मरेर गएनि कहिल्यै नमर्ने मान्छे!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जिन्दगी कस्ले देखेको छ र? मृत्यु कस्तो हुन्छ मरेको मान्छे फर्केर कहाँ आएको छ र? आज अचानक मेरो मन मस्तिष्कमा धेरै पहिलेदेखि गडेर बसेको यो सोच जागेर आयो। मान्छेको मृत्यु कसरी हुन्छ? मानिसको मृत्यु कहिले हुन्छ? जिन्दगीको यो तितो सत्य मानिस आफैलाई थाहा हुँदैन। तर उसलाई यति थाहा छ कि जिन्दगी जन्मदेखि देहान्त सम्मको यात्रा हो। त्यसैले उ जिन्दगीको हरेक पल खुलेर बाँच्ने कोसिस गर्छ। हरेक पलमा खुशी खोज्ने गर्छ, अनि हरेक सम्बन्धमा माया र सद्बाव देख्ने गर्छ। किनकी उसलाई थाहा छ कुनै दिन यो प्रिय संसार अनि प्रिय यो जिन्दगीलाई चटक्कै छोडेर कतै टाढा जानु छ। खबर नपठाइ लुसुक्क आउने मृत्यु कुरेर बसेको मानिसको पीडा पनि मानिसले मात्रै बुझ्ने गर्दछ। र यो सत्यले सायद हरेक मानिसलाई बेला बखत झस्काइरहन्छ, तर्साइरहन्छ। अत: मानिस यो सत्यबाट जति टाढा भाग्न खोजे पनि नचाहँदा नचाहँदै उसलाई समयले कुनै न कुनै दिन जिन्दगीको अन्तिम गन्तव्यमा लगेर पछारिदिन्छ। कस्तो बिधान होला, चाहे जसरी जिउन पनि नपाउने अनि चाहे जति जिउन पनि नमिल्ने! जिन्दगी शब्द नै अचम्म, झन यसका किस्सा अनि कहानीहरु अझै रहस्यमय। मानिसको शरीर भित्र सास रहुन्जेल उ कसैको आश हुन्छ, बिश्वास हुन्छ, कसैको जिउने आधार हुन्छ। उ भित्र सपना र कल्पनाको सागर हुन्छ, उस्को आफ्नै संसार हुन्छ। तर मरेपछि उ केवल एउटा लाश हुन्छ। उ चल्मलाउँदैन, कयौँ दिनदेखि काम गरेर थाकेको, कयौँ दिनको निद्रा नपुगे जस्तै गरी मस्त ढलिरहन्छ। उस्को केवल सास चल्दैन। चिता माथि मूढो जस्तै गरि लडेको उसको शरीरलाई न आगोको तापले पोल्छ, न आफ्नो मान्छेको आँसुले सताउछ। न त कसैको पिडाले बिउँझाउछ, न उसलाई कसैको अभावले रुवाउँछ। उ त केवल मस्त निदाइरहन्छ अनि आगोको तापसँगै जलिरहन्छ। मेरो बच्चा दिमागले सोध्थ्यो,’जलिरहेको लाशबाट उडेको कालो बाक्लो धुवाँ कता गएर बिलाउँछ होला है!’ त्यो धुवाँ जस्तै केही क्षणमै बिलाउँथ्यो त्यो प्रश्न पनि। साँच्चै मानिसको अस्तित्वसँगै उडेर जाने त्यो धुवाँ त यतैकतै हावा अनि आकाशको बादलसँगै पो मिसिदो रहेछ! मानिसको शरीर त जलेर खरानी हुन्छ तर उसको आत्मा भने सायद मरेको हुँदैन। मान्छे त तब मर्छ जब उसको सपना, आशा, हिम्मत अनि प्रेमहरु मरेर जान्छ, उस्को सपना त मरेकै थिएन होला नि ? उसको बाँच्ने चाहना त अझै थियो होला नि? के उसको आत्माले शान्ति पाएको होला त? बाँचुन्जेल नयनमा जमाएर राखेको सपना र प्रेमले उसलाई सायद मर्ने बेला पनि अत्यायो होला। मर्न लागेको रात जिन्दगीले जिम्मेवारहरु बोकेर आउँछ अरे! म पनि त मर्नेछु कुनै दिन। मनमा कुण्ठित भावनाहरु नफुकाउँदै मरे भने? यी नयनबाट बगेका आँसुले पनि बग्न नदिएका सपना मर्नु भन्दा अघि पूरा भएनन् भने? म त मर्नु भन्दा पहिले नै मर्नेछु सायद। अनि त बाँच्नुको पनि के अर्थ रह्यो र? त्यस दिन आफ्नो मृत शरीर कल्पना गरिरहँदा आभास भयो यो संसार एक धुवैँ धुवाँको पहाड अनि आँसु नै आसुँको तलाउ रहेछ। आर्यघाटको मूढो माथि जति निस्फिक्र भएर ढले पनि मानिसको अस्तित्व भने कहिले नमर्दो रहेछ। मर्ने भनेको त सपना रहेछ,इच्छ्या, आकाङ्क्षा रहेछ। मरेपछी मान्छेको शरिर मात्रै अलप हुने रहेछ। उसले छोडेको छाप त यतैकतै मानिसको मनमस्तिष्कमा गडेर बस्दो रहेछ। उस्को अस्तित्व र आत्माको कहिल्यै मृत्यु हुँदैन। मानिस भएर जन्मिनु , मानिस भएर जिन्दगी बिताउनु,अनि आफ्नो कर्तव्य निभाउनु नै वरदान रहेछ। मरेर गए पनि कहिल्यै नमर्ने केवल मान्छे नै रहेछ। Muskan pandey

Smriti-malla · Apr 25, 2024 12:04 PM · 7,619 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion