~ सोच ~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~ सोच ~ बन्धुहरु, आज यो कथा मार्फत म २०४६ साल को जन आन्दोलनको सेरोफेरोमा  लैजान चाहन्छु। २०४६ साल को महान जन-आन्दोलन बर्णन वा घटनाक्रम लाई होइन कि त्यो परिबेशमा घटेका घट्नाहरुलाई लिपिबद्ध गर्ने प्रयास मात्र गर्दै छु। धेरै मित्रहरुको मानसपलटमा धूमिल चित्र मात्र जन आन्दोलन भाग १ को भएकोले पनि यो घट्नामा आन्दोल्नको चित्रण गर्ने दुस्साहस गरेको हुं।   राजनीति को चस्मा फुकालेर पढ्न हुन सबिनय अनुरोध छ । २०४६ साल माघ ३-४ गते लौह पुरुष स्वर्गिय गणेश मान सिंह को निवास चाक्सी बारी मा भएको घोषणा र  २०४६ साल फाल्गुन सात गते देखि देशमा खोसिएको प्रजातन्त्र पुनर्स्थापनाको लागि शान्तिपूर्बक जन-आन्दोलन गर्ने कार्यक्रम तय भएको समाचार हामीले बि बि सि मार्फत सुन्यौं। त्यती खेर हामी भारतको कुनै भूखण्डमा अध्ययनरत थियौं। घोषणा संगै तत्कालिन पञ्चायत सरकारले आन्दोलन दबाउने अनेक प्रपँच रचे रे । घरतिरबाट् पठाइने चिट्ठीमा नत्थिएका केही साप्ताहिक पत्रिकाका कटिङहरु त्यतिबेला बडा ठुलो मसला हुन्थ्यो। जमाना चिट्ठी पत्र र आ वा को थियो। टेलिफोनको अबस्था नेपालको भन्दा नि दयनिय थियो। परदेशमा हुंदा देशमा के भैराख्या छ भन्ने कौतुहलता अहिलेको इण्टरनेट् र सेलफोनको जमाना पनि त्यति कै हुने रहेछ भने त्यति बेलाको उपलब्ध संचारमा त्यसको भूमिका कस्तो थियो होला भनेर भनिरहनु पर्दैन होला। राजनीति संग  निरिपेक्ष छु भनी घोषणा गर्ने भलादमिलाई पनि चासो हुंदो रहेछ।  मेरो अनुभूति। जुनसुकै सामाजिक र घरायसी ब्याकग्राउण्डका मित्रहरुमा पनि प्रजातन्त्र प्रति चाह भएकै हुंदो रहेछ। मेरो बुझाइ। ७ साल को प्रजातन्त्र हामीले देखेका थिएनौ , न त हामीले १७ साल को काल् रात्री। पन्चायत कुशासनले प्रत्यक्षरुपमा हाम्रो कलेजमा पढ्ने शायदै कसैलाई असर पारेको थियो होला र पनि प्रजातन्त्र प्रति मोह र पन्चायत प्रति को बिद्रोह सबैमा देखिन्थ्यो। हाम्रा एक सिनियर र एक जुनियर र पन्चायत सरकारका पूर्ब मन्त्रीहरुका सुपुत्रहरु थिए। भारतमा रहेका नेपालीहरु माझ ( बिद्यार्थी एवं बसोबास गर्नेहरु) आन्दोलनको झिल्को बाल्न तत्कालिन सयुक्त जन आन्दोलन परिचालन समितिद्वारा नेपाली काँग्रेस संग आबद्ध अर्जुन थापा र राम प्रसाद डोटेल लाई खटाइएको थियो। अर्जुन थापा हाम्रै बिश्व बिद्यालयबाट स्नातक भएकोले उहाहरु हाम्रो होस्टलमा आउनु भयो। भारत यात्राको पहिलो बिसौनीको रुपमा।  त्यता तिर भएका सबै नेपाली जम्मा भयौं र उहाँहरुको सन्देश सुन्यौं। अनि अर्को दिन अन्तै लाग्नु भयो। फाल्गुण सात नजिकिदै थियो। प्रजातन्त्रको लागि बिश्वको कुनै पनि कुनामा रहेका नेपालीले आ-अफ्नो ठाउँबाट आवाज बुलन्द गर्नै पर्छ भन्ने कुरामा कहिलेइ कुरा नमिल्ने नेपाली बीच कुरा मिल्यो। इतिहासमा लेखिएन मात्र हो, फाल्गुण को ६ गते अर्थात १ दिनागावै जुलुस् निकाल्ने  कार्यक्रम तय भयो। बिश्वबिद्यालयका युनियनका पदाधिकारीहरु ले सघाउन तंछाडमछाड गरे। तीन पार्टीका ३ प्रमुख पदधारी भएकाले पनि होला।  डेमोक्रेसी इन नेपाल, नाउ अर नेभर लेखिएको बडेमानको ब्यानर र बिशाल नेपालको झण्डा सहित जुलुस् निकाल्यौं। फाल्गुण ७ गते दिल्ली को बारखम्बा रोड स्थित नेपालको दूताबासमा मानव सागरले घेर्ने कार्यक्रम भएकोले पनि ६ गते नै हामीले स्थानिय तवरमा जुलुस् निकाल्नु परेको एउटा कारण थियो। त्यहि रातीको ट्रेन चढेर हामी दिल्ली लाग्यौं, ब्यानर पोस्टर सहित। हामीलाई शिबाजी पार्कमा बिहान ९ बजे भेला हुने सूचना थियो। त्यहीबाट जुलुस् सुरु भयो बारखम्बा रोडको गन्तब्यलाई तारो बनाएर। नेपाली दूताबास् चौदोबाटोको एउटा कुनामा बिशाल दरबारजस्तो देखिन्थ्यो। चारै बाटोबाट एकै समयमा दूताबास अगाडीको चोकमा मानव सागर उर्लेको देख्दा लाग्यो, प्रजातन्त्र प्रति मोह सबैमा रहेछ। स्वतन्त्र भै बाच्ने रहर जनावरमा त हुन्छ भने मानव मा नहुने कुरै छैन। डर, त्रास, मा वयस्क मन बाच्न सक्दैन। कल्पनाको उडानमा उड्ने रहरमा बन्देज लगाउने बिरुद्ध बिद्रोह जता ततै सल्किरहेको बखत थियो। पूर्ब सोभियत संघ, चेकोस्लाभिया हुंदै प्रजातन्त्रर स्वतन्त्रको हावा हाम्रो देशमा पनि बिचरण गरिसकेको थियो। दूताबासमा धीतमरुन्जेल नारा लगाई, ज्ञापणपत्र बुझाइयो। त्यो रात धर्मशालामा निदायौं, प्रजातन्त्रको सपना सजाएर। भोलिपल्ट पुन: आफ्नो कलेजमा नियमित अध्ययनमा फर्कियौं। देश आन्दोलनमय थियो  थिएन थाहा भएन तर हाम्रो कलेज र होस्टल भने आन्दोलनमय थियो। एक जना फाइनल इअरका सिनियरको कोठा कन्ट्रोल रुमको रुपमा परिणत भयो।मानौं हामी कुनै युगान्तकारि मिशन सफल बनाउन योजनाबद्ध ढैगले कार्ययोजनाको खाका कोर्दै थियौं।  हरेक साँझ डिनर आवर भन्दा पहिला त्यो कोठामा भेला हुने र आफुले पाएको सूचना- समाचारहरु सुनाउने सुन्ने। एक से एक क्रान्तिकारी तर्क बितर्क हुन्थे। फलानो ठाउँमा मशाल जुलुस् निस्कियो रे। फलानो मान्छे गिरफ्तार रे। फलानो ठाउंमा गोलि चल्यो रे। भयाबहताको अन्दाज गर्थ्यौं। अब के हुने होला, के गर्ने होला, जिज्ञासा रहिरहन्थ्यो। यो आन्दोलन सफल हुदैन भन्ने देखि लिएर सफल मात्र होइन गणतन्त्र समेत आउछ भन्नेहरु पनि थिए। बि बि सी, भाइस अफ अंेरिका क्यार् क्यार् आवाज आउने ट्रान्जिस्टरमा सुन्थ्यौं। कसैको घरबाट, आफन्त, बन्धुबान्धवबाट आएको पत्र को जिस्ट सुनाइन्थ्यो। कहिले निराश हुन्थ्यौं, कहिले रगत तात्थ्यो। आन्दोलन आफ्नै गतिमा चल्दै थियो नेपालमा। फाल्गुणको अन्तिम सातामा होली पर्ब परेको थियो। ७ दिने छुट्टी हुन्थ्यो। त्यहि अबसर पारेर नेपाल जाने निर्णयमा म पुगें। २४ घण्टाको बस यात्रामा काठमाडौं पुगिन्थ्यो।  म संगै अरु दुइ जना नेपाल जान तयार भए। एक जना जुनियर भाई जो पन्चायतकालिन मन्त्रीका छोरा थिए। अर्को एकै ब्याचमा मित्र। होली बिदा को एक् दिन अगाडि नै हिड्यौं तीन जना। भौगोलिक गन्तब्य एकै भए ता पनि हामी ३ जनाको उद्देश्य फरक थियो। सोच फरक् थियो।  नेपाल भारत बोर्डरमा नेपाल प्रहरीले सम्पूर्ण खानतलासी गरे। बाटोमा पढन भनि किनेको फिल्म दुनिया समेत जफत गरे। कोर्सबूक समेत वल्टाइपल्टाई जाँच गरे। काठमाडौं पुग्यौं। आ-आफ्नो घर लाग्यौं। क्रमश:

rahulvai · Mar 4, 2009 2:52 PM · 74,899 views

62 Replies · Showing 61 - 62
Page 4 of 4

गुरुजी माने भाषामा भाषा सरल, सोच बिचार नौलो प्रकारको एक दम रमाइलो लाग्यो पढेर । साझाभित्र प्रबेश गरेको यो शिश्यको प्रणाम स्विकार गरौ  

बैरे · Mar 27, 2009 12:23 PM

perfectionist · Mar 27, 2009 12:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all