Filed under: समाचार र विचार — Administrator @ 8:07 pm अपडेटः हनुमानढोका प्रहरी परिसरमा थुनिएका ऋषि धमलालाई पत्रकारहरुसँग भेट्न दिइएको छैन। उनलाई गिरफ्तार किन गरियो भन्ने बारे भोलि मात्रै बताउने गृह प्रवक्ताले बताएका छन्। प्रहरीले केही बताउन मानिरहेको छैन। तर नाम बताउन नचाहने प्रहरी स्रोतलाई उदधृत गर्दै आएको समाचारमा तराईमा सशस्त्र संघर्ष गरिरहेको रणवीर सेनाको आपराधिक गतिविधिमा धमलाको सम्बन्ध रहेकोले उनलाई गिरफ्तार गरिएको बताइएको छ। केही अघि काठमाडौँका विभिन्न स्थानमा पडकिएका बमहरुको जिम्मा यही रणवीर सेनाले नै लिएको थियो। रणवीर सेनाले हिन्दु राजतन्त्रको वकालत गर्ने गर्छ। गृह प्रवक्ताले धमलालाई पक्राउ गर्दा आउने दबाबप्रति सचेत छौँ भनेका छन्। हुन पनि धमलाको पहुँच सीधै भारतीय दूतावाससित र नेताहरुसित रहेको छ। प्रहरीले के कुरा पत्ता लगाएर उनलाई गिरफ्तार गरेको हो, त्यो पत्ता लगाउन भने भोलिसम्म कुर्नै पर्ने हुन्छ। अपडेटः हामीलाई प्राप्त जानकारी अनुसार मधेस राष्ट्रिय पार्टीका नेता प्रमोद यादवलाई धमलासित भेट गराउन लाने क्रममा पत्रकार शुभक महतो र वीरेन्द्र केएमलाई प्रहरीले गिरफ्तार गरेको रहेछ र यही प्रकरणमा सोधपूछका लागि ऋषि धमलालाई गिरफ्तार गरेको काठमाडौं प्रहरी परिसर हनुमानढोकाका प्रमुख नवराज सिलवालले बताएछन्। व्यक्तिगत रुपमा ऋषि धमलाको आचरण जस्तोसुकै भए पनि राज्यले अहिले यो विषयमा सञ्चारकर्मीमाथि अपनाएको हस्तक्षेपको शैलि निन्दनीय छ। विद्रोही नेतालाई सञ्चारकर्मीले भेट्नै नपाउने भन्ने कुरा हुँदैन। अहिले सरकारमा रहेका नेताहरुको टाउकोको मोल तोकिएका बेला पनि समाचारलाई सन्तुलित बनाउन दुवै पक्षका कुरा राख्न सञ्चारकर्मीहरुले उनीहरुका समाचार, लेख र अन्तर्वार्तालाई पनि स्थान दिएकै थिए। त्यसमाथि शाही शासन कै झल्को आउने गरी दुई जना पत्रकारलाई गिरफ्तार गरेको तीन तीन दिनसम्म अवस्था पनि सार्वजनिक नगरी बेपत्ताको अवस्थामा राख्नु कानुनी शासनको उपहास हो। ठीक छ, अपराध गरेको भए पत्रकारहरुले पनि उन्मुक्ति पाउनु हुँदैन भन्ने कुरामा कसैको दुई मत हुँदैन। धमला रणवीर सेनाका आपराधिक कार्यमा संलग्न हो भने उनलाई कडाभन्दा कडा कारबाही हुनै पर्छ। तर सबै कुरा कानुनी प्रक्रिया मिलाएर हुनुपर्छ। यदि आज पूर्वाग्रहका कारण ऋषि धमला गिरफ्तार भए भनेर काखी बजाउने हो भने भोलि यही शैलिमा कुनै पनि पत्रकारलाई पक्रेर बेपत्ता बनाउन राज्यको हौसला बढ्नेछ। प्रहरीले यस विषयमा सबै कुरा सार्वजनिक नगरेसम्म अहिले नै केही भन्न सकिने स्थिति छैन।
kukur · Feb 3, 2009 10:11 AM · 2,347 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion