मन भित्र को पत्रै पत्र!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाग-१ एउटा ठाउबाट अर्को ठाउमा जानु, पुरानो यात्रा सकाएर नयाँ यात्रा शुरु गर्नु अघि , केही अनुहारहरु पछ्याइरहन्छन्, सम्झनामा। खासमा ग्राहकहरुसँग भाबनात्मक रुपमा अल्झिनु राम्रो हैन, तर पनि सम्बेदनाहरु नियम बुझ्दैनन, भावनाहरुलाई निय्रन्त्रन गर्न सक्दैनन्।। स्वफुर्त रुपमा दौडिरहन्छन, एक पछी अर्को लहरमा। मलाई झस्काइ रहने केही अनुहारहरु जस्लाई म हरेक ३-४ महिनामा एकचोटि देख्छु, कतै उनिहरु संसारबाट बिदा भैसकेका त छैनन भन्ने पीर लागि रहन्छ। उनिहरुको बारेमा मलाई केही थाहा छैन, र पनि नदेखेसम्म के भयो होला? कस्तो परिस्थितीसँग सामना गरिरहेका होलान भन्ने मनमा कुरा खेल्छ। जब पानी पर्छ, चिसो मौसम आउछ, हिउ पर्छ, आइस जम्छ, मलाई केही अनुहारको धेरै याद आउछ। उनिहरु सडकमा कसरी बाँचिरहेका होलान भन्ने लाग्छ। समी देख्दा मलाई खुशी लाग्छ। उ अझै बाँचेकी छे, बिहानै उठेर के गर्ने भनेर सोच्ने कुरै छैन। कुनै सपना छैन, उद्देश्य छैन, योजना छैन। तैपनी उ उठ्छे हरेक दिन, ज्युदो हुनुको प्रमाण दिनलाई। ऊ सधैं झै फोहोर टीसर्ट लगाएकी हुन्छे। उसको कपाल कहिले मुडुलो हुन्छ, कहिले सस्तो खाले थाइ कट स्टाऐलमा विग राखेकी हुन्छे। जे जस्तो जिन्दगीको परिस्थितीमा भये पनि ऊ सम्बोधनमा अलिकती हासिदिन्छे। ऊ आउँदा एउटा परिचित गन्ध पनि आउछ हरेक चोटि, तैपनी उसले सजिलै ढाटी दिन्छे। "रक्सी खान्छ्यौ?" म सामान्य तरिकाले सोध्छु । "अहँ खादिन, छोडिसके।" उसको अनुहार विश्वाश नगरु जस्तो खालको पनि छैन। रक्सीको गन्ध त बासी हैन जस्तो लाग्छ। "लास्ट टाइम कहिले खाएको?" "३ दिन भयो रक्सी छोडेको।" आँखा अन्त कतै हेर्दै भन्छे। "अनि मनको हालखबर के छ??" मलाई आफ्नै मनको खबर छैन, किन म अरुको मनलाई बुझ्न खोज्छु? "उदास छु, निराश छु, केही गर्ने उत्साह छैन। मनमा धेरै नकारात्मक कुराहरु आउछन।" अघिसम्म सबै ठीक भए जस्तो उसको अनुहारको भाब एकाएक बदलिन्छ। उसको अनुहारमा बर्षा अघि देखिने कालो बादलहरु मडारिरहेका छन। अब शायद झरी पर्न सक्छ। यो मेरो समी सँग को भेट शायद चौथो वा पाचौ हुनु पर्छ। हरेक चोटि उसको डिप्रेसनको बयान उस्तै हुन्छ, हरेक चोटि म औसधी दिन्छु। ऊ औसधी लिन जान्न। फेरी उही कुरा, फेरी उही समस्या, तर ऊ छोड्न सक्दिन, उसको सम्रचनाबिहिन जीबन, सडकको जिन्दगी, methamphetamine, गाजा अनी रक्सीको लत। सधैं उस्तै। “औशधी किन नखाएको?" मेरो प्रश्न पनि सधैं उही, फरक छैन। “सन्चो भएन, दमले सतायो, औसधी किन्ने पैसा पनि छैन।" ऊ सँग पत्याउनै पर्ने अनेक बहाना हुन्छन। "तिम्रो औसधी फ्री छ, फार्मेसीमा अझै होला, नभये फेरी रिफिल गर्लान।" "धेरै कुरा घटी रहेछन, सडकमा चिन्ता, घरमा तनाब थ्यो, बुवाको स्वास्थ्य ठीक थिएन, त्यसैले केही दिन घर गएकी थे।" मलाई उसको बुवा छ, घर छ भन्ने कुरा थाहा थिएन। " म अबदेखी औसधी खान्छु।मैले रक्सी पनि छोड्नु पर्छ। " उसको आँखा पिलपिल गर्छन्। "हेर! म तिमीलाइ औशधी खाएमा के फाईदा हुन सक्छ र के हुँदैन मात्र भन्न सक्छु। तिमीलाइ औसधी खानै पर्छ भनेर कर गर्न सक्दिन। उपचारको लागि बिचार गर्ने वा नगरने तिम्रो अधिकारमा छ। म त केबल बाटो देखाउने मात्रै हुँ। अगाडि बढ्ने वा नबढ्ने तिम्रो निर्णय हो!'" "मलाई माफ गर्नुस्, त्यति खेर धेरै कुराहरुले मलाई चिन्तित बनाएको थ्यो।" उसको आँखाबाट बरर आशु झर्छन। म टिस्सु दिन्छु। म अझै कुरीरहन्छु, उसले भन्ने कुरा अझै धेरै जस्तो लाग्छ। "म भित्र एउटा आवाजले सँधै मलाई घ्रीना गर्छ, "तँ बाँच्न योग्य छैनस", "तेरो कुनै अस्तित्व छैन", "तैले मरेको जाती", "तँ हरुवा होस्, तँ मरे पनि केही फरक पर्दैन यो समाजलाई"। समी रुन थाल्छे। म मौन कुरिरहेछु, उसको निराशावादी सोचहरुको अल्पबिराम कतै हुनु पर्छ।" "सरी!” उसलाई अप्ठ्यारो लाग्छ। "तिम्रो मनमा बाँच्न भन्दा मर्न पाए हुन्थ्यो भन्ने कुरा पनि आँउछ?" "हरेक दिन म ब्युझन नपरोस भन्ने आशाले सुत्छु। तर अफसोच, हरेक दिन यातना जस्तो जिन्दगी फेरी बाँच्छु।" "तिम्रो कुनै योजना त छैन?" "हजुर! के भन्नु भयो?" समीलाई मैले सधैं यो प्रश्न गर्छु, उसको सुरक्षाको लागि। "आत्महत्याको बिचार आएको छ कि छैन?" "म मा त्यो साहस छैन।" "तिमी यदी त्यस्तो अवस्थामा पुग्यौ भने के गर्छौ?" "म सँग फोन नम्बर छ, म मद्दत खोज्छु।" म क्राइसिस हटलाइनको एउटा कार्ड दिन्छु उसलाई। "यदी तिमीले यो नम्बर सम्झेनौ भने ९८८ कल गर्नु। म तिमीलाइ फेरी भेट्न चाहन्छु, तिमीलाई सुरक्षित भएको हेर्न चाहन्छु।“ समीका आँखाहरु अहिले सुके, तर पनि मुहारमा धेरै कुराहरु प्रश्ट देखिदैनन। जस्तो खुशी, दु:ख, रिस, तनाब। उसको अनुहार पढ्न मलाई गार्हो हुन्छ। "निद्रा कस्तो छ?" मलाई यो प्रश्न मन पर्दैन। सडकमा रहेकी एक महिलाले मलाई भनेकी थि। "रातभरी छुरी लिएर बस्छु, कसैले सामान लुट्न आउछन, कसैले इज्जत। जब सुर्य उदाउछ, उज्यालो हुन्छ। त्यसपछी मात्रै निदाउछु। सडक नारीहरुको लागि बाँच्न सजिलो ठाउँ हैन। तर बाच्नै पर्छ।" घरभित्र पनि त नारीहरु सुरक्षित छैनन, उनिहरु आवाज दबिएको छ। "डरलाग्दो सपनाहरुले निदाउन दिदैन।" "तिमी सपनाहरुको बारेमा अरु केही बताउन चाहन्छौ ?" "म सपनामा जहिले एउटै कुरा देख्छु। म ८ बर्षाको सानी केटी एक्लै सुतिरहेको हुन्छु, आमाको ब्वाइफ्रेन्ड मलाई समात्न आउछ, त्यसले मलाई पिट्छ, धम्की दिन्छ, यदी आमालाई भन्यो भने आमालाई मार्ने भनेर तर्साउछ। मेरो लुगाहरु च्यात्छ, मलाई टोक्छ, चिथोर्छ , जबर्जस्ती गर्छ। म पीडाले रुन खोज्छु, तर त्यसले मेरो मुख बन्द गर्छ। म रगतको पोखरीमा डुब्छु। म भएभरको बल लगाएर "आमा" लाई पुकार्छु। ब्युझदा मेरो शरीर पसीनाले निथुर्क्क भिजेको हुन्छ। मेरो मुटु छिटोछिटो चलिरहेको हुन्छ। मेरो मुख सुक्खा हुन्छ। म फेरी निदाउन सक्दिन। मेरो मुटु छिटो छिटो धद्किन्छ, शरीर काम्न थालछ। म संयमित हुन खोज्छु। मन आतिन्छ। "मेरो जिन्दगीका त्यस्तो आघातले मेरो निद्राहरु म सँग टाढिएका छन।" समीले मेरो मुहारमा डरको रङ देखेकी हुनु पर्छ, सामान्य बनाउने कोशीश मा छे। " मैले पहिला पनि तिमीसङ Nightmares औषधीको कुरा गरेको थे, तर तिमीले पछी कुरा गरौला भनेको थियौ। । एक्चोटी खाएर हेर्दा के कस्तो हुन्छ थाहा पाईन्छ। म आज थप्छु यो नयाँ औशधी ।" "मलाई औशधीले काम गर्दैन। --" "किन?" "बेहोस् हुने गरी रक्सी पिएर सुतेपछी म त्यस्तो सपना देखिदिन र गहिरो निदाउन सक्छु। कहिले कही म बेहोसीमा पाउछु।" उसले आँखा जमिनतिर हेरेर भनी। "तर रक्सीले त एक्छिन मात्रै हो, भोलिपल्ट फेरी डिप्रेस् बनाउछु। दिनदिनै खादा लत पनि बस्छ।” सानै देखी खाएको रक्सी, अब त बानी भैसक्यो” "ठिकै छ, एकचोटि औशधी खाएर हेर्नु, यदी औशधीले काम गरेन भने अर्को पटक फेरी कुरा गरुला।” थेरापी गरेको छ?" "इन्स्योरन्स छैन" "१ महिना पछी आउ है, फलो अपको लागि?" "हुन्छ" उसको औशधी फेरी रिफिल गरे पछी, ऊ जान्छे। *********************************************** "आज दिन राम्रो भएन कि क्या हो?" बार टेन्डरले तेस्रो ड्रिन्क बनाउदै सोध्छ। "ह?? सधैं जस्तै हो, हिजो पनि त आएको थिए नि।" "आज ड्राइव गर्दैनौ नि। उबर बोलाउनु पर्छ?" "अहिले नै, रात भएकै छैन। मेरो चिन्ता नगर म ठीक छु।” बार टेन्डर चुप लाग्छ। हामी सबै ठिकै हुन्छौ बाहिरी रुपमा, जब भित्र भित्र पत्रै पत्र खुलिन्छ, नद्खिने तर दुखिरहने मनको घाउहरु हुछ। बाहिरी आवरनले धेरै कुराहरु छोपेको हुन्छ। मनको घाऊलाई कहिले कही आँफैले उपचार गर्नु पर्छ। कहाँ र कस्तो बाताबरनमा सस्तो कि महङो, कस्ले कती पिरहेको छ, त्यो त अरुको हेराइमा भर पर्छ। क्रमश: Last edited: 17-Mar-24 11:45 AM

crazy_love · Mar 16, 2024 11:20 PM · 31,716 views

12 Replies

Welcome Back.

Logan · Mar 17, 2024 11:17 AM

Hi Logan, How r u? Sajhako samjhana le aaunai parne bhayo.

crazy_love · Mar 17, 2024 11:47 AM

We have missed you a lot. Good to have nice original stories hoping that Sajha will be back to normal.

logan · Mar 18, 2024 1:16 PM

आज कताबाट फुत्त साझामा छिरेको, क्रेजीको कथा शुरूमै आँखामा पर्‍यो । सुन्दर कथा क्रेजी । अब अलिक समय क्रेजीको कथा पढ्न भए पनि साझामा आउनुपर्‍यो ।

Geology Tiger · Mar 18, 2024 5:20 PM

Aaha kati mitho katha!

chicagoan · Mar 19, 2024 8:15 PM

भाग-२ "के म तिमीलै ड्रिन्क्स् किन्न सक्छु?" छेउमा कसैले बिस्तरै स्वाशले सोधे जस्तो लाग्यो। मलाइ नशा लागेको हो कि साँच्चै हो मैले दाँया तिर हेरे, एउटा त्यसै अध्बैशे लोग्नेमान्छे मलाइ हेरेर हास्दैथ्यो। "नो, थ्यान्क्स।" मैले भने। "मेरो फ्यान्सी कार छ, घुम्न जाने?" फेरि त्यस्ले सोधेको जस्तो लाग्यो। बार टेन्डर ब्यस्त थ्यो, मैले उसलाइ हेरेर फेरि त्यो लोग्नेमान्छेलाइ हेरे। त्यसको आखामा कति धेरै आश् थियो के को हो, शरीरको हो कि मनको। मलाइ घीन लाग्यो, मैले "नो" भनेर टाउको हल्लाए। "म तिमीलाइ एक रात बिताएको टन्नै पैसा दिन्छु, तिमीलाइ घुमाउन लैजान्छु।गिफ्ट पनि किनि दिन्क्चु। रमाइलो गरौला।" आँखा सन्काउदै भन्दैथ्यो त्यसले। म बोलीन, सकेसम्म इग्नोर गर्न खोजे। "एक रात को कति लिन्छौ?" त्यसले मेरो घाँटि नजिक आफ्नो मुख जोड्ला झै सोध्यो। "शट् द फक् अप्!" मलाइ धेरै रिस् उठ्यो, मैले ठुलो स्वरले गाली गरेको सुनेर त्यो लुसुक्क फेरि आफ्नै सिट्तिर गयो। सबैको आखा म तिर थ्यो। "बिच्! त जस्ती बुढीलाइ कसले मन पराउछ?।तेरो यो भद्दा शरीर त सित्तैमा पनि म भोग्न चाहन्न।"म थुक्छु तेरो अनुहारलाइ, बुझिस्?" त्यसको अँहमा ठुलो चोट पर्‍यो शायद। मलाइ आफै सङ लाज लाग्यो, मैले त्यतिकै नसुनेको झै गर्नु पर्थ्यो। केहि भन्न हुन्थेन। "तँ यो बारमा कस्लाइ फसाउन आइस्? पैसाको लागि त के के गर्न सक्छस्, कति सम्म गिर्न सक्छस् त्यो मलाइ थाहा छ। तेरो काम नै हामी जस्तो मान्छेलाइ फसाएर पैसा लुट्नु हो, हामीलाइ थहा छैन र?"त्यसको मुखबाट लगातार मेरो लागि अपशब्दहरु बर्सि रहे। शायद त्यसले पनि धेरै पिएको थ्यो। म चुप चाप टिल्पिल आँसुहरुलाइ बग्न नदिने प्रयासमा सहि रहे। बार टेन्डरले मलाइ हेरि रह्यो अनि सेक्युरिटि बोलाएर त्यो मान्छेलाइ बारबाट निकाल्यो। त्यस्तो अबस्थामा म पनि घर जानु पर्थ्यो, तर मलाइ जान मन लागेन। मैले अर्को "ड्राइ मार्टिनि" अर्डर गरे। "यो लास्ट ड्रिन्क आजको लागि। यसपछि तपाइको लागि म उबर बोलाइ दिन्छु।" "तिमीलाइ पनि म शरीर बेच्ने महिला जसो लाग्छ?" मैले बार टेन्डरलाइ सोधे। "हजुर, माफि चाहन्छु! मैले त्यस्तो मनसायले भनेको हैन। तपाइ को सुरक्ष्याको लागि मात्रै भनेको हो। मेरो अभिप्राय त्यस्तो हैन।" "सरी! मैले तिम्रो कुरा बुझेको छु। तिम्रो नाम के रे?" "मार्क!" "मार्क, तिमी कुनै केटिलाइ खालि भोगबिलासिताको लागि मात्रै बस्तुको रुपमा उपयोग गर्छौ? त्यही नजरले मात्रै हेर्छौ?" "सबै लोग्ने मान्छेहरु उस्तै हुदैनन्। सबैले नारीको अपमान गर्दैनन्। एक्-दुइ जनाको कारण सबैलाइ एउटै ट्याग लगाउनु हुदैन।" उसले मेरो मार्टिनीको गिलास हेर्दै भन्यो। "त्यो मान्छेले एक रातको मुल्य सोध्दैथ्यो मलाइ। के म शरीर बेच्ने आइमाइ जस्तो देखिन्छु?" "सरी! त्यो मान्छेको ब्यबहारले तपाइलाइ धेरै दुख पुर्यायो। मैले बेलैमा के भएको बुझ्न सकिन। त्यो मान्छे यहा आउने रेगुलर ग्राहक हो। उसले यो अघि कहिले त्यस्तो ब्यबहार देखाएको थिएन। म बाट भुल भयो। माफ गर्नुस्।" "तिमीलाइ थाहा छ? बिश्वलाइ अहिले के रोगले सताएको छ? हरेक मान्छे के रोगसङ लडिरहेका छन्?" अचानक बिषय परिबर्तन गरेको सुनेर मार्क एक्छिन छक्क पर्‍यो, सोच्यो, फेरि भन्यो। "म धेरै पढेको छैन। कोभिड् पछि अर्को पनि कुनै रोग फैलिएको छ? मलाइ त थाहा भएन त?" "तिमी को सङ बस्छौ?" "म साथिहरुसङ बस्छु तर एक्लै जस्तै छु।" "एक्ज्याक्ट्ली! हामी अरुसङ बसौ, परिवारसङ बसौ वा साथीसङ बसौ। आखिरमा हामी सबै एक्लै छौ। तिमी एक्लो छौ, म पनि एक्लो छु, र त्यो अघि को "डिक्हेड" पनि एक्लो छ। हामी सबैलाइ एक्लोपनले गाँजेको छ। " उहाँ त सधै तपाइलाइ लिन आउनुहुन्छ। तपाइ कसरी एक्लो हुनुहुन्छ? आज पनि उबर बोलाउनु परेन।" मार्कले ढोकातिर देखाउदै भन्यो। मैले देखे बर्सौ सङै बिताएको, तर अर्को एक्लो मान्छे। "उ पनि त एक्लो छ, म जस्तै!" "जाने होइन, आजलाइ पुगेन?" उसले सोध्यो। मलाइ उ कहि कतै देखेको जस्तो तर अलिकति चिनेको जस्तो, अलिकति नचिनेको जस्तो को हो? को हो जस्तो लाग्यो र हेरिरहे उसलाइ। क्रमश:

crazy_love · Mar 20, 2024 10:07 PM

फेरी पनि स्वागत छ क्रेजी । धेरै समय पछी फेरी औँखा झिमिक्क त गरी गहिरियर पढे

sadekogolbheda · Mar 26, 2024 8:37 PM

Logan, GT aka suntale, Chicagoan, Sadekogolbheda, Thank you very much for your comments!

crazy_love · Mar 27, 2024 1:35 PM

पार्ट्-३ म केही नबोली त्यो मान्छेको पछी पछी लागे, उ फत्फताउदैथ्यो। "कहिले जिन्दगीमा बुद्धी नआउने भयो, यत्रो उमेर भैसक्यो, त्यस्तो जिम्मेवार भएको मान्छे, कस्तो लापरवाही।" मेरो बोल्ने ठाउँ थिएन, घर पुग्न उसको सहायता चाहिन्थ्यो। त्यसैले केही भनिन। "DWI को केस पनि कस्तो बेवास्ता गरेको? क्लास किन शुरु नगरेको? म सधैं लिन आउन सक्दिन। कुन दिन के हुने हो? भैरहेको जागिर जाने होला। हे भगवान, मेरो जिन्दगीमा अझै कति दु:ख खेप्न पर्ने होला? कस्तो आइमाइ पर्‍यो नि मलाई?" यो गनगन कति सुन्नु? कति उसको भरमा बाँच्नु? मेरो आफ्नै केही छैन, कोही छैन। यस्तो जीवनको के अर्थ? मेरो काम, पहिचान, अस्तित्वको के महत्व? यसरी बाँच्नु भन्दा त----बरु त्यो हाइवेमा हिड्दिन्छु, कुनै गाडीको अगाडी गएर लम्पसार सुतिदिन्छु, मेरो जिबनको अन्त्य होस्। **************************************************** "एक्स्क्युज्मी म्याम, तपाईं यो हाइवेमा किन बिचमा हिडिरहनु भएको?" मैले धेरै निलो रातो बत्तीहरु भएको पुलिसको कारहरु देखे। मलाई के भैरहेको याद भएन, तर म मरिसकेको थिएन, चोटपटक पनि थिएन। उ त्यहा थिएन। "आर यु ओके?" "फिलिङ लस्ट, अफिसर। लस्ट माइ वे टु होम" मलाई थाहा थ्यो उनिहरुलाई के भन्नु हुन्थेन, त्यो होश थियो मलाई। "आर यु ड्रन्क?" उनिहरुलाई थाहा थ्यो, मेरो शब्दहरु प्रश्ट थिएनन। "डु यु वान्ट टु किल योर्सेल्फ?" मैले त्यस्को उत्तर दिइन। उनिहरुले मेरो नाम, जन्म मिती, ठेगाना के के सोधे, मैले केहीको पनि उत्तर दिइन। एम्बुलेन्समा मलाई कुनै ER पुर्याए, त्यसपछी फेरी अर्को अस्पातल, त्यतिन्जेल म धेरै थाकिसकेको थिए। म आफ्नो वार्डमा पुग्नासाथ शायद म निदाउने कोशीस गर्दैथे, मेरो बेडको खुट्टातिर कोही उभेको जस्तो लाग्यो, मैले उठेर हेर्न खोजे, कालो कालो छाया जस्तो लाग्यो, तर के हो मैले ठम्याउन सकिन, मन चिसो भयो, कोठामा अर्को बेड थियो, तर त्यहा बिरामी थिएन। सुनसान थ्यो। बाहिर कता कता मान्छेहरुको आवाज आए जस्तो लाग्यो, मैले "हेल्प" भने, तर त्यो आवाज निस्के जस्तो लागेन। म भएभरको बल लगाएर चिच्याउन खोज्दैथे। त्यो कालो छायाले मेरो खुट्टाहरु समात्यो, त्यसपछी खुट्टा माथि त्यस्को हातहरु सलबलाउन थाल्यो। बिस्तारै त्यसले मेरो सम्पूर्ण शरीर थिच्यो, म हलचल गर्न सकिन, म रुदै, कराउदै, छट्पटाउन थाले। कालो छाया म माथि मनमानी गर्न थाल्यो। भएभरको बल निकालेर म कराए "प्लिज हेल्प!" "मिस, आर यु ओके?" मेरो सामुन्ने दुइजना नर्सहरु उभिएका थे, कालो छाया कहाँ भागी सकेको थ्यो। "भर्खरै एउटा अजङको कालो छाँयाले मलाई जबर्जस्ती गर्न खोजेको थ्यो, तपाईंहरुले देख्नु भएन?" "हामी त अघी देखी तपाईंलाई बोलाइरहेका छौ। यहाँ त कोही पनि थिएन। यो वार्डमा महिला मात्रै छन। आज सबै स्टाफ महिला नै छन। हामी प्रत्यक १५ मिनेटमा राउन्ड पनि गरिरहेका छौ। के तपाईं हरेक रात डर लाग्दो सपना देख्नु हुन्छ?" सिनियर जस्ती नर्सले सोधी। "म राती सुत्न सक्दिन, यस्तै डरलाग्दो सपनाहरु देख्छु। मलाई रातसँग डर लाग्छ।" पसीना पुछ्दै भने। "Nightmares हुन्छ? PTSD मा त्यस्तै हुन्छ। औशधी खाने? बिहान हुन अझै २ घण्टा छ, तपाईंलाई रेस्ट हुन्छ।" नर्सले कुनि के औशधी दिइ, म ४५ मिनेट जति मनमा अनेक कुरा खेलाउदै निदाए शायद। "ब्रेक्फास्ट खाने होइन?" गहिरो निद्रामा कसैले सोध्यो, मैले नखाने भने, निद्रा लागिरहेको थ्यो। "लन्च टाइम गयो, उठ्न सकिन, शायद हिजो रातिभरिको थकाई तर म डिनरको लागि म ब्युझे, भोक भन्दा पानी प्यास लगिरहेको थ्यो। कोठाको बाहिर लामो कोरिडर थ्यो, त्यसको पर कुनामा नर्सहरु थे, मैले उनिहरुलाई पानी प्यास लागेको कुरा भने। उनिहरुले मलाई त्यही नजिकै नर्सिङ स्टेसनको दाँयापट्टीको कोठा देखाए। त्यहा टिवी थ्यो, केही मै जस्ता बिरामीहरु थिए। टिवी हेरिरहेका थिए। मैले एकजनाको पछाडि उभिएर सोधे। " यहाँ पानी का पाईन्छ? त्यसले सुनिन, फेरी अली ठुलो आवाजमा सोधे, "यहा पानी कहाँ पाईन्छ होला?" दोस्रो पटक सोधे पछी त्यो बिरामी पछाडि फर्की, केही बोलिन मलाई हेरी मात्रै रही। "समी!" यति मात्रै निस्क्यो मेरो मुखबाट। मेरो बिरामी, हैन हैन, यहाँ हामी दुबै बिरामी। उसको लत र मेरो लत एउटै छ, र उसको ट्रमा र मेरो पनि उस्तै हुनुपर्छ शायद। खाली हामी त्यो बिगतलाई बिर्सिएर भाग्न सकेका छैनौ। बर्तमानले हामीलाई अपनाउन सकेको छैन, देखिने वा नदेखिने घाउहरु समेत। उ घर नभएकी, म घर भएकी, हामी दुबै एउटै परिस्थितीमा। एक्लै, दुखी, र मानसिक रोगीहरु। क्रमश:

crazy_love · Mar 27, 2024 1:58 PM

यो भाग नी पढी सकेर अर्को भागको प्रतीक्षा म छु म ।

sadekogolbheda · Mar 27, 2024 8:29 PM

पार्ट -4 "यहाँ किन? मैले औशधी खायो कि खाएन भनेर बुझ्न आउनु भएको?" समी छक्क परी। "हैन, मलाई पानी प्यास लाग्यो।" उसँग आँखा जुधाउने हिम्मत गर्न सकिन। "मेरो पीछा तर गर्नु भएको हैन नि?" समीलाई विश्वाश लागेन। "समी, म पनि तिमी जस्तै बिरामी भएर भर्ना भएकी हुँँ यो हस्पिटलमा। प्लिज मलाई पानी कहाँ छ देखाइ देउ।" उ जुरुक्क उठी, अनी टिबी रुमसङै जोडीएको अर्को सानो कोठा रहेछ, त्यहा एकजना स्टाफ पनि रहेछ, उ सँग पानी मागेर ल्याइ। एक गिलास पानी मैले मैले पिए, शीतल अनुभव भयो। "अझै पानी पिउने?" समी एक्टक लगाएर मलाई तलदेखी माथिसम्म हेरिरहेकी थी। "डिनर पनि छ, तिम्रो ट्रे मागिदिउ?" "मलाई भोक छैन। तिमी खाने भए खाउ।" "मैले खाइसके।" उसको मनमा अनेक प्रश्नहरु थिए शायद। "अर्को कोठामा कोही छैन, जाउ कुरा गर्न सजिलो हुन्छ।" उसको पछी पछी लागे, एउटा ठुलो कोठा, व्हाइट बोर्ड, मार्कर्स र केही मेचहरु थे। त्यहा कोही बिरामी थिएनन। एक्छिन एक कुनाको मेचमा बसेपछी हामी दुबै चुप रह्यौ, बाह्री रुपमा तरमा भित्र हामी दुबैको मनमा अनेक कुराहरु थ्यो। समी मलाई सोध्ने प्रयास गर्न खोज्दैथी। म उसलाई सोध्ने हैसियत राख्दिनथे। कता कताबाट मेरो आँखा उसको दाँया हातको नाडीमा बाधेको सेतो ब्यान्डेजमा पुग्यो। "यो के भयो?" मैले उसको हातमा देखउदै सोधे। "सानो घाऊ।" छोटो जवाफ सुनेर मलाई विश्वाश लागेन। "कहिले?" "त्यही अपोइन्त्मेन्ट्को दिन।" "मलाई भेटिसकेपछी?" त्यो दिन उसको हातहरुमा घाऊ थिएनन। "त्यही बेलुकी। म औशधी लिन जाँदै थे। बाटोमा ज्याक भेटे। उ पनि सङै जाने भन्यो।" "ज्याक?" मैले कहिले नसुनेको नाम थ्यो। "उ मेरो मिल्ने साथी, सडकमा रहदाको खुशी, उ मलाई मन पराउछ, म उसलाई तर हामीहरुको कुनै आधार छैन। उ मलाई माया गर्दा मेरो स्वअस्तित्वको पनि सम्मान गर्छ। जबर्जस्ती लुछ्ने, बल्जफ्ती गर्ने, हपार्ने गर्दैन। उ मेरो शरीर मात्रै हैन आत्मालाई पनि माया गर्छ। हामीहरुको सम्बन्धमा कुनै शर्त छैन, न त जनम जनमको बाचा। हाम्रो बानी पनि उस्तै, उसलाइ पनि पिउन मन पर्छ। तर पिउदा पनि उ मलाई गाली गर्दैन।" "तिमी उसलाइ माया गर्छौ?" "माया भन्ने कि नभन्ने, अब उ सँग भेट होला कि नहोला?" "के रे? भर्खर त तिमी र ज्याक औशधी लिन सङै गएको भनेको हैन?" "हो। फार्मेसी पुग्नु अघी पुलिसको कार आएर हाम्रो अगाडि रोकियो। केही बेर हामी दुबै जनालाई सोध्पुछ गरेपछी उनिहरुले ज्याक्लाई समातेर लगे। ज्याकको चोरी र लागु औशध बेचेको पुरानो केसहरु रहेछ। उसले मलाई भनेको त थ्यो तर उ पहिले नै धेरै चोटि जेल जाने आउने गर्थ्यो। त्यसैले मैले त्यो कुरालाई ठुलो मानेको थिइन। ज्याक गयो, मेरो संसार अध्यारो भयो। आफ्नो भने पनि पराइ भने पनि उ नै मेरो एक्जना साथी थ्यो सडकको संसारमा। औशधी किन खाने, के को लागि खानी? म रक्सी किन्न गए, मलाई कसरी यो पीडा पोखु, कसलाई सुनाउ भइरहेको थ्यो। त्यही छटपटीमा मैले मेरो ब्यागबाट चक्कु निकालेर नाडी काटे। तर म मर्नको लागि हैन, म भित्रको उकुसमुकुसलाई शान्त पार्न चाहन्थे। मलाई नाडी काट्दा आनन्दको अनुभव भएको थ्यो। " "भगवान कसम, मैले आत्महत्या गर्न खोजेको हैन। रगत धेरै बगेर बेहोश भएपछी कतिखेर हो कसले मलाई ER लगेछ, र उनिहरुले मलाई यहाँ पठाइ दिए।" उसको आँखाभरी आसु थ्यो, जिबनको अलिकती मोह, धेरै पीडा थ्यो। अब मेरो कथा भन्ने पालो मेरो थ्यो, कसरी भनु उसलाइ म मर्न गएकी थे, हाइवेमा कुनै कार आएर मलाई मार्नु अघि पुलिस आएको थ्यो र म पनि मानसिक अस्पतालमा पुगेकी थे। मर्नु अघी म पनि त रक्सीको मातमा थे। के म समीलाई मेरो कथा उ जस्तै इमान्दारीपुर्बक भन्न सकुला? क्रमश:

crazy_love · Mar 29, 2024 2:35 PM

पार्ट- 5 "समी! यदि मैले मर्नै चाहन्थे, र हाइवे मा हिडिरहेकी थे भन्दा तिमीलाइ बिस्वाश लाग्छ?" "हँ? के भन्नु भयो?" समी एक्छिन अलमल्ल परी। "कुरा के भने त्यो दिन म पनि मात्तिएकी थे, कुनै बारमा र केहि घटना घट्यो र मैले रक्सीको नशामा ठिक बेठिक सोचिन। म मर्न चाहन्थे।" समी खाली मलाइ हेरि मात्र रही। उसको आखाहरु सोधीरहेका थे, "किन?" "तिमीलाइ मेरो कुराहरु बुझ्न गार्हो भएको छ?" "तपाइलाइ त्यस्तो मर्ने परिबेशमा पुर्याउने कुरा के हुन सक्छ भनेर म सोच्दैछु। तेस्तो राम्रो काम छ, राम्रै कमाइ होला, परिवार राम्रो होला। के कारन होला तपाइले पनि रक्सीको सहारा लिनै पर्ने?" "बाहिर हेर्दा सबै कुरा सामान्य देखिन्छन्, तनमा देखिने जस्तो मनको घाउ कसैले देख्दैन। तिम्रो जस्तै मेरो जिबनमा पनि आधीबेहरीहरु आएको थियो, र म त्यस आँधीपछि को चोटले अझै रन्थनिएको छु, समी। प्रतिश्ठा, धन र सुखसुबिधाले त्यो चोटको दुखाइ कम गर्न सक्दैन।" "मैले कुरा बुझिन!" "म सानै थे, एउटा राछश् थ्यो, त्यसले मलाइ माया गर्ने बहानामा चोट दिन्थ्यो, देखिने र नदेखिने ठाउहरुमा। मेरो शरिरलाइ चिमोट्थ्यो, टोक्थ्यो र निचोर्थ्यो। त्यो चिन्जानको मान्छे थियो। घरमा सबैले बिश्वाश् गर्ने। तर त्यो कोहि नभेको बेलामा आउथ्यो र मेरो बालापनको नराम्रो फाइदा उठाउथ्यो। जस्तो तिमीले भोग्यौ नि म पनि त्यसरी नै रुन्थे र कराउथे। तर मेरो कुरा सुन्ने कोहि हुन्थेन। मलाइ रातभरी डर लाग्थ्यो। घरमा बस्न मन लाग्थेन। मैले के हुदैछ बुझेकी थिइन र म बिस्तारै लोग्ने मान्छे सङ डराउने भएकी थिए। मलाइ पुजा आजा गरेर सामान्य बनाउने प्रयाश गरेको थ्यो। केहि बर्शपछि त्यो मान्छे हाम्रो घर आउन छोड्यो। तर पनि म बाटोमा हिड्दा कतै मेरो पछि लागिरहेको छ कि भन्दै हेर्दै हिड्थे। मेरो पढाइमा मन लाग्थेन, न त म कसैलाइ बिश्वाश् गर्न सक्थे। साथीहरु थिएनन्, म एक्लै बस्न रुचाउथे। मलाइ आफ्नै परिवार पनि को हो को हो जस्तो लाग्थ्यो। म आफ्नै शरीरलाइ घ्रीणा गर्न थालेको थे, म भित्र आत्मबिश्वाश् बिकाश हुन पाएको थिएन। त्यसै बेला मैले आफुलाइ लुकाउने संसार भेटेको थे। म कथाहरु पढ्थे, कबिताहरु लेख्थे, र बिस्तारै म एक्लै रमाउन थालेकी थे। अलि ठुलो भएपछि बिहेको कुरा चल्न थाल्यो, म पड्छु भनेर जिद्दि गर्न थाले। त्यस्को लागि मैले परिवारलाइ राम्रो पढेर देखाउनु थ्यो। मैले आफ्नो हाइ इस्कुल्मा राम्रो पढ्न थाले। "कसैलाई त भन्न खोज्नु भयो होला?" समीको आँखामा आँशु थ्यो। "मेरो आमा जस्तो पापी त तपाइको आमा हुनु हुन्थेन होला।" "मेरो त आमा नै हुनु हुन्थेन।" "सरी, मलाई सबैको आमा हुन्छन होला जसो लाग्थ्यो। माया गर्ने राम्री आमा, मेरो बाहेक।" समीको अनुहारमा कौतुहुलता थ्यो। "मेरो आमा मलाई जन्म दिएर जानु भएको थ्यो, कतै। यही संसारमा हुनु हुन्छ भन्नु हुन्थ्यो हजुर आमाले। तर मैले कहिले देखिन, उहा मलाई भेट्न पनि आउनु भएन। कुमारी आमा हुनु हुन्थ्यो रे, बुवा को हो कसैलाई थाहा थिएन रे। हाम्रो समाजमा बिहे नागरिकन बच्चा जन्माउने नारीलाई बाँच्न सजिलो हुँदैन थ्यो।" "यहा त सिङल आमा हुन्छन। त्यस्तो ठुलो कुरो हुँदैन।" "यहाँ र त्यहाँ ठुलो अन्तर छ समाजमा, सोचमा, बिकासमा।" "अनी हजुर आमालाई भन्नु भएन?" "भनेकी थिए। तर उहाले त्यस्तो कुरा गर्नु हुँदैन भनेर मलाई चुप लगाउनु भयो। मेरो बिहे गर्न गार्हो हुन्छ रे। उहाँ मलाई पनि गुमाउन चाहनु हुन्थेन।" "कस्तो गार्हो?" समी कल्पना गर्नै सकिन। "मलाई बिहे गर्न मन थिएन। सेक्स भन्नसाथ मलाई त्यही राक्षसको डरलाग्दो सम्झना आउथ्यो। मेरो कल्पनामा सेक्स पीडादायी हुन्थ्यो, कल्पना गर्नै नसकिने जिन्दगीभरको पीडा। मैले कहिले पनि सेक्स लाई सन्तान उत्पादन बाहेक सन्त्टुष्टिको अनुभब गर्न सकिन। लोग्ने खुशी थिएन, मलाई रहर थिएन। पारीणाम स्वरुप लोग्ने अरु कोही स्त्रीसँग शारीरिक सुखको लागि जान्थ्यो शायद मानसिक शान्तिको लागि पनि। मलाई थाहा थ्यो हप्ताको २-३ रात उ गायब हुन्थ्यो। हाम्रो कोठा छुटिसकेको थ्यो। अमेरिका आएपछी हामी दुई सन्तानको अभिभाबक मात्रै थ्यो, समाजको लागि पर्फेक्ट परिवार, भित्री रुपमा म टुटिसकेकी थिए। त्यसैले साँझ हुनासाथ अली अली पिउन सुरु गरेकी थिए, पछी बानी पर्न थाल्यो र बेहोश हुन थाले। एकचोटि उपचारको लागि रिह्याबमा पनि बसे। रक्सी छोडेपछी झन झन गार्हो भयो। मन अती उदास के? केही गर्न मन नलाग्ने, कोही सँग बोल्न मन नलाग्ने, मनमा खुशी नहुने। बिहान ब्युझिन पनि नपरे हुन्थ्यो जस्तो। तर काममा जादा केही भुलिने, म आँफै डिप्रेसनको बिरामी भए। मेरो थेरापिस्ट्ले औशधी खानु पर्छ भन्छ, तर म अौशधीको भरमा यो बेकारको जिन्दगी लम्बाउन चाहन्न। मेरो आबश्यक्ता कसैलाई छैन, मैले आँफैले जन्माएको सन्तानलाई पनि मेरो वास्ता छैन। म के को लागि बाँच्ने?" "के भन्नु भएको त्यस्तो? तपाइको आबश्यक्ता छ, मेरो लागि, अनी म जस्तै अरु धेरै बिरामीहरुको लागि। तपाईंको हामीलाई आबश्यक्ता छ। यती धेरै दु:ख हुँदाहुँदै पनि तपाईं हाम्रो दु:ख सुन्नु हुन्छ, हामीलाई बाँच्ने उत्साह दिनु हुन्छ। म औशधी खादिन तर तपाईंले त्यो थाहा पाएर पनि उपचारको लागि प्रेरणा दिनु हुन्छ। हाम्रो जिबनको अर्थ आफ्नै परिवारको वरिपरि रहेर आफ्नै लागि बाच्दैमा साकार हुँदैन। हामी अरुको लागि बाच्नु झन ठुलो कुरा हो।" "त्यो त तिमीले भन्ने कुरा हो। तर यति ठुलो संसारमा म एक जना मरेर कुनै फरक पर्दैन। बास्तबमा भन्ने हो भने हामीलाइ जन्म दिने आमाबुबा बित्दा पनि हामी बाँचिरहेका छौ। आफुलाइ माया गर्ने मान्छे गुमाएर पनि हामी हासिरहेकी छौ। मनमा त्यो रित्तोपन छ नि हो त्यो एक्दम फैलिरहेको छ, त्यसलाइ रोक्नै सक्दिन।" "हेर्नुस्, मिस! मलाइ थाहा छ, त्यो रित्तोपन कति गार्‍हो हुन्छ, अनुभव गर्नलाइ। म हरेक बिहान त्यहिसङ ब्युँझन्छु, र रक्सी ले भर्न खोज्छु त्य्सलाइ। परिणाम स्वरुप म झन धेरै रित्तिन्छु अर्को दिन। यो क्रमिकता चल्दैछ। तर तपाइ म जस्तो होइन, न घर, न परिवार न त जिन्दगीको ठेगान भएको। तपाइसङ सीप छ, अरुलाइ मद्दत गर्ने चाहना छ। तर त्यो भन्दा पहिले तपाइले आफ्नो हेरबिचार गर्नु जरुरी छ। यदि चाहनु भयो भने फेरि पनि उपचारमा जान सक्नु हुन्छ। यो लत हो रक्सीको तर मनको उपचार गरेपछि रक्सीको नशा आबश्यक हुदैन। तपाइकै शब्द सापट लिदा म के भन्छु भने औशधीले मद्दत गर्छ, थेरापि पनि चाहिन्छ। बर्सौ पुरानो घाउहरुमा मल्हम् लगाउनु पर्छ। उपचार गर्नु पर्छ तपाइले। म जस्तो हरेश खानु हुदैन।" "तिमी यस्तो राम्रो कुरा बुझेकी मान्छे तर आफ्नो जिबनमा यी सबै कुरा किन लागु गर्दैनौ। तिमीलाइ रोगको बारेमा थाहा छ, ट्रमाको बारेमा थाहा छ, उपचारको बारेमा पनि थाहा छ। तर तिमी किन औशधी खादेनौ।" "म निको हुन चाहन्न। मेरो अर्को पनि रोग छ।" "के रे? तिमीले त मलाइ कहिले भनेनौ।" "मेरो मुड हाइ र लो हुन्छ। हाइ हुदा रक्सी खान्छु र मुडलाइ नर्मल बनाउन खोज्छु। जब लो हुन्छ, म मेथ युज गर्छु, किनकि फेरि मेरो मुडलाइ नर्मल बनानुन खोज्छु।" "समी, तिमी आफै अौशधी गर्छौ रक्सी र ड्रग्स् युज् गरेर?" "मेरो रोग नै त्यस्तो छ। म सुपर् म्यानिक हुन्छु कहिले, कहिले धेरै डिप्रेस्सनमा हुन्छु। म कहिले नर्मल हुन सक्दिन तपाइ जस्तो।" "बाइपोलार डिसर्डर हो? त्यस्को पनि उपचार छ, समी!" "एक्ज्याक्ट्ली, सबै रोगको उपचार छ तर हामीमा आफु निको हुने चाहना पनि त हुनु पर्यो।" "त्यो त हो! तर हामी Denial मा बस्छौ।" "रोगलाइ हेर्दा त्यस भन्दा अघि हामी मानब हौ भन्ने कुरा पनि बिर्सन्छौ। अनि कसरी स्वीकार गर्न सक्छौ, मानसिक स्वाथ्यलाइ।" "यही कुरा त हामीले समाजलाइ बुझाउन सक्नु पर्छ, तिमीले, मैले सबै मिलेर मानसिक स्वास्थ्य पनि शारिरिक स्वास्थ्य जस्तै ण् छ भनेर भन्न सक्नु पर्छ।" "हेर्दा हेर्दै तपाइको अनुहारमा कस्तो चमक आयो। देख्नु भयो तपाइ किन आबश्यक छ हामीलाइ, अनि यो संसारलाइ?" "साँच्चिनै जब कोहि रक्सीको लतमा लाग्छ वा ड्रग्स् युज् गर्छ। परिवारले, समाजले उसलाइ लत बाट छुटाउन मात्रै चाहन्न्छ। तर मनभित्र के भएको छ हेर्ने प्रयास गर्दैन। बिभिन्न मान्छेको बिभिन्न थरी मानसिक समस्या हुन सक्छन्। ती मानसिक समस्याको पनि उपचार गर्नु पर्छ। लत छुटे पनि मन त बिमारी नै छ भने फेरि relapse हुन सक्छ। हामी यही कुरा समाजलाइ बुझाउन सकि रहेका छैनौ।" "तपाइले ठिक भन्नु भयो। मनको पत्र पत्र केलाउनु पर्छ, कस्तो घाउ छ, कसरी निको पार्नु पर्छ, सबै उपचार गर्नु पर्छ। अबश्य पनि रक्सी र ड्रग्स् को लतको पनि उप्चार गर्नु पर्छ। तर एउटाको उपचार गर्यो अर्को वास्ता गरेन भने, ट्रिट्मेन्ट् सफल हुदैन।" "रात परिसकेछ। कस्तो याद आयो।" "कसको?" समी छक्क परी। "त्यही सधै साथ दिने साथीको" "हेत्तेरी, मिस पनि। झन् म भुल्न खोज्दैथे आज।" "तिम्रो साथीको नाम के नि? मलाइ त तकिलाको याद अैरहेछ। कोहि नहुदा हुने साथीलाइ बिर्सन त गार्है हुन्छ होला, है समी?" "म बियर मन पराउछु। गार्हो त हुन्छ नि तर तपाइले चाही कोशिश गर्नु पर्छ।" "तिमी नि?" "म पनि त्यही सोच्दैछु।" समी बल्ल अलिकति हांसी। "भोलि अर्कै दिन होला नि, केहि त फरक होला।" "भोलि नभए पनि पर्सि त अबश्य फरक दिन हुन्छ।" हामी दुबै भोलिको वा पर्सीको नया बिहानीको आशामा थियौ। तर बिहानी अघी यो रात काट्न त्यतिकै मुश्किल छ। समाप्त!

crazy_love · Apr 24, 2024 10:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion