म सड़कको बालक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म, “म” हुँ बिन्ती मलाई मेरो नाम नसोध म लुक्न खोजेको हैन , मलाई गलत नसोच मेरा आङका दागहरुको रहस्य नखोज तिम्रा खाली पाना भर्न मेरो कथा नरोज बिन्ती मलाई मेरो नाम नसोध । टाढैबाट चिलले शिकार ताके जस्तो स्यालहरुले सिनो साचे जस्तो यी मान्छेका आँखा, अनि ती आँखाभित्र लुकेका आँखीझ्याल, प्रष्ट देखिन्छन् गिद्दहरुले भरिएको यो आकशमा पंख फिजाएर उड्न नसक्ने सानो गौथली म मेरो आफ्नै गुड पनि छैन मलाई बादल छुनु छैन त्यो उचाईसम्म पुग्ने मेरो हैसियत हैन। म जब आँखा खोल्छु , वरिपरि सिनो गनाउछ छेउछाउमा कुकुरहरू कराउँछन् सडकको पेटीबाट मलाई लात्तीले हान्दै पर भाग भन्दै अराउछ मन, मनै थर्काउछ तर मुख बोल्न डराउछ , हो मेरो परिचय त्यही निर हराउँछ । ती सुकिला मुकिला, अनुहारमा मखोटा लगाएका दस थरी पहिरनले सजाएका, यी निर्जिव पुत्ला बजारको चोकचोकमा डेरा जमाएर बसेका छन् ती चमिक्ला सिसाले मेरो बस्त्र छर्लङ्ग ऐनामा उतार्दा म आधा शरीर नाङ्गो छु, खुट्टा खाली छन् पैताला फाटेका छन्, म रित्तो छु - त्यो प्रष्ट छ हो, यो समाज भ्रस्ट छ । फालेको फ़ोहोरभित्र म मेरा दुई छाक खोज्छु पसल अगाडि उभिएर मन पर्ने खेलौना म पनि रोज्छु अहिले त सानै छु, पाखुरामा मासु लगेको दिन म पनि आफ्नो घर आफै खोज्छु भन्दै मन मनै सोच्छु म मलाई जन्म दिने मेरा बाआमा कहाँ गएर खोजु? तर सबैले भन्छन् म धर्तीको बोझ हुँ त्यसैले म “म” हुँ, बिन्ती मलाई मेरो नाम नसोध । म हराएको यात्री, सायद नहराएको भए यी सडकहरुले मेरो ठेगाना सोध्दै हाँगा फिजाएर मलाई एक पछि अर्को बाटो देखाउदैन थिए होलान् , समुन्द्र खोज्दै बग्छ खोला पनि म त बोटमै सुकेर झरेको पात रैछु , हावाले जता बगाउँछ म त्यतै बहन्छु । म खाते हैन , मैले मेरो बध्यताको लागि आफ्नो चाहानाहरु साटेको छैन यी पैतलाहरु यतिकै फाटेका हैनन् मेरा सपनाका डोरी आफै चुट्टिएका हुन्, मैले आफै काटेको हैन। असारमा पानीले कुट्छन् , माघमा चिसो सिरेटोले चुट्छन् अनि गर्मीमा पसिनाले आँसु पुस्छन् छाहारी खोज्दै कुद्छु म जब आकशमा बादल फुट्छन् म भागेको भागै देखेर, माग तलाई जे माग्नु छ भन्दै प्राय रात आकशमा तारा तुट्छन्। मलाई कसैको आफन्त बन्नु छैन्, मलाई मेरो बिगत खन्नु पनि छैन् न मलाई भविष्यको कर छ, न मलाई आफ्नै भर छ तर हात फिजाएर नजिक जाँदा मलाई मेरो नाम सोध्छन् मेरो इज्जतमा औंला उठाउँदै मेरो परिचय खोज्छन् मेरो कर्मलाइ दोशछन्, थाहा छैन् यिनीहरु मलाई के के सोच्छन् तर म “म” हुँ, बिन्ती मलाई मेरो नाम नसोध । बिसौनीमा बसी आउने जाने हरेक यात्रुको मुहार हेर्ने गर्छु हरेकको आँखा पढ्ने कोसिस गर्छु मौसम बदलिन्छ, म पनि एक ठाँउबाट अर्को ठाँउ सर्छु कलिलो छु तर यो बुझ्छु कि पैसा भए रहर आफ्नो अनि सहर आफ्नो, नत्र यहँ को साथी अनि को आफ्नो । यो बनावटी संसारमा, मायाजालको भन्सारमा दैव पनि शान्त छन् मैले नखोजेको हैन बोल्न, मनका व्यथा खोल्न मन्दिर अगाडि घुँडा टेकेर म कति पल्ट रोइन सिर झुकाएर मान्छेको खुट्टा कति पल्ट छुइन तर कसैले आस्वासनसम्म पनि दिएनन् कसैले पनि मेरो कुरा मनमा लिएनन् । त्यसैले सुन चरी तिमी उडी गई माथि भनीदेउ तिम्रो अदृश्य दैवलाई तिम्रो एउटा रचना तिमीले रचेको संसारमा एक्लै डुब्न लाग्यो है, हो देख्ने आँखा पाएको छु, लेख्ने हात पाएको छु कति ठाँउ प्वाल होलान् तर इज्जत ढाक्ने कपड़ा मैले पनि लाएको छु मिठो नमिठो, सडेको डढेको जस्तो होस्, कम्सेकम खाएको छु कति अन्जान ठाँउ म हिडेरै गएको छु हो यसमा खुसी छु कि जस्तो होस् आखिर जिन्दगी त पाएको छु । मैले टेकेको धरातलले कहिले मसँग मेरो परिचय मागेन यो बहने हावाले कहिले मलाई अरुसँग दाँजेन घामले एउटै राप दियो मेरो अस्तित्वमा कहिल्यै बाधा हालेन समयसँग मौसम बदलियो, तर मलाई पनि अरु जस्तै बदलिनु पर्छ भनेर इशारा मागेन एउटै प्रश्न छ मेरो, आखिर यो समाजले मलाई किन स्वीकारेन ? हो कमजोर छु म किनकी म एक्लै छु म एक्लै भएको देखेर संसार हाँसेको म देख्दै छु कस्ले मेरो चरित्रमा प्रश्न गर्यो र कस्ले मेरो हैसियतमा? म भित्रभित्रै सबै कुरा लेख्दै छु मेरो पनि दिन आउँछ भन्दै चिसिएको मुटु धैर्यताको रापले सेक्दैछु औला उठाउने हातहरुलाई म परैबाट छेक्दैछु म यस्तै छु, जस्तो छ समाज, म त्यस्तै छु । म खोज्दै छु मेरो नामको अर्थ यो जात र धर्मले बेरिएको संसारमा सायद मेरो परिचय होला व्यर्थ, न धेरै सम्पती कमाउनु छ, न कमाउनु छ नाम मलाई आँखामा आँखा जुधाएर हेर्न सकु यति भए पुग्छ मलाई हेपेर बोल्ने समाज अनि औकातको आड दिने तँलाई होस् मा ल्याइ एक दिन भन्नु छ मलाई “मेरो नाम किन चाइयो तँलाई?” Smriti malla Last edited: 07-Dec-22 01:49 PM Last edited: 07-Dec-22 01:49 PM

Smriti-malla · Dec 4, 2022 1:16 PM · 4,592 views

1 Reply

तँ 'तँ' हो, अरु कोही हैन, नामै नभाको त मान्छे कोही छैन  नामै नराखेर को मात्र हिन्ला र?  ब्यर्थको तर्कले हामीलाई के जित्ला र?  भन्ने आफुलाई सडकको बालक अरे,  बोली सुन्दा त ग्रस्त छ एट्टिट्युडले  औकात त कमाउनुपर्छ होला हो  रुन्चे कबिताले पार नलाग्ला पो। Last edited: 07-Dec-22 02:10 PM

Bennedict · Dec 7, 2022 2:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion