कहालीलाग्दो अर्धसत्य तारा भट्टराई भन्ािन्छ, नारी जबसम्म आमा बन्दैनन्, पूर्णरूपले नारी हुँदैनन् । नारीको सुख, नारीको स्वाभिमान अनि नारीको गौरव सन्तान सृष्टिमै छ । म यसलाई शतप्रतिशत साँचो मान्छु । म पनि एक आमा हुँ । मैले सन्तान प्राप्तिबाट हुने सुख र स्वाभिमानको अनुभव गरेकी छु । पहिलो सन्तान जन्मिदा जीवनमा पहिलोपटक मैले त्यस्तै अनुभव गरेको थिएँ । आज पनि जीवनको सबभन्दा मीठो, सुखद र अविस्मरणीय क्षण सम्भिmनुपर्दा प्रसूतिगृहमा डाक्टर नानीछोरीले ल बधाई छ, छोरा भयो भनी देखाउनुभएको क्षणलाई नै मान्छु म । आज म दुई छोरा सिद्धार्थ र शशांकको आमा छु । ईश्वरले मलाई दुई छोराको आमा बन्ने शौभाग्य दिए ।तर समय धेरै बदलिएको छ । अब आमा बन्न विज्ञानको प्रगतिले धेरै सजिलो भएको छ । तर आर्थिक हिसाबले सन्तान जन्माउनु, पालनपोषण गर्नु र उनीहरूलाई योग्य नागरिक बनाउनु धेरै नै गाह्रो भइसकेको छ । अब त आफू दुई जीउकी भएँ कि भन्न्ो थाहा पाउनदेखि सुरु हुने खर्च बच्चालाई आमाको जीउबाट छुट्याउने बेलासम्म त हजारौं-हजारमा पुगिसकेको हुन्छ । आजभोलि त नर्मल डेलिभरी हुने सम्भावना कमैमात्र हुनथालेको छ । जति बढी डाक्टर, अस्पताल र नर्सिडहोम उति पेट चिरिएर जन्मिने बच्चाको संख्या बढी । मान्छे कसरीमात्र खर्च धान्दा हुन् ? मलाई त सम्झँदैमा कहाली लाग्छ । उहिलेे महिलाहरू ८-१० वटा बच्चा पाउँदै हुर्काउँथे पनि । मेरै आमाको पालासम्म पनि परिवार नियोजनको सुविधा थिएन । उहाँले ६ सन्तान जन्माउनुभयो । यता घरतिर पनि मेरी सासू र कान्छी आमाले पनि ६-६ वटै सन्तान पाउनुभयो । त्यो बेला जीवन त्यति सुविधासम्पन्न पनि थिएन । म आज पनि सम्झन्छु, आफ्नो बाल्यकाल । हाम्रो दैनिक लाउने लुगा खद्दरको हुन्थ्यो । वर्षको एक-दुईपटक मात्र राम्रो लुगा किनिन्थ्यो, खासगरी दशैंमा । त्यो बेला शिक्षा पनि खासै महँगो थिएन । म मेरो १० कक्षाको फिस महिनामा रु १० तिर्थें । शैक्षिक सामग्रीमा पनि त्यति तडकभडक र भिन्नता थिएन । १६ पैसाले एउटा हात्तीमार कापी आउँथ्यो । त्यसमा पनि हामी गतवर्षको कक्षामा लेख्न बाँकी भएका पानाहरू निकाली सियोधागोले सिएर रफ कापी बनाउँथ्यौं । तर अहिले १-२ छोराछोरीलाई हुर्काउन र स्कुल, कलेजमा पढाउन आफ्ना सानाभन्दा साना इच्छा तथा चाहना कटौती गर्दा पनि जीवनको कमाइ धौधौ भइदिन्छ । अझ उनीहरूको उच्चशिक्षामा भएको अलिकता खेतबारी पनि सकिन्छ । त्यतिले पनि अपुग भई जीवन ऋणमा चुर्लुम्म डुब्छ । तर यति गर्दा पनि सन्तान होनहार र सुयोग्य नै निस्कन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । कस्तो विडम्बना ? अब आमाबुबालाई ईश्वर मान्ने, उहाँहरूको सेवालाई कर्तव्य र धर्म ठान्ने जमाना पनि रहेन । केही महिना पहिलेमात्र यसै दैनिकको पहिलो पृष्ठमा एउटा खबर पढेको थिएँ, सप्तरीमा एक ६० वषर्ीया वृद्धालाई आफैंले जन्माएको छोरोले बोक्सीको आरोप लगाउँदै निर्घात कुटेर घरबाट निकाल्यो । यहाँ नारीलाई बोक्सी करार गर्न मान्छेहरू अशिक्षित, अज्ञान र गाउँ-ठाउँको हुनु पनि पर्दैन । धेरै पढेलेखेका, जान्ने-बुझ्ने भनाउँदा, राम्रो अफिसमा राम्रै पदमा काम गर्ने छोराले पनि श्रीमती र केटाकेटीलाई आमाको बोक्सी विद्याले सधैं रोगीमात्र पारिराख्यो भनेर घरबाटै निकालेको पनि यी आँखाले देखेका छन् । यो कुनै व्यक्तिविशेषको कथा पनि होइन । यो तपाईं, मेरो वा हामीमध्ये कसैकोे पनि कथा हुनसक्छ । मान्छेको जात बडो निर्दयी र स्वार्थी हुँदोरैछ । आफैंले जन्माएको सन्तानको पनि कुनै भर हुँदोरैनछ । आज म एक विदेशी जोडीलाई झलझली सम्झँदैछु । सायद १८-१९ वर्ष अघिको कुरो हो यो । म त्यो बेला जेएसआईमा काम गर्थें । अफिसको एउटा पार्टीमा मेरो उनीहरूसित भेट भएको थियो । गफैगफमा छोराछोरीको कुरा चल्यो । त्यो जोडीले भनेका थिए, संसारका मानिसहरूले सबै थोकमा लगानी गरुन्, सिवाय सन्तानमा, किनकि मानिसले गर्ने लगानीमध्ये सबभन्दा जोखिमपूर्ण लगानी नै सन्तानमाथि गरिने लगानी हो । आफूले खाइ-नखाइ भोक, निद्रा, सुख, आराम केही नभनी जीवनका हरेक चाहना, खुसीलाई त्यागेर सन्तानकोे लालनपालन गरिन्छ, उनीहरूको पढाइ-लेखाइमा आफ्नो सबै कमाइ लुटाइन्छ, उनीहरूको विवाह-वर्तबन्ध, उनीहरूको खुसी र उज्ज्वल भविष्यका लागि जीवनभर दुःख गरी जोडेको पाइपाइ अनि सारा श्रीसम्पत्ति नै सकाइन्छ । तर यी सबैको बाबजुद सन्तान सुयोग्य नै निस्कन्छ भन्ने कुनै ग्यारेन्टी छैन । उनीहरू एक नम्बरका निकम्मा, बदमास, आवारा, लफंगा जे पनि हुन सक्छन् । यदि यसो भयो भने तिमी के गर्छौ ? सन्तानको लालनपालनमा आफ्नो यौवन, यौवनका सबै सपना त नष्ट भएभए, जीवनभरको मिहेनत पनि गयो, कमाइ पनि गयो । बाँकी रहन्छ त केवल बूढो रोगी शरीर, दुःख, पीडा, अभाव र अपहेलित भएर बाँच्नुपर्ने एकलासे जीवन । यसैले यो यस्तो लगानी हो, जसमा कममात्र सफलताको सम्भावना हुन्छ । यदि सफल नै भयो भने पनि लगानीको अनुपातमा मुनाफा एकदम कममात्र पाइन्छ । यसैले हामीले त त्यस्तो जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने कुरा सोच्दै सोचिएन । ईश्वरले दिएको जीवन जबसम्म रहन्छ, हामी एकआपसमा प्रेम गरेर, सुख, सुविधा र आनन्दले जीवन बिताउँछाैं । उनीहरूको कुरा सुनेपछि त्यहाँ उपस्थित सबैले त्यो जोडीकोे छातीभित्र मन र मनभित्र हुने समवेदनशिलता भन्ने वस्तु नै छैन भनी निष्कर्ष निकाल्यौं । हामीले आपस्ामा कुरा पनि गर्यांै, कस्ता मेसिनजस्ता मान्छेहरू ? वास्तवमा मैले त्यो क्षण उनीहरूको जीवनको दर्शनलाई बुझ्नसकेको रैनछु । तर आज दिनपरदिन लागूपदार्थ र अन्य दुव्र्यसनमा डुबेर बिग्रँदै गएको युवा पिँढीलाई देख्छु, सन्तान विदेशिएर सिंगो घरमा बूढा आमाबाहरू छोराबुहारी र नातिनातिनाका तस्वीर हेर्दै कल्पिएर बाँचेको देख्छु । रोगले ग्रस्त भएर ओछ्यानमा थलापर्दा स्याहार्ने र माया गर्ने हातको अभावमा अकालैमा मृत्युवरण गर्दै गरेका वृद्धवृद्धालाईर् देख्छु । मृत्युपश्चात पनि जब छोराबुहारी आउने आसमा अस्पतालका मुर्दाघरमा लासलाई तेस्र्याएर राखेको देख्छु वा सुन्छु, तब म ती विदेशी दम्पतिले भनेका कुरा झलझली सम्भिmन थाल्छु । मुटुको कुनै अन्तरबाट यही आवाज आइरहेको महसुस गर्छु, सायद त्यो दम्पतिले ठीकै भनेका रहेछन् । tarabhattarai410@hotmail.com
Tara Bhattarai · May 27, 2009 9:29 PM · 17,500 views
dherai ramro ra samaya sandarvik katha tara ji, ardha satya nai ho ra?. tapai ko lekhan saili maan chune khal ko chha. ra natural pani chha. I dont feel like I am reading a story. Here are some lines need real praise. "संसारका मानिसहरूले सबै थोकमा लगानी गरुन्, सिवाय सन्तानमा, किनकि मानिसले गर्ने लगानीमध्ये सबभन्दा जोखिमपूर्ण लगानी नै सन्तानमाथि गरिने लगानी हो" I still doubt this is 100% right but again title is "ardha satya" "मृत्युपश्चात पनि जब छोराबुहारी आउने आसमा अस्पतालका मुर्दाघरमा लासलाई तेस्र्याएर राखेको देख्छु वा सुन्छु, तब म ती विदेशी दम्पतिले भनेका कुरा झलझली सम्भिmन थाल्छु । मुटुको कुनै अन्तरबाट यही आवाज आइरहेको महसुस गर्छु, सायद त्यो दम्पतिले ठीकै भनेका रहेछन् ।" katha post gardai garnu hola. Thanks
sijupanta · May 29, 2009 12:02 PM
Dear Sijupanta je Thanks a lot for your nice comment on my article.But it's not a story, but it's a reality. Maile afna jewan ma dekheka kura mahashush garera kagaj ma utareko matra hu. Best regards tara
Tara Bhattarai · May 30, 2009 7:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion