दृष्टिकोण सुकिला सरहरूलाई एउटा ज्ञापनपत्र कृष्णज्वाला देवकोटा पुरानो अंक - सत्ता-राजनीतिमा नयाँ आयाम गुरुराज घिमिरे - कुनै सिपाही देश भन्दै अब किन मर्ने ? राजेन्द्र थापा - दक्षिापन्थी यात्रामा राजनीति बन्धुविक्रम क्षेत्री - सम्बोधन : सहमतीय राजनीतिको कसीमा श्याम श्रेष्ठ - श्रीपेच माग्नेलाई सोनिया... विश्वप्रकाश शर्मा 2009-05-21,Thursday सरहरू, दर्शन ! सदियौंदेखि पुरोहितको उच्च आसनमा राखेर सम्मान गर्दै आएका यहाँहरूलाई आज ज्ञापनपत्र लेख्नुपर्दा अत्यन्त नरमाइलो लागेको छ । सरहरूलाई धेरै कुरा थाहा छ । राजधानीको कुन तारे होटलको कुन पेय वा परिकारको स्वाद कस्तो छ, यहाँहरू जानिसिन्छ । नेपालस्थित कुन राजदूत गल्फका शौखिन छन्, कसलाई चेस मन पर्छ, को क्रिकेट वा फुटवलका दिवाना छन्, त्यो पनि यहाँहरू थाहा पाइसिन्छ । काठमाडौंस्थित आइएन्जिओका हाकिमहरू र तिनका रुचि पनि सरहरू बुझिसिन्छ । सेना, प्रहरी र प्रशासनका उच्चपदस्थहरूसँग यहाँहरू नियमित संवाद गरिसिन्छ । काठमाडौदेखि लन्डन र ओस्लोदेखि बोस्टनसम्मको मौसमबारे पनि जानकार होइसिन्छ । तर, नेपाली समाजको कम्पास कता घुमिरहेको छ, किन घुमिरहेको छ, सरहरू मेसो पाइसिन्न । सरहरूलाई रोमको इतिहास थाहा छ तर रोल्पाको बढ्दो तापमान थाहा छैन । सरहरूलाई थाक्सिनले किन्न खोजेको फुटबल क्लवको कथा थाहा छ तर थारुले लडिरहेको लडाइँको मूल्य थाहा छैन । सरहरूलाई मस्कोको मौसम थाहा छ, तर मधेशको आवेग थाहा छेन । रिसानी माफ होस्, नेपाल अब कफी सपका बौद्धिक विलास, पाँचतारे होटलका कक्टेल डिनर, सेमिनारका विकासे वहस र टेलिभिजन साक्षात्कारहरूमा सरहरूका मुखारविन्दबाट प्रकट हुने नैतिक उपदेशभन्दा धेरै जटिल भइसकेको छ । सेनापतिको उमेरसम्बन्धि मुद्धामा तीन वर्षसम्म फैसला नगर्ने अदालत न्यायालयका नाममा कलंक हो भन्न सरहरूसँग जिब्रो छैन । आर्थिक अभावका कारण उपचार गर्न नसकेर पहिले बच्चालाई मार्ने अनि आत्महत्या गर्ने मधेशकी विपन्न आमाको आत्महत्या सिस्टमको आत्महत्या हो भन्ने स्वीकार गर्न सरहरूसँग छाती छैन । सरहरू राष्ट्रपतिलाई शिखन्डी बनाएर वाण हानिसियोस्, सेनापतिको बर्दीमुनि लुकेर छिर्के मारिसियोस्, दूतावासहरूका ढोकामा लाम लागिसियोस् तर अब मैलो मान्छेले आफ्ना विधि र सिस्टमको मानक आफैं बनाउनेछ । सरहरूसँग वकिल छन्, प्रोफेसर छन्, मिडियाको ठूलै पंक्ति छ, अदालत छ, सेनापति छन्, राष्ट्रपति छन्, विदेशी राजदूतहरू छन्, केवल मैलो जनता छैन । पहिलेपहिले जनता ठूलो कुरो थिएन, त्यसैले सरहरूका उपदेश एकैचोटि ताम्रपत्रमा छापिन्थे । आजकल थारु महिलासमेत हातमा घोचो लिएर प्रहरीसँग लड्छन् । देश बहुलाएको छ । त्यसैले लोकतन्त्र बाह्र वर्षे 'प्रजातन्त्र' जस्तो यहाँहरूको बिछ्यौना हुन गाह्रो छ । मन त के मान्ला र तर यसपाला सरहरूले अलिकति 'कम्प्रोमाइज' गर्नै पर्लाजस्तो छ । माओवादीहरू केवल निमित्तमात्रै हुन् । बल तिनका सिद्धान्तमा थिएन, बल समाजका जटिलता र विषमतामा थियो । यो लडाइँ लोग्नेले छाडेका आइमाइहरूले लडे । काँतर भनिएका आदिवासीले लडे । सेवक ठानिएका जनजातिले लडे । राज्यले अवसरहीन तुल्याएका बेरोजगार युवाहरूले लडे । आज्ञाकारी भनिएका अनि सबैभन्दा मैला र सबैभन्दा प्रतिष्ठाहीन दलितहरूले लडे । जब ती अनकन्टार पहाडलाई आफ्नै रगत छ्यापेर ब्युँताउँदै थिए, त्यतिखेर सरहरू कहाँ होइसिन्थ्यो ? महाराज ज्ञानेन्द्रलाई दाम चढाउँदै ? युवराज पारसका बाहुलीबाट गोदवा थाप्दै ? संकटकालका पक्षमा कविता लेख्दै ? यो लडाइँ कुलीनहरूको बुद्धिविलास होइन, सरहरू । समाजको सबैभन्दा सीमान्तवर्गले सबैभन्दा दुर्दान्त लडाइँ लड्नुपर्ने विषमता यथावतै राखेर र मैलो मान्छेका आँसुलाई कार्पेटमुनि लुकाएर अब सरहरूले लोकतन्त्रको आइसक्रिम खान गाह्रो छ । समाजका बेथितिलाई सुल्झाउन सहयोग गरिसियोस् । समुदायका आत्मसम्मानलाई सम्बोधन गर्न स्वीकार गरिसियोस् । समयको संकेत बुझिसिएन र चाउचाउ भाषा गरेर समाजलाई उल्टोतिर फर्काउन खोजिसियो भने एक दिन मैलो मान्छेले सरहरूको सुकिलो संसार साँच्चिकै कब्जा गर्छ, सर । सरहरू 'विधि'को कुरा गरिसिन्छ तर एउटा प्रधान सेनापतिको उमेरसम्बन्धि मुद्धामा तीन वर्षसम्म फैसला गर्न नसक्ने अदालत न्यायालयका नाममा कलंक हो भन्न सरहरूसँग जिब्रो छैन । सरहरू 'सिस्टम' का पक्षपाती होइसिन्छ तर आर्थिक अभावका कारण आफ्ना बच्चाको उपचार गर्न नसकेर पहिले बच्चालाई मार्ने अनि आत्महत्या गर्ने मधेशकी विपन्न आमाको आत्महत्या सिस्टमको आत्महत्या हो भन्ने स्वीकार गर्न सरहरूसँग छाती छैन । सरहरूले बनाइदिएका विधि र सिस्टमका मानक असफल भइसके, सर । सरहरू राष्ट्रपतिलाई शिखन्डी बनाएर वाण हानिसियोस्, सेनापतिको बर्दीमुनि लुकेर छिर्के मारिसियोस्, दूतावासहरूका ढोकामा लाम लागिसियोस् तर अब मैलो मान्छेले आफ्ना विधि र सिस्टमको मानक आफैं बनाउनेछ । मधेश हेरिसियोस्, थारु हेरिसियोस्, कणर्ाली हेरिसियोस्, मजदूर हेरिसियोस् र भनिसियोस्, अब सरहरूको कमान्ड कहाँ छ ? कसले सुन्लाजस्तो छ सरहरूको विलाप ? यो देशमा माक्र्स वा माओलाई सही प्रमाणित गर्न जन्मेको को छ ? कसको जन्म प्रचन्डपथको औचित्य पुष्टि गर्न भएको हो ? सरहरू, नेपाली अहिले कोही पनि माक्र्स होइन, आफैंलाई प्रमाणित गर्न लडिरहेको छ । मलाई सोधिसिन्छ भने कम्युनिष्ट एकदलीयता अब इतिहासको सिनो भइसकेको छ । सर्वहाराको अधिनायकत्वका नाममा कम्युनिष्ट पार्टीका मुठीभर नेताहरूले शासन गर्ने परिपाटी समाप्त भइसकेको छ । तर, सरहरू ! यहाँहरूको प्रजातन्त्र चरम यौवनमा पुग्दै गर्दा संसारभरि असफल भइसकेको माओवादी झन्डा उठाएर एउटा सानो समूहले युद्धको उद्घोष गर्यो र हेर्दाहेर्दै त्यसले सरहरूको प्रजातन्त्रलाई धूलिसात् बनाइदियो । सरहरूले तिनका टाउकाको मूल्य तोकिसियो । भैरवनाथगण जस्ता हिटलरसमेत लजाउने यातनागृहहरू खडा गरिसियो । तैपनि, सरहरू सोचिसियोस् त, माओवादी सेनामा चालीस प्रतिशत महिला सहभागिता किन सम्भव भयो होला ? सबैभन्दा आज्ञाकारी मानिने मगर किन यति व्यग्रतापूर्वक लड्यो होला ? सबैभन्दा काँतर भनिएको थारुमा यस्तो तीव्र आवेग कताबाट आयो होला ? समाजको सबैभन्दा मैलो मान्छेले श्रीपेच नै रसातलमा मिल्किने गरी यति ठूलो ज्वालामुखी कसरी पैदा गर्यो होला ? यी प्रश्नको उत्तर नखोजी, यी प्रश्नलाई कार्पेटमुनि लुकाएर सरहरूले कस्तो लोकतन्त्रको झन्डोत्तोलन गर्न खोजिसिएको हो ? सरहरू सजिलै समाचार बनिसिन्थ्यो किनकि सरहरूसँग पहुँच थियो, प्रभाव थियो, सत्ता थियो । सरहरूको खोकी समाचार बन्थ्यो तर हुम्लीको सनातन आत्महत्या समाचार बन्दैनथ्यो । सरहरूले मस्र्या भन्ने गरेको मधेशीको भोक समाचार बन्दैनथ्यो । तर, सरहरू, अब नेपाल त्यो हिजोको 'प्रजातान्त्रिक' नेपाल रहेन । मधेशीले मुठी कसेको देख्दा, थारुले लाठी उठाएको देख्दा, कणर्ालीले नारा लगाएको देख्दा, दलितले अधिकार मागेको देख्दा सरहरू पक्कै नरमाइलो मानिसिन्छ तर इतिहासको रथ सरहरूको रुचि अनुसार अघि बढ्दो रहेनछ, सर । सरहरूको सुकिलो संसारकै छेउमा अभाव, रोग र भोकको, अस्तित्वहीनता र अलगावको प्रदेश छ । सरहरूका र समाजका चिन्ता फरक छन् । सरहरूलाई अनुशासनको चिन्ता छ, समाजलाई अस्तित्वको । सरहरूलाई अत्तरको चिन्ता छ, समाजलाई छाक टार्ने अन्नको । समाजको लडाइ सुकिलो र मैलोबीच भइरहेको छ । सरहरूको कृपाले समाजमा मैला धेरै छन् र तिनैले यो लडाइँ जित्नेछन् । माओवादीको सरकार जमेन । किन जमेन भने त्यो सररूबाट 'लेजिटिमेसी' पाउने चक्करमा दोबाटोमै घुमिरह्यो । संक्रमणकालका नाममा त्यसले कुनै पनि फोहरलाई छोएन जसलाई सबैभन्दा पहिले मिल्काउनुपर्ने थियो । अब माधव नेपाल प्रधानमन्त्री हुन लागेकोमा भने सरहरूलाई बधाइ छ । जनता एक दिन मत हाल्थ्यो र ठान्थ्यो, पूरै सत्ता मेरो मतबाट निर्धारण हुन्छ । लोकतन्त्रको यो सबैभन्दा ठूलो सत्य वा भ्रम थियो । दुईदुई ठाउँबाट जनताले हराएका माधव नेपाल प्रधानमन्त्री बनेपछि त्यो भ्रम पनि सकिएको छ । सीमान्त तप्काको शक्ति र आकांक्षा कुन रूपमा प्रकट भइरहेको छ, सरहरूलाई बुझ्न अलि कठिन, स्वीकार गर्न झन् कठिन भइरहेको छ । संसारलाई थाहा छ, सरहरू संवैधानिक राजतन्त्रकै पक्षमा होइसिन्थ्यो । संसदवादी दलहरू र महाराजाधिराज ज्ञानेन्द्र शाह मिलेर 'प्रजातन्त्र' को गाडा धकेल्नुपर्छ भनेर सरहरूले पटकपटक पुकारा गर्नुभयो । यतिखेर सरहरू आफ्नो सामाजिक सत्ता जोगाउन शान्तिप्रक्रियादेखि संविधान निर्माणसम्मका सबै 'लफडा' छाडेर मुलुकलाई गृहयुद्धतिर फर्काउन उद्धत होइसिन्छ । तर, आदरणीय सरहरू, मुलुक गृहयुद्धतिर फेरि फर्केछ भने पनि त्यतिखेर सबैभन्दा बढी गुमाउने त निश्चय नै यहाँहरू नै होइसिनेछ किनभने अहिलेको नेपालमा गुमाउनका लागि सबैभन्दा बढी सुख त यहाँहरूसँगै छ । krishnajdevkota@yahoo .com
shirish · May 30, 2009 6:20 AM · 20,965 views
Good article.
Maalpaani · May 30, 2009 9:44 AM
समस्याहरु दुईवटा छन् । पहिलो हो, हामी सबै कान चिरेका जोगी प्रमाणित भईसक्यौं । पूर्वसामन्तवादी र बुर्जुवा तप्का मात्र होईन कृष्णज्वाला देवकोटा, जमरकट्टेल र प्रचण्ड सहितका क्रान्तिकारी तप्का पनि सुकिला कानचिरेका जोगीहरु रहेछन् भन्ने कुरामा कुनै द्विविधा बाँकी रहेको होला जस्तो मलाई लाग्दैन । दोश्रो हो, समृद्धि बिनाको समानता भनेको भेट नभरिने प्रतिकात्मक (symbolic) समानता मात्र हो, त्यस्तो समानताको प्रतिकात्मक महत्व बाहेक अन्य रचनात्मक महत्व छैन भन्ने कुरा माओवादीले बुझ्या नबुझ्यै गरेर र माओवादीको वैचारिक वा शक्तिशाली रुपमा लठ्ठ परेका सुकिला सरहरु (कृष्णज्वाला देवकोटा सहितका) ले नबुझ्या नबुझ्यै गरेर यो मुलुकलाई भ्रमको एउटा ठूलो भडखालोमा जाक्दैछन् । समृद्धि र समानता भनेको दुवै हातमा ठ्याक्कै एउटै साईजको राख्न नसकिने लड्डुहरु हुन् । एउटा न एउटा लड्डुको साईज सानो हुन्छ हुन्छ- आजसम्मको विश्वअर्थतन्त्रको अनुभवको निचोड नै त्यही हो । मेरा केही समानतावादी साथीहरु छन् क्या, उनीहरु समानता र समृद्धि दुबैलाई बराबर जोड दिनुपर्छ भन्छन् । म के भन्छु भने, आदर्शको रुपमा जोड दिने कुरा ठीक छ, तर व्यावहारिकता वा अर्थतन्त्रको मार्गचित्र कोर्ने बेलामा त समृद्धिलाई समानता भन्दा एक मिनेट मात्र भए पनि पहिला प्राप्त हुने गरी कोर्नु परेन ? समृद्धि नआईपुगिसकेको अवस्थामा बाँडिने समानता भनेको त गरिवीको समान वितरण न हो । र माओवादीको समाजिक आर्थिक नीतिको थैलो खोतलेर हेर्दा त्यस्तै देखिन्छ । साम्राज्यवाद र दलाल पुँजीवादलाई रोकी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने भनेको विकास होस् कि नहोस् मतलब छैन भनेको हो सारमा भन्नुपर्दा । सबभन्दा आत्मनिर्भर अर्थतन्त्र त उत्तर कोरियाको छ नि । त्यस्तो आत्मनिर्भरताको के काम ? त्यसैले आर्थिक समृद्धिको मार्ग बन्द गरेर विपन्न र सल्बार्टन तप्कालाई आसाको डोरीमा बाँधेर जथाभावी राजनीतिक उद्देश्यको लागि उपयोग गर्ने जनगणतन्त्रवादी सुकिला सरहरुलाई चाही ज्ञापनपत्र कहिले बुझाउने ? Nepe
Nepe · May 30, 2009 11:52 AM
देवकोटा सरले क्रान्तीकारी तप्काका सुकिला सरहरुको बारेमा चाही लेख्न किन छुटाउनुभयो भनेर ‘नेपाल लोकतन्त्र फोरममा’ मा एकजना सहकर्मीले गर्नु भएको टिप्पणी टाँस्दैछु । _____________________________________________________ “Devkota writes well. But his message is confusing. Who are the 'सुकिला सरहरु' ? From the point of view of a Jumli or Humli bahun, the bahuns of dhunkuta and Jhapa are 'सुकिला सरहरु'. From the point of view of a landless dalit in the tarai, almost everyone else is a 'सुकिला सरहरु'. from the point of view of those mortgaging their house and land to pay for air ticket and visa to USA you and I and everyone else who made it to the USA are 'सुकिला सरहरु' (including the recent bhutanese nepali arrivals). From the point of view of a Rolpali farmer woman, Hisala Yami and Pampha Bhusal are 'सुकिला सर-नी-हरु'. From the point of view of those who have never set foot in a modern hotel lobby, all of us who have (including maoist leaders who are now very much part of the seminar and conference circuit in kathmandu) are 'सुकिला सर र सर-नी-हरु.). Fromt he point of view of a sherpa who has never left his village, all those who get on planes and fly abroad are 'सुकिला सरहरु" (and this includes plenty of maoist leaders too !). My point is यो किसिमको मीठो र जुझारु सुनिने तर कुनै तुक नभएको वर्ग-द्वेष र वर्ग-द्वन्दका कुराले मात्रै नेपाल मुलुक बन्नेवाला छैन…यस्ता भाषाले मुलुक बन्ने भए उहिले मुलुक बनिसक्थ्यो… The fact is RIGHT NOW, शाकिकराम जम्मैलाई काटौं 's wife takes in 50 lakhs per month from her union gangsters who are part of hte casino labor unions.... All top maoists are well fed, well dressed, and busy going abroad and attending embassy receptions.... maoist fighters are sitting in camps receiving tens of thousands of rupees per person, with no accounts, no responsibilities, and and in many cases with no control YCL hoodlums have their fingers in everyone's pie, and are sharing the revenue with their bosses. So where is the distinction between 'सुकिला and नसुकिला' these days ? all countries have their share of द्वन्द between सुकिला and मैला वर्ग.... but not all countries have to fight a bloody civil war to resolve such issues.... but in Nepal, with the encouragement of a certain class of pseudo intellectuals, the maoists continue to feel that the best theing that ever happened in Nepali history was their ten year 'जनयुद्ध'.... and Devkota and his fans are among those people who will support another bloody and nihilistic struggle in the name of trying to win victory for the मैला over the सुकिला....no doubt a real distinction, but one whose primarily function in Nepal has been to create more havoc, anarchy in the name of progressive social change, and to become a self serving vehicle for 'class warriors' like the maoist leadership who seem far more interested in state power rather than in establishing a workable, democratic setup wherein real inequities might be addressed in a sustained and peaceful manner. Devkota in this writeup is simply being a mouthpiece for Baburam Bhattarai who recently said that the greater the chaos in Nepal the greater their chance of capturing state power. Sounds revolutionary... तर विश्लेषण and तर्कमा कुनै सकारात्मक सोच र तुक छैन… ______________________________________________
Nepe · May 30, 2009 12:43 PM
yo cheu na tuppa ko artical lekhda ein le aaina herna birse jasto cha
futbal · May 30, 2009 10:31 PM
I know it does not makes any difference, but even I find this article irrelevant. Ho ki maile bujhna nasakeko ho. Comparatively the one posted by Nepe (second post) seems to be more relevant and logical.
pacific salmon · May 30, 2009 10:43 PM
I find this article completely irrelevant. Ho ki maile bujhna nasakeko ho. But the one posted by Nepe (second post ) looks more relevant and logical compared to the original post.
pacific salmon · May 30, 2009 10:46 PM
मैलो देवकोटाले भने अनुसार सुकिला सरहरुले आफ्नो घर बाहिर हेर्दैनन या हेर्न चादैनन। त्यसैले नेपाल यस्तो भएको हो। तर उनका सुकीला सरहरुको परिभाषामा काफी अपुरोपन छ अर्थात सबै समेटिएका छैनन र समेटिएका को को हुन स्पष्ट भनिएको छैन। लेख एउटा पार्टीको भजन गाउने साहित्यकारले लेखे जस्तो छ जुन साहित्यको नाममा राजनितीको बिष पिलाउंछ। साथै मैला जनतालाइ सत प्रतिशत कांधमा राखिएको छ। मैलो जनताले पाउने भनेको नागरीक अधीकार हो, नयां देश होइन। अधिकारको नाममा बितण्डता मच्चाउनेलाइ छुट्टै प्रदेश होइन चारकुने कोठरीमा थुन्ने हो। समग्रमा सुकिलालाइ मैल्याउने या मैलालाइ धुने होइन, एउटै देश एउटै नियम एउटै अधिकार हरेक नागरिकलाइ दिलाउने हो। सुकीला र मैला होइन हामीलाइ हंसिला नेपालीको खांचो छ।
nepalean · May 31, 2009 7:56 AM
Hats off to Nepeji for his splendid comment. Mr. Krishna J Devkota has been nothing more than a mouthpiece stooge to bauram and company. This communist hate-mongering will lead us nowhere except to doom and destruction. let us sow seeds of a subilme culture to accommodate each and everyone in the nations in it rather than being indulged in hate propoganda of ridiculous sorts. Bashing people who stand with different ideologies and smearing all and sundries with bad names is not the solution to country's ills. Mr. Shirish, please don't resort to copy pasting .If you can not contribute creatively, at least you can enjoy reading what others are writing. If can, come up with some really interesting comments and write-ups of your own. This will lead you and others to intellectual discusions. Nepeji, I really appreciate your comment not because of its political colour one amy be tempted to attribute on it but because your points are of the best kind. Anybody with sane mind and genuine arguments can discus on them.
sumedhu · May 31, 2009 9:57 AM
Sumedhu, Thank you for you kind words to यो तुच्छ टिप्पणीकार । अनि शिरीषको टँसाई बारेमा चाही उनले नटाँसिदिएको भए हामीले यो सम्वाद नै पो कहाँ गर्न पाम्थेम र । मलाई लाग्छ, शिरीषलाई छोएको एउटा कुरा के हुन सक्छ भने माओवादीका प्रतिद्वन्दी सुकिला सरहरुको भारतिय-राजदूतवासको अकुटनैतिक सक्रियतालाई स्वागत र समर्थन (मौन, अमौन, गुप्त, वा सार्वजनिक) र त्यस्तो सक्रियताबाट दलिय लाभ लिने निर्लज्ज लोभ र काम । तर दु:खद कुरा के छ भने क्रान्तिकारी सुकिला सरहरु पनि उही ड्याङका मुला रहेछन् । खासमा भन्नुहुन्छ भने माओवादी सत्तामा त के दैनिक राजनैतिक दृश्यपटलमा देखिने सम्म मात्र गरेर आयो भने पनि नेपाली राजनीतिमा भारतिय राजदूतावासको आंशिक प्रभुसत्ता जो छ त्यो निमिट्यान्न नभए पनि उल्लेख्य मात्रामा घट्नेछ भनेर मैले ठूलो विश्वास लिएको थिएँ । र मैले त्यसै अनुसार झ्याली पिट्दै हिंडेको पनि थिएँ, यही साझामा, अन्य फोरम र अन्त:रंग वार्तालापहरुमा समेत । हुन त कृष्णज्वाला देवकोटा टाईपका सुकिला सरहरुले त्यसै भएको विश्वास राखेको बुझ्छु म । तर जहाँसम्म मैले देखेको कुरा छ, भनें नि माओवादी पनि त्यही ड्याङको मुला देखियो । माओवादीले पितिक्क मात्र भने भारतियराजदूतावास पराधिनता घटाउन प्रयास गरेको भए म माओवादीलाई लालसलाम भनिदिनेथिएँ । तर देख्छु के भने गुप्ती रुपमा चाही भारतको गुप्ती आशिर्वाद थाप्ने, आशिर्वादको लागि रोईकराई गर्ने, आफ्नो दलिय स्वार्थलाई मद्धत पुग्ने आशिर्वाद पाईयो भने दंग पर्ने, त्यस्तो आशिर्वाद पाईएन भने घुर्की लगाउने, त्यस्तो घुर्कीले पनि कृपा पाईएन भने चाही नाम नकाढी प्रभुको कृपा प्रतिद्वन्दीकहाँ पर्यो भन्दै हिंडीदिने हिपोक्रेसी माओवादीले देखायो । सरकार बनाउन अघिसम्म प्रचण्ड राजदूतावासमा लुसुक लुसुक राजदूतलाइ दर्शनभेट गर्न गएका होईनन् ? पछिल्लो खेपमा पनि चार चार पटक प्रभुको दर्शन गर्ने उनै होईनन् ? प्रचण्डले महामहिम सुदलाई चाचार पटकको भेटमा के के भने होलान् ? पहिलो भेटमै “सल्लाहको लागि धन्यवाद महामहिम, तर यो हाम्रो आन्तरिक मामला हो, हामी आफै सुल्झाउछौं, यसमा तपाईको सक्रियता/हस्तक्षेप अग्राह्य छ । यस विषयमा यो भन्दा बढी छलफल र भेट आवश्यक छैन” भनेर भन्नु वा भन्न सक्नु पर्थेन ? त्यसो भनेको भए त कुरो सकिईहाल्यो अरु नयाँ तीन तीन भेटहरु गरिने नै थिएन । भेटको संख्याबाट स्पष्ट लख काट्न सकिन्छ, भेट प्रचण्डको कमजोरी वा स्वार्थले भएको हो । र उनले राजदूतमा राखेको सम्भावित बिन्ती यही हो – “मलाई सहयोग गरिदिनुपर्यो महामहिम ।” यस्तो पनि प्रभुसंगको लडाई हुन्छ, जो अहिले उनीहरु प्रचार गरिरहेका छन् ? तर दु:खद कुरा के भने माओवादीको यो हिपोक्रेसीलाई नेपालको एक हिस्साले देख्न सकिरहेको छैन र माओवादीको फटाहा लडाईलाई पत्याईरहेका छन् । सत्यनिष्ट लडाई भएको भए त्यो जतिसुकै सानो भएपनि एउटा ठूलै योगदान हुनेथियो, हाम्रो शर्मनाक भारतियराजदूतावासपराधिन राजनीतिबाट अलिकति भएपनि मानसिक राहत पाउन । किन्तु, हाम्रो भाग्यमा रहेनछ त्यो । यस्तै छ, के गर्नु ? Nepe
Nepe · May 31, 2009 11:59 AM
सुमेधु माफ गर मलाई - म आफ्नो बिचार हाल्न सक्ने क्षमताको भएको छैन ! तर यस्ता आलेखहरुको consumer भने जरुर हुं ! सबैले सबै उपलब्ध सामाग्री पढ्ने न रूची हुन्छ न समय ! मैले टांसेको जे जस्तो नियत भए पनि कसैले त खास सूचना भेटेका छन् है ! त्यसैले तपाईको कुरा सुनि हाल्न चांहि म तैयार छैन - बरु मैले टांसेको कुरा नखोलेर समय बचाउनु होला - सरल उपाय :-)
shirish · May 31, 2009 2:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion