(मैले यो संस्मरण पहिलो चोटि २००२ को अन्त्यतिर लेखेको थिएँ। त्यति बेला युनिकोड उपलब्ध थिएन। अंग्रेजी र रोमन नेपाली मिसाएर त्यो बेला लेखिएको संस्मरणलाई अहिले फेरि युनिकोड प्रयोग गरी प्रस्तुत गर्दैछु।) स्नातक तहको पढाईको लागि अमेरिका आएको दुई बर्ष पछि ३ महिने बर्खे छुट्टीमा नेपाल गएको थिएँ। केही समय त साथीभाइ अनि नातागोतासँगको भेटघाट, स्थानीय तथा उपत्यका बाहिरको घुमघाम अनि ब्यक्तिगत तथा घरायसी कामले बित्थ्यो। कहिलेकाहीं यसो मन लागेको केही पढ्न ब्रिटिश लाइब्रेरी पनि जान्थें। त्यसका साथै एउटा गैर सरकारी संस्थासँग आवद्ध भएको हुनाले त्यसैमा पनि केही ब्यस्त हुन्थें। आफ्ना साथीहरु तथा समकक्षी नातेदारहरु मध्ये अधिकांश कि त बिदेशिएका थिए कि त आफ्नै पढाई, जागीर वा दुबैमा ब्यस्त थिए। बुवा आमा दुबै जना जागीरे हुनुहुन्थ्यो। त्यसले गर्दा धेरै समय एक्लै पर्थें र कहिलेकाहीं त के गरी समय कटाउने जस्तो हुन्थ्यो। एक दिन बिहानको ९ बजेतिरको कुरा हो, बुवा आमा भरखरै अफिस जान निस्किनुभएको थियो। के गर्ने जस्तो भयो त्यो दिन पनि। यसो बिचार गरें, काठमाडौंका मानिसहरु मलेखूको माछाको खुबै बयान गर्थे तर मलाई थाहा थियो कि त्यहाँ पाइने माछा अधिकांश स्थानीय होइनन् भनेर। जनकपुरबाट काठमाडौं जाने रात्री बसबाट माछा उतारेको आँफैले देखेको नै थिएँ। सोचें कि दोलालघाटमा भने स्थानीय ताजा माछा नै पाईन्छ, आज त्यतै खाएर आउनुपर्यो भनेर। केही समय अघि मात्रै तातोपानी गएको र गैर सरकारी संस्थाको कामले पाँचखालतिर केही दिन बसेको पनि हुनाले त्यो क्षेत्रसँग केही परिचित थिएँ र उज्यालैमा घर फर्किन सक्ने कुरामा ढुक्क थिएँ। एक जना अलि फुर्सदिलो ठानेको साथीलाई फोन गरेको, घरमा रहेनछ बजिया। ल जा त एक्लै भए नि जान्छु भनेर निस्किएँ। मूलबाटोमा निस्किएर हाम्रो टोलको डाउनटाउन जस्तो ठाउँ अर्थात् सबैभन्दा धेरै पसलहरु भएको अनि प्राय: ट्याक्सी र टेम्पोले यात्रु कुर्ने चोकतिर लागें। मिटरमा FOR HIRE लेखेको ठाडै पारी रोकिएको एउटा कालो टेम्पोको चालकलाई सोधें, "खाली हो दाई" भनेर। उसले सहमतिमा टाउको हल्लाउँदै ढोका खोलिदियो। स्टीलको डन्डी र कपडाको ढोकाको चुकुल अड्काएर मैलो कपडाको सिटमा बस्दै पुरानो बस पार्क लग्न अनुरोध गरें। FOR HIRE लेखेको पातोलाई बाँयातिर घुमाएपछि मिटरले HIRED लेखेको देखायो र चालकले स्टार्ट गरेर अघि बढायो। हुन त माइतीघरसम्म मात्रै गएको भए बाटो पनि पर्थ्यो अनि केही समय र भाडा पनि बच्थ्यो तर ३ घण्टा जतिको बाटो सिट नपाए त गार्है हुन्छ भनेर बस पार्क नै गैयो। मिटरको सिल पनि कस्तोसँग तोडेको रहेछ। समथर बाटोमा अलिकति अघि बढे पनि, जोल्टिन खाए पनि, दाँया बाँया जता मोडे पनि खित्रिक्क पैसा चढीहाल्थ्यो। कुपन्डोल, थापाथली, सिंहदरबार, पुतलीसडक हुँदै शंकरदेव क्याम्पस छेउबाट बाँया मोडिएर टुकुचा तर्दै बस पार्कमा टेम्पो रोकियो। बैधानिक दर भन्दा कम्तीमा १०-१५ रुपैंया बढी भाडा चढेको थियो होला। भाडा तिरेर ओर्लिंदै थिएँ, "बार्हबिसे दोलालघाट" भन्दै खलासी कराइरहेको सुनें। त्यही आवाज पछ्याउँदै अरनिको यातायात सेवा समितिद्वारा सन्चालित बार्हबिसे जाने थोत्रो टाटा 1210 E मोडेलको बसमा चढें। खलासीले शिकागो बुल्सको टीसर्ट लगाएको थियो र ढोका छेउमा उभिएर यात्रुहरुलाई बोलाउँदै थियो। साइड ए को ४ नं को अर्थात् अगाडिको ढोका पछिको दोस्रो लहरको झ्याल पट्टिको सिटमा बसें। दुबैतिर ३-३ जना बस्न मिल्थ्यो अनि सिटहरु बीचको दूरी पनि थोरै नै थियो। २ बर्षे अमेरिका बसाइको क्रममा केही मोटाएकोले पहिले पहिले जस्तो सजिलोसँग बस्न सकिनँ। अहिले सोच्छु के, पश्चिमी मुलुकहरुमा बिमानमा Economy Class Syndrome (Deep Vein Thrombosis अथवा छोट्करीमा DVT) (लामो समयसम्म साँघुरिएर बस्दा रगत जमेर कहिलेकाहीं प्राणघातक नै हुनसक्ने अवस्था)को चर्चा हुन्छ। हाम्रा बसहरुको अवस्था त्यो भन्दा खत्तम थियो। काठमाडौंबाट करीब साढे चार घण्टामा पुगिने बार्हबिसे मात्रै होइन कि दिनभरी जस्तो नै लाग्ने धुन्चे, जिरी आदि ठाउँ जाने बसका सिट पनि त्यस्तै हुन्थे। "टू बाइ टू फोल्डिङ सिट" भएका बस भए केही राहत हुन्थ्यो कि। १० बज्नै लागेको थियो होला बस अघि बढ्यो। खचाखच होला भनेको तर मेरो छेउका दुई लगायत थुप्रै नै सिटहरु खाली रहे। भद्रकाली, सिंहदरबार, माइतीघर हुँदै बानेश्वर चोकसम्म नपुगुन्जेल बस रोकियो वा ट्राफिकमा अड्किएर अलि बिस्तारै चल्यो कि कराइहल्थ्यो खलासी "बार्हबिसे दोलालघाट" भन्दै। यात्रुहरु भने खासै पाएन र बानेश्वर पछि कराउन केही कम गर्यो। म चाँही सोचिरहें, यदि बसको अन्तिम गन्तब्य बार्हबिसे हो र दोलालघाट बाटोमा पर्ने ठाउँ हो भने किन "दोलालघाट बार्हबिसे" नभनेको होला भन्दै। आखिर लगनखेलबाट छुट्ने लोकल बसका खलासीले "शहिद गेट रत्नपारक" भन्दै नै कराउँछन् अनि लामो दूरीको कुरा गर्ने हो भने पनि काठमाडौंबाट छुट्ने बसका खलासीले "नारायणघाट बुटवल भैरहवा" नै भनेर कराउँछन्। यो मोरालाई मात्र किन क्रमभङग गर्नु परेको होला। बागमती तरेर पूर्वतिर अघि बढेपछि तीनकुने हुँदै चक्रपथतिर दाँया लागियो र कोटेश्वरबाट चक्रपथ छोडेर फेरि पूर्व लागियो। जडिबुटीको पुलबाट मनोहरा तरेर भक्तपुर जिल्ला प्रवेश गरी ठिमी हुँदै अघि बढ्दा बसले राम्रै गति लिइसकेको थियो। सल्लाघारीमा रोकिंदा एक अधबैंसे चुरोट तान्दै चढे र छेउको सिट खाली हो भनी मलाई सोधे। मैले "खाली त हो तर बस्ने भए चाँही चुरोट फाल्नुहोस्" भनें। बसको भुइंमै चुरोट निभाएर आफ्नो मैलिएको सेतो कमीजको खल्तीमा बाँकी रहेको चुरोट राख्दै मेरो छेउमा बसे। सूर्यबिनायकतिर पुग्दा कन्डक्टर भाडा उठाउँदै मकहाँ आइपुग्यो। के गर्दो रहेछ भनेर हेर्न मैले अमेरिकाको कलेजको परिचय पत्र देखाएँ। ओल्टाइपोल्टाइ गरेर दुई चार चोटि "Spring 95" को स्टिकर लागेको उक्त कार्ड मलाई फिर्ता दिंदै २५ प्रतिशत बिद्यार्थी सहुलियत दियो। झ्यालबाट भक्तपुरको शहर हेर्दै थिएँ। न्यातापोल मन्दिर अरु घर तथा मन्दिरहरु भन्दा निकै चुलिएको देखिन्थ्यो। बिस्तारै बसले जगातेको भक्तपुर इंटा कारखाना र नलीनचोक हुँदै उकालो चढ्दै जाँदा उपत्यकाको सुन्दर द्रिश्य देखिन थाल्यो। टाढिंदै गएको काठमाडौं शहर र सहजै चिनिने धरहरा अनि बाटो नजिकका भरखरै रोपाइं गरिएका कान्ला परेका खेत अनि झिंगटीले छाइएका घरहरु हेर्दै थिएँ साँगा भञ्ज्याङ पुगियो। तलतिर एउटा पुरानो मन्दिर थियो, माथि भने बाक्लो नेवार बस्ती देखिन्थ्यो। बजारमा खुल्ला झुन्ड्याइएका लप्सीका तितौरालाई थप केही धूलो र धूँवाको कोशेली दिएर बसले काठमाडौं उपत्यका अनि भक्तपुर जिल्लासँग बिदा मागी काभ्रे प्रवेश गर्यो अनि पुण्यमती खोला तरी क्षणभरमै बनेपामा रोक्यो। क्रमश:
chipledhunga · Mar 24, 2009 3:57 PM · 45,263 views
अद्योपान्त पढियो। माछा चाँही खाइएन । तर अर्थोक सबै पचाइयो। लामीडाँडा सम्म पुगेको छु। मेलम्ची जाने बाटो नि त्यहीबाट मोडिन्छ । जिन्दगी को बाटो मोडिए जस्ताइ। धुलाम्य, खाल्डा खुल्डी आफ्नै जिन्दगीको अब्यस्था जस्ताइ। पाँचखाल चाँही स्टाफ कलेज को सेवाकालिन तालिमाको रिपोर्ट लेख्न फिल्ड भिजिट गर्न पुगेको थिएं। अन्यकोट गाबिस। हामी पुगेको केही दिन मै माओवादी र सेना को भिडन्त भाको र १२-१५ जना निर्दोषहरुको ज्यान गएको। चिप्ले संग संगै दोलालघाट नि पुगियो। अब अन्य घाट पनि लैजाने होला नै। अहिले देखी सीट रिजर्भ गरें मैले।
rahulvai · Mar 26, 2009 3:44 PM
सबै एकै चोटि पढे मैले सम्झना शक्ती पनि कस्तो हो चिप्ले को - मानै पर्छ बा कस्तो एक एक कुरा सम्झेको - मलाई त आँफै पुगेको महशुस भयो माने मैले चिप्ले सम्झनाको शक्ती को
serial · Mar 26, 2009 4:31 PM
जिम्मालबा, मुखै रसाउने फोटो त राख्नु भयो तर एउटा कुरा चित्त बुझेन है। त्यो पेप्सीको क्रेटको सट्टा बियरको सिसी भएको भए खानेकुरासँग अलि राम्ररी जान्थ्यो कि? मलेशियासँगको श्रम सम्झौतामा पनि ढिलाई भएको रहेछ। भिखारी, झन् नजिकको तीर्थ हेलाँ गरिदिने भनेको? बनेपा घर भएको मान्छे, यसो हाम्रो भाग पनि माछा खाइ आउनु नि। यात्रा शुभ रहोस्, अनुभव पनि सुन्न पाइयोस्। बिष्टे, नियमित पाठक भै निरन्तर प्रतिकृयाहरु लेख्दै गरेकोमा धन्यवाद। अवश्य पनि निकट भविष्यमा अरु अनुभवहरु साट्ने नै छु। ठुल्दाइ, कहाँ घाट लग्ने कुरा गर्नु भएको? बरु इलाहाबाद ओहोरोदोहोर गर्दा बेनीघाट, कुरिनघाट, नारायणघाट आदि घाटहरुको बाटो खुबै हिंड्नु भयो होला, तपाईंको अनुभव सुनौं न। बाउचा, को सम्झनाको कुरा गरेको भन्या?
chipledhunga · Mar 27, 2009 9:36 AM
chipledhunga , एक चोटि फेरि दोलालघाट जानै पर्ने भयो अर्को यात्रा संस्मरण लेख्नलाई भए पनि !!!!!!!! अरु पढ्न पाउने आशमा!!!
fucheketo · Mar 27, 2009 9:55 AM
चिप्लु, धेरै पटक पुगेकी छु दोलालघाट तर प्रकृतिक सौन्दर्य को यती राम्रो अबलोकन मैले कहिले गर्न सकिन। हरेक सानो चिजबिज र कृयाकलाप हरुको मिठो बर्नण गर्नु भएको छ। यस्तो संस्मरण पढ्ने मौका सधैं प्रदान गर्नुस् है चिप्लु।
Dipika02 · Mar 30, 2009 12:34 PM
माथि दीपीका जी ले भने जस्तै हरेक सानो चिजबिज र कृयाकलाप हरुको मिठो बर्नण गर्नु भएको छ। अरु पनि यस्तै यस्तै संस्मरन पढ्न पायियोस !
ritthe · Mar 30, 2009 12:56 PM
फुच्चे, जानै पर्ने भएको छ एक चोटि फेरि। अर्को संस्मरण लेखौंला नि फेरि गएर आएपछी। १२ बर्ष हुन लाग्यो त्यता नगएको। धेरै परिवर्तन भैसक्यो होला त्यता पनि। दीपू र रिट्ठे, अवश्य पनि अरु संस्मरणहरु बांड्ने नै छु। यो संस्मरण पढी केही कोरिदिएकोमा धेरै धेरै धन्यवाद।
chipledhunga · Apr 1, 2009 9:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion