो लगाइदिए,' राजपुर ७, खङग्रा नाकाकी ७० वषर्ीया पूर्णकुमारी बिष्टले भनिन्, 'जीउ बचाउन नसकिने भएपछि परिवारै उठाएर हिँड्नुपर्‍यो ।' उनका अनुसार भारतीय सुरक्षा बल 'एसएसबी' ले सीमा स्तम्भ ३५ मिटरसम्म सारेको छ । कति ठाउँमा ती स्तम्भ हराउँदै पनि गएका छन् । राजपुर गाविसका भैसाही, सुनपथ्री, खाङग्रा, बेला गाविसका बरुवा, पटौली, सिरिया, सुकौली, गुरुङ, कोइलाबास लगायत जिल्लाका २२ नाकाका बासिन्दा विस्थापित भएका हुन् । उक्त क्षेत्रमा भारतका बलरामपुर, श्राबस्ती र गोन्डा जिल्ला पर्छन् । 'विस्थापितमध्ये कति त बाटामै बिचल्लीमा परेका छन् । कति आफन्त खोज्दै गएका छन्,' राजपुर ९, डगमारा नाकाका चन्द्रप्रकाश खडकाले भने, 'बालबच्चा बिरामी परेर बिजोग भएको छ, खाने रासन केही छैन ।' भारतीय सुरक्षाकर्मीले चेलीबेटीलाई दुव्र्यवहारसमेत गरेको विस्थापितले बताए । 'अहिलेसम्म १५ जनाभन्दा बढी केटीहरू हराइसके,' सिरिया नाकाका बेगराम पुनले दावी गरे, 'आफ्नै अगाडि दिदीबहिनी र श्रीमती बलात्कृत भएको हेरेर चुपचाप बस्नुपर्छ ।' वर्षौंदेखि पीडा भोग्दै आए पनि पछिल्लो समय ज्यादती बढेकाले सीमा क्षेत्र असुरक्षित भएको उनीहरूको भनाइ छ । भारतबाट सामान ल्याउन बन्द गरिदिएको र आफूहरूको उत्पादन पनि जबर्जस्ती लैजाने गरेको राजपुर ७, खङ्ग्रा नाकाकी ६० वषर्ीया चामकुमारी घर्तीले बताइन् । 'बन्दुक ल्याएर घरमा आउँछन्, गाईबस्तु र खाद्यान्नसमेत लैजान्छन्,' उनले भनिन्, 'कोही बोल्नेबित्तिकै कुटिहाल्छन् । अहिलेसम्म कुटाइ नखाएको र हातपात नभएको कोही छैन । हाम्रो सुरक्षा कसैले गर्न सकेन ।' सुरक्षा खोज्दै देउखुरी आएकाहरू सतबरिया २ स्थित कर्री सामुदायिक वन क्षेत्रमा पाल टाँगेर बसेका छन् ।  प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले विस्थापितको सुरक्षाका लागि छिट्टै सर्वदलीय बैठक गरिने जानकारी दिए । 'नाकामा निकै त्रासपूर्ण वातावरण भएको जानकारी आएको छ,' उनले भने । नेपालीभूमि कब्जा पवन यादव  बारा- सीमावर्ती दक्षिण झिटकैया, बडकी फुवरिया र बसतपुर गाविसका किसानहरूले भारतीय पक्षबाट सीमा मिचेर खेतीपाती गर्न नदिएको बताएका छन् । 'हाम्रो जग्गामा भारतीयहरू आएर खेती सुरु गरे,' पीडित किसान ब्रह्मदेव राय यादवले भने, 'छ वर्षपहिले भारतले सीमा सारे पनि हामीलाई नै खेती गर्न दिएकाले केही बोलेका थिएनौं ।' आफूहरूसँग नेपाली भूमिमा जग्गा भएको लालपुर्जा रहेको उनले बताए । ब्रह्मदेवलगायत दीनानाथ यादव, अशेश्वर राय यादव, दिलमहम्द बैठालगायतको नाममा रहेको जग्गामा शनिबारदेखि भारतीय किसानले खनजोत सुरु गरेका हुन् । स्थानीय किसानहरूको नाममा रहेको ५० बिघा खेत भारततर्फ पर्नेगरी भारतीय अधिकारीहरूले ०६० सालमा सीमा स्तम्भ सारेर नेपाली भूभागलाई आफ्नो बनाएको उनीहरूको भनाइ छ । सीमा स्तम्भ सारिए पनि नेपाली किसानले मिचिएको जग्गा उपभोग गर्दै आएका थिए । अहिले आएर भारतीय नागरिकले त्यहाँको सीमा सुरक्षा बल एसएसबीका जवानहरूको सहयोगमा खनजोत गरेका छन् । शनिबार बिहान भारत, जोम्हारनिवासी पुन्देव रामले जबर्जस्ती आफ्नो खेतमा धानको बीउ छरेर गएको अर्का पीडित दीनानाथले बताए । आफ्नो खेत जोत्न जाँदा भारतीय किसानहरूले एसएसबी जवानहरूलाई बोलाएर काम गर्न नदिई गाली गरेर फर्काइदिएको उनले गुनासो गरे । 'मैले मेरो जग्गाको कर कलैयास्थित जिल्ला मालपोत कार्यालयमा तिर्दै आएको छु,' उनले भने, 'अहिले एकाएक मेरो जग्गा छिनियो ।' उनीलगायत दक्षिण झिटकैया ६ का गोबारी महरा, गोपालजी प्रसाद, कृष्ण पटेल, रामसखीदेवी दुसाद, जोखु महरा चमार, सुनरपतिदेवी चमइन, चुल्हई महरा चमार, सूर्यप्रसाद जयसवार, रामसेवक यादवलगायतको नाममा रहेको जग्गासमेत भारतीयहरूले मिचेको पीडितले बताए । 'आफ्नो नाममा रहेको जग्गाको कर मालपोतमा तिर्दै आएका छौं,' स्थानीय कृष्ण पटेलले भने, 'तर भारतीयहरू जग्गा हडप्न दुःख दिइरहेका छन् ।' भारतीय पक्षले जग्गा हडप्दासमेत नेपाली प्रशासन मूकदर्शक बनेर सहयोग नगरेको स्थानीय किसान लालबाबुले आरोप लगाए । बाराका प्रजिअ तारानाथ गौतमले सीमा मिचिएको बारेमा नापी विभागबाट अनुसन्धान भइरहेको जानकारी दिए । नापी अधिकृत शशिनरसिंह रायमाझीले भारतीय पक्षद्वारा मिचिएको जग्गा सम्बन्धमा स्थलगत अवलोकन गरिसकेका छन् ।

grishma · Jun 2, 2009 4:55 PM · 10,896 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all