हाईस्कूल पुनर्मिलन {..........}

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दिन काट्न गार्हो भएर TVको च्यानल ओल्टाइ-पल्टाइ गर्दै बसेको थिएँ भान्जा कोठाभित्र छिरे । "मामा ,यी यो चिट्ठी हाम्रो स्कूलबाट दिएको " "किन मलाई नि, तिम्रो स्कूलको चिट्ठी तिम्रै बुवालाई देउ न " उन्को कुराले खस्सै interest जगाएको थिएन मलाई । "हैन के तपाईंलाई नै दिनु भन्नु भएको थियो सरले । फेरी तपाईंको पनि त् पुरानो स्कूल हो नि त्यो ।" भान्जाले ईतिहास पल्टाए ,TVमा पनि flash-backको सिन अैइरारैछ । लौ त नि के रैछ भनेर खोलेँ चिट्ठी । चारकुनामा बुट्टा भरेर भाङ्रा टोपिलाई गोयाँलाको फूल ओडा जसरी निमन्त्रणा लेख्या रैछ । सराँश:स्कूल स्थापनाको २५ बर्ष पुरा भएको उपलक्ष्यमा पहिलो SLC ब्याच्को Reunion कार्यक्रम रैछ यो शुक्रबार । अब छुट्टी काट्न गार्हो परेर नबोलाको ठाउँमा समेत कुकुरभन्दा पनि पहिला पुगिन्छ झन बोलाको ठाउँमा त जानै पर्‍यो । टाइम साँझको राखेर मोरेछन । Dress-code त केही राख्या छैनन मुर्दारहरुले , हैन भने फेरी उही 80sको बेलि-बटन पाइन्ट ढल्काउनु पर्ला नि भनेर हेरेको त्यस्तो केही छैन रैछ । भने पछी होलो-सस्तै लाएर जानु पर्ला । बेस्सरी बजाउनु पर्छ । अरुलाई के-को चिन्ता,घर ज्वाँईलाई खाना चिन्ता भने झै आफ्नो धुन reunionबाट load-unloadमा पुगी सक्याथ्यो । थुक्क ! कालिपारे लेबर , तैले पनि दिन पारेरै जन्म्या होस । सान्नानीको तिन्पाने cafeमा तिनदिनसम्म गयल नभैकन अनुशासित डिप्टि लाएसी शुक्रबार पनि आयो । दिदिले धोइद्या कपडामा सज्जिएर अनी भाईबाट हाइज्याक गर्या भट्-भटेमा थच्चिएर लागियो भुतपुर्ब स्कूल्का भुतजस्ता मास्टरहरुलाई भेट्न । ...आयो मेरो भट्-भटे, भटट-भटट-भट् .... स्कूलको गेटमा पुग्दा अर्कै अनुभुती भो । पाले नयाँ रैछ नचिन्या जस्तो गर्‍यो, गेट उही पुरानै चिन्या-चिन्या जस्तो गर्‍यो । हुन पनि नर्सरिदेखी १०कक्ष्यासम्म १२ बर्ष बिताएको ठाउँको सम्झना त के एस्सै मेटिन्थ्यो र । अनुहारहरु नयाँ देखिए पनि ,माहौल पारीचित नै थियो । बाँसबारी जुत्तामा पुलिस्टरको पाइन्ट, टेरिकटको कमिजमा देब्रेतिर safety-pinले hanky सिउरिएको, दाइने कुममा टुम्लेट र पिठ्युँमा आफु जत्रै-जत्रै झोला बोकेर पहिलो चोटि स्कूल आउँदाको देखी लिएर SLCको अन्तिम पेपर सकेर साथीहरुसँग जिस्कदै "भो पुग्यो अब,सकियो १२ बर्से काराबासको सजाए, अब आउनु छैन फर्केर"भन्दै गेटमा आएर ढुङ्गै पल्टाएको सब याद ताजा भएर आए । "हजुर के कामले आउनुभाहोला ?"अतित र बर्तमानको साँध कोर्न अैपुगे अर्का मामा । पालेलाई मामा भन्ने चलन थियो हाम्रो । आमाले भन्दा बढ्ता कुरा लाउथे मामाले र बाले भन्दा बढ्ता चुट्थे गोरु-बाले । अहिलेका मामा भने डन्ठे मामा नबनी ट्रफिक मामा बने । "रुइ-उन्एउ reunion हुने कान-पेन्सन-हालconvention-hall त्यता हो " भनेकै दिशातिर लागियो । कान-पेन्सन-हालमा १०-१२जना खानाँ काल पहिल्यै पुगी सक्या रैछन् तैपनी जलपान सुरु नभा भएर मन भुलौन TV हेर्दै थिए । आफ्नै ब्याच भन्थे तर चिन्या जस्तो कोइ नि देखिन । गलत ठाँूमा अाइयो भनौ भने पोस्टर-पम्पलेट सहि टाल्या छ, साँच्ची बुढो भैएछ कि जस्तो लाग्यो । "ल ल फेरी बाजी टेकाम साथी हो ! त्यै १५ नम्बरको कालेले नै जित्छ,(TVमा Beijing-Olympicsदिरारेछ) ,दौडमा dark-horseर dark-habsiभन्या एउटै हुन ।"अहिले बोल्ने चाँही केही बिसेक चिन्या-चिन्या जस्तो लाग्यो तर स्थानको दुरिले भनौ या समयको दुरिले (उस्तै-उस्तै हो बा...)ठम्म्याउन भने सकिन। राती देख्या सपना बिहान सम्झन नसक्या जस्तो भो । मलाई के गरु-के गरुँ भो । त्यहाँ जाउँ कोसँग बोलुँ,के बोलुँ फेरी उनिहरु पहिलो चोटि रङीन TVदेख्या जसरी मद्-मस्त छन । ढोकै निरको कुर्सिमा थपक्क बसेँ । समय बित्दै जाँदा अरु खानाँ काल पनि थपिए, कोइ गएर परिचय माग्ने साहस् गरे र आफुलाई माहौल्मा घुसाउने प्रयास पनि गरे । तर जती आए पनी मलाई चाँही बाइपास गरे । लौ बर्बाद ! ढोकैमा बस्या भएर मामा पो भन ठाने कि केहो । फेरी कपडा पनि मलाई खुब होलो-सस्तो लाउनु पर्ने । भाईकै भए नि कोट-सोट ढल्खाएको भए के जान्थ्यो तेरो । उता कतिले त हामी आउँदा समेत नऊठ्ने कस्तो पाले रैछ भनेर बिनाकारण सराप्न समेत भ्याइ सके होलान् । "ल अब चाँही कार्यक्रम सुरु गरौँ है ।" अघि कालेको आड्मा बाजी मार्ने गोरे उठ्यो । घडी हेरेको निमन्त्रणा कार्डको exact टाइम भा रैछ । लौ हेर ! भोज-भतेर भनेसी त टाइमै सुरु हुने रैछ त अरु बेलाँ चाँही नेपाली टाइम । "लौ त यहाँ पाल्नु हुने सबै साथीहरुलाई मेरो र बिद्यालय परिवारको तर्फबाट स्वागत छ । हाम्रो कार्यक्रमको बारेमा त तपाईंहरु सबैलाई थाहै छ के लामो भाषाण छाट्नु र । बरु सबैले आफ्नो परिचयबाट नै सुरु गरौँ ,हुन्न ? म शंकर केसी । SLC पहिलो ब्याच र हाल यो बिद्यालयको प्रधानआध्यापक पनि ।" म झल्याँस परे । लौ हेर ! यो त शंकरे पो रैछ । त्यही भएर पो चिन्या-चिन्या जस्तो लागेको । उ त मेरो स्कूले जिबनको मिल्ने साथी । कक्ष्या ४ देखी १० सम्मको desk-mate नै हो । उबेलामा भोक्मरी पर्या जस्तो दुब्लो थियो, अचाक्ली नै । मज्जाले हास्यो भने रोक्किँदा मुख रातो पारेर थर्-थर काप्ने भएकाले हामी उस्लाई "थरे" भन्थेउँ । "ल अब कोही छ बाँकी परिचय दिन ।" हरे ! बेला न कुबेला थरेको सोचमा दुबेको त यता थरि-थरी मान्छेका परिचय नै छुट्टाइएछ । झन कसरी चिन्ने आफ्ना पुराना class-matesहरुलाई भनी भा बेलामा । लौ बरु आफ्नै परिचय दिनु पर्‍यो अनी बाटो बन्ला नि भनेर हात उठाएँ । मेरो परिचयसङै परिचय चक्र टुङियो । अब भने मामाहरुले जलपान भित्र्यौन थाले । शंकरे म भएतिर आयो । "सर नमस्ते !" मैले जिस्काउन खोजेँ । "सर मात्र होइन मुला, हेड्सर भन हेड्सर" उ त झन फुर्किन्छ के रे । "अनी यार कती खेर आएको ,छुट्टिमा घर आएको छस भन्ने त सुनेको थिएँ । भेट्न आउनु पर्दैन साले, एक त १० बर्ष पछी नेपाल फर्कनु छ तेस्माथि पनि...... तलाई ... " "ओए ! हेड्सर भएर एस्तो भाषा?" मैले कुरो मोड्न खोजेँ "पुराना साथीहरु भेटेपछी पुरानै छाँट त आउनेनै भो नि । त्यसैले त मैले आजको पार्टिमा स्कूलका अरु सर-मिसहरुलाई बोलाएको छैन नि । मामाहरु मात्र हो , बोले हुन्छ ।" "अनी यार, मैले नेपाल छाड्दा तँ त अमेरिका उडिस भन्ने सुन्थें फेरी किन फर्केको त डलर कमाउन छाडेर?" "छोड यार, कुरा नगर । बस्न मन लागेन । कलेज जेन्-तेन सक्ने बित्तिकै फर्के म त । सालेहरु हाम्रो नाम समेत् जानि-जानी बिगारेर बोलाउने ,हामी भने मिलाई-मिलाई सुन्नु पर्ने, मिलाई-मिलाई बोल्नु पर्ने । घोट्टिएर काम गर्‍यो pay-chek आउने बेलामा के-के जाती तिन्का बाउका टाउको tax र fax काटेर आद्धा ज्याला पाइने । अब त्यो नाम पनि नहुने-माम पनि नहुने ठाँुमा के बस्नु भनेर फर्के । फेरी मरी लानु के छ र, जिउदै हुँदा म १ जनाले अरु १० जनाको भबिस्य बनाउन सहयोग गर्न सकेँ भने तेही हो मेरो कमाई ।" शंकर ठट्ट्एउलो पाराको देखिए पनि पहिले देखी नै भित्रीरूपमा अली भावुक स्वभावको मान्छे थियो । हुन त मलाई पनि कतिपय अर्ध-परिचितले भावुक मान्छे भन्देलान । तर शंकर र मेरो भावुकतामा फरक छ । उ सबै परिस्थिती अनुकुल हुँदा पनि भावनात्मक निर्णय लिने मान्छे , आफ्नो भावुकतालाई ठट्ट्यौलिमा ढाक्ने मान्छे । म परिस्थितीको मारले भावुक बनाएको मान्छे । बेला-बखत आँफैमा रमाउछु तर स्कूले जिबनमा जस्तो खुलेर फेरी हासेको छैन । हुन त कुकुरको पुछर हेरेर हास्ने उमेरमा सबै त्यस्तै हुन कि? तर पनि उबेलामा हाम्रो साथीहरुमध्य मैले अलिक धेरै नै बङो देख्थेँ ति पुच्छरहरु । पढाई पनि राम्रै थियो र SLCको iron-gate पनि पार गरियो । अनी बल्ल जिन्दगीले ति सबै creditमा हाँसेका हाँसोमाथि साँवामाथि ब्याज र ब्याजमाथि प्याज लगयो । मेरो स्कूल त जेन्-तेन सकियो तर क्याम्पस पढाउन सक्ने सामर्थ्य मेरो परिवारको थिएन, मलाई थाहा थियो । फेरी उबेलामा आफ्नो जिल्लामा क्याम्पस पनि थिएन । आफ्ना साथी-भाइ र सँगैका अरु नयाँँ जोशकासाथ धमाधम काठमाडौं लगायत अन्य शहरहरुतिर लागे । आफु घरको न घाटको भैयो । फेरी अब त कमाउन लाग्नु पर्छ भन्ने पनि सोच्नु पर्ने नै थियो । भाई भर्खर ५ कक्ष्यामा थियो, उस्ले पनि एक दिन SLC पास् गर्छ । केही न केही त गर्नै पर्ने बाध्यता आयो । हिनताबोध लिएर गाउँमा बस्ने मन मलाई थिएन । त्यसैबेलाताका Indian-Armyको गल्ला आयो । मरता क्या नही करता भन्ने धोती उखान त सुन्या थेँ तर आफ्नै जिबनमा लागु होल भन्ने भेउ पैयाथेन । इखले भनौ या सिपले, जेस्ले भए नि पल्टने रासनमा टिक्नु टिकियो । जवानबाट सुरु गर्या क्याप्टेन सम्म पुगियो । बल्ल गाउँ फर्किने साहस् पलाएको हो ,एत्ती नभा भे त उही हो ...आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा ... "क्याप्टेन साब ! एत्रो बर्ष पछी भेट भा बेला मेह्फिलमा रङ जमाउन परेन । ला समात , खुब जमेगा रङ जब मिल बैठेङे हम;आप ,मै और .....।" शंकरेले एक प्याला मेरो हातमा थमाउदै आफ्नो चाँही रित्त्यायो । "बिमौरा-घमौरा निको पार्न क्याप्टेन साबुन चाहिन्छ,Reunionमा त स्कूलमै तिन्पाने पाईन्छ । ह्या, खा न छिट्टो । आफुलाई भने मुख जिस्का जस्तो मात्र भो । स्वाट्ट पारेको छात्ती पोल्यो, अर्को सटले निभाउनु पर्‍यो के , मामा........." तिन्-चारवोटा प्याला रित्तिँदासम्ममा चाँही हामी उही अल्लारे दौँतर भै सकेका थियौँ । "ओेए , थरे ! साले अघी परिचय roundमा आफ्नो भेजा टाइट भएर केही सुनिन यार । यि मध्य हाम्रा अलिक नजिकका साथीहरु को-को हुन चिना त " "ह्या के यि मध्य नि ! लागेर तिरिमिरी परीस् कि के हो ? जम्मा १५ जना त आछन ,त्यही भएर परिचय राउन्ड सुरु हुने बित्तिकै खत्तम भाको हो । तर केही छैन म सबजना चाइनाइदिन्छु नि एहिँबाट । Don't worry my Dear, ओे माइ डिएर-तिम्रो हाम्रो बिएर गोल्डेन टाइगर .... ल सुन , उ त्यो सारी र sleeveless-blouse लाउने माल चाँहीँ सुधा हो । उही क्या त ,८ कक्ष्यासम्म त्यस्को नाक्मा सिँगान बग्ने राता टाटा हुन्थे त । हि..हि..हि.. " "तेरी बज्यै प्वाँट भा रैछे त" "सुस्तरी बोल प्यासी आत्मा, हाम्रै classको गोबिन्दे, भट्टे के, हो उस्ले बिहे गर्या छ । क्याम्पसमा दुबैजनाले एउटै बिषयमा सितारा पाएछन अनी ब्याक पेपरको लागि सँगै combine-study गर्दा-गर्दै combine..... "आफ्नै ब्याचको ब्याचलर पाइछ त सिँगानेले " "त्यस्ले मात्र होइन , उ त्यो कुना जरिवाल कुर्ता-सुरुवाल लाएर काहानी घर-घर कि बन्न खोज्ने छे नि,त्यो दुर्गा पाण्डे हो । उस्ले त्यो उस्कै नजिक झ्यालमा cowboy-hatलाएर एउटा हातमा बिएर र अर्को हातमा scotch समातेको सैतान प्रबिण थापासँग बिहे गर्या रैछ ।" "त्यस्को पहिरन चाँही किन त्यस्तो नि, सिकार खेल्न आ जस्तो ? अनेक गर्नु पर्छ यो थापेलाई है ?" "Dairy चलाऊँछ यतै ,त्यही भएर cowboy बन्या होला नि । छोरो Australiaमा छ रे । अघी आफ्नो परिचयमै भन्या थियो ,उस्लेनै यो hat र dingo-bootपठाइदिएको हो भनेर । गरी खा थापाकाजी तैले पनि ।" "अच्चम्मै छ बा ! है थरे ?" "तेरो बाजे सबभन्दा अच्चम्म त गीता खड्का र बिजय कार्कीको बिहे पो त । तलाई याद छ, १० कक्ष्यामा बिजय मनिटर हुनेताका गीताले उस्लाई लब-लेटर पठाएर कान्ड मच्चिएको " "हो त नि, बिजयले रिजेक्ट गरेर, गीतालाई हेड्सरको अफिससम्म पुर्या हैन त ? अनी फेरी अहिले कसरी....." "१०सम्म बिचरी अली बच्ची नै थिई,पछी कोरली भै । अब बैँशमा स्याल त घोर्ले हुन्छ भन्छन । त्यस्माथि पनि गीता १०पछी काठमाडौं गयी पढ्न । गाउँ फर्किँदा जिनको पाइन्टमा cock-shoes जुत्ता लाएर बिजयको आँगन खोपिल्टा पार्दै हिँडेपछी, बिजयको दिलमा पनि भाले बास्ने भएन त ?" शंकरले एक्-एक गर्दै सार चिनाउदै गयो आफ्नै अन्दाजमा,मैले थपथाप गरेँ । "ल Last but not the least ,उ त्यो salad-barनिर बसेकी, निलो सारी लाउने र पटक्-पटक तँ तिर हेर्ने को होला ?Guess" "मलाई के थाहा थरे ! थाहा भए तलाई सोधी रहनु पर्थ्यो र ?" "धोकेबाज आत्मा ,She is Saru Sapkota, Does that ring any bell ?" मलाई अलि-अली लाग्या दारुले छर्लङै छोड्दियो । सरु मसँग नर्सरिदेखी १०सम्म,१२ बर्ष संगै पढेकी साथी हो । म उस्लाई जिस्केर "प्रसाद" भन्ने नामले बोलौथे;सरु प्रसाद सापकोटा । सानोमा उ tomboyish थिई ,८-९कक्ष्यामा आएर केटी को स्वोभाव देखाउन थालेकि हो । हामी असध्धै मिल्थेउँ त्यसैले साथीहरुले मात्र होइन सर्-मिसले पनि हाम्रो affair छ भन्ने शँका काट्थे । उनिहरुको शँका सरासर झूठ पनि होइन । म उस्लाई मन परौँथे र शायद उ पनि मलाई तर प्रेम प्रस्ताव राख्ने आँट मैले गर्न सकिन । किनकी मेरो लागि हाम्रो साथीको नाता ठुलो थियो । म चाहन्थे कि येदि उस्ले मेरो प्रस्ताव अस्विकार गरी भने हाम्रो साथीको नाता समेत् धमिलियोस । अथवा उस्ले यो नसोचोस् कि एत्तिक्का नजिक भएको केवल उस्को प्रेम पाउनको लागि मात्र थियो । प्रस्ताव उतैबाट आईदिए हुन्थ्यो भन्ने आफ्नो इछ्या थियो तर पहले आप-पहले आपमै मेरो पहिलो प्रेमको गाडी छुट्यो । "हेर क्याप्टेन ! उस्ले पटक-पटक तलाई हेरेर Green-Signal दिसकेकी छ । अब तैले पनि attack गरी हाल्नु पर्छ । कमैलाई मात्र दोस्रो अवसर मिल्छ । By the way, She is a Gynecologist now and still single." आफ्नो यता होश सँग सँगै बोली पनि हराइ सक्या थियो, हो-होइन केही भन्न सक्या होइन । "किन बोल्दैनस ए डाँका ! खुशीले मुटु मुखमा आयो कि के हो ? तर म सरुलाई याँहा बोलौदैछु ल् तयार हो । ला मैले बोल्ने टनिक पनि ल्याछु टन्न । यो खाएपछी अनपढले त अङ्रेजी बोल्छन झन तलाई आफ्नो मन को कुरा भन्न के गार्हो । ल स्वाट्ट पार , सरु! याँहा आउ न एकछिन ।" लौ डुबायो थरेले , हुन त उस्लाई के "थरे" भन्नु आफ्नै हात्-खुट्टा थरर गर्न थालेसी । के गरुँ-के गरुँ भो, हातमा दिएको गिलास मुखमा घोप्ट्यायेँ । हतारमा एक प्याला सक्न नि कती टाइम लागेको हो झन, कि त घुट्की सानो भो र मेरो ? बल्ल-बल्ल सकेर राख्दा पो थाहा पाएँ असत्तिले सर्वत खाने गिलासमा ल्यारैछ त टन्न भन्दै । चरक्क छाती पोलेर जुरुक्क उठेको त अगाडि थरे र सरु । "के छ प्रसाद" मुखबाट प्वाक्कै फुस्की हाल्यो । शंकरे thumbs-up ईशारा गर्दै साइड लाग्यो । "तिमिले मलाई कहिल्यै यो नामले बोलाउन नाछाड्ने भएउ है" उस्ले मुस्कुराउदै भनी । "सरी, खै के भो के । मुखबाट सुरुमै त्यही आयो ।" गल्ती स्विकार्नै पर्‍यो "होइन तर ठिकै छ । धेरै बर्षपछी सुन्दा रमाइलो लाग्यो । अरु कसैले मलाई यो नामले बोलौदैनन् नि त ।" उस्ले लजायझैँ गरेर नजर झुकाइ । मैले नी नजर झुकाएँ ,कतै एेन घडीमा zipper त खुला छैन भनेर चेक गर्न । हरे ! दिमागमा एकैचोटी हजार डर किन पैदा भएका होलान । सोच्न भने केही सक्या होइन । एसो मेस्सै सँग कुरा अगाडि बढाउन सके नि हुने हो नि तर खै के कुरा गर्नु । कुरा त छन नी कती-कती उन्लाई भन्नु पर्ने तर खै कहाँँ बाट सुरु गर्ने । दिमागमा ट्राफिक जाम पर्‍यो, मुटु भने यता सर्टको टाँकै चुटालम्ला जसरी बेपत्ता धड्किरह्यो तर हाम्रो सम्बादको प्रतिफल भन्या हात लाग्यो सुन्ना । उही हाल्-खबर सोध्दै र अन्य साथीका विवरण(जुन शंकरले अघिनै दिसकेको थियो) साट्दैमा गयो । त्यतिक्कैमा अरु केही साथीहरु भनाउदा प्यारके दुश्मनहरु पनि आए; गूड् गरे, bad-effectपारे गए । झर्ला र खाउँलाको पर्खाईमा उनी पनि थाकिन क्यारे , एउटी साथी "एकैछिन" भन्दै बोलाउन आएकी थियीन् उनी सँगै गयीन । अल्ली पर गएर हास्थे मोरिहरु तर खोइ किन हो । मेरो नामर्दिको खिल्ली उडाएर हासे कि यो लामो अन्तराल पछीको भेटमा खुशी भएर हासे, उनीहरुनै जानुन । "थुक्क पाजी !(शंकरे साइड्मा अैसक्या रैछ),पल्टनेले त बोली र गोली दुबै निसानामै हान्नु पर्छ नि, के वाहियात beating around the bush " "के भेट्ने बित्तिकै झम्टी हाल्नु त ?" आफुले सहि गर्या जस्तो गरेँ । "ल ठिकै छ एउटा थप् golden-chance बाँकी छ अझै, एस्पाली पनि केही हुन सकेन भने त तँ कुवाँरै बसे हुन्छ, आधा जिबन त बसी हालिस केरे,Practice पनि भै सके होला नी ।" "कस्तो golden-chance हो फेरी ?" "पख है" शंकर हलको पोडिएमतिर गयो । लौन BBCले मेरो लाचारिको बिगुलै फुक्ने भो कि केहो ,डुबायो मुर्दारले भन्ने सोच्दै थिए उता माईक समात्न पनि भ्यायो, तेस्का जिब्राँ कहिले करेन्ट लाग्न हुनी ..... "साथिहरु म तपाईंहरु समक्ष्य एउटा surprise खोल्न चाहन्छु । हाम्रो बिद्यालय अहिले यस क्षेत्रकै नमुना बिद्यालय हुन पुगेको छ । टाढा-टाढाबाट पनि यस बिद्यालयमा अध्ययनको लागि निबेदन प्राप्त भएका कारण आगामी शैक्षिक बर्षदेखी हामी आवासिय बिद्यालयको रुपमा स्थापित हुने भएका छौँ । आवास गृहहरुको निर्माण पनि हालै सम्पन्न भएको कुरा जानकारी गराउन चाहन्छु ।" सबैले ताली बजाये, मैले नि राहतमा ताली बजाएँ । बज्जियाले झन्डै मेरो कुरा खोल्न थाल्यो भनेको थिएँ, होइन रैछ । "होइन-होइन तर मेरो surprise यो होइन । Surprise त यो हो कि ति अवास गृहको उद्घाटन आज तपाईंहरुबाट हुनेछ किनकी हाम्रो यो पुनर्मिलनको कार्यक्रम १ दिने नभै २ दिने हुनेछ , शुक्रबार र शनिबार । आजको रात ladies साथीहरु छात्रा आवास गृहमा र gentlemen साथीहरु छात्र आवास गृहमा बस्ने प्रबन्ध मिलाईेको छ । भोली पुरा बिद्यालय परिवारसँग बिबिध कार्यक्रम सहित् यो पुनर्मिलनको समापन हुनेछ । आफ्ना समय-तालिकामा हाम्रो यो कार्यक्रमलाई समावेस गरी सफल बनाइदिनु हुनेछ भन्ने आश बिद्यालय परिवारले राखेको छ ।" भोज एक दिन अझ लम्बिएको सुनेर खानाँ कालहरु झन खुशी भए र गड-गड ताली बजाए । कोइ भने केही अत्ताल्लिएको जस्तो गरे, माग्या गहना र गाडी लिएर मुन्ट्याथे होला अब म्याद थप् गराउनु पर्नी भो । अब भने मोबाईल फोन प्रदशन सुरु भो, कत्तिको त काम पनि परे होला , घर गृहस्ती भकोहरुलाई त तेत्ता पनि कुरा मिलाउनै पर्‍यो । तर कतिपयले त कामै नलाग्ने कुरा गेरर भए नि आफ्नो सेट देखयेरै छाडे । पर्सी ब्यानसम्मलाई मलाई घराँ भात नपकाउनु र भोली शनिबार भए नि घरमा मासु नल्याउनु भन्यासम्म यि चिर्का पर्ने कानले सुन्नु पर्‍यो । हुन त मैले नि फोन त गरेकै हुँँ तर तेत्ती बिधीसम्म भन्न चाँहीँ भ्याईन,ध्यान आफ्नो यतै छ । थरेले golden-chance भन्थ्यो हो कि क्या हो ? नाम लिया सैतान हाजिर, शंकरे म भा ठाउँमा आईपुग्यो आफ्नो भाषाण सकेर । "ओ गुङ्गा आसिक ! मेह्फिल्को रङ हल्का खुईलिएछ के, फेरी जमाउन परेन त । ल आईज-आईज । अझै त रात बाँकी -बात बाँकी " ठीक भनिस ! भन्दै जाम ठोक्काएँ अहिले चाँही मैले पनि । क्रमश........ Last edited: 26-May-09 06:34 PM Last edited: 26-May-09 07:26 PM Last edited: 29-May-09 12:11 AM

Regal · May 26, 2009 12:41 AM · 73,458 views

55 Replies · Showing 41 - 55
Page 3 of 3

क्या घच्ची को गयो यो पनि कप्तान साब ले खुब हसाउनु भयो - हासी हासी पढियो

serial · Jun 2, 2009 11:08 AM

माने रिकुटे लाई माने , पढ्नै छोड्न मन लागेन, कुरा हरु मन नै रिझाउने थिए त्यस माथि रिकुटे को लेखाइ सुन मा सुगन्ध । पेलुम प्रभु पेलुम मन नै भरिएन

बैरे · Jun 2, 2009 11:48 AM

हैन कति कुरा जान्या भने रिकुटे कप्तान ले ? राइफल समाउने हात नै होइन ल जा , बाइ मिस्टेक । डाक्टर्निको हृदय जाच्ने बिशेषज्ञ। बडा मजा आयो रिकुटे, स्यालुट !!!

rahulvai · Jun 2, 2009 1:02 PM

क्याप्टेन साबको कथाले हसाउनु हसायो बा, कुरो बनाउन अचाक्ली आउनी रछ यिन्लाई त, त्यसैले त डाक्टर्नी समेत् पर्खेर बसेका। अरु भन्दा त सराप्न साह्रै सिपालु। ग्र्यावल बाटो, नयाँ चिठ्ठिएका जोडी, बधुवा साँढे सरह पल्टने कप्तान, कोरली गाइ झै पुरानै क्लास्मेट् प्रसाद लाई बाइकमा संगै टसाए पछी त्यस्को बाउको  बार्ह बर्षको ज्वरो संगै असिना पानीका साथ ज्वरभाटा त उठ्ने नै भो नि। झन्डै डाक्टर्निले चेक अप गरेन छ। कि चेक अप पनि भयो? यस्लाई चै काट कुट गरेर सेन्सर बोर्ड्ले पास् गरेन? राम्रो कथा, मलाई अती मन पर्‍यो। कालेदाइ  

Kaledai · Jun 4, 2009 3:33 PM

के गर्नु त ? सबै तिमीले अर्काको ठाउँमा देख्या जस्तो ठुलो र आधुनिक काँहा हुने भो त । याँहा ठाउँँ सानो छ, अर्थतन्त्र सानो छ, केही गरुँ भन्नेको जमात सानो छ अनी यो टावर नि सानै भो । तर यत्ती भए नि तल बेँसीका मान्छेलाई गर्मी छल्ने र याँहाका पसले बुवा जस्तालाई दिन धकेल्ने बाहाना दिएको छ । हुन त ठुला कुरा हामीले चाहेर पनि काँहा पाउने हो र ? अब त बानी नै पारी सक्यो सानै कुरामा समेत् खुशी हुने । सानै कुरामा जिबन खोझ्छौँ, जिउन सिक्छौँ र बेला मौकामा रमौछौँ । रहर नहुने त काँहा हो र ? तर सम्झौता गरेर रहर मार्न बानी पर्छौँ हामी । सानो छँदा चाबिले दम दिएर गूड्ने गाडी खेलाउने एकदम रहर थियो तर किन्ने ल्याकत मेरो परिवारको थिएन । कालिमाटी कुटेर गाडी बनाउन सिकेँ, दम दिएर गूड्ने नभए के भो त डोरी लाएर लतारेँ । म त्यसैमा रमाउन सिकेँ । त्यतिखेर देखी सम्झौता गर्न सिकेको मान्छे यो उमेरमा अैपुग्दा त सम्झौता नै समझदारी बनी सक्छ अनी याँहाका मान्छेलाई सानो कुरो पाउदा पनि ठुलै लाग्ने भएन त ?" रमाइलो कथा को बिच मा Sentiment मिसाउन नि कत्ती जानेको क्याप्टेन साब ले। फेरी तपाईंको कथा पढेर नतमस्तक भए। अर्को पाटो नि चाडै पस्किम। जय होस्।

pacific salmon · Jun 4, 2009 6:51 PM

भाग-४ काँहा जाने हो आफुलाई केही थाहा छैन, उता जाउँ भनेर जोस्स्याउने शंकरे चाँही थाहा दिए मोर्ला जस्तो गर्न लाग्यो । सिल्बन्दी घिच्ने र accelerator थिच्नेमात्र गरेर मलाई suspenseमा राख्न खोज्यो । खास भन्ने हो भने मलाई पनि त्यत्ती सारो मत्लब थिएन । आफु खोयाबिर्केलाई न उस्को सिल्बन्दी सुरामा रुची , न उस्को suspense राख्या कुरामा । बरु भोलीको मन्दिर जाने प्लान सम्झदा मात्र पनि मनमा thriller फिल्म सुरु हुन्थ्यो , नायिका प्रसाद भै हालिन , आफु भने कहिले नायक-कहिले खलनायक । " ए सत्तुर ! माथिको मुखबाट पनि बाफ फालेर गाडुन तलाई कहिले-काँही त । मुहारमा मौन-ब्रत पेटमा भने ग्यासको ट्रक ? थु-थु-थु-थु हेर त यो कुइरिपुत्त्योल पारेर, नाकको बह त के सुनाइ भो र ,आँखामा समेत बादल लगाएर गाडे बन्दुकेलाई " संकरेले एउटा हात्ले गाडीको झ्याल खोल्दै भुत्-भुतायो । दिउँसो मासु र ढेँडो भक्कु पेलेको पेटमा हल्का प्रेसर परेछ । अब प्रेसर बढी भएसी सिट्टी त लाग्ने नै भो । " काँहा जाने हो भन्ने चुइँक्क समेत भन्दैनस अनी के बोल्नु त म मात्र ?" अरु भन्ने ठाउँ थिएन आफ्नो । " यह ! चुइँक्क नभन्या रिसमा पो पुइँक्क भा हो ? एत्रो torture दिएपछी त अल-काएदाको लडाकु पनि बोल्थे होला, मेरो त के कुरा भो र । हामी आज खोलापारी नयाँ बस्तीमा जान लागेको हो । त्याहा एउटा बिहे attend गर्न निम्तो छ । ल क्याप्टेन साब ! कुरो एत्ती हो अब भने प्लिज मलाई यो बम्-बारीबाट रक्षा दिनुस् " घोच्न पाएको बेलामा शंकरेले किन छाड्थ्यो र । " अनी त्यो उजाडी टोलमा काँहाबाट नाता गास्न पुगिस त थरे ?" मौका मिलेको बेला कुरा मोड्नै उचित थियो मेरो लागि । फेरी मलाई अलिक आश्चर्य पनि लागेको थियो नयाँ बस्तीमा काँहाबाट शंकरेलाई बिहेमा बोलाउने मान्छे आएछन भनेर । खासमा त्यो टोल हाम्रोबाट अली टाढा नै थियो । खोला कीनारमा बस्ने राजी-बादीहरुले जङल फडाँनी गरेर सुरु गरेको बस्ती भएकाले हामी त्यस्लाई उजाडी टोल भन्थ्एउँ । केही बर्ष अघी नापी आएर पास गर्न सुरु गरेपछी चाँही हाम्रा गाउँ लगायत अन्य ठाउँबाट समेत ऐलानीहरु बस्न आएका छन भन्ने सुनेको थिए । तर पनि मुलत: दलित बस्ती भएकाले अन्य गाउँका मान्छे उनिहरुको मेला-पर्बमा चासो देखाउदैन थिए । " त्यही स्कूलको आवास गृह बनाउदाताका चिनेको हो मैले उन्लाई । सार्है इमान्दार र मिहेनती छन । स्कूल रङ-रोगन गर्ने ठेक्का उनैलाई दिएको थिए । उन्कै छोराको बिहे रहेछ । निस्ठा-भावले बोलएपछी जानु हाम्रो धर्म हो । पेन्टर बाबु we are coming " थरे हाँस्यो । " पेन्टर बाबुको छोराको नाम फेरी गूफी पेन्टल होला नि , महा....... भा..... रत्.....टुँ............... " हामी हाम्रो बस्ती छाडेर पनि जंगल छिरी सकेको थियौँ । थरे गाडी हाँक्न र सिल्बन्दी धोक्न नै ब्यस्त थियो । म भने एस्सो बाटो नियाल्न लागेँ । अँध्यारामा बाटो पनि के नै देखिन्थ्यो र राम्ररी ? तैपनी हेड्लाइट्ले देखा जती भए नि हेरेर चित्त बुझाउनै पर्‍यो । एक्छिन पछी मेरा आँखा गाडीको अगाडिको सिसामा परे , अघिसम्म ठिकै देख्या जस्तो लाग्थ्यो अहिले त ठाउँ-ठाँउमा कस्ले पान खाएर थुक्या जस्ता स-साना दाग पो छन त ए । के भएछ त भनेर एक्छिन घोरिएर सिसालाई मात्रै हेरी बसेसी चाल् पाइयो । बाटाका किरा-किरी हाम्रै गाडी कुरेर बस्या जस्तो गरी आत्महत्या गर्न तछाड्-माछाडमा उत्रिएका रहेछन । आयो -ट्वाक्क ठोक्कियो-गयो-टारेर टर्दैन त्यो , भन्ने मौतका खेल खेल्दै रहेछन किराका बगाल । तिन्को पनि के दोश ,अनेक दु:ख अैपरेका होलान तिन्का पनि जीवनमा । संसारकै सर्बश्रेस्ठ प्रणी मान्छेलाई त छिन्-छिनमै मरुँ जस्तो लाग्छ जिन्दगीसँग जुध्न नसक्दा । अनी किरा-फट्याङ्राजस्ता निक्रिस्ट प्राणिलाइ झन किन नलागोस । कम्ता पीर पर्या होला र त्यो ज्यानलाई पनि । प्रेममा धोखा खाएको पीर , घर-बार बिग्र्या पीर , चुनाव हार्या पीर ( हो के मोटोबुद्धी ! किराको बथानमा पनि राजा-रानी-मन्त्री-सिपाहि-काम्दार अनेक पोस्ट हुन्छ रे नि त चुनाव हुने ) । बेपत्ता दु:ख परेर आत्म-हत्या गर्नु एउटा कुरा हो तर कतिपय किरा त आफु बच्छु भन्ने लाख कोशीश गर्दा गर्दै पनि फ्लाईटको ताल्-मेल मिलाउन नसक्नाले चेट भए । हामीजस्तै जड्याहा किरा पनि हुन्छन कि क्या हो ? " हैन यी किरा आज किन सामुहिक आत्महत्यामा उत्रिएका एसरी । भोली यताका चरालाई त बिस्कुन सुकाइद्या जस्तो हुने भो त ? " मलाई अचम्मै भाथ्यो । " बल्ल थाहा पाईस किन कमिलाको मर्ने बेलामा पखेटा पलाउछ भनेर " सन्केरेले आँफैलाई सब थाहा भा जस्तो गर्‍यो । मलाई पनि जवाफ नफर्काइ त भा थेन । " भगवानले पनि सोच्न त दरै सोच्ने हुन है , धन्न हात्तीको पनि मर्ने बेलामा पखेटा पलाउने बनाएनछन् । " जंगल काटेर केही छिनमै पूल पनि तरियो अनी ठ्याक्कै अगाडितिर क्च्याक्-कुचुक्क परेको उजाडी टोल पनि अैपुगियो । पेन्टर बाबुको घर पत्ता लाउन पनि खासै गार्हो परेन । छेउकै घरमा वरपरका स्याल समेत् तर्साउने जस्तो स्वोरले भाका हाल्दै थे जन्ते बाख्रो कोपर्न मुन्टेकाहरु । एक हुल आईमाई आगनमै बसेर मन्-परी फलाक्दै रैछन् , तिन्का गीत पनि उस्तै , घर गरी खाने त हैनन केरे अलच्छिनाहरु : " कुवाको पानी आँफै भर बज्यै, मेरो त कम्मर खायो बरी लै ......" " जमाना फेरियो साँहिली , अब लोकतन्त्र आयो बरी लै ......." यस्तै सोचले त डुबायो नि भन्ने लाग्यो आफुलाई चाँही । " यह ! सर पो आउनु भा रैछ त, कती बेला होल कुन्नी आएको । आफुलाई यता-उता मेसो मिलाउदैमा फुर्सद नभएर याद नै भएनछ " एक जना बुढा लुक्या ठाउँबाट ढ्याप्पा गर्न निस्क्या जसरी बोले । " होइन दाई , भर्खर मात्र आउँदैछौँ । बरु दुलाहा-दुलही कता छन एक फेर बधाई त दिनु पर्‍यो नि " संकरे फेरी सामाजिक जन्तु बनेर मोर्यो । आफु भने यता बिहेमा समेत् धारिलो दाँत र अघोरी आँत मात्र लिएर अैइयाछ । " यह ! यता तिर छन छोरा-बुहारी, सर आउनुस् न " भनेसी पेन्टर बाबु यिनी नै रहेछन । हुन त सरलाई बोलाउथे तर आफु पनि पछी-पछी लागियो । भित्रै जलपान सुरु गराए भने त छुटाउन मिलेन केरे । भित्र डोरिको खाटमा चौँरिकोट ओछ्याएर गम्मक्क परेर बस्या रैछन् दुलाहा-दुलही । टुकीको अन्ध्यारोमा मुख त राम्ररी के देखिन्थ्यो र , अझ तेस्माथि पनि आसिश दिनेले मन अघाउन्जेल वारी कन्चट् देखी पारी कन्चटसम्म् रातै हुने गरी टिका लाइदिएकाले लाखे-भक्कु जस्ता देखिन्थे नव-बिवाहित जोडी । थाप्लामा ठाउँँ खाली त कहीँ थिएन तैपनी संकरे टिका थोपरिदिन अघी सर्यो , आफु नि पछी लागेँ गोडा बिसेक दमौडिलाई बाइ-बाइ भन्न । " ल यो चाँही हामी दुइ-जना दाइहरुबाट भाई-बुहारिलाई ३ महिना कम्प्युटर तालिम गर्ने भर्पाइ गरिदिएको बिल । के गर्नु SLC सक्ने बित्तिकै घरजम गर्ने निधो गरेछौ , अब घर चलाऊने तालिम पनि त गर्नै पर्‍यो नि । दिन्का-दिन बजार गएर यो तालिम सक्यौ भने सानो-तिनो जागिर खोजिदिने जिम्मा मेरो भो है " शंकरेले तार्-तम्य मिलाई सक्या रैछ । हैन के भाको एस्तो , मेरो कमाइले त यो देशमा केही उपती नलाग्ने पो भो त बा । टिका-टालो सकिने बित्तिकै पेन्टर बुढा मुख मिठ्याउदै आए । " अनी उहा हजुर चाँही को नि , मैले त राम्ररी चिनेन नि ?" " उ मेरो स्कूले साथी , घर पनि उता बजारमै हो । अहिले indian-armyमा क्याप्टेन साब छ " थरेले परिचय गरायो । " यह ! क्याप्टेन भनेपछी चौतारे बिष्टको नाती पो पर्नु भएको कि के हो " बुढाको झटारो ठीक ठाउँमा लाग्यो अहिले । हाम्रा बाजेले कुन जुगमा हो गाउँमा चौतारी बनाइदिएका रहेछन , अहिलेसम्म पनि त्यही हाम्रो परिचय भएको छ । " यह ! बाबु मलाई चिनेउ त , म सोमे के त , पहिला तिम्रै घरभन्दा माथि कुवा नजिकको गल्लीमा बस्थेउँ हामी पनि " सोमे बुढा साख्खै हुन आए आफुलाई भने याद आएन । क्यार्नु बुढा ! सोमबारको धपेडीमा जन्मेछौ , शन्सरबार् तिर बिदा पारेर जन्म्या भये पो फुर्सद मिलाएर सम्झना हुन्थ्यो जस्तो लाग्यो । " यह ! बाबुले कस्तो नसम्झ्या होला , म सोमे के , सोमे कामी । तिम्ले त मलाई खम्बे दाई भन्थेउ र " बुढाको बोलिले मलाई एक्कासी बाल्यकालमा धकेल्यो । बुढेउलिको बादल फाट्दा तिन्को तन्नेरी अनुहार मैले छर्लङै देखेँ । सोमे कामी माहिला कामीका जेठा छोरा थिए । गाउघरका खन्ति-फरुवा देखी लिएर खुर्पाको बिँड हाल्न र धान काट्ने हँसिया धार लाउन समेत् उन्को बाको आरनमा जानु पर्थ्यो । तर मेरो र उन्को दोस्ती भने अर्कै जमघटमा भएको थियो । म ४-५ बर्षको हुने बेला गाउमा साक्षरता कार्यक्रम भनेर एउटा टोली आएको थियो । मेरा लाख नाइ-नास्तीको बावजुत पनि आमाले अक्षर चिन्न सिक्छ भनेर मलाई त्याहा नाम लेखाइदिनु भो । सब बुढा-खाडाको बिचमा म चल्लो त्यसै हराउथेँ । त्यही भएर सबै भन्दा पर एक्लै बस्थेँ । हुन त जता बसे नि के , त्यो खुइले डाँडाको धुलोमा एउटा पाटी ठड्याएर कपुरी 'क' चिच्याउथिन मिस भनौदी । आफुलाई भने आमाले मकैको पोस्करको एउटा नयाँ चकटी बुनीदिनु भको थियो तेही झोलामा हालेर जान्थेँ र सके जती टाढै बस्थेँ, ल्याएको खाजा सिद्द्याउथेँ अनी लुसुक्क फरार हान्थेँ । त्यही क्रममा मेरो भेट सोमे कामीसँग भएको हो । म पढ्न मन नलागेर टाढा बस्थेँ , उ बिचरा भने पढ्न मन भएर पनि टाढै बस्न वाध्य थिए । घर नजिकै को कुवामा त उनिहरुको पहुँच थिएन झन लेखापढिको भेलामा के खाएर हुनु । यसैबिच हाम्रो चिन्-जान दोस्तिमा बद्लियो । सानै देखी कामको बोझले बानी परेर भनुम या बिष्टहरुलाई खुशी राख्नु पर्छ भन्ने सोचले बानी परेर हो सोमे दाइले मलाई घर फर्किदा जहिले पनि काँढमा बोकेर घरसम्म पुर्यैदिन्थे । म पनि आफ्नो खाजा उनिसँग बाँढेर खान्थेँ, मेरो स्लेटमा उनिलाई लेख्न दिन्थे र बेला-मौकामा उन्को घरसम्म पनि पुग्थेँ घुम्दै । उन्को घरमा जाँदा उन्की आमाले पनि मलाई माया गर्नु हुन्थ्यो । अरु कुरा बिर्सें पनि उहाले खान दिने गिठा मैले अहिलेसम्म भुलेको छैन । ताउलो भरी भक्-भक उम्लिएको पानीमा २-४ पसर खरानी हालेर उसिनेको गिठा मैले खुब खाएँ । हुन त उनिहरुको आफ्नो छाक्-टार्ने खान्की पो हो कि तर पनि उन्की आमाले मलाई आफ्नै छोरो जस्तो माया गरेर त्यो दिनु हुन्थ्यो र मैले पनि खुब मिठो मानि-मानी खान्थेँ । उनिसँग खेल्दा दिन कटेको थाहै हुन्थेन मलाई । रुखका हाँगा काटेर भुरुङ बनाउन , ब्लाइडरको गुलेली , पुरानो ज्यामिती बक्समा थोत्रा चप्पल काटेर पङ्रा हालेको गाडी बनाउन , बाँसको सिटाको धनु र छाताको करङलाई आरनमा पिटेर बाण बनाउन सब्थोक जानेका थिए सोमे दाईले । साक्षरता क्लासमा पनि हामी रमाइलो गर्थेउँ , म उन्लाई बर्णमाला पढ्न दिन्थे अनी उन्ले बसी बसी साइडको बुटाबाट सुपारी आँप झारिदिन्थे मलाई । एसैगरी साक्षरता टोलिको कार्यक्रम पनि सकिने दिन आयो । प्रमाणपत्र बाँढ्ने दिन जिल्ला शिक्षा अधिकारी आउने भएकाले हामी सब्लाई गल्लिको वरपर लाम लागेर बसैइयो । गेट बनाउने नौटन्की गर्न समेत् पछी नपर्ने मन्सायले दुइटा केराको थम्बा पनि ल्याएर मोरे गाउलेले । तर त्यस्तो दुङै-दुङा भा बाटो खन्ने बल कस्का बाउले देखाउने ? लास्टमा आएर केराको थम्बा समाएरै उब्भिने जुक्ती निकाले । अरुबेलामा सधैं पछाडि घचेट्ने पातकीहरुले सोमे दाइलाई नै एउटा थम्बा अडेस लागाएर अगाडि राखे । आफ्नो हातमा त एउटा थुङा केरा फूल थियो तर सोमे दाइले भने थिर्-थिर गर्दै केराको थम्बा अड्ड्याएको देखेर मलाई मर्नु हासो लागेको थियो । त्यही दिन पछी म उन्लाई खम्बे दाई भन्थेँ । तर पछी बा-आमाले मेरो नाम स्कूलमा लेखाइदिनु भो । नयाँ माहौल , नयाँ साथीहरु अनी मोचे दिमाग , म नयाँ संसारमै हराएँ । खम्बे दाईहरु पनि जग्गा पाइने आसले उजाडी टोल तिर हिंडेछन । अहिले सोच्दा यो जिन्दगीले कहाँ पुर्यायो जस्तो लाग्छ । ति दिनहरु त सबै एका-देशमा जस्तो पो लाग्छ त । यस्तै कुरा सोच्दै हिँड्दा हामी बाहिर आगनमा पुगी सकेका रहेछौँ । स्याल्-भाकेहरुको हुईयाँ अझै उस्तै थियो । एउटी नखरमाउलिको काखमा बस्या बच्चोले रोएर भाका बिथोल्न खोजेको थियो तर उस्को रुवाइ भन्दा नि चर्को डाको छाडेर अरुले गाइदिएपछी उस्को पनि केही सिप लागेन, थपक्क चुप लायो त्यो बच्चो । गीत भने जारी नै थियो : " माथिबाट मैना चरी झर्यो, बसेर मार्यो मण्डल ..............." " आमाले हैन न नि बाबाले हैन , करिमै मेरो चण्डाल ..........." खम्बे दाई र संकरे मादले नजिकै बस्न समेत् भ्याइसकेका रहेछन । संकरे मादले सँग के हो कुरा गर्दै थियो , मादले भने थरेको कुरामा मुन्टो हल्लाउदै झम्-झम मादल गम्काइराथ्यो । यो थरेले पनि संसार चिन्या छ । आफु पनि त्यतै लागियो । "अनी खम्बे दाई के छ त तपाईंको खबर अचेल " अब त चिनेँ है भन्नु पर्ने थियो आफुलाई । " यह ! बाबुले जे होश ढिलै भए नि चिनेछन । ठीक छ बा मेरो । बरु तिमी पो कस्तो या'मानको ज्यानको भएछौ । जे होश यत्रो बर्षपछी भेट्दा एक्दम खुशी लागो मलाई त " खम्बे दाई हाँसे, खुशी मलाई पनि लागेकै थियो । " त्यैत हामी नभेटेको पनि जुगै भाथ्यो है दाई , तपाईंहरु पनि यता लाग्नु भएछ म पनि स्कूल सकेर तल्तिर लागेँ अनी त काँहाबाट भेट हुनु " आफ्नो बच्चाउ गर्दै बोले मैले । " अनी दाई आज्कल त पेन्टिङ बिजनेसतिर लाग्नु भा रैछ । चित्र-सित्र त पहिला नि बनाउनु हुन्थ्यो केरे , अहिले कत्तिको गर्नुहुन्छ नि " मैले अतित नभुलेको सबुत टक्राएँ । " खै के गर्नु र , चित्रकला गर्ने त मनको धोको हो तर तेस्ले खान नपुग्ने भै हालो । सुरुमा त बजार एउटा तेस्तै चित्र कोर्ने , साइन बोड लेख्ने दोकान खोलेको थिएँ , आम्दानी पनि ठिकै थ्यो । पछी त्यो हिकोलाले साइन्-बोडनै छाप्ने फ्लेक्स मेसिन कि के जाती ल्याएपछी त दुई गास कमाउन नि गार्हो पर्‍यो । अनी घर रङाउनेतिर लाग्या छु , त्यो पनि कुन दिन मेसिन ल्याउछन अनी खोइ के गर्ने हो । अहिले त के हो के हो बाबु , सिप जानेर पनि बाँच्न नसकिने भो । बाको पनि त्यस्तै भो , पहिला आरानले नै खान पुग्थ्यो पछी त हसिया-चक्कु सबै रेडि-मेट आउन लागे ,रसाको टाल्ने नि के जाती वोल्डिङ मेसिन पाइने रैछ , आरनेको के काम । मेरो पनि त्यस्तै होला जस्तो छ बाबु । यो मेसिन भन्ने चीजले पनि बाच्नै गर्हो भो गरीबलाई त । किन्ने सेठलाई मस्ती भो तर काम गरी खानेको सास्ती भो ।" खम्बे दाइले बिरह पोखे । " अहिले भने आँतै रसाउने कुरो गर्‍यो है ज्वान्ले " मादलेले पनि कुरा सुनी बस्या रैछ ,पालो मिचेर बोली हाल्यो " म पनि के त सर , एउटा बादिको छोरो हुँ । हाम्रा बा एही खोलामा माछा मार्थे , डुंगामा मान्छे तार्थे गुजारा चलेकै थियो के त । तर हाम्रो पालामा त्यो गरी खानै पुग्दैन । नयाँ बस्ती बढेपछी खोलाको माछा क-कस्ले मात्र मार्ने ? फेरी पूल हालिद्याछन डुंगा कस्ले चढ्ने । तल खोलामा गिट्टी कुट्थेम , बालुवा निकाल्थेम अहिले त बलुवा निकाल्न पनि बजार धाएर पुर्जी काट्नु पर्नी भो , रोडा पेल्ने त मेसिनै ल्याउन लागे । अब हामी क्यारी पाल्लीने ? सर्खारले बाटो-पूल त बनायो तर पूलमुनी चोपिल्टामा बाच्नेलाई हेरेन । खोलो चप्रक्कै सुकाएर बिजुली निकाल्यो अब तेरा घट्ट चलाऊनी भा बिजुली किन भन्छ , पहिला घट्ट चलाऊन दिये पो बिजुली किन्ने आम्दानी होला त ? मुसोलाई र हात्तीलाई एउटै लट्ठोले पिटेर हुन्छ त ? हँ सर भन्नुस् न आँफै । " मदलेले गाउँखाने कथा जस्तो सवाल सोध्यो , उत्तर सजिलो थिएन , चुप लाग्नै बेस ठाँने मैले । उ आँफै बोल्न सुरु गर्‍यो । " यस्तै यस्तै कारनले अन्त लाग्न पर्ने रैछ के सर , हैन भने आफ्ना चेलीको इजेत बेचेर पाल्लिन हाम्लाई खुशी लाग्दो हो र सर । हाम्रो जात पनि मान्छे नै त हो सर । तेत्ती नगरे के गर्नु , सधैँ इन्ड्यातिर हन्निन पनि त घर-बेभारले मिल्दैन । मेरै हेर्नुस् , साहुको अद्धियाँ रोपाइ सकाएँ भर्खर । अब आउने बालीले ३-४ मैना धन्ला जान्-केटा-केटिलाई ,तेत्तिबेला सम्म तल्तिर गएर केही कमाउन सकिन्छ कि भनेर पर्सी जाने बिचार गर्या छु इन्डिया । आफ्नै गाउँमा बस्ने मन त छ सर , झन दसैं मुख्-मुख छ तर आफु बसे भने छोरा-छोरिको दशै समेत् बिग्रिन्छ , मनै खिन्न पारेर पनि के चाड मनाइएला र भन्छु । बरु उता दु:ख गरे यता केटा-केटा एक सरो राम्रो लाउन र एक गास मिठो खान पाउलान " मादल बजाउन बन्द गरेर मुख अँध्यारो बनायो । " हेर्नुस् जिन्दगी सजिलो छैन , जहाँँ गए पनि र जो भए पनि सबैलाई दु:ख परेकै हुन्छ । तपाईं पनि दशैको मुखमा तलतिर लाग्ने कुरा नगरनुस् । मेरो स्कूलमा नयाँ आवस गृह खुलेकाले थप् पालेहरु चहिएको छ । हुन्छ भने अहिले त्यही जागिर गर्नुस् । फेरी तपाईं मादल पनि राम्रो बजाउनुहुने रहेछ । आफ्नो देशको बाजा हो विद्यार्थीहरुले सिक्न चाहेछन भने त्यो पनि सिकाउनु होला । तपाईं जस्तो आफ्नो बेथा बोल्न सक्ने मान्छे एही बसेर आफ्ना जातका अरु दाइ-भाइलाई समेत् स्वाभिमानी काम गरेर बाँच्न सिकाउनु पर्छ । बाजेकै पाला बाच्छु भनेर त कहाँ हुन्छ र , परिस्थिती बद्लिये पनि नियत असल राख्नु पर्छ अगाडि बढ्न सकिन्छ । बरु म अरु स्कूलहरु सँग पनि कुरा चलाम्ला सबैले जागिर नदिये पनि यो टोलका केही बच्चाहरुलाई निसुल्क पढ्ने बेबस्ता मिलाइदिये भने मात्र पनि त परिस्थिती बिस्तारै राम्रो हुँदै जान्छ नि होइन ?" शंकरेले सम्झाउदै भन्यो । उस्को प्रस्तावले मलाई पनि खुशी लाग्यो । थरे कसैलाई पनि निरास भएको हेर्न सक्दैन तर एही कारनले जिवनमा कतै उ नै निरास हुनु पर्ने हो कि भन्ने डर पनि लाग्यो । " किन नहुनु सर एसरी नै ठुला सरहरुले दया गरेर हात दिनु भो भने त हामी खाल्टामा खसेकाहरु पनि बाहिर उक्लिन सकम्ला नि सर । अब त के जादाम र सर म अर्काको देशमा, कम्ताको बेभार देखाउँछन र ति धोतीका जात " मादलेको कुराले मलाई पनि घोच्यो । " माथिबाट फिस्टो चरी झर्यो बसेर मार्यो मण्डल ......." बिना म्युजिक पनि चलिररैछ उता स्याल्-भाका । भोजको खोया-बिर्के खाएर झूल पर्या होलान बाइफाला भामतिहरु , अब तिन्लाई मादल बजे नि के नबजे नि के । " ए बेसोमती हो ! तिम्रा अरु गीत छैनन ? अघी मैना चरी बाट सुरु गरेको गीत अहिले बिचरा फिस्टो सम्मन अैपुग्दा पनि त्यही गाउछौ । झन सरहरु आको बेला हाम्रै आफ्नो गीत गाओ । अब टप्पा गाउने टप्पा " मादले जोस्सिएको थियो थरेको कुराले । गीत पनि आँफै सुरु गर्‍यो : " घिउ खाने बटुकी , जुम्लाबाट बगाइ ल्यायो ......." " मन भरिको माया , बल्ल आज मुखमा आयो ...." घिनि-घिन्-नाक्धिन च्याट , च्याट - च्याट । मादल पनि काइदाको जोसिलो बजायो अहिले त मुरदारले । " कस्तुरिको बिना , बास उडाउछ बयालोले ......" " मन उडाउछ किन , मन उडाउछ किन मायाले ......" आमाइ पाटी किन चुप लाग्थे , दोहोरीमा आई हाले । भुइमा खस्न नपाउदै जवाफ फर्काए । हुन त तिन्का बगालले जिन्दगीमा जन्या स्लोक भन्या यिनै होलान । " यह ! बाबुहरु जाउँ भित्र, केही खानु पर्‍यो नि पाहुनाहरुले । यिनिहरुले त दोहोरी सुरु गरे भने बिहान छर्लङै हुने बेलासम्म गाइदिन्छन , के छ र यिन्लाई , अफिस जान पर्ने नाइ " खम्बे दाई बोले " क्याप्टेन बाबुलाई भातिको झोल मन पर्छ कि नाइ अचेल कुन्नी , उ बेला त लुकी-लुकी त्यो कजिलो जाँड गुलियो हुन्छ भन्दै खुब खन्थेउ " " किन मन नपर्नु खम्बे दाई , मान्छे छिप्पे पछी अचेल छिप्पेको जाँड त झनै मन पर्छ " मैले एक सासमा उत्तर फर्काएँ । " यह ! जाम त उसो भए मैले सर आउनुहुन्छ भनेर एक्दुम छिप्पेको सङ्लो झोल कसैलाई छुन नदिएर राख्या छु " खम्बे दाइको बोलिले मात्र पनि मुखमा थुक आए आफ्नो । थरे झन अघी नै उठेए सक्या रैछ । गाउले पाराको अस्सली झोल खान पाउदा त स्वोर्गै पुग्या जस्तो भो , घैटो पनि रित्त्याईयो क्यारे । रिम्-झिम भएर बाहिर आएको दोहोरी मज्जाले जम्या रैछ , कोइकोइ नाच्दै पनि थिए । " अब म नाच्छु, छोराको बिहेमा अैसकेपछी एक फन्को त नाच्नै पर्‍यो नि यार " थरे लर्बरायो । उ टिल्ल परेको पुष्टी भो । " हो सर नाचम -नाचम " मादाले बज्जियाले आज थरेमा देउता देख्या थ्यो , आग्या सिरोपर त हुने नै भो । " हो भाई , तिमीले मादल गज्जब झम्काउछौ, एउटा उधूमको गीत पानी गाइदेउ त " थरे आगनको बिचमा पुगिसक्या थ्यो । हेरी बस्ने बाहेक अरु उपाय थिएन । त्यस्को चेलाले गीत सुरु गर्‍यो : " खुट्टामा नेल परे पर्ला , झाँप्रे म ननाची छोड्दिन ......." मादल पनि बेपत्ता ठट्टायो । थरे पनि उठि-बसी मज्जाले नाच्यो । एक्छिन सम्म सबैलाई रमिता देखायो । एक्दुइजना मोरिहरुले ताली बजाइदिये अनी अरु के चाहियो र ? नाच लामै गयो । " अब तँ नाच " पसिन्यौल हुँदैँ आएसी मलाई पो भन्छ बा । " नाच न त नाच , एक फेरा " खम्बे बुढाले पनि जोस्स्याए , जोश र जाँड मिस्सिँदा के हुँदो रैछ कुन्नी, मलाई पनि हो त भन्या जस्तो भो , पल्टनमा पनि एक दुई फेर नाचेकै मान्छे नाचिदिम कि जस्तो पो लाग्यो त । " ल त ल गीत गाएर मोरुन " मैले नि बाहुला सिमल्दै भनेँ । मादलेले गाएको भए त केही बिसेक ठीक हुने थियो होला तर थरे कुरिला हाल्न रेडी पर्‍यो । लौ बर्बाद , गीत उही तोरिलाउरे आउने हो भन्ने कुरामा दुइ-मत रहेन । " तिम्रो घर चाँचरी, तिँ तल होइन र ? तिम्लाई मैले चाँचरी चिनेको छैन र ? " " बाँबरी फूलको बोट ! आयो झल्काँउदै झम्-झम इस्टकोट ........." मैदानमा उत्री सके पछी एक्-दुइ फन्को त हान्न करै लाग्यो । तर गीत सक्किसक्दा पनि बस्न काँ दिने हो र लोक्-गायक थरेले । " हुर्र.....र , लैजा.... लैजा । ठोक्... ठोक , give me the maadal beat ।थरे चिच्याएर मोर्न लाग्यो । मादले बज्जियाले पनि बेसमारी ठोक्यो । एक्छिनपछी भ्वाट्ट गर्या आवाज आयो अनी मादल बन्द । आखिरमा मादलले मेरो नाच सहन सकेनछ । " मादलको दुइ-तिर भ्वाँङ पर्‍यो , मुसो मर्यो बिरालो दङ् पर्‍यो ....." " बल्ल पर्‍यो निरमाया , माकुरी जालैमा .................." थरेका गीत अझै जादै थिए । मादल सङ्-सङै नाच्-गान टोली पनि फुट्यो । हामी पनि खम्बे दाईसँग फेरी भेट्ने बाचा गरी बिदा भएउँ । मादले साथी गाडी भए सम्म पुर्याउन आए र थरेले भेट्न आउने मिति-तिथी फिक्स गर्‍यो । " ओ ई ! थरे त टिल पर्या छस खोइ छोड् गाडी म चलाऊछु " मैले आफु चोखै भा जस्तो गरेँ । " पर्दैन पर्दैन , मैले खाँदै याँहा सम्म ल्याएँ अब पुर्याउन सक्दिन होला र, खुरुक्क बस " थरे किन मान्थ्यो र । लौ त हजुर भन्दै बसेँ । जाँड लागेर उम्सो-उम्सो भाथ्यो झ्याल खोलेको चिसो बतास आयो । थरेले पनि बेपता दौडायो । राती पख बाटोमा गाडी हुने नाइ मैले पनि त्यती वास्ता गरिनँ । कतिखेर निदाएको रहेछु ड्वाँङ गर्या आवाजले बिउँझीएँ, टाउको पनि कता नराम्रो सँग ठोकिएको जस्तो लागेर छामेको टुटुल्कै उठ्या रैछ । लौ न के भो भनेर संकरेतिर हेर्छु त उ स्वाँ-स्वाँ लामो सास तान्दै मुख रातो पारेर थर्-थर कामिराछ । " हैन के भो थरे ! किन अन्ध्यारामा तर्साउन दिने मसानको जस्तो मुख पारेर , हरर फिलिम्को साउन्ड निकालेर मोरेको " टाउको थोक्या बेला दिमाग तात्तिने नै भो मेरो । " हेर न यार अगाडि खाल्डो जस्तो देखेर स्टेरिङ्ग हल्का काटेको त स्पीडको गाडी झ्यम्मै नालिमा गैगो नि " थरेका कुराले बल्ल बेतोडले मुटु थर्कियो आफ्नो । अघी सम्म त कुरै नबुझेर पो । धन्न , भिरतिर स्वीईक्याएनछ । कस्सो भित्तातिर परेर मात्रै बच्यो जस्तो लाग्यो । के गरुँ भा बेलामा पिसाब गरुं जस्तो गरी च्यापो । ढोका खोलेर झर्न खोजेको आफ्नै तिर धल्क्या रैछ गाडी नालिमा । हे भगवान , भै पारी सबै मेरै भागमा ? " ए थरे खोइ बाहिर निस्की " मैले रिस पोखेँ । उ चुप्-चाप निस्कियो । म अली परसम्मा दौडिएँ । " होइन तैले के गर्न लाग्या ?" आफुलाई छाडेर जान लाग्यो कि भन्या जसरी डर मिस्स्या स्वरमा करायो संकरे । " Teacher say water the plants" मैले झाडितिर फर्कदै भने । " ओ हो ! मलाई नि कस्तो च्यापा छ नि यार पिसाबले । बल्ल याद आयो । अघी खा तेत्रो झोल कता जावोस " थरे पनि नजिक्कै आयो शिँचाई योजना लिएर । " अल्ली उता जा , बिचमा कमसेकम के हातको gap राखेर " यो हाम्रो बच्चै देखिको बानी किन जान्थ्यो र । यस्सो यता उता हेरेको अहिले हामी पूल तरेर पनि जंगलको बिचमा अैपुगेका रहेछौ । रातिको बेला, सुन्सान जंगलमा एस्तो स्थितिमा , अलिकती डर पनि लाग्यो । झन तेसैबेला नजिकै तिरबाट स्याल कराएर मोर्यो । हँशले ठाउँ छाड्ने नै भो । " यह थरे ! यो जंगलमा त बाग पनि लाग्छन कि क्या हो , भाग " म zipper बन्द गर्दै दौडिएँ । थरे पनि रहल्-पहल चुहाउँदै आयो पछी-पछी । गाडीमा छिरेर ड्याम्-डुम ढोका लगाइम । एक्छिन अर्कोले फेर्या सास सुन्दा पनि डर लाग्या जस्तो भो । "ई ! हेर न यहाँ अगाडि सिसामा केस्को दाग लाग्या रैछ कालो , मैले अघी एही देखेर होला के खाल्डो जस्तो मानेको अगाडि " थरेले भित्रबाट दाग लागेको सिसामा औंला राख्दै भन्यो । " अघी हामी आउँदा आत्महत्या गर्ने किराको दाग होला नि थरे , बेक्कार मलाई चलाऊन नदिएर । किरा ठोक्या दागलाई खाल्डो बनाएर मोरेछ टिल पर्या आँखाले । उही एउटा किस्सा थ्यो नि , एक फेर एउटा सिकारीले रूख्मा लोखर्के देखेँ भनेर ड्याम्-कि-ड्याम बन्दुक पड्क्याएछ रे तर लास्टमा तेस्कै परेलामा जुम्रा पर्या रैछ के । हो त्यो जुम्रे सिकारी पक्कै पनि तेरो बाउ-बाजे कोइ त हुनै पर्छ " मैले मौका पाएको बेलामा पेलेँ । " तेरै बा होलान नि " थरे पनि के कम् । " हैन हैन नाता पर्ने त स्योरं नै होला , राम्ररी सम्झे त ल ल " म हाँसे । " अँ हासेर बस तँ त , आफुलाई पो टेन्सन भो त , यो गाडी नालिबाट निकाल्न हामीले मात्र सक्दैनौँ , स्कूलमा फोन गरौँ हेड्सरले जाड खाएर गाडी पल्टाए भन्ने हल्ला हुन्छ । मेकानिक बोलाम एती राती को अैइदिने , मेकानिक त के कुरा बजार जाने गाडी समेत् पाइदैन यती राती । भोली बिहान स्कूल भेटाउनै पर्‍यो । हैन क्याप्टेन के गर्ने होला यार , बर्बाद भो त ?" शंकरेले चिन्ता पोख्यो । " अँ , तलाई मात्र भाछ बर्बाद , म त झन जान्न-जान्न भन्दा पनि जबर्जस्ती लिएर अैइस, उता सरुले भोली बिहानै मन्दिर जाम्ला है भन्थी , मेरो घर-बार भाको हुन खान नदिने भै हालिस नि तँ पापिले । हाम्लाई कम् पिर पर्या छ , सम्झि-सम्झी रुन मन लाग्छ " म फेरी हासेँ । " तै होलास नि पापी , सरु जस्ती सोझीलाई फसाउने हवसको सिकारी-प्यासा सैतान , तँ त मन्दिर जान नपाएकै ठीक भाछ । गए नि मन्दिरमा ढोग्न निहुरिएको बेला घण्ट चुटेर लागेर त्यहीँ ठहरै हुन बेर छैन । झन मैले तेरो ज्यान बचाइदिएँ भन् न ।" थरेका आफ्नै तर्क । " ल ल थरे , तिमी धन्ने छौ । ल अब म पनि तेरो ज्यान बच्चाइदिन्छु है त । कस्तो भुली राको तैले मेरो भाईको मोटरसाइकल त अहिलेसम्म नि उ त्यहा पछाडि फाली राछ नि , मोटरसाइकल त्यहाँ छ extra तेल यहाँ छ । अब तेरो र मेरो दुबैको समस्याको समाधान भए न त । कस्तो हुस्सु होला , यती बेला सम्म पनि याद आको थिएन ? मैले त अघिनै सोचेर पो हासेर बसेको त , केही गरी म भोली मन्दिर नपुग्ने भा भए त तलाई अर्को दिन तेही मन्दिरमा लगेर मार हान्थेँ " " कसरी याद आउनु त , गाडी ठोक्केर होश्-हवास् उड्या बेला , ल क्याप्टेन बरु जाउँ-जाउँ " " तर अब भने म चलाऊछु नि , नत्र भने तैले फेरी के के देख्ने होश बाटमा " शंकरेको जिप त्यहीँ छाड्ने त भोली कसैलाई लिना पठाउने निर्णय भो । बल्ल-बल्ल ढल्के पर्या गाडीबाट मोटरसाइकल निकालियो , तेल्-सेल हालेपछी बस्यो थरे पछी , त्यो पाजीलाई पछाडि बसाल्दा आनन्द त के आउथ्यो र नाइ तर दुई जना साथी धेरै पछी यसरी मध्य रातमा हिड्दा रमाइलो भने लागेकै थियो । " यह ! क्याप्टेन एक छिन् रोक त रोक " संकरे पछाडिबाट करायो । " किन थरे ! फेरी के देखेर मरिस " मैले रोकेपछी भनेँ । " ला ( अर्को सिल्बन्दी निकाल्यो थरेले फेरी कताबाट ), यो स्टक गाडीमै छाड्यो भने त फेरी भोली गाडी लिन आउनेले गाडी पल्टनुको रहस्या थाहा पाइहाल्छ नि , त्यही भएर लिएर आएको । स्वाट्ट पार " थरेले थाडो घाँटी लगायो । म पनि के कम् । बोतल रित्तिएपछी दरो kick दियो , मेरो पालो मैले नि दरै किक दिएर स्टार्ट गरेँ मोटरसाइकल र अगाडि हुत्याएँ । थरे बाग्-भालु समेत् ब्युझने गरी चिच्यायो : " यह दोस्ती , हम नहीँ छोडेङ्गे ............................"

Regal · Jun 15, 2009 10:40 PM

यती रमाइलो कथा त अहिले सम्म पढेको छैन मैले , .....कस्सम ....ल क्याप्टेन साब चाडै प्रसाद लै भेट्न जानु पर्छ. .

paasa · Jun 15, 2009 11:13 PM

महा-रमाइलो लाग्यो, क्या ठेट-ठेट शब्द युज गर्या, पढ्नै टाईम लाग्यो तर जे होस् घच्ची मजा आयो, संकरे त साची नै आदर्श-पुरुष रेछ, अली अली मनमा त च्वास्स नि पर्‍यो, यो कथामा रोमान्स, ड्रामा, देश्-भक्ती सब छ, तेइ भेर सार्है मन पर्‍यो, खाली अलिक ढिलो आउने भएर मात्रै हो, एस्सो अली रेगुलर पोस्ट हुन पर्‍यो, प्रसाद याद आएर बेहाल छ, भोली कसरी भेट्छ होला कुन्नी, ल छिटो राखुम है गुरु।

perfectionist · Jun 16, 2009 9:00 AM

Paasa: यती रमाइलो कथा त अहिले सम्म पढेको छैन मैले , .....कस्सम ....ल क्याप्टेन साब चाडै प्रसाद लै भेट्न जानु पर्छ. भेट्न जाने हतार त मलाई नि छ नि Paasa तर के गर्नु समयसँग मन-परी गर्न नमिल्ने रैछ । त्यसैले कुरी बस्या छु । perfectionist: महा-रमाइलो लाग्यो, क्या ठेट-ठेट शब्द युज गर्या, पढ्नै टाईम लाग्यो तर जे होस् घच्ची मजा आयो, संकरे त साची नै आदर्श-पुरुष रेछ, अली अली मनमा त च्वास्स नि पर्‍यो, यो कथामा रोमान्स, ड्रामा, देश्-भक्ती सब छ, तेइ भेर सार्है मन पर्‍यो, खाली अलिक ढिलो आउने भएर मात्रै हो, एस्सो अली रेगुलर पोस्ट हुन पर्‍यो, प्रसाद याद आएर बेहाल छ, भोली कसरी भेट्छ होला कुन्नी, ल छिटो राखुम है गुरु। के गर्ने हजुर , मलाई नि यता बेहालै भा छ नि याद आएर , मनको speedमा हात नचल्नाले पो बारबाद भो त । तपाईंलाई पढनै त टेम लागो भने यो ज्यानलाई लेख्न नि टेम दिनु पर्‍यो नि । तेस्का बाजे के भन्छन नि "पर्खाइको फल मिठो हुन्छ भनेर "

Regal · Jun 16, 2009 5:17 PM

ये बै, कथा त यस्तो घच्ची लेख्नी सँग हाजिरी जवाब काँबाट सक्नु, तर एउटो कुरो क्या सरकार, धेरै बेर नि लाउनु हुन्न रे क्या, फल पाक्न, कुहिन्छ रे भनेर भन्थे बुढा-पाकाले। लु छिटो पस्किम्!

perfectionist · Jun 16, 2009 9:42 PM

क्याप्टेन साबको कथा सच्चिनै दामी छ, रमाइलो पनि त्यती नै... घच्ची लेख्नु हुदों रहेछ। खोया बिर्का जती घोके पनि प्रशादलाई भेट्न जानु ल। कालेदाइ

KAledai · Jun 16, 2009 11:36 PM

Regal Ji, I wish i could type in Nepali too. Your work is admirable, have you tried to televise your writings. This could be a good material for a comedy serial. If i was in an entertainment line i would definitely create a comedy serial on your writing. You should contact the Nepali TV producers and see if you can get paid for your extraordinary writing skills. Sid

sidster · Jun 17, 2009 10:55 AM

लौ मन भरी पढियो पेलाई मा परेर पढ्नै भ्याको थिएन । ल दरो जादै छ बरु प्रभु प्रशाद को प्रशाद खाउ न चाडो

बैरे · Jun 17, 2009 1:06 PM

Brilliant job Regal. What a nice story, i started reading the story yesterday and couldnt complete it and this morning when i was searching it, i couldnt find this thread and againa i posted another thread telling that this thread is lost and somebody gave me the link.. Damn Regal you really have some inborn talent bro. Until and Unless you are not a professional writer nobody can use such literary language and write in such a great way. I dont care whatever it is but you have the great ability to be a writer. Good job and eagerly waiting for next part. plz post it soon. 

boulevard dreams · Jun 18, 2009 4:07 PM

Prasad, khai ta?Dhila bhayena

RUSTIC · Aug 12, 2009 6:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all