गन्थन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गन्थन   परापूर्ब कालमा काष्ठमण्डपको उत्तर पूर्बी खण्डमा हरीग्राम नाम गरेको एउटा बस्ती थियो अरे। कालान्तरमा म पनि त्यही बस्तीमा गस्ती गर्थे साथीहरु सँग। कुरा त्यै बेलाको हो। भन्या हामी गस्तीमा हुँदाको।   बिहान ओछ्यानमै चिया आउनु पर्थ्यो नभए घुर्की लाईन्थ्यो। मायाले दिदा रेछन तर थर्काएरै खाइया छ कि झै गरीन्थ्यो।   मेरो एउटा साथी थ्यो, घर भरी बाहीर लगेर बेच्न पाए आफुलाई केही आमदानी पनि हुने घरकाले पनि खासै वास्ता नगर्ने केही भेटीन्छ कि भनेर घर तलासी गर्दा औसधीको एउटा पोको भेट्टाएछ। के औसधीका दाना हुन ती के जान्नु? अरु थोक केही भेटेनछ बेचेर आम्दानी गर्दा ढाडाँ सुम्ला नबस्ने। अब त्यो औसधीको पोको त्यो पनि के को लागि हो थाह छैन त्यस्तो औसधी कस्ले किन्ने? अर्थोक केही पनि नभेटेको झोकाँ त्यै पोको बोकेर पुगेछ बारी बाट टिपेर ल्या साग केलाउँदै गर्या आमाकहाँ र कुर्लेछ "ए आमा, खै अलिकति पैसा दीनु त" उसैले कत्ति न राख्न देको जस्तो। आमा चै ले त  छोरो तिर हेर्दा पनि हेरीनछिन।  के हेरुन हेर्न पनि? सधै पैसा माग्ने छोरो चैं। दीन छाडेको पनि निक्कै भैसक्या रेछ। सधै जस्तो कराउँछ, घुर्काउँछ जान्छ पछी आन्द्रा बटारीए पछी र ओछ्यानमा तेर्सीन परे पछी नअन्मरीई छोडदैन भनेरै होला आमा चैं ले वास्ता गरीनछिन। साथी पनि अरु दिन भन्दा अरु बढ्तै तातेछ त्यो दिन। योजना बनाएरै पुग्या थ्यो नी त। अनि त आमाको आँखै अगाडी हातभरी औसधी मुट्ठाएर गर्जे छ, "तपाईँ पैसा दिने मलाई कि म यो सबै औसधी बुक्याईदिम?" आमा अलि सतर्क भै छन। "काँ बाट ल्याईस ए मोरा त्यो बिघ्न गोली? के का गोली हुन ती?" झस्के जसरी सोधी छिन। अन्त ए त्यसरी आमा झस्केकी चाल पाए पछी त साथीको आत्मबल झिमिक्क गर्दा धरहरा चढीसकेको। त्यै आत्मबलको उडानमा उड्दै साथी उफ्रेछ, "मलाई लामो कुरा गर्ने फुर्सद छैन, झिक्ने भए खुरुक्क पैसा झिक्नुस हैन भने मलाई अरु कुरा थाह् छैन सबै औसधी रित्याईदिन्छु अनि थाह पाउनु होला-- सधै यस्तो किचकिच गरेर कतिन्जेल बाँच्नु? दिक्कै लाग्ने" भन्दै औसधी भुट्या भटमास मुखाँ हुर्याउन ला जसरी औसधी फक्याउन ला देखे सी "कस्तो कुजात जन्मीएछ, असाध्यै पिर्ने" भन्दै आमाले सराप्दै सोधी छीन "कति पैसा चाहिएको तँलाई?"   त्यो औसधीको पोको त्यो साथीले धेरै पछी सम्म भजाउँदै थ्यो। पछी अत्ति भए पछी आमा चैं ले "ल घिच मोरा घिच सबै गोली घिच --"भन्न थाले पछी "के का गोली हुन के का--ज्यानै गयो भने त? भएन बर्बाद?" भनेर हुर्याईदिएछ ढलमा।   घर बाट निस्कियो। यता जाने यो गर्ने भन्ने केही छैन। बतासिंदै मुखाँ आ जति कुरा भट्ट्यायो हिन्यो जता पुगिन्छ पुगिन्छ। बेलुका बरालिएर घर आईपुग्दा आफुलाई मन पर्ने दाल तर्कारी पकाको हुनु पर्ने अनि भात ठिक्क पस्किने बेला भाको हुनु पर्थ्यो हैन भने "दिन भरी घराँ बसेर पनि भोक लाग्या बेला खान नदिने" भनेर सुनाईदिईन्थ्यो।   गर्ने त केही थिएन तै पनि घराँ केही काम अर्हाए भने फुर्सद छैन भनिन्थ्यो। त्यस्तै एक दिन बेफुर्सदी भाको बेला घराँ चर्किने गरी एक भुँडी भात बजाएर १० बजे तिर होला निस्केको बाटाँ भुस्याहा कुकुर, भरखरै कुदेको मोटर, झ्याल ढोका तिर फलेका तरुनीहरु, के का लागि हो बाटाँ खन्दै गरेको खाल्डो सबै निरिक्षण गर्दै नागपोखरी पुग्दा १२ बजि सक्या थ्यो। त्याँ पनि गर्ने त केही थिएन। नागपोखरी जाने भनेर हिन्या भे पो --हिन्दै गर्दा पुगेको त्यहाँ। त्यहाँ नारनदाईको पसल बाहीर एउटा सिलाबरको कुच्या बाटामा ट्युब डुबाएर बसीरा रे छ नारनदाई। झुरुप्प घेरेर हेरेम हामीले त्यो दृस्य। पानीमा डुबाउँदै घुमाउँदै गर्या साइकलको त्यो ट्युब घुम्दै एक ठाउँ पुगे पछी बुरुरु फोका उठ्न थाले पानीमा। संगैको साथीले जानकारी दियो उसैलाई मात्रै थाह भा हो कि जस्तो गरेर "तीँ रे छ ल पन्चट भाको" भन्दै। अर्कोले भन्यो, "तीन ईन्चीको किलाले छेड्या प्वाल हो यो"। अनि अर्को साथीले थप्यो "जति ईन्चीले छेड्या भए नी सुलोक्सन लाए पछी ट्याप्पै पार्छ।" नारनदाईले त्यो सुलोक्स्न लाएर पन्चट टालेपछी साईकलको टायर भित्र ट्युब घुसाएर हावा हाल्दे। साईकल तयार भो। अनि हाम्रो पनि काम सकियो त्यहाँ। तर हामीलाई धेरै बेर फुर्सद चैं हुँदैन थ्यो। फेरी केही न केही भेटीहाल्थीम हामीले।   एक दिन एउटा साथीको घरमा पुग्या उ स्याउ खाँदै रे छ। आमा चै उस्लाई गाली गर्दै थिईन। स्याउ खायो भनेर होईन अरु नै कुरामा। साथी चै स्याउ घुमाई घुमाई खाँदै थ्यो। उस्ले वास्ता नगर्या देखेर आमा उस्लाई घोईरो भन्दै अरु गाली गर्दै थिईन। साथीको अनुहारमा कुनै प्रतिकृया थिएन। मलाई त हैन साँच्चिकै बहीरो भएछ कि क्या हो जस्तै लाग्यो। आमा छेउ लागे पछी मैले सोधें "हैन सुन्न छोडीस कि क्या हो?" उस्ले म तिर नहेरी फेरी स्याउ दारेर भन्यो "ह्या--कत्ति सुन्नु त?"   साथीहरु मिलेर एक दिन भण्डारखाल पुगियो। त्यहाँ बेला बेला नगै चित्त नबुझ्ने। त्यो ढिस्का बसेर चुरोट तान्न असाध्यै मजा आउँथ्यो खै किन हो। चुरोट तान्दै गर्दा एउटाले भन्यो "पिकनिक त  एउटा जानु पर्ने हो यार"। त्यो पिकनिक जाने भन्ने पनि एउटा चलन नै थ्यो। हिनेर पर जान नसकिने नजिकै पिकनिक नहुने। पैसाको कुरा उठे पछी सबै ब्रम्हचारी। अनि के को पिकनिक हुनु? घराँ पिकनिक जानु पर्यो पैसा देउ भन्यो भने कि त हान्ने राँगोले जसरी हेर्थे कि असनको साँढेको जस्तो चाल गर्थे - मतलब नगर्ने।   "सधै यसरी भएन यार पैसा जम्मा गर्नु पर्यो" अर्को साथीले एउटा लामो सर्को तानेर भन्यो। मैले उस्लाई सोधें "तँ सँग छ त गाँठ? कति सक्छस झिक्न?"। उस्ले मुन्टो झट्कार्दै कपाल मिलाएर भन्यो। "१० गाँठ छ म सँग।" अर्को साथीले त्यो १० गाँठ तिर हेर्दै भन्यो "खै यता फर्कि त" ।१० गाँठ पनि फर्कियो। अलि नजिकै आएर त्यो अर्को साथीले १० गाँठलाई हेर्दै सोध्यो "अहिले दशै पनि होईन, निधाराँ पहेंलो टीका पनि छैनन। काँ बाट भेटीस नी १०?"   " के पहेंलो टीका " नबुझ्ने ले सोध्यो। "मामाघराँ सराद थ्यो कि भनेर होला नी।" अर्कोले बुझायो। बाझाबाझ पर्ला जस्तो भो। त्यो दिन पनि पिकनिक को कुरा निस्कियो मात्रै अघि बढेन।      फेरी अर्को दिन पैसा नभए पनि पिकनिक जाने सुर कसियो । जोगी पिकनिक गर्ने भैयो। सबैले फरक फरक कुरा ल्याउने। मैले मेरो भागाँ पर्या काउली र मुला चोरेर ल्याएँ राती नै गएर। पिकनिक भोलीपल्ट थ्यो। चामल चै अरुहरुले घर घर बाट ल्याए। अरु भाँडा सामानहरुको पनि जोरजम्मा भो। धेरै पर जान भाडा थिएन। नजिकै तर पर जस्तो लाग्ने ठाउँमा गैयो। गफ सबै गर्ने काम कोही नगर्ने। चुरोट मात्रै सल्काएर तरुनीको गफ गर्दैमा भात नपाक्ने। भात बसल्या --बसाल्या त चामलै हो भात हुन्छ कि भन्ने आशाँ-- त्यो बसाल्या ठामबाट पत्योल धुवाँ उठ्या उठ्यै थ्यो। धुबाँले पाक्ने भाको भए कुन बेला भात पाकिसक्या हुने।   भोक लागि सक्यो यार भन्दै काउली, साग, र मुला चपाउन थालियो। त्यो त नपकाई सकियो "ए, धेरै नखान यार पकाउनु पर्छ" भन्दा भन्दै। एउटा साथीले अर्को लाई "ए, यहाँ आगो फुक्न आईज त" भन्या त्यो अर्कोले फुक्ने आगो भा भे यस्तो हुन्थ्यो? त्यै धुबाँ फुके मात्रै हो अब -- त्यै पनि तरकारी सबै काँचै खाएर सकियो अब यो बिरबलको खिचडी पाके पनि के नपाके पनि के?" भन्दै सोम त बाटो लाग्छ बा!   "कता नी तँ?" भन्या, "घर हिन्या म त अब, उतै गएर खान्छु" भन्दै उ हिन्यो। ह्या म पनि नखाने भनेर म पनि लागें। मैले ल्याको त्यै काउली र मुला थ्यो त्यो सकिईहाल्यो। अरु नी जान ताते। अलि अलि चामलको माया मार्न गार्हो थिएन। तर भाँडा ल्याउनेलाई पर्यो मार्का। झन त्यो धुबाँमा चामल बसाल्या भाँडा त हेरीनसक्नु भाको थ्यो। त्यो भाँडो ल्याउने उस्को भाँडो तिर देखाउँदै लस्किनेतिर हेरेर जंगियो "यो चाई कस्ले धस्काउँछ नी?"   खा भे पो मिलेर धस्काउने। कोही बोलेनन।   हाम्रो टोलको सडक नै रंगशाला थ्यो। खेल्ने ठाउँ नै सडक। घराँ छोराछोरीले अलिकति हल्ला गरे की बाउ आमा कुन चै छेउमा छन भन्थे "यता आएर नकराओ त -- जाओ न उता सडकाँ गएर खेल"। तिनै बाउ आमा के छ र मरीलानु भनेर आँटैले होस वा के गर्नु भन्दै बाध्यताले होस ट्याक्सी चढेर हिन्या छन र बाटाँ खेलीरा केटाकेटीले गरेर बिस्तारै चल्या ट्याक्सी तर छिटछिटो चल्या मिटर देखेर तात्दै भन्थे सोमत न भाका बाउआमा उस्तै केटाकेटी उस्तै। सडकाँ नी खेल्न पठाउने हो?   हरीग्रामका कुरा धेरै छन। फेरी भेट भएछ भने सुनाम्ला।  

Deep · Feb 27, 2009 4:39 PM · 24,521 views

20 Replies

बल्ल आउनु भो दाई, कुर्दा कुर्दा। तपाईं को सबै पोस्ट पढें, नयाँ फ्यान भने नि हुन्छ, यो पढ्न भ्या छैन, भोली परीक्षा छ, तेइ भेर त्यो सकाएर पढ्छु, तर कमेन्ट लेख्ने पैलो हुने मौका पाकोले कमेन्ट गरी हालेको, पढि सकेर फेरी लेखुम्ला एस बारे। ऐलेलाई बिदा पाउम। नाम त अच्छा-खासा राखेको तर गाम्मा अर्कै नाम्ले बोलाउँछन - पुरे

perfectionist · Feb 27, 2009 5:26 PM

  How to make our country a 1st world in 20 years…. dr. yogi bikasa nanda le vannu vathyo - 'sansar badalnu chha, suru afai bata'. eddam sahi vannu va thyo... ma k vancchu vane yadi nepal lai badalnu chha vane suru hami nepali bata garnu parchha ra tyo pani bidesh ma baseka pade lekheka jasle 1st wolrd ko anuvab garisakechhau.. prasna uthchha kasari?? its very simple.... ek choti  sochnu ki yo 1 week ma afu lai example $500 chahiyo which u don have or cannot afford...u need that $500 to buy some medicine that can save u or part of yr family life...k garnu hunchhai know u will fix yr problem somehow.... coz thats yr present need- a $ 500.. manchhe lai jaba awasyak parchha taba usle k hi na k hi garera samsya tarna sakchha… tyo sakti harek human ma hunchha… ra vannu parda  $500 hoina $ 5000 pani hoina yadi uslai $ 500,000 kai awasyak pare pani he will find for the solution…. Jaba vitra bata shakti niskanchha ani manchhe le garchha…. Bidambana k chha vane tyo shakti nai niskadaina… kinaki manchhe lai tesko awasyak chhaina tara complain chai usko etro chha ki as if he needs more then $ 500,000… sathi ho aba hami sabai lai desh ko isthiti tha vae anushar shakti nikalau ra desh ko lagi k hi garau…aja maile   mero idea post gare jasari harek nepali le nepal bikash ko  lagi sakaratmak  soche matra “ law of attraction” ko power  le hamro desh affai banchha.. hami lai kunai leader ko awasyak chhaina ahile kinaki leader chhadai chaina… ek choti feri sochnu ki tapai lai sachhikai $ 500,000 ko awasyak chha  tara teti bela tapai lai $ 500 matra banaunu chha vane kati ko sajilo hunchha? Eddam sajilo kinaki samundra chaeko bela ek muthi pani ta hamile jasari ni hasil garna sakchhau….  Testai gari yadi hami sabai NEPALI milera aba hami Nepal lai matra hoina sansar lai nai naya disha tira laijanchhau jaha satya yug jasto shanti , sukha ra ananda chha ahile ko jasto dwanda , ladai , dhukha ,dar hoina vanera lagyou vane Nepal ta ankha chimlera banchha nai ra sathsathai world ma nai revolution aauchha…. Kasle garda vanda hami nepali le… ani balla hamro seer ahile ko jasto khokro tarika le thado nabanai atmabiswas ka sath thadauna sakchhau….. yadi Nepal ko lagi k hi nagare pani sakaratmak vaera sohcnu ki aba ko 20 years ma hamro country pani 1st world hunchha vanera….ra tyo hunchha kinaki manchhe le j sochyo ra kalpana garyo tehi hunchha… I can illustrate that with some example-  right brothers le plane ma chadeko ra akash ma nirjeeb bastu udaune kalpana gare, tehi vayo, scientists  le light ko kalpala gare aja rati pani jhalamalla chha sansar, manche le ek thau ma basera arko thau ma baseko manche sanga kura garne kalpana garyo phone banyo, testai gari ahile sansar vari ko awiskar manche kai kalapana ko natija ho…suru ma  kunai kura kalpana nagari tyo kura ko awiskar wa bikash huna asamvab chha..aja ko anbik hathiyar haru pani manish ko danabi kalpana ko natija ho..  positive vaera soche wa kalpana gare tesko natija ni positive nai hunchha ra negative vaera kalpana gare prae tesko natija ni negative nai hunchha…. Tesai le feri ma ek choti vanchhu ki nepal lai badalanu chha vane hami nepali milera 20 barsa ma 1st world hunchha vanera sochau wa kalpana garau… aba sochnu hola ki sochera wa kalpana garera matra ta hudaina , act wa performance pani ta hunu paryo tyo kalpanako project ma… performance garne manchhe pani affai niskanchhan…. Tyo pani law of attraction or another word law of nature…. So be ready from today… so NEED , POSITIVE IMAGINATION AND ACTION will bring to our destiny…ra those r  the core ideas of my  article..    then we all can go back to our country n  live better … no actually best life in the wolrd…

guruof21st · Feb 27, 2009 5:29 PM

बल्ल आउनु भो दीप बाजे, पाँच ताराले स्वागत गरेँ है । फेरी बाजे किन भन्या भनेर हपार्ने होला, भागेँ म । Last edited: 27-Feb-09 05:35 PM

CT. · Feb 27, 2009 5:30 PM

स्वस्ति प्रभो। दिप प्रभो कता हराये भनेर तरुनी हरुको हा हाकार थियो एता साझापुर मा प्रभो उता हरिग्राम मा पिक्निक गा रईछन र पो। सधैं झै उत्तिकै रोचक छ्। एस्पाली भिन्दै तरिकाले आउनु भएछ,तर स्वाद उही पुरानै,होम स्टाइल भन्छन नि। लौ प्रभो म आउँदै छु मास्थिर भोली तिर,भेट्ने आश गर्दै।

बिस्टे · Feb 27, 2009 5:32 PM

bro! i m not the 1 who u r thinking....

guruof21st · Feb 27, 2009 5:35 PM

Welcome back Deep jyu!!...Kata janu bhako thiyo? bangelai utai chhodera aaunu bhayecha. Awesome as always!!!  picnic ramailo bhayeraicha..lol..daami cha

*~Spring~* · Feb 27, 2009 6:08 PM

स्वस्ति गरे है , प्रभुको लेख बल्ल पढ्न पाइयो । बनेश्वोर तिराका छप्कीहरुले खुब सोधेका छन है प्रभुलाई । त्यो टाएर पञ्चर टालेको कुरा कस्तो मजाले लेखेको दुरुस्तै लाग्ने हो , लौ लेख्दै गरौ है लेख्दै गरौ।

Harka_Bahadur · Feb 27, 2009 10:25 PM

लौ दिप ब्रो धेरै पछी दर्शन भयो माल सहित । धन्यवाद। यस्तरी गायब हुनु भएन नि हो ब्रो...

harikancha · Feb 27, 2009 11:23 PM

ल दिप ब्रो दर्शन गरें। दौतरी, साझा कतै नदेखिने कता दिप ब्रो भनेको त उता हरीग्राममा पो रेछन। त्यो पनि पिकनीक गर्दै। कथामा बागें नभए त मजै नआउने के। बांगे कता मर्यो नि पिकनीक नगएर? हरीग्रामको बर्णन गर्दै गरम। कथाका तारा किन राता भनेको। सानदाइले त २० वटा लाल तारा भए कथै हटाउने उर्दी गरेका रहेछन अरु तारा थपिए हरिग्राम खरानीग्रमा हुन बेरछैन।

nepalean · Feb 28, 2009 12:37 AM

Prabhu ko darshan pauna kati garo..... barsa ko ek choti jasto shivaratri nai aaunu parne ki kya ho .......prabhu ko darshan garna yati garo... Ganthan jari nai rahancha bhanne thulo aasha ko poko bokeko chu prabhu......yo poko lai thela ko foko phute jhai phutna nadinu hola.....baru bhoko pet ma din bhari doko ma itta bokna tayar chu......aru ta aru....astamiko chokho pareko boko lai katna pani tayaar.....tara yo Ganthan ko baki part ko dhoko bhane jo kohi lai pani besabrika saath intazaar rahi rahanecha.. -daum

daum · Feb 28, 2009 9:26 AM

Deep jee, Its so simple and true story. It reminds me when I was teenager. We used to do excatly samething what you said.  

Anishchit · Mar 2, 2009 10:41 AM

perfectionist , "यो पढ्न भ्या छैन, भोली परीक्षा छ, तेइ भेर त्यो सकाएर पढ्छु.." अहिले सम्म भ्याईयो आँखा कुदाउन कि छैन गन्थनको बाटोमा कुन्नी तर कुदाउन नभ्याएकै हो भने पनि त्यस्तो नोक्सान केही भयो होला जस्तो मलाई लाग्दैन। गन्थन पुरानो हाडीगाउँले सडक जस्तै छ, साझामा प्रस्तुत हुने अरु लेखाईहरु  चिल्ला सडकहरु जस्ता छन। मलाई पनि ती चिल्ला सडकहरुमा जान मन लाग्छ र जान्छु पनि। त्यस्ता चिल्ला सडकका स्रस्टाहरुले हामी जस्ता पाठकलाई धेरै गुन लगाएका छन। अनि परीक्षा-घोडा त प्रभोले नै चढ्या होला नी, लात्तले हानेर उछ्छिट्याएन होला घोडाले भन्ने सोचेको छु। नउछिट्टाओस पनि कहिले। CT. , "फेरी बाजे किन भन्या भनेर हपार्ने होला, भागेँ म ।" भन्दीन प्रभो, हाम्रो एउटा साथी थ्यो, नेवार नै हो तर हामी सबै साथी उस्लाई बर्मु भन्थीम्। त्यो अस्ति नै मासुभात खान दिएको निम्तोको म्याद छ अझै अझै कि सकियो प्रभो? खबर पाम् है। बिस्टे, "लौ प्रभो म आउँदै छु मास्थिर भोली तिर,भेट्ने आश गर्दै। " प्रभो अनि जन्ती समुहको परीया थ्यो की जन्ती पर्सीने समुहको? आँखा पनि अल्झे कि कतै  मन बल्झाउने गरेर? बिनायक स्टुडीयोमा एउटा तस्बीर खिचाउन जाँदा एउटीका  छडेके हेराईमा आफ्ना आँखा अल्झेर मन लडेको थ्यो क्या प्रभो। कुरा पुरानै हो तर हरेक चोटी सम्झिँदा नयाँ नै हो कि झै गरेर आउँछ। *~Spring~*, "bangelai utai chhodera aaunu bhayecha" मान्छे उतै परे पनि कुरा त गन्थनमा उस्को पनि यतै छ। अनि यो "भेलकम ब्याक" स्प्रिङ्गलाई भन्न मलाई पनि कस्तो मन लागि सक्यो भने, जाडो सँग दिक्क लागेर। Harka_Bahadur , "बनेश्वोर तिराका छप्कीहरुले खुब सोधेका छन है प्रभुलाई । " "बदमास हुन्छौ? भन्दीम तिमेरका लोग्नेलाई?" भनेर हप्काईदिनु पर्थ्यो नी त प्रभोले ती छप्कीहरुलाई।  अब त घर ब्यबहार पनि त हेर्नु पर्यो नी, खाली दीपलाई मात्रै सम्झेर सोधेर कसरी चल्छ जिन्दगी?  खै बुझेको उनीहरुले? बुझाउन जाउँ आफु भने पनि सिकेर आईएला भन्ने डर छ। के गर्नु र? harikancha, "लौ दिप ब्रो धेरै पछी दर्शन भयो माल सहित ।" म त एक छिन झसंग भै रा -- माल सँग देख्या भन्दा त। यसरी तर्साईदिन त भएन नी प्रभो--कम्ता टेन्सन भएन को सँग हुँदा देख्या होला भनेर। nepalean, "दौतरी, साझा कतै नदेखिने कता दिप ब्रो भनेको त उता हरीग्राममा पो रेछन। त्यो पनि पिकनीक गर्दै। कथामा बागें नभए त मजै नआउने के। बांगे कता मर्यो नि पिकनीक नगएर?" बाङ्गे थ्यो नी पिकनिकमा।  काँचो तरकारी सकेर, घरैमा भात खान जान्छु भन्ने उही त हो नी प्रभो। अब दौतरी साझा तिर आउनलाई आफ्नो फुर्सद बेपत्ता भएर कस्तो मुस्किल पर्यो नी त। सम्झाउँदै छु। फर्किन्छ कि जस्तो गर्दै छ। हेरम। daum, "barsa ko ek choti jasto shivaratri nai aaunu parne ki kya ho ......." आहा! शिबरात्री र फाउ त एकदम  रमाईला चाड नी प्रभो। ती त बर्षमा एक चोटी होईन, महिनामा चार पाँच चोटी आए हुन्थ्यो जस्तो लाग्थ्यो, के गर्नु र? ******************** एउटा अर्को कार्यालय पुगेको थिएँ अस्ति अनि त्यहाँ एक छिन प्रतिक्षालयमा समय कटाउनु पर्ने भयो। माथीका गन्थनहरुले समय माथि आरा लाउँदै बसेको थिएँ त्यति बेला। मौका परेको बेला फेरी गर्नु पर्छ गफ। सबैलाई हार्दिक धन्यबाद अनि शुभकामना।

Deep · Mar 2, 2009 10:45 AM

Anishchit, "We used to do excatly samething what you said" त्यै त है, क्या रमाईलो हुन्थ्यो पुराना दिनहरुमा। जय नेपालमा फस शो हेरेर आए पछि हेर्न नपाएका लाई यस्तरी पेलेर सुनाईन्थ्यो नी कहानी -- हेर्न भ्याका छैनन कुनै साथीले भने सिनेमा नहेरी छेउ पर्दैन थे।  

Deep · Mar 2, 2009 10:53 AM

la la prabhu, wellllllllll come back.  

ek@l · Mar 2, 2009 11:23 AM

प्रभो, सवारी हुने मर्जी मात्तै होओस न, मासुभातको बाढी लगाम्ला नि हौ । मासुभात मात्रै किन ? साझाको बहुचर्चित म:म:लाइ माथ दिने म:म: टक्राम्ला नि प्रभो !!!

CT. · Mar 2, 2009 11:35 AM

ढिलै भये नि एक्कै साँसमा पढेर सक्काये ! रमाइलो छ दीप ब्रो को कथा ! धेरै पछी पढ्न पाइयो ! ल बेला बेला मा यसो कि-बोर्ड  खियाम्दै गरौ है ! Last edited: 02-Mar-09 12:30 PM

ritthe · Mar 2, 2009 12:30 PM

"" पन्चट, सुलोक्स्न.."" लोल! यो सुलोक्सनको गन्ध फेरि बित्यासै मजाको लाग्थ्यो! एक पटक हाम्पनि एस्तै रैथाने तालमा पिकनिक गाको थेम ककनि डाँडातिर ठिटै ठिटा मिलेर, एउटा चइने सेमि मांसाहारी थियो, अर्थात फुल (अन्डा) खाने मासु नखाने। भोकले आन्द्रा छुत्ति खेल्न लागेसि, छिटो पकाऊन भनेर एउटाले आइडिया झिक्यो - भात पकाउँदा चामल र पानीसंगै अन्डा पनि हाल्ने र पाकेपछि अन्डा अटोमेटिक रेडि हुन्छ भनेर। पाक्न त पाक्या थ्यो, भात संग अन्डा फुटेर सरोबरि हुँदै पाक्या थ्यो। पछि अलि अलि काँच्चै काँच्छै कुखुरा लुछेर फर्केको थेम।

Birkhe_Maila · Mar 2, 2009 1:30 PM

 very funny ... ur unique style is worth applauding makes me nostalgic.

kHusHii · Mar 3, 2009 11:37 AM

लौ दीप ब्रो... तारेमाम् ..... धेरै  पछी दर्शन पाइयो।  झन्नै पिक्निक छुटेछ हो......

trishul · Mar 3, 2009 2:07 PM

कति सरल कति मज्जा क शब्द ... हासोको फोहोरा र आफ्ना याद संगै हुले बढेर निस्किने लेख .. दिप दा को पुरानो मज्जाको कथा माथि उकल्दै छु .... 

ThahaChaena · Dec 28, 2012 12:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all