स्थायी सत्ताका लागि मनोवैज्ञानिक अस्त्र खेम भण्डारी बुटवलका युथफोर्स कार्यकर्ता प्रचण्ड थैवको हत्यापछि राजनीतिमा नयाँखाले तरङ्ग महसुस गरियो । सत्ता साझेदार एमालेले सरकारमा नबस्ने चेतावनी दिएपछि प्रत्युत्तरमा अर्थमन्त्री डा बाबुराम भट्टराईको गर्जन सुनियो । गर्जनको निहितार्थ नयाँ नभए पनि फरक परिस्थितिमा त्यसले बोकेको अर्थ सोचनीय थियो । भट्टराईले स्पष्टै भने, 'सरकार ढाल्ने काम भयो भने माओवादी फेरि विद्रोहमा उत्रिन्छ ।' बारम्बार दोहोरिने यस्तो धम्कीपूर्ण अभिव्यक्ति सुन्दा सामान्य लागे पनि त्यसको नियत र आशय खतरनाक छ ।सत्तारुढ दलको माथिल्लो तहका नेताले क्षणिक आवेशमा 'विद्रोह'को धम्की दोहोर्याएका हुन् भन्ने सोच्नु गलत हुनेछ । डा भट्टराईले माओवादीको अत्यन्त नियोजित र सुविचारित कार्यक्रमको संकेत दिएका हुन् । उनको अभिव्यक्तिले अरू राजनीतिक दल र आमनेपालीलाई मनोवैज्ञानिक रूपमा ब्ल्याकमेल गर्ने अभीष्ट बोकेको दाबी गर्न सकिन्छ । त्यसले सिङ्गो माओवादी पार्टीभित्रको सर्वसत्तावादी सोचको प्रतिविम्ब पनि प्रस्तुत गरेको छ । सत्तारोहणपछि पनि माओवादीको व्यवहार, आचरण र कार्यशैलीमा सुधार नआउनु, लोकतान्त्रिक मूल्य-मान्यताप्रतिको माओवादी आस्था शङ्कास्पद हुँदै जानु र सबै तहका माओवादीमा दम्भ र अहङ्कारको प्रवृत्ति झाङगिदै जानु 'जनयुद्ध'का विकार होइनन्, बरु मनोवैज्ञानिक ब्ल्याकमेलमा माओवादीले देखेको तागतप्रतिको मोहका परिणाम हुन् । माओवादीले सशस्त्र विद्रोहका दौरान प्रभाव र नियन्त्रणका लागि प्रयोग गरेका मनोवैज्ञानिक सूत्रहरूलाई आंशिक परिमार्जन गरेर सत्ताकब्जाको पूर्वाधार खडा गर्न उपयोग गरिरहेको आरोप लगाउन सकिने पर्याप्त आधार भेट्टाउन सकिने अवस्था छ । सशस्त्र विद्रोहका बेला माओवादीले बल, हिंसा र धम्कीमा निहित शक्तिको प्रत्यक्ष अनुभव गरेको छ । प्रभाव विस्तार र नियन्त्रण स्थापनाका लागि उपयोगी औजार 'धम्की' हो भन्ने उसले प्रयोगात्मक रूपमै बुझेको छ । सरकारको विरोध गर्नेले वाईसीएलको कुटाइ खानुपर्नेदेखि फैसला गर्दा न्यायाधीशले सोच्नुपर्ने अवस्था स्वत सिर्जना भएको होइन । माओवादी योजनाकारहरूले आम मनोविज्ञानमा निहित भय र त्रासको पाटोलाई उपयोग गर्न खोजेका छन् । सन्त्रासको औजार बोकेर समाजका हरेक कुनामा आफ्नो प्रभाव विस्तार र नियन्त्रण गर्ने रणनीति सुविचारित हो भन्ने डा भट्टराईका गर्जनहरूबाट प्रमाणित हुन्छ । सन्त्रास फैलाई आधिपत्य कायम गर्ने युद्धकालीन उपकरणहरूलाई परिमार्जन गरेर आजको परिस्थितिमा उपयोग गर्ने माओवादी प्रयास क्रमशः सत्ताकब्जा गर्ने रणनीतिको अंश हो । माओवादीले संसद र सरकारमा प्रवेश गरेपछिका डा भट्टराईका कथनहरूलाई शृङखलाबद्ध गरी हेर्ने हो भने प्रस्ट तारतम्यता देख्न सकिन्छ । जति नरमपन्थी र लोकतन्त्रवादी भनिए पनि धेरैमध्ये केही प्रकरणमा मात्रै उनी बोल्छन् र उनले जे बोल्छन्, त्यसमा अतिवाद हावी हुन्छ । सरकार ढले विद्रोह गर्ने धम्की दिने उनी पहिलो नेता हुन् र पटक-पटक त्यो धम्की दोहोर्याउने उनी एक्ला माओवादी हुन् । सैन्य विज्ञानमा स्थापित मनोवैज्ञानिक आक्रमणका सूत्रमध्येको एउटा माओवादीले प्रयोग गरिरहेको छ । विरोधीका कमजोरीहरूको पहिचान गरी आक्रमण गर्ने मन्त्रअनुसार माओवादीले काम गरिरहेको छ । जनताले शान्ति चाहेका छन् । जनताको त्यो चाहनाको गुरुत्त्व माओवादीले बुझेको छ । कांग्रेस-एमाले लगायतका दल शान्तिपूर्ण राजनीतिमार्फत अगाडि बढ्न चाहन्छन् । शान्तिपूर्ण राजनीतिप्रतिको त्यो लगावको दरिलोपन पनि उसलाई थाहा छ । त्यसैले माओवादीले 'शान्ति'लाई मोलमोलाइको वस्तु बनाएको हो । दीर्घकालीन शान्तिको बदला जनताले उसलाई भोट दिन्छन् र राजनीतिमा हिंसा र अराजकता आउन नदिन कांग्रेस र एमालेले सत्तामा उसको निरन्तरतालाई बाधित गर्दैनन् भन्ने प्रस्ट बुझाइसाथ बदनामीसमेतको डर नमानी माओवादी अगाडि बढिरहेछ । दण्डहीनताको विकराल समस्या आकस्मिक वा सङ्क्रमणलको उपज होइन, नत त्यो सरकारको लाचारीबाट उत्पन्न भएको हो । सन्त्रास फैलाउने उपकरणका रूपमा दण्डहीनतालाई माओवादीले प्रश्रय दिइरहेकोे छ । जनताले नयाँ संविधान लेख्ने सम्पूर्ण जिम्मेवारी माओवादीको टाउकोमा थुपारिदिएको छ । तर माओवादी त्यो काम कांग्रेस र एमालेको हो भन्ने तरिकाले प्रस्तुत भइरहेको छ । आफ्नो सरकार र सत्ता टिकाउने जिम्मेवारी अरू दलको हो भन्ने आशयसाथ बाबुराम भट्टराईजस्ता नेताहरू सरकार ढालिए विद्रोहको धम्की दिन्छन् । यो सबै जनताले शान्तिको महत्त्व सम्भिmराखुन् र अरू दलले शान्तिप्रति जनताको चाहनाको सम्मान गर्दै दिन बिताउन् भन्ने माओवादी अभिप्रायको एउटा अंशमात्रै हो । विद्रोह गर्नु वा अशान्ति मच्चाउनु माओवादीको जन्मजात अधिकार हो भन्ने आमजनताको मानसपटलमा स्थापित गरेर सुशान्ति अरूको दायित्वभित्र पार्दा माओवादीलाई फाइदा हुन्छ भन्ने अनुमानले पनि काम गरेको छ । सत्ता छाड्नुपरे उत्पात मच्चाउने विशेषाधिकार माओवादीसँग छ भन्ने किसिमले अभ्यास भइरहेछ । विभिन्न तरिकाले प्रेसमाथिको आक्रमण, औद्योगिक तथा व्यापारिक क्षेत्रमाथिका विभिन्न प्रहार, शैक्षिक तथा प्राज्ञिक क्षेत्रमाथिका विविध हस्तक्षेप, कर्मचारीतन्त्रभित्रको खेलवाड, सैन्य क्षेत्रमाथिको हस्तक्षेप, न्यायालय विरुद्धका प्रदर्शन, गैरसरकारी क्षेत्रप्रतिको व्यवहार र असहमतहरूप्रतिको गरम दृष्टिकोणले माओवादीले योजनाबद्ध ढङ्गले समाजका सबै अङ्गमाथि एकसाथ नियन्त्रण पाउने प्रयास गरिरहेको छ भन्ने तथ्य लुकाउन सकिन्न । एमालेलाई साहस भए सरकार छाड्न र कांग्रेसलाई सक्छ भने सरकार ढाल्न माओवादी नेताले दिने कडा चुनौती पनि सन्त्रास पैदा गरी बर्चस्व कायम राख्ने र गहिरो प्रभाव जमाउने प्रयासका उपज हुन् । प्रतिनिधि घटनाहरू गराएर समग्रतामा प्रभाव र नियन्त्रण गर्ने रणनीतिअनुसार माओवादी अगाडि बढिरहेछ । मनोवैज्ञानिक रूपमा आफ्नो दबदबा कायम गर्न नियोजित तरिकाले चलिरहेको यस्तो खेलको पटाक्षेप हुने निश्चित छ भन्ने पनि माओवादी योजनाकारहरूलाई थाहा छ । तर उनीहरू पटाक्षेपभन्दा पहिले नै खेल पूरा गर्न र एकतर्फी रूपमा आफ्नो विजय सुनिश्चित गर्न चाहन्छन् । तिगडमहरूको प्रयोग गरेर, मनोवैज्ञानिक ब्ल्याकमेललाई सफल पार्दै समाजका सबै अङ्गमा आफ्नो प्रभाव पुर्याउने र परिस्थिति प्रतिकूल हुँदा ती अङ्गमा उथलपुथल उत्पन्न गर्नसक्ने बल सञ्चय गर्न माओवादी उद्यत छ । आवधिक निर्वाचन स्वीकारेको पार्टीले सन्त्रासलाई सत्ताको चाबी ठान्ने यस्तो मानसिकता र सोच युद्धकालको धङधङीको विकृत सहउत्पादनमात्रै हो भन्ने बुझ्न भने बाबुराम भट्टराईहरूले सकिरहेका छैनन् । समाज विकासको जतिसुकै द्वन्द्ववादी ज्ञान बोकेका भए पनि माओवादीहरूले बहुदलीय प्रतिस्पर्धालाई अङ्गाल्नुपर्ने र सशस्त्र विद्रोहलाई बिसाउनुपर्ने परिस्थिति झेल्नुको चुरो कारण बुझ्नसकेका रहेनछन् । समकालीन समाजले उत्पन्न गरेको दबाबले दीर्घकालीन जनयुद्धलाई किन दसकीय दुःसाहसमा स्खलित गर्यो भन्ने सत्यको आँकलन उनीहरूले गर्नसकेका छैनन् भन्ने अब प्रस्ट हुँदै गइरहेको छ । 'जनयुद्ध'का जोखिमबाट पार पाउन यहाँसम्म आइपुगेका भए पनि किन त्यो युद्ध जोखिमपूर्ण भयो भन्ने कुराको सही अनुमान अझै गरिएको छनक पाइँदैन । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र परिवेशलाई मात्रै मूलकारक मान्ने तर आन्तरिक जनमतले युद्धप्रति दर्शाएको उदासीनता र उत्पन्न गरेको प्रतिरोधको गणना माओवादीले गर्न नसकेको स्पष्ट छ । एमाले र कांग्रेसका पछाडि रहेको जनमतलाई मनगढन्ते तरिकाले विश्लेषण गरेर विभिन्न विशेषणको फुर्को लगाइदिँदै माओवादीले आत्मरति गरिरहेको छ । संविधानसभामा आफूले पाएको मतको समेत उसले उचित विश्लेषण गर्नसकेको छैन । जनताले गणतन्त्र र नयाँ संविधानमात्रै चाहेका हुन् भन्ने ढङ्गले विश्लेषण गरिएको छ । जनताले शान्ति पनि चाहेका हुन् र त्यसका लागि माओवादीलाई नै सबै दायित्व सुम्पिएका हुन् भन्ने बुझ्न माओवादीले कञ्जुस्याइँ गरिरहेछ । एक वर्षको सत्ताभोगका क्रममा पनि नसुधि्रँदाका परिणाम देखिनथाले पनि माओवादीका सबै तहका नेतामा त्यसको कुनै पर्वाह देखिन्न । विस्तारै माओवादीलाई पनि कांग्रेस र एमालेको श्रेणीमा राखेर हेर्ने आमप्रवृत्तिको विकास हुँदैछ । विभिन्न तह र तप्कामा रहेको जनाधार भत्किँदै गइरहेको छ । माओवादी विरुद्ध नाराबाजी, आक्रमण हुने क्रम बढ्दो छ । जनतामा विरक्ति र उदासीनता मात्रात्मक रूपमा बढेको छ । सुकुम्वासीदेखि श्रमिक वर्गसम्मले पालेको आशावाद खिइँदै जाँदा माओवादीका जुलुस र प्रदर्शनको आकारमा पातलोपन देखिन्छ । स्ववियु निर्वाचनको परिणामले दिएको सन्देशलाई बुझ्न आनाकानी गरेर माओवादीले आफूमा सुधारका सबै आवश्यकता नकारेको छ । कार्यशैलीमा यस्तै जडता, बुझाइमा यस्तै केटाकेटीपन र हिँडाइमा यस्तै जथाभावी कायम रहे माओवादीले सुखका धेरै दिन देख्न नपाउने निश्चित छ । ekantipur.com
thopa · Apr 6, 2009 12:32 AM · 5,537 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion