चिसोले निमोठिएका रुखहरूमा मुना पलाउन आँटेजस्तै, हरेकपल्ट केही ऋतुपछि उसको मनमा पनि आशाका टुसाहरू पलाउँछन्। नाम्लोले खुइलिएको तालुलाई उद्रिएको टोपीले छोपेर, फुटेका कुरकुच्चाहरुले केही माइल नापेर, ऊ हरेकपल्ट एउटा भिडमा मिसिन्छ। अनि हरेकपल्ट सुन्छ— वेस्वादे विद्वानहरू, दूषित सिद्धान्तहरू, काँचो सान्त्वनाहरू, थेलिडोमाइड खाएकी गर्भिणीले जन्माएजस्ता लुला–लङ्गडा वाचाहरू। वाकवाकी लागेको हृदय लिएर फर्किन्छ ऊ अनि थन्काइदिन्छ आशाहरू थोत्रो मधुसमा, जहाँ पुस्तैनि टुटे फुटेका आशाहरू सङ्ग्रहित छन्। आज पनि ऊ जानेछ त्यसरी नै, त्यसरी नै फर्किनेछ आशाका अस्थिपञ्जर बोकेर। आज पनि साँझ उसले आफ्नो पेटलाई बयान दिनुपर्नेछ। आज पनि उसका ओदानका पाइतालाहरूले भुङ्ग्रो सेक्न पाउने छैनन्। – Sudarshan poudel
Smriti-malla · Sep 7, 2026 4:25 PM · 981 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion