दिनहुँ १६ घण्टा लामो लोडशेडिंग यही फागुनको मध्येदेखि आधा घट्ने भनिएको भएपनि बिजुलीको संकट अझै लम्बिने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारतबाट भनेजति बिजुली ल्याउन नसकिएको तथा बिजुली निकाल्ने खोलानाला सुक्दै गएकाले लोडशेडिंग लम्ब्याउनु परेको हो। भारतबाट १०० मेगावाट बिजुली किनेर अन्धकार कम गर्ने आशा गरेर बसेको प्राधिकरणलाई यतिबेला भारतबाट केवल ३५ मेगावाट मात्र बिजुली आएकोमा धक्का लागेको छ। प्रतिक्षा कोशी डुबानका कारण भत्किएका प्रसारण लाइन भारततर्फ पूर्ण मर्मत हुन नसकेपछि अब प्राधिकरणको आँखा देशभित्रकै खोलानालामा फर्कीएको छ। अहिले हिउँ पग्लेर खोलानालामा पानीको बहाव बढेपछि लोडशेडिंग घटाउन सकिएला की भनेर प्रतिक्षा भैरहेको छ। चैत महिनाको मध्येबाट हिउँ पग्लिने क्रम शुरु हुने तर त्यही महिना पर्याप्त हिउँ पग्लिएको नहुने बताउंदै प्राधिकरणका प्रवक्ता दण्डपाणि बस्यालले वैशाखपछि बल्ल लोडशेडिंगमा केही सुधार आउला भन्ने आशा गरिरहेको बताए। आम मानिसहरु भने गएका केही दिनमा लोडशेडिंगको समय पूर्वजानकारी विना नै १६ घण्टाभन्दा पनि बढ्न थालेकोमा आक्रोशित छन्। “भन्न चाहिं प्राधिकरणले लोडशेडिंग घटिरहेको छ भन्छ तर हाम्रो अनुभवमा त त्यो झनै बढेको छ,” एकजना सर्वसाधारण चन्द्रमान बिजुक्छेले भने। गडबडि प्रवक्ता बस्याल लोडशेडिंगको समय नबढाएको दावी गर्छन तर उनी आपूर्तिमा गडबडि भएको चाहीं स्वीकार्छन्। लोडशेडिंग बढाउन हामी कदापि चाहँदैनौं तर कहिलेकाहीं उत्पादन वा वितरणमा गडबडि उत्पन्न भएपछि आपूर्तिमा असन्तुलन आउँछ भन्दै उनले त्यसबाट आम मानिसहरुलाई लोडशेडिंग बढेको हो कि भन्ने पर्ने बताए।। उसै त पर्याप्त आपूर्ति गर्न नसकेर आजित बनेको प्राधिकरण जहाँ गाह्रो त्यहीं साह्रो भनेको जस्तै, चलिराखेका केही जलविद्युत आयोजनाका मेशीन विग्रेर थप अप्ठेरोमा परेको छ। ३६ मेगावाट बिजुली उत्पादन गरिरहेको भोटेकोशीको मेशीन यहिबेला विग्रेको छ भने कुलेखानीको एउटा मेशीनपनि बन्द भएको छ। नदीको पानीको बहावमा भर परेर चल्ने अन्य आयोजनाहरुभन्दा भिन्न आफ्नै छुट्टै जलाशय भएको ६० मेगावाटको कुलेखानीले समेत जेनतेन ४६ मेगावाट मात्र बिजुली उत्पादन गरिरहेको छ। त्योपनि अब १० मीटरमात्र पानी बाँकी रहेकोले २०/२५ दिनमा जलाशय रित्तिने खतरा रहेको अधिकारीहरुको भनाई छ। उद्योग संकट लम्बेतान लोडशेडिंगका कारण उद्योगधन्दाको स्थिति चौपट बनेको छ। पूर्वी नेपालमा उद्योगी व्यवसायीहरुले लोडशेडिंगको विरोधमा तालाबन्दी र सडक प्रदर्शनमा उत्रिंदै उद्योगलाई संकटग्रस्त क्षेत्र घोषणा गरेका छन्। मोरङ्ग र सुनसरी जिल्लाका सबैजसो उद्योगहरुले उद्योग संकटग्रस्त छ भनेर ब्यानर टाँगेका छन्। उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालय तथा मोरङ्ग जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिइरहेका छन्। उनीहरुले भारतको कटैयाबाट आयात गरिएको बिजुली सम्पूर्ण रुपमा पूर्वाञ्चलभित्रै प्रयोग गर्न माग गरेका छन्। बिजुली आपूर्ति नियमित नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन्।
deshbhaktanepali · Mar 2, 2009 12:36 PM · 1,216 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion