अपुरो कथा………..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अनिदो नै उसको बिहानी भयो आँखामा सपना विस्मित थियो ऊ सोचमग्न भयो- धेरै भएछ उसले सपना नदेखेको देखोस् पनि कसरी ? कुनै रात ऊ निदाएकै छैन सपना देख्न त निदाउनु पर्छ तर ऊ त छटपटीमा हुर्केको मान्छे अशान्त मन लिएर भड्केको मान्छे इच्छाहरू दबाएर बाँचेको मान्छे जति पाए पनि रित्तो तड्पेको मान्छे अनि कसरी ऊ निदाउन सक्थ्यो सारा व्यथा र वेदनालाई सुटुक्क भुलेर यसरी नै छटपटीमा उसको बिहानी हुन्छ यसरी नै ऊ अनिदो लम्पसार सुत्छ; सधैँ ।आँखा खोलेर एक नजर घुमायो उसले रातभरि सिरेटोको पीडाले आत्तिएर बिहानीको अनुरागसँगै निदाएको एउटा अनुहार छेउमा उसलाई गिज्याइरहेको थियो उसको मनमा चिसो पस्यो ठूलो मान्छे बनाउन छोरालाई उसले ‘बोर्डिङ्’ हालेको छ आज ‘फी’ नबुझाए स्कुलबाट निकाल्ने धम्की छ ऊ सोच्छ- घरमा कति रुपैयाँ होला ? फेरि सम्झन्छ- त्यो पैसाले त चामल पो किनेको ! जति गरे पनि खानै नपुग्ने… ऊ पापी पेटलाई सराप्छ र, छोरालाई हेर्छ एक नजर उसको कोमल मुहारमा कठोर भविष्य देखापर्छ ऊ विचलित हुन पुग्छ मनको बाँध फुटेर उसका आँखा रसाउँछन् तर कर्तव्यपथमा दृढ ऊ आफैँ सम्हालिन्छ मनमनै गुनगुनाउँछ— म कहिल्यै हारेको छैन र हार्दिनँ म कर्तव्यबाट चुकेको छैन र चुक्दिनँ म मानव संवेदना बोकेको प्राणी हुँ मैले बाँच्न जानेको छु भने बचाउन पनि सक्छु यति सजिलै म हार्दिनँ; ऊ जुरूक्क उठ्छ । आशा अभिलाषाका तानाबाना वरिपरि घुम्छन् ऊ किञ्चित् विचलित नभई पाइला सार्छ दिनभर इच्छा र आकांक्षासँग लडिरहन्छ ऊ जित्छ यसैमा ऊ असाध्यै खुसी मनाउँछ तर अचानक उसका बाटाहरू बन्द हुन्छन् ऊ बीच सडकमा अलमल्ल पर्छ अगाडी बढ्न उसको सामर्थ्यले भ्याउँदैन ऊ अघिको पर्खाल ऊ भन्दा दह्रो छ थकित ऊ असफल हुन्छ फर्कनु बाहेक उसको कुनै विकल्प हुँदैन ऊ कराउँछ, चिच्याउँछ अनि रुन्छ एक्लो ऊ गन्तव्यहीन हुन पुग्छ अन्तत: ऊ आँफैँमा हार्छ नमीठो हार लिएर ऊ रित्तो फर्कन्छ बीच बाटोबाट । थाहा पाएदेखि उसले कहिल्यै हाँस्न पाएन आँसुमा हाँसो खोज्न उसले जानेन ऊ सपनासँग नाता तोडेको मान्छे इच्छाहरूलाई उसले कहिल्यै छाती बाहिर निकालेन ऊ स्वाभिमानी थियो कसैसँग उसले कहिल्यै भिख मागेन उसले कुनै खुसी हाँस्नु थिएन उसले कुनै स्वप्न सजाउनु थिएन उसले कुनै महत्वाकांक्षा पूरा गर्नु थिएन तर पनि ऊ हार्यो जिन्दगीको यो यात्रामा ऊ पूरापूरी गल्यो लामो सुस्केरा हालेर ऊ थ्याच्च बस्यो एउटा तीतो आत्मावाज उसले सुन्यो— छोराको ‘फी’..! उसको आत्मा डाँको छोडेर रुन थाल्यो ऊ नराम्ररी पछारियो सधैँ सत्यको पक्ष लिने उसले अरू कुनै विकल्प जीवनमा खोजेको थिएन आफैँलाई धिक्कार्नु सिवाय उसले कुनै अर्को उपाय देखेन । साँझको त्यो झ्याउँकिरीको आवाजसँगै पर साइँलीको भट्टीमा ठूलो हल्ली खल्ली थियो ऊ निकैबेर सोचमग्न उभिइरह्यो लामो समयको अन्तराल पश्चात उसका पाइलाहरू त्यही भीडमा विलीन हुन पुगे ।

Smriti-malla · Dec 19, 2022 2:36 PM · 6,420 views

2 Replies

साँझको त्यो झ्याउँकिरीको आवाजसँगैपर साइँलीको भट्टीमा ठूलो हल्ली खल्ली थियो ऊ निकैबेर सोचमग्न उभिइरह्यो लामो समयको अन्तराल पश्चात उसका पाइलाहरू त्यही भीडमा विलीन हुन पुगे । जस्तै स्‍मृति मल्लजीले लाखौं प्रयास बावजुद पनि साझामै आएर आफ्नो मनको बिलौना पोखेजस्तै... अन्तमा he/she wants to be heard नि। त्यही हो। मनको बह कसैसित नकह भन्थे, बुढापाका। स्‍मृति मल्लजी, आफ्नो real IDमा आउने गर्नुपर्‍यो हजुर। कति दिन यस्तो लुकामारी खेल्न हुन्छ हँ?

Bennedict · Dec 20, 2022 2:15 PM

Yo Kabita Smriti Malla ki Nir Shrestha ki kunni kun chahi Poudel?

chicagoan · Dec 20, 2022 8:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion