गरिबको छोरो, दिपेन्द्रको साथी, प्रधानमन्त्रीसँग टक्कर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गरिबको छोरो, दिपेन्द्रको साथी, प्रधानमन्त्रीसँग टक्कर   २०७७ भदौ ७ गते २१:१५       रामकृष्ण पाैडेल 18.2k 447 तेह्रथुमको अति गरिब परिवारमा जन्मेका । छात्रवृतिमा बुढानीलकण्ठबाट स्कुल तह र ए-लेवलको शिक्षा हासिल गरेका, छात्रवृतिमा नै बेलायतबाट फिजिक्समा डिग्री हासिल गरेका । त्रिभुवन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका । बुढानीलकण्ठमा २६ वर्ष शिक्षण गर्दै प्रिन्सिपलबाट अवकाश लिएका र हाल काठमाडौं वर्ल्ड स्कूलमा प्रिन्सिपलको जिम्मेवारी समालेका केशरबहादुर खुलालको जीवनी असल नागरिकका लागि प्रेरणादायी छ । उनको जन्म २०२७ सालमा तेह्रथुमस्थित छतरओर्खेमा भएको थियो । त्यो गाउँमा धनी परिवारले पनि आफ्ना उत्पादनले बढीमा ६ महिना मात्र पेटभरी खान पाउँथे । धेरै परिवारमा ३/४ महिनाको लागि मात्र पुग्ने अन्न खेतबारीमा उत्पादन हुन्थ्यो । बाँकी अवधि फर्सी, सखरखण्ड, फलफूल खान्थे । रासायनिक मल प्रयोग हुन थालेपछि उनीहरुको जीवनस्तर उकासिँदै गयो । तीन दिदी, एक दाइ, केशर कान्छो । बुबा धेरै जसो कामको लागि भारततिर जाने । आमा गृहिणी, छोराछोरीको लालनपालनमा खट्ने । परिवारका सबै सदस्य निरक्षर । ‘बुबाको सानिमाको छोरा प्राविको मास्टर । उहाँको छोरा मेरै उमेरको । उहाँले बुबालाई के भन्नुभएछ भने कान्छोलाई अक्षर चिनाउने भए म कहाँ पठाईदिनु । मेरो छोरालाई सँगै अक्षर चिनाउँछु’ खुलालले आफ्नो शिक्षाको प्रारम्भ सुनाउँदै भने ‘बुबाले मलाई पठाउनु भयो । त्यहि मैले काठको फल्याकमा माटोको धुलो राखेर क ख ग चिनेको, कोरेको । त्यहीको स्कूलमा हामी पढ्न जान थाल्यौँ । स्कूल जाँदा पाटी र रातो माटोको डल्लो बोकेर जानुपर्दथ्यो । सबैको चलन त्यही । आ-आफ्नो पाटी अगाडि राख्यो । माटोले क ख ग लेख्यो । त्यसरी चिनेको मैले अक्षर ।’ ६ महिनापछि खुलाल घर फर्के । त्यसपछि बुबाको सानिमाको छोराको घर जान मन लागेन । ‘कारण मलाई नै थाहा छैन’ उनले भने- ‘सायद केटाकेटीको लागि घर नै रमाइलो भयो होला ।’ उनी छिमेकी दाजुहरुको पछि लागेर घरबाट करिव एक घण्टा टाढा रहेको नवीन शिक्षा सदन, थाक्छामारामा पढ्न जान थाले । ५ महिना एक कक्षामा पढे । वार्षिक परीक्षा आयो । तर परीक्षा दिन पाएनन् । कारण बुबाले स्कूलमा नाम लेखाइदिनु भएको रहेनछ । ‘घरमा आएर कुरा गरेँ। भोलिपल्ट बुबा स्कूल गई एक जना शिक्षकलाई भनी नाम लेखाईदिनु भयो । बाँकी परीक्षा दिएँ । त्यही स्कूलमा नियमित पढ्न थाले’ खुलालले एकसरो आत्मकथा सुनाउँदै गए । त्यही क्रममा बुढानीलकण्ठ स्कूलबाट छात्रवृतिको लागि एक टोली विद्यार्थी छान्न तेह्रथुम पुग्यो । त्यतिबेला बुढानीलकण्ठ स्कूलले प्रत्येक वर्ष २५ जिल्लाबाट राम्रो पढाई भएका तर विपन्न परिवारका केटाकेटीलाई छात्रवृति दिएर विद्यार्थी छनौट गर्दथ्यो । ‘पढाई राम्रो थियो । कक्षामा प्रथम हुन्थेँ । शिक्षकहरुले मलाई छात्रवृतिको लागि जाँच दिन जान भन्नुभयो । म गएँ । जाँच दिएँ । फर्किएँ ।’ बालपना सुनाउँदै उनले भने-  ‘एक जना शिक्षकले मेरो घरको बारेमा सोधेर फर्म पनि भर्नु भएको थियो । सोधेको कुरा भनेको थिएँ । त्यहाँ के भइरहेको छ, मलाई थाहा थिएन ।’ त्यसको ५/६ महिनापछि बुबालाई आवा (टेलिग्राफ) आयो । त्यसको सन्देश थियो ‘छोरा छात्रावृतिको लागि सूचिमा परेको छ । जिल्ला शिक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई भेट्न जानु ।’ ‘सीडीओलाई भेट्नु भनेपछि बुबा आत्तिनु भयो । तर गाउँमा भारतीय मुलकका एक शिक्षक हुनुहुन्थ्यो । त्यो क्षेत्रकै सबैभन्दा सम्मानित व्यक्ति । उहाँले बुबालाई सबै बताइदिनु भयो । छात्रवृति पायो भने छोरोले काठमाडौंमा पढ्न पाउँछ, पछि धेरै राम्रो हुन्छ भनेर बुझाउनु भयो’ अनविज्ञताको अवस्था सुनाउँदै उनले भने- ‘त्यतिबेलासम्म मलाई पनि काठमाडौं भनेको थाहा थिएन । बुबालाई पनि थाहा थिएन । त्यो गाउँबाट हाम्रो हेडमास्टर बाहेक कोही पनि काठमाडौं आउनु भएको रहेनछ ।’ बुबाले सीडीओ भेट्नु भयो । सीडीओले के कस्तो छ भनेर सोध्नु भएछ । ४ जना सर्टलिष्टमा छोराको नाम परेको, त्यसबाट पनि एक जना छनौट हुने कुरा जानकारी दिनुभएछ । बुबा घर फर्कनुभयो । त्यसको २ महिनापछि म छनौटमा परेको खबर आयो । ‘पढाईको हिसावले चारै जना राम्रो तर अति विपन्न परिवारको बच्चा भनेर मलाई छनौट गरिएको रहेछ’ पछि आफूले बुझेको कुरा खुलालले सुनाए । त्यसपछि गाउँमा उनको खुबै चर्चा भयो । ‘राजाले छानेको, राजाको स्कूलमा पढ्न पाउने भयो, यस्तै यस्तै ।’ ९ वर्षको उमेरमा नै उनी काठमाडौं आउने भए । काठमाडौंमा त जाने तर कसरी ? खुलालको परिवारलाई थाहा थिएन । हेडसरले दुई/तीन दिन हिँडेर धरान जानुपर्ने र धरानबाट बस चढेर काठमाडौं जानुपर्ने बताएका थिए । अब खर्च कसरी जुटाउने ? खुलालको परिवारमा अर्को समस्या उर्जागर भयो । फेरी हेडसरले बुढानीलकण्ठ स्कूलमा चिठ्ठी लेखिदिनुभयाे- ‘खर्चको समस्या भयो भनेर ।’बुढानीलकण्ठ स्कूलले बाटो खर्च भनेर १०० रुपैयाँ टेलिग्राममार्फत पठायो । धरानबाट काठमाडौं आउन बस भाडा ७४ रुपैयाँ लाग्ने रहेछ । ‘मलाई आउन खर्च पुग्यो । बुबाको लागि आफैले जो गर्नुपर्यो’ घट्नाक्रम बताउँदै उनले भने- ‘आसामका आफन्तले आफ्ना छोराछोरीलाई छोटो भएपछि बुबालाई पठाइदिएका पुराना कपडा लगाएर म काठमाडौं आएको थिए ।’ ‘बुढानीलकण्ठमा मलाई जिम्मा लगाएर बुबा फर्कनु भयो । म ४ कक्षामा पढ्न थालेँ’ उनले भने- ‘त्यतिबेला राजाको छोरो बुढानीलकण्ठमा पढ्छन् भन्ने ठूलो चर्चा थियो । तर राजाको छोरा को हुन् मलाई थाहा थिएन । ३/४ महिनापछि मैले थाहा पाएँ, मेरो कक्षाको साथी दिपेन्द्र राजा विरेन्द्रको छोरा रहेछन् ।’ उनी आश्चर्यमा परे । ‘मैले राम्रो अवसर पाएको छु । राम्रो पढ्नुपर्छ । मेरो दिमागमा त्यति थियो ।’ उनी भन्छन्- ‘मैले अन्य अवसरहरु उपयोग गर्न जानिन । अहिले मेरा विद्याथीहरुलाई भन्छु, पढ्नु पर्छ, पढाईलाई प्राथमिकतामा राख्नुपर्छ । तर अरु अवसर पनि सदुपयोग गर्दै जानुपर्छ ।’ १० कक्षा पढ्दै गर्दा एसएलसी पछि ए-लेवल पढ्ने धोको पलायो । उनी पढाईमा अझ केन्द्रीत भए । एसएसलीको रिजल्ट आयो । केशर बहादुर खुलालले ७४ प्रतिशत अंक ल्याए । दिपेन्द्रको नम्बर ७२ प्रतिशत आयो । ‘दिपेन्द्र पढाईमा तगडा नै थिए । पढाइ बाहेक उनी अरुमा पनि तगडा थिए । उनको स्वभाव अरु विद्यार्थी जस्तै थियो । पढ्ने, खेल्ने, बद्मासी गर्ने ।’ उनले भने । उनले यति भनेपछि हाम्रो कुराकानी दिपेन्द्रतिर मोडियो । दिपेन्द्र कस्ता थिए ? दरवार हत्याकाण्डमा उनको संलग्नताको सम्भावना के हो ? दिपेन्द्रका प्रेमिका को हुन् ? दरवारले दिपेन्द्रको विवाह कोसँग गराउन चाहन्थ्यो ? प्रश्नहरु मनमा उब्जिए । कुराकानीको क्रममा खुलालले दिपेन्द्रलाई ‘ऊ, आउँथ्यो, भन्थ्यो, सुनाउँथ्याे’ जस्ता शुन्य आदरार्थी शब्द प्रयोग गरेका छन्, जसले उनीहरु बीचको तँ, ऊ लेवलको साथी सम्बन्धलाई संकेत गरेको छ । कक्षा ४ देखि एसएलसीसम्म सँगै पढेकाले त्याे स्वभाविक पनि हाे । ‘म बुढानीलकण्ठको टिचर भएर आएपछि पनि ऊ भेट्न आउथ्याे । उसलाई पनि म ठूलो मान्छे भन्ने सोच थिएन । दिपेन्द्र राज परिवारको पहिलो सदस्य हो जसले सर्वसाधारणसँग हात मिलाउने, अंकमाल गर्ने गर्दथे । हामी सबै बराबर भन्ने शिक्षा उसलाई बुढानीलकण्ठले दिएको हो’ दिपेन्द्रको आनीबानीबारे संक्षेपमा खुलालले टिप्पणी गरे । दिपेन्द्र र दिव्यानी सम्बन्ध  सहपाठीले युवराज दिपेन्द्र राम्रो मान्छे थिए भन्दै गर्दा १९ जेठ २०५८ को दरवारहत्याकाण्ड स्मरण गर्नै पर्यो । जहाँ दिपेन्द्रले गोली चलाएको सरकारी रिपोर्ट छ । खुलालले पत्याएका छन् त ? प्रश्न उठ्यो । ‘त्यतिबेला पनि मैले केही पत्रकारलाई अन्तरवार्ता दिएको थिएँ । त्यतिबेलादेखि अहिलेसम्म मेरो एउटै विचार छ । दिपेन्द्र साधारण मान्छे हो । उनी युवराज भएकोले हामीले धेरै अपेक्षा गर्नु अर्को पाटो भयो । मैले धेरै स्कूल र कलेजहरु भिजिट गरेँ, पढाएँ । सबै विद्यार्थीको उमेर, स्वभाव, गतिविधि उस्तै हुन्छ । ऊ पनि अरु जस्तै विद्यार्थी हो । एउटा विद्यार्थीले जस्तो बदमासी गर्दथ्यो, उसले पनि त्यस्तै गर्दथ्यो । ऊ भद्र भलाद्मी होइन । तर उसले गरेको बदमासी अरुलाई घात हुने प्रकृतिको पनि हुँदैनथ्यो । ऊ चञ्चले विद्यार्थी हो । १७/१८ वर्षको उमेरमा अरुले जे गर्छन्, दिपेन्द्रले पनि गर्ने त्यहि हो’ खुलाल बोल्दै गए । ‘तर म एउटा कुरा भन्छु । यदि दिपेन्द्र राजा भएको भए नेपालले जनतालाई बुझ्ने राजा पाउँथ्यो । त्यो हामीले गुमायौं’ उनले भने- ‘दिपेन्द्रलाई जनता बुझ्ने बनाउनु बुढानीलकण्ठको योगदान हो । तर उनी राजदरवारको संस्कारमा अभ्यस्त नहुनु पनि बुढानीलकण्ठको योगदान हो ।’ खुलालको अनुसार दरवारभित्रको विधि व्यवहारप्रति दिपेन्द्र असन्तुष्ट थिए । ‘दरवारमा त यस्तो गर्नुपर्छ, किन गर्नु परेको होला ? उसले प्रश्न गर्दथ्यो । ४०/५० वर्षका मान्छेहरु बसेका हुन्छन् । निर्णयको अपेक्षा मसँग गर्दछन् । मैले के निर्णय दिनसक्छु उनीहरुको लागि ? दिपेन्द्रले मसँग फ्रस्टेशनको कुरा गर्थ्याे । ऊ हामी जस्तै साधारण मान्छेको रुपमा प्रस्तुत हुन्थ्यो, युवराज जसरी होइन । उनले फेरी जोड दिए । ‘दिपेन्द्र राजा भएको भए, जनताको राजा हुन्थे । हामीले थाइल्याण्डको जस्तो प्यारो राजा पाउँथ्यौं ।’ युवराज दिपेन्द्र राजपरिवारसँग उसले परिवारको हत्या गर्यो वा गरेन त ? यो प्रश्नको विश्वासिलो जवाफ अब नआउने खुलालको विश्लेषण छ । दिपेन्द्रले हत्या गरेन भन्दा पनि एक थरिले पत्याउलान्, अर्को थरिले पत्याउँदैनन् । ‘गर्यो’ भन्दा पनि एकथरिले पत्याएका छन्, अर्काथरिले पत्याएका छैनन् । केशरबहादुर खुलालको निष्कर्ष छ- ‘उसले हत्या गर्ने सम्भावना पनि देख्छु, उसको नाममा अरुले हत्या गरेको त्यत्तिकै सम्भावना देख्छु ।’ दिपेन्द्रले हत्या गरेको सम्भावनाका आधार के छ ? खुलाल भन्छन्- ‘जे कारणले उसले गर्यो भनिएको छ नि, त्यो बारेमा उसको प्रश्न आईरहन्थ्यो । उसमा फ्रष्टेशन थियो । अरु सबैले आफूले छानेको बिहे गर्न पाउने, मैले किन नपाउने ? हामीसँग पनि उसले प्रश्न गर्थ्याे । दिव्यानीसँगको सम्बन्धको बारेमा दिपेन्द्रले कुरा गर्थे ? प्रेम सम्बन्ध कोट्याउने प्रश्न उठ्यो । ‘कुरा भाथ्यो । मसँग मात्र होइन, हामी साथीहरुसँग भाको थियो । ‘हैन अरु सबैले आफ्नो (श्रीमती) छान्न पाउने, मैले किन नपाउने ?’ उसको यो प्रश्न मलाई जायज लाग्छ, उसको एङ्गलबाट हेर्दा । तर हामीले हेर्दा ऊ त राजकुमार हो । ऊ राजाको छोरा हो । त्यसकारण उसले यसो गर्नुपर्छ, भन्छाैं । तर हामीले के बिर्सनु भएन भने ऊ पनि मान्छे हो, हाम्रा जस्तै उसको पनि चाहानाहरु हुन्छन् ।’ दरवारले दिपेन्द्रको विवाह कोसँग गराउन चाहेको थियो ? त्यसमा पनि रानी ऐश्वर्याले ?  दिपेन्द्रले साथीहसँग के कुरा गरेका थिए ? योपनि सहपाठीलाई मौका पर्दा सोध्नै पर्याे । ‘मैले सुनेअनुसार ‘गरिमासँग’ । गरिमा राणाले मेरै जुनियर पारस सिंहसँग विवाह गरिन्। पारसपनि बुढानीलकण्ठ कै प्रडक्ट हो।  मैले सुनेअनुसार गरिमाले शुरू मै दरवारसँग सम्बन्ध जाेड्न चाहेकी पनि थिइनन् ।’ मानिसहरु राजा महेन्द्रले नाति पढाउन बुढानीलकण्ठ खोलेका थिए भन्छन् । उनले फरक प्रसंग उठाए । ‘तर मलाई त्यस्तो लाग्दैन । नजन्मेको नातिका लागि भोटो कसैले पनि सिलाउँदैन । दिपेन्द्र त आठौं व्याचका विद्यार्थी हो । नातिको लागि नै बनेको थियो भने अर्कै भिजनमा बन्थ्यो । जतिबेला नेपालमा जातिय भेदभाव ज्यादै थियो, आर्थिक, समाजिक विभेद व्यापक थिए । त्यतिबेला राजा महेन्द्रले बेलायतकी महारानीसँग यी सबै विभेद अन्त्य गर्ने खालको स्कूल मागे’ खुलालको बुझाई छ कि- ‘ठूला मान्छेलाई भनेर विभेदको अन्त्य हुँदैन । साना केटाकेटीहरुबाटै विभेदको अन्त्य गर्न बुढानीलकण्ठ स्कूल स्थापना भएको हो ।’ पहिलो व्याचदेखि नै धनीको छोरा छोरी र अति तन्नमको छोराछोरी सबैले बुढानीलकण्ठमा पढेका उनले बताए । सबै जातजातिका छोराछोरी त्यहाँ आए । जात थाहा नहोस् भनेर नै बुढानीलकण्ठमा पहिलो नामले बोलाइन्थ्यो । नाम जुधेको अवस्थामा रोल नम्बरले छुट्याइन्थ्यो । आर्थिक हैसियत फरक नदेखियोस् भनेर उठ्दा देखि सुत्दासम्म एउटै ड्रेस लगाइन्थ्यो । राजाको छोरा दिपेन्द्रले पनि हामीले जस्तै लुगा लगाए । एउटै भान्छामा खाए । त्यही काठको कडा खाटमा कपासको डसनामा सुते । राजाको छोराको थर पनि खुलाइएन । ८३२ दिपेन्द्र, ८०४ केशर । स्कूलको पहिचान यत्ति हो । अहिले पनि यहि व्यवस्था छ । त्यहि भएर त ऊ राजाको छोरा रहेछ भनेर थाहा पाउन पनि धेरै महिना लाग्यो । दीपेन्द्र र केशर सामूहिक फाेटाेमा उनले फेरी महेन्द्रको तारिफ गरे ‘महेन्द्रले जति दुरगामी सोच र योजनाका साथ काम गरे, त्यसरी काम अहिले पनि भएको छैन ।’ बेलायतकाे यूनिभर्सिटी टपर फेरी हामी केशरको पढाईमा जाऔं । उनले बुढानीलकण्ठमा ए-लेवल पनि पढ्ने मौका पाए । त्यहि बेला बेलायत सरकारले बुढानीलकण्ठ स्कूल नेपाल सरकारलाई हस्तान्तरण गर्ने नीति लियो । बुढानीलकण्ठकाे लागि आवश्यक जनशक्ति नेपाल भित्रै तयार गर्ने व्रिटिस सरकारको प्रस्ताव राजदरबार र व्रिटिस काउन्सिलबाट स्वीकृत भएपछि नेपालमा पहिलो पटक ए-लेवलको पढाई शुरु भएको रहेछ । ए-लेवलमा टप फोरमा परेकालाई बेलायत सरकारको स्कलरशिपमा बेलायतमै व्याचलर पढाउने, टिचर्स ट्रेनिङ गराउने नीति थियो । बेलायत पढ्न जानुपूर्व फर्केपछि कम्तिमा ५ वर्ष बुढानीलकण्ठमा पढाउनै पर्ने सर्त मान्नुपर्दथ्यो । त्यतिबेला बीएससी गर्नु भनेको ठूलो कुरा थियो । मास्टर गर्नु पर्दैन थियो । स्कलरशिपमा बेलायत पढ्न जाने र फर्केर बुढानीलकण्ठमा पढाउनेतर्फ केशरको ध्यान केन्द्रीत भयो । ए-लेवलमा टप फोरमा पर्ने ध्ययसहित पढाईमा केन्द्रीत भए । ‘म्याथ त मैले बुझेर नै पढेको हो । फिजिक्स त पुरै घोकेर पढेको’ उनले भने- ‘रिजल्ट ठिकै आयो । म ७औं नम्बरमा परेँ ।’ स्कलरशिप टप फोरमा पर्ने ४ जनाले पाउने । उनी सातौंमा परे । चाहे जस्तो भएन । उनी एक वर्ष खाली बस्नुपर्ने भएको थियो । तर बुढानीलकण्ठमा भोलुन्टर टिचरको रुपमा पढाउने मौका पाए । ए-लेवलको परीक्षा दिएपछि नतिजा नआउँदासम्म सबै विद्यार्थीे विभिन्न देशका अब्बल कलेजहरुमा स्कलरशिपको लागि एप्लाई गरे । ‘ए-लेवलको टपरले क्यामव्रिज यूनिभर्सीटिमा स्कलरशिप पाए । म भन्दा अगाडिका अरु दुई जनामा पनि एक जना हार्डवर्ड र एक जना एमआईटी पुगे ।’ उनले भने- ‘अब म बेलायतको स्कलरशिपमा पढ्न पाउने भएँ ।’ केशरबहादुर खुलाल बेलायतमा गएर फिजिक्स पढ्न थाले । ‘जिन्दगीमा म पहिलो पटक ढुक्क भएँ । अब व्याचलर डिग्री पास गरि हालिन्छ । फर्केपछि बुढानीलकण्ठमा जागिर पक्का भईहाल्यो’, केशरले भने- ‘अर्को कुरा पनि त्यतिबेलै कन्फर्म गरेको हुँ, अब म जिन्दगीभर टिचर । किनकी ३ वर्ष व्याचलर पढ्ने । त्यसपछि एक वर्ष टिचर्स ट्रेनिङ लिने । त्यसपछि बुढानीलकण्ठमा ५ वर्ष टिचिङ गरेपछि अरु केही गरिँदैन ।’ बेलायत पढ्न थालेपछि उनलाई मनमा केही डर पलायो । कक्षामा उनी एक्लो विदेशी । उनी प्रति सबै टिचरहरुको एटेन्सन भयो । ‘फस्ट टर्ममा मैले ठिकै नम्बर पाएँ तर वार्षिक परिक्षामा म यूनिभर्सिटी टपर भएँ’, खुलाल भन्छन्- ‘त्यसपछि मलाई सबैले चिन्ने नै भए । बडाे खुशीका साथ पढाई सकियो । तीनै वर्ष म यूनिभर्सिटी टपर भएँ ।’ ‘विश्वविद्यालयको टपर थिएँ । मैले बेलायत वा अरु कुनै पनि देशमा अवसरहरु पाउन सक्थेँ । तर म आफ्नो प्रतिवद्धतामा अडिक हुने मान्छे । मैले ५ वर्ष बुढानीलकण्ठमा पढाउने प्रतिवद्धता लिखित रुपमा नै शिक्षा मन्त्रालयमा गरेको थिएँ । त्यसैले दायाँबाँयाँ सोचिन ।’ त्यसपछि एलेवलमा कसरी पढाउने भनेर एक वर्ष टिचर्स ट्रेनिङ लिएर उनी नेपाल फर्किए । फिजिक्स पढाउन थालेँ । साधारण टिचर्सबाट प्रमोशन हुँदै हुँदै प्रिन्सिपल भए । ‘प्रिन्सिपल पनि म खुला प्रतिस्पर्धाबाट भएको हुँ । प्रोफेशर डा. सुरेशराज शर्मा छनौट समितिको अध्यक्ष हुनुहुन्थ्यो’ उनले भने- ‘बुढानीलकण्ठमा २६ वर्ष पढाएँ । अन्तिम समयसम्म पनि मैले फिजिक्स नै पढाएँ ।’ पाठ्यक्रम निर्धारण समिति, परीक्षा नियन्त्रण कार्यालय लगायत शिक्षा क्षेत्रका विभिन्न निकायले उनलाई पटक पटक जिम्मेवारी पनि दिँदै आएको छ । ‘मलाई राष्ट्रले यो ठाउँमा ल्यायो । मैले सकेको राष्ट्रलाई सहयोग गर्नुपर्छ’ उनले भने । ‘मसँगै पढेका धेरै साथीहरु विदेशमै बसे । हामी थोरै मात्र नेपालमा छौं’ उनले भने- ‘मलाई लाग्छ राष्ट्रले म माथि लगाएको ऋण तिरेँ । अब आफूखुसी काम गर्न चाहान्छु ।’ उनी काठमाडौं आएको ४१ वर्ष भयो । पढाउन थालेको २७ वर्ष भयो । ‘संसारका धेरै देश घुमियो । धेरै कुरा देखियो, सिकियो । मान्छेलाई जति भएपनि पुग्ने रहेनछ’ उनले भने–‘मैले त अहिलेसम्म घर बनाउन पनि सकेको छैन । कहि न कहि व्यवस्था भएको छ । सरल तरिकाले बाँच्न पुगे भयो ।’ छोरी भारतमा ब्याच्लर पढ्दै छिन् । छोराले गत वर्ष ए-लेवल सकेका छन् । अहिले नर्थ वेष्टर्न यूनिभर्सिटीमा फूलस्कलशिप पाएर अमेरिका जाने तयारीमा छन् । ‘छोराछोरीको पढाई राम्रो छ । उनीहरु विस्तारै सेटल हुँदैछन् । श्रीमती जब गर्छिन् ।’ उनले परिवारिक जीवनबारे खुलाउँदै भने- ‘सपना ठूलो छैन । सानो परिवार, खुसी परिवार ।’ २६ वर्ष पढाएको । बुढानीलकण्ठकाे जागिर । प्रिन्सिपलबाट अवकाश लिएको । काठमाडौंमा घर बनाएको छैन भन्दा केही जिज्ञासा राख्नै पर्यो । किन र कसरी ? उनी खुल्दै गए । ‘बुढानीलकण्ठको टिचरलाई बस्न, खान, छोराछोरीलाई पढाउन सुविधा हुन्छ । हातमा पैसा धेरै आउँदैन’ उनले भने- ‘जति पैसा आउँछ, अलिअलि आफ्ना खर्च हुन्छन्, अलि अलि  घरमा खर्च हुन्छ । पहिलो कमाई बुबाआमाको ऋण तिर्नमा गयो । परिवारमा सानो तिनो सहयोग गर्दा मेरो कमाई सकिन्थ्यो । बुबालाई तराई झर्ने रहर भयो । अढाई कठ्ठा जग्गा किनेर सानो घर बनाई दिएँ । दाई निरक्षर हुनुहुन्छ । उहाँ पहाडमै हुनुहुन्छ । उहाँको लागि पनि मैले केही गर्न सकेको छैन । मैले राष्ट्रको लागि जति गरे, आफ्नाजनको लागि केही गर्न सकेको छैन ।’ ‘सम्पत्तिको नाममा  ६ आना जग्गा जोडेको छु । घर बनाएको छैन ।’ बैंक व्यालेन्स नि ? ‘छैन । नेगेटिभ छ । छोराछोरीको पढाईमा खर्च भयो ।’ ‘छोरो छोरीको पढाईमा अब खर्च हुँदैन । बुढानीलकण्ठमा भन्दा यहाँको कमाई अलि बढी पनि छ । अब बचत हुन्छ होला’ उनी भविष्यमा घर बनाउन सकिन्छ कि भन्ने आँटमा पुगेका छन् । जीवनको एक पाना उतारेपछि खुलालसँग अर्को प्रश्न साेधियो, ‘जीवन के हो ?’ ‘बढो गाह्रो प्रश्न’ उनले भने- ‘म दार्शनिक होइन । बाँच्ने कसरी ? के मा सन्तुष्ट हुने त्यसमा भर पर्छ ।’ ‘म भविष्यमा यसो गर्छु भनेर योजना बुन्ने मान्छे पनि होइन । जे आउँछ, त्यो गर्दै जाने । त्यसैले पनि म कतिपय ठाउँमा पछाडि परे कि जस्तो लाग्छ । दोस्रो, सानै देखि म सिद्धान्तमा हिड्ने मान्छे परे । त्यसले कतिपय ठाउँमा फाइदा गरेको छ । कतिपय ठाउँमा धोका पनि भएको छ ।’ ‘म पब्लिक रिलेशनमा कमजोर छु । भोलि यो मान्छे मलाई चाहिन्छ भनेर आजैदेखि भूमिका बाँध्ने काम म जान्दिन । त्यसले मलाई धेरै ठाउँमा धोका दिएको छ । तर मलाई पश्चाताप छैन’ उनी भन्छन्- दोस्रो, इमान्दार बन्नैपर्छ । जेमा पनि नढाँटी काम गर्नुपर्छ । घुम्दैफिर्दै एकदिन आउँछ ।’ सिद्धान्त आफैमा धेरै माझिएर, खारिएर आएको हुन्छ । सिद्धान्तमा नहिड्दा धोका पाउनेहरु धेरै छन् तर सिद्धान्तमै हिँडेकोले धोका कसरी भयो प्रिन्सिपल केशर बहादुर खुलाललाई ? प्रश्न स्वभाविक रुपमा उठ्छ । ‘सिद्धान्तमा हिड्नुपर्छ भन्नेमा म अडिक छु । बुढानीलकण्ठले हामीलाई त्यहि शिक्षा दियो । तर बुढानीलकण्ठमा पढेको विद्यार्थी बेलायत वा युरोपमा वा विधि र पद्धतिमा चलेको समाजमा सजिलै एडजस्ट हुन्छन् । तर नेपालमा हुँदैनन्’ उनले समाजको विकासको अवस्था र यहाँको प्रणालीमा खोट रहेको संकेत गर्दै भने । उनले भने- ‘मेरो समकक्षी वा मैले पढाएको विद्यार्थी सबैको एउटा निष्कर्ष छ कि अरु स्कूलमा पढेका विद्यार्थीलाई विदेशमा कल्चरल सक् हुन्छ, बुढानीलकण्ठमा पढेको विद्यार्थीका लागि नेपालमा कल्चरल सक् हुन्छ । त्यो मलाई पनि भएको छ । नेपालमा कसरी काम गर्नुपर्छ र कसरी काम गराउनुपर्छ भनेर सिक्न आफूलाई धेरै गाह्रो भएको अनुभव उनले सुनाए । ‘सहि काम गर, मिहिनेत गरे, त्यसको नतिजा राम्रो आउँछ, बुढानीलकण्ठमा हामीले सिक्यौं । तर नेपालमा यो लागू हुँदैन’ उनले निष्कर्ष सुनाउँदै भने- ‘नेपालमा चट्याइ, फट्याइ चल्छ, जान्नुपर्छ । बुढानीलकण्ठमा जे पढ्नुभयो र पढाउनु भयो, काठमाडौं वर्ल्ड स्कूलमा त्यहि पठाउनु हुन्छ कि चट्याइ, फट्याई ? प्रश्न उठायौं । ‘अहिले आएर जीवनमा जे जति सिकेँ त्यसको आधारमा म दुई कुरा पढाउँछु, एउटा फिजिक्स, जुन बुढानीलकण्ठमा जे पढाउँथे, त्यही पढाउँछु । दोस्रो, जीवनका कुरा पढाउँदा २६ वर्षमा जे सिकेँ, त्यो मिसाएर पढाउँछु । पत्रकार सुवास घिमिरे, विवेकशिल साझा पार्टीका उज्जवल थापा, त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन पेशा समेत गर्दै पोखरामा जलमहल होटल खोलेका दिनेश प्रसाई, डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य, चिकित्सक डा ज्ञानु आचार्य, डा गोपाल सापकोटा लगायत उनका विद्यार्थीहरु देशविदेशमा राम्रो स्थानमा पुगेका छन् । प्रधानमन्त्रीसँग टक्करबुढानीलकण्ठमा उनले जसरी पढ्ने मौका पाए, अरुको लागि त्यो मौका छ ? वा ठूलाबडाको हालिमुहाली ? उनीसँग अन्तिम प्रश्न गर्यौं । ‘बुढानीलकण्ठ राष्ट्रको सम्पत्ति हो । त्यसमा प्रधानमन्त्रीदेखि सामान्य नागरिकको हक बराबर छ’ उनले भने । ‘६ वर्ष म बुढानीलकण्ठको प्रिन्सिपल भए । त्यस अवधिमा कसैको भनसुन वा लोभ प्रलोभनमा पारेर विद्यार्थी भर्ना गराए भनेर कसैले एक जना पनि मेरो अगाडि उभ्याउन सक्दैन । यो मेरो च्यालेन्ज हो’ उनी जोशिए । पहुँचवालासँग ६ वर्षसम्म संघर्ष गरेको उनले बताए । ‘एक दिन तत्कालिन प्रधानमन्त्रीले मलाई फोन गरेर उहाँको विद्यार्थी भर्ना गर्न भन्नुभयो । मैले सिधै भने, ‘प्रधानमन्त्रीज्यू, मैले हजूरबाट यस्तो आशा गरेको थिइन । मैले त ‘तपाईं बुढानीलकण्ठको प्रिन्सिपल हुनुहुन्छ, यो राष्ट्रको धरोहर हो । यसलाई जोगाउन नियम, नीतिमा चल्नु है भनेर भन्नुहुन्छ भनेर आशा गरेको थिए । मैले ठाडै भने । प्रधानमन्त्रीको नाम नभनौं । मन्त्रीहरु त कतिसँग झगडा गरियो, गरियो । मलाई बुढानीलकण्ठको त्यो कुर्सीमा बस्दासम्म गाह्रो भयो । तर अहिले मलाई गर्व लाग्छ मेरो आफ्नो कामप्रति ।’ ‘मन्त्री वा प्रधानमन्त्री हुने बित्तिकै यो राष्ट्रका राम्रा चिजविज सबै उनीहरुको हुनुपर्ने ? त्यो उसको अधिकार हो ?’ आम मानिसले जस्तै उनले प्रश्न गरे । ‘उहाँले भनेको व्यक्तिलाई भर्ना गरिदिनु भनेको त आवाज नभएको व्यक्तिको अवसर खोसिनु हो नि ? म काठमाडाैं वर्ल्ड स्कूलमा त्यो भन्दिन । यहाँ यहाँका लगानीकर्ताले भनेका व्यक्ति सजिलै भर्ना हुन सक्छन् । तर बुढानीलकण्ठमा त्यस्तो अधिकार कसैलाई पनि छैन । यस्तो सिद्धान्त बोकेपछि नेपाल जस्तो देशमा गाह्रो हुन्छ, विदेशमा त्यस्तो हुँदैन ।’ सिद्धान्त र व्यवहारमा उनी प्रष्ट देखिए । https://www.bikashnews.com/202... Last edited: 28-Aug-20 12:13 PM

ktmpost · Aug 26, 2020 9:41 PM · 3,182 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion