मुग्लान भास्सिँदाका सम्झनाहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

झन्डै तीन महिना कथा फेरि अघि बढाउन नसकेकोमा क्षमा चाहन्छु। भोजन पश्चात केही बेर गफगाफ गरी हामी सबैजना निस्कियौं। ती दुइलाई उनीहरुको विश्वबिद्यालयको कुनै ठाउँमा छोडेर रामेले हामीलाई पनि कलेजमा छोडिदियो। अघि भेटेका केही नयाँ तथा पुराना बिदेशी साथीहरुसँग फेरि भेट भयो। एक चोटि घरमा खबर गर्नु त पर्‍यो। पुरानो एक जना साथीले "फोन सेन्टर" मा लगिदियो। लामो दूरी तथा अन्तरराष्ट्रिय कल गर्न कार्ड लिनु पर्ने रहेछ। कार्ड पनि फारम भरेर बुझाएको भोलिपल्ट लिन मिल्ने अनि फोन गरेको बिल चाँही मासिक रुपमा पठाउने रहेछन्। नेपाल फोन गरेको प्रति मिनट झन्डै ३ डलर लाग्ने रहेछ। झसङै भएँ त्यो सुन्दा त। हुन त नेपालबाट अमेरिका फोन गर्दा पनि १५० रुपैंया जति पर्थ्यो अनि त्यतिबेलाको बिनिमय दर १ डलरको रु ५० जति थियो। एक मन त भोलिपल्टसम्म कुरेर फोन गरौं कि जस्तो पनि लाग्यो। फेरि भोलिपल्टको पनि रातिसम्म कुर्न पर्‍यो, नेपाली समय अनुसार त घर छोडेको पाँचौ दिन हुने रहेछ। बरु अहिले फ्याक्स पठाइदिन्छु पीर भैरहेको होला भनेर सकुशल आइपुगेको र एक जना नेपालीले बैंकको खाता खोल्न सहयोग गरेको आदि लेखेको दुई चार लाइनको फ्याक्स बुवाको अफिसमा पठाइदिएँ। सामान नआएको चाँही भन्न मन लागेन। ४-५ डलर कति पर्‍यो त्यति पठाएको पनि। फोन कार्डको लागि फारम भरेर फर्किएँ। केही समय साथीहरुसँग गफ गरे पछि साँझको खाना खान "स्न्याक बार" तिर जाने निर्णय भयो। अपशोच, उपरोक्त स्थान जहाँबाट निशुल्क भोजनको लागि हामीलाई भौचर थमाइएको थियो, बन्द भैसकेको रहेछ। धेरै ढिलो पनि भएको त होइन, त्यस्तै ७ बजेको थियो कि साँझको। दिउँसो टन्न भात खाएको हुनाले मलाई त्यही बेला त त्यति भोक लागेको थिएन, तैपनि अलि पछि भोक लाग्ने त निश्चित नै थियो।  अरु साथीहरुले चाँही स्न्याक बारमै लन्च खाएका रहेछन्, "कस्ता मुलाहरु, दिउँसो खान गएको बेलामा बेलुका कति बजे बन्द हुन्छ भनेर हेर्नुपर्छ नि" भन्ने सोचें। छेवैको डाउनटाउन, जुन नौबिसे बजार भन्दा ठुलो थिएन होला, एक चक्कर घुमौं अनि जे भेट्टिन्छ खाउँ भन्ने सहमति भयो। रामेले पिज्जा मिठो पाउने ठाउँ छ पनि भनेको थियो त्यहीं नै तर तत्काल ठाउँको नाम सम्झिन सकिनँ। म भने त्यही ठाउँ भेट्टाउने आशामा थिएँ। हिंड्दै जाँदा केही नपाएको खन्डमा बाङ्लादेशीले आफूसँग घरबाट ल्याएको केही खानेकुरा भएको र त्यही बाँडीचुँडी खाउँला भनी प्रस्ताव राख्यो। केही बेर हिंडेपछि रामेले भनेकै ठाउँमा पुगिएछ। साइनबोर्ड देखेर नाम सम्झिएँ।  एक एक जना नेपाली, बाङ्लादेशी, मलेसियाली र इथियोपियालीको अन्तरास्ट्रीय टोलीले उपरोक्त भोजनालयमा प्रवेश गर्‍यो। इटली बसेको मलेसियालीले केही युरोपेली ढाँचा भएको प्रतिकृया गर्‍यो।  खानेकुराको अर्डर काउन्टरमै गरेर पैसा तिर्नु पर्ने अनि खानेकुरा चाँही उनीहरुले नै टेबलमा ल्याइदिनेरहेछन्। एउटा ठुलो पिज्जा अनि एक एक वटा पेय पदार्थ मगाउने अनि खर्च बराबर बाँड्ने भनेर मलेसियालीले प्रस्ताव राख्यो। कुरो ठीकै लाग्यो, किन एउटैले त्यत्रो सबै तिर्नु। बिदेश घुमेको अलिअलि अनुभवी ऊ नै थियो, हामी बाँकी त कुवाका भ्यागुता जस्ता थियौं। पिज्जा त मगाउने भैयो तर के टपिङ भन्ने अन्यौल भयो। त्यो बङगाली सुंगुर नखाने म गाई नखाने। अन्तत: च्याउ, प्याज, अलिभ आदि हालेको शाकाहारी पिज्जा खाने निर्णय भयो। प्रतिब्यक्ती त्यस्तै ४ डलर जति पर्‍यो क्यारे। पेय पदार्थ (सबैले कोक नै मगाए क्यारे) चाँही त्यही बेला दिए अनि साथै एउटा नम्बर भएको प्लास्टिकको टुक्रा। अरु ग्राहकले जस्तै हामीले पनि देखिने गरी प्लास्टिकको टुक्रो टेबलमा राख्यौं। खानेकुरा आएपछी उठाएर लाग्दा रहेछन् त्यसलाई। प्लास्टिकको बिर्को भएको कागजको ठुलो कपमा "पाइप" (यहाँ स्ट्र भनिन्छ भनेर पछि मात्रै थाहा भयो)को कागज झिकेर घुसाएपछि मात्रै थाहा भयो कि कपमा पेय पदार्थ भन्दा धेरै बरफ नै हुँदो रहेछ भनेर। केही बेरमा खानेकुरा आयो। एक एक वटा स्लाइस आ आफ्नो प्लेटमा हाल्यौं। मलेसियालीले टेबलमै राखिएका सिसिहरुबाट अलिअलि धूलो पदार्थ (पार्मेसान चिज भनेर पछि थाहा भयो) अनि खुर्सानीका गेडाहरु खन्यायो। हामीले पनि त्यही नक्कल गर्यौं। खुर्सानी देखेर मख्ख पर्दै बङ्गालीले टन्नै खन्याएको थियो, पीरो भने अलिकती पनि नभएकोले केही निराश भयो। दोस्रो स्लाइस खाँदा भने त्यति धेरै हालेन। खाएर निस्किंदा बेलुकीको ८ बजेको हुँदो हो, बल्ल बल्ल घाम अस्ताउला जस्तो देखिएको थियो। टन्न पेट लिएर हामी छात्रावासतिर लाग्यौं। लबीमा छिर्दा मेरो सुटकेस आएको थाहा भयो। खुशी हुँदै सुटकेस लिएर कोठामा गएँ। दिनभरी लगाएको बैंकक लेखेको टीसर्ट फुकालें। बिहानीको अनुभवलाई नियाल्दै निर्णय गरें कि त्यो टीसर्ट मलाई जतिसुकै प्यारो लागेको भए पनि सबैजनासँग परिचय नहुन्जेल फेरि लगाउँदिन, ताकी थाइल्यान्डबाट आएको हो भनेर कसैले फेरि नसोधुन्। सुटकेस खोल्यो, फेरि घरकै सम्झना। बुवा आमाले मिलाएर प्याक गरेको लुगाफाटा लगायतका अरु सामानमा आँखा गयो। तीनै सामानमा केही थोपा आँशु झर्ला जस्तो भयो तर जसोतसो आफूलाई सम्हालें। घरैबाट ल्याएको लिरिल साबुनले नुहाएर सफा लुगा लगाएर पूर्व योजना मुताबिक साथीहरुलाई भेट्न लबीमा झरें। क्रमश:          

chipledhunga · Mar 12, 2009 3:51 PM · 157,361 views

58 Replies · Showing 41 - 58
Page 3 of 3

समाप्त? जिस्क्या? चिप्ले? के गर्या? सकिनी बेलै भा थिएन नि, ह्याSSSSSSSS हुन्न एस्तो रमाइलो भैरा बेला, क्रमस: लेख्नी ठाउँमा मैले अर्कै देखें, typing मिस्तेक है? हो भन्देउ न चिप्ले, अझ थप्दै जाने नि, कहाँ सकिनु एती छिटो, लौ चिप्लु, एस्तो अन्याय मगरौम न

perfectionist · Mar 23, 2009 3:20 PM

पर्वत्या माड्साब, सिद्ध्याइहालियो अब के थप्नु खोइ। मेरा अनुभवहरु पढिदिनुभएकोमा धन्यवाद। ठुल्दाइ, म पनि एकदमै भावुक भएँ संस्मरणका अन्तिम हरफहरु लेख्दा। हरेक भाग जस्तोमा आफ्ना प्रतिकृयाहरु लेख्दै प्रोत्साहन दिनु भएकोमा धेरै धन्यवाद। बिष्टे, तिमीले पनि हरेक भाग जस्तोमा नै प्रतिकृया दिंदै प्रोत्साहन दिएकोमा धेरै धन्यवाद छ। पहिलो चिठ्ठी पाउँदाको तिम्रो अनुभव पनि एकदमै मन छुने रहेछ। आउने दिनहरुमा अवश्य अरु अनुभवहरु बाँड्ने नै छु। पूरे, सिद्धिएकै हो साँच्ची नै। अरु पनि लेख्दै गर्छु नि। तिमीलाई पनि धेरै धन्यवाद छ पढेर केही लेखिदिएकोमा।        

chipledhunga · Mar 23, 2009 5:06 PM

हैन क्या मैले सिरियसली भनेको चिप्ले माद्साप, त्यो त सुरु को दिनको पो बयान भो नि, अझ नयाँ नयाँ कुराहरु सिक्यौ होला, जान्यौ होला, त्यो पनि त याद होला नि, त्यो नि लेख न। यो पढेर आफ्नो दिन्हरु याद आइरछ। लौ न यसरी नसकाइदेउ

perfectionist · Mar 23, 2009 5:29 PM

चिप्लु सिध्याइनैदिनु भएको? हुन त लेख्ने हो भने अझै छन है धेरै कुराहरु। धेरै लाई  घटेका होलान यस्ता कुराहरु तर एक एक घटना सम्झेर कमैले लख्न सक्छन। हजुरको यो खुबिलाई मेरो प्रणाम। अन्तिम हरफ पढ्दा चाँही मन नै ढुक्क फुलेको जस्तै भयो  लेखै गर्नुस् है अरु पनि।

Dipika02 · Mar 23, 2009 9:06 PM

पूरे, तिमीले भने झैं बिदेश बसाइको क्रममा धेरै कुराहरु सिकिए अनि धेरै घटनाहरु घटे। तथापि मेरो यो संस्मरणको लक्ष भने शुरुका केही दिनहरुलाई मात्रै समेट्ने थियो। यो संस्मरण मनपराइदिएर केही शब्द कोरेकोमा धेरै धन्यवाद छ। तिमीहरु जस्तै पाठकहरुको प्रतिकृया अनि सुझावले त हो नि हाम्रो हाम्रा औंलाले किबोर्डमा बास गर्ने।       दीपू, सिद्धियो हेर न। प्रारम्भ देखि नै नियमित पाठक (पाठिका, यदि त्यस्तो शब्द छ भने) भएर साथ दियौ, त्यसको लागि धेरै धन्यवाद छ। यस संस्मरणको शुरु देखि अन्त्यसम्ममा धेरै जनाले सकृय एवं मौन पाठकका रुपमा मलाई साथ दिनुभएको छ। यहाँहरु सबै प्रति म आभार प्रकट गर्न चाहन्छु र आउने दिनहरुमा अरु कोशेलीहरुका साथ फेरि उपस्थित हुने नै छु।   

chipledhunga · Mar 24, 2009 10:02 AM

चिप्ले दाई ,  सकियो??  ला कती  छिटो!!!  तपाईं को    संस्मरणलाई  पढ्न  पाउदा   एक्दम  रमाइलो  लाग्यो तपाईंले  नेपाल छोड्नु  भएको  पनि  तेत्रो बर्ष  भएछ  है, समप्ती को  लस्त  हरफ हरु  पद्दा  त  कस्तो कस्तो  लाग्यो, सुरु देखी  इन्दिङ सम्म नै  सबै कुराहरु  सान्दर्भिक, मनोरन्जन ,, र एमोस्नल ले भरिएको छ!!! WOW.....        Last edited: 24-Mar-09 04:40 PM

keli · Mar 24, 2009 11:23 AM

केली, ७ महिना लगाएर सिद्ध्याएकोलाई पनि छिटो भनिदिने भनेको? संस्मरणलाई पढी केही शब्द लेखिदिएकोमा धन्यवाद छ तिमीलाई।   

chipledhunga · Mar 24, 2009 4:27 PM

कयौँ भागहरु छुटेको थियो, यो पनि हिजो पढेँ! हिजो साझामा मजाले खोजि खोजि पढियो छुटेका कयौँ लेखहरु! चिप्ले ब्रोको सम्झना गर्न सक्ने कला र त्यसलाई अक्षरमा उतार्न सक्ने कलाको त कति तारीप गराई भो र! ""श्रीलंकाको एक जनाले मलाई एक चोटि hey you Himalayan tiger भनेर बोलायो। उसले टाइगर भनेकै भरमा मैले झन्डै उसलाई श्रीलंकन टाइगर भनिसकेको थिएँ तर झल्याँस्स सम्झिएँ तामिल टाइगरहरुसँगको गृहयुद्ध। "" हेहेहे त्यसो भनेको भए त त्यो इजरायली रिसाएको भन्दा पनि रिसाउने थियो कि, वा खुसि भएर तमिलहरुमा भएको दमनको व्याख्या गर्ने थियो।

Birkhe_Maila · Mar 27, 2009 11:08 AM

जिम्मालबा, धेरै पछि साझाका धागाहरुमा देख्न पाउँदा खुशी लाग्यो है। त्यो लंकेलाई टाइगर भन्नु त अलि खतरै थियो होला साँच्ची नै। इजरायलीसँगको घटना पछि अलि सतर्कै हुने गर्दथें। तामीलहरुलाई कम्ती पेलेको होइन लंकेले। हुन त तामीलहरुलाई उकास्ने पनि हाम्रै दूष्ट छिमेकी हो। आमा चाँहीको सरकारले उकासेको थियो, पछि छोरो नै बाघको शिकार भयो।  

chipledhunga · Mar 30, 2009 3:10 PM

मैले अमेरिकी भूमि टेकेको आज ठ्याक्कै सोर्ह बर्ष पुगेछ। त्यसै बेलाका सम्झनाहरु समेटी बिगतमा केही केरकार गरेको थिएँ, जसलाई अहिले फेरि अगाडि ल्याएको छु। शुरुका भागहरु त archive मा पुगिसकेका रहेछन्। प्रारम्भिक भागहरु पढ्न Check Archived entries on this thread   लेखिएको लिन्कमा जानु होला।     

chipledhunga · Aug 24, 2009 1:06 PM

सोह्र बर्षे लहलहाउदो जोबन मा प्रबेश गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना। ठुलदाई परिवार

rahulvai · Aug 24, 2009 1:35 PM

सोह्र बर्षे लहलहाउदो जोबन मा प्रबेश गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना। -सोबर रिट्ठे

riTThe · Aug 24, 2009 1:38 PM

  सोह्र बर्षे लहलहाउदो जोबन मा प्रबेश गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना। लहरे

serial · Aug 24, 2009 1:40 PM

सोह्र बर्षे लहलहाउदो जोबन मा प्रबेश गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना। ~पुरे~ 

perfectionist · Aug 24, 2009 1:40 PM

ठुल्दाइ, ओरिजिनल प्रतिकृयाको लागि धन्यवाद। ठुल्दाइको प्रतिकृया कपि-पेस्ट गर्नेहरुलाई पनि धन्यवाद।   

chipledhunga · Aug 25, 2009 2:18 PM

perfectionist · Aug 25, 2009 2:35 PM

अमेरीकामा सोह्रवर्षे जवानीमा प्रवेश गरेकोमा शुभकामना छ! जोबन सम्हाल्नुहोला! लोल!

Birkhe_Maila · Aug 25, 2009 2:58 PM

  सोह्र बर्षे लहलहाउदो जोबन मा प्रबेश गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना।

sabaiko satru · Aug 25, 2009 3:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all