औचित्य नभएको एसईई परीक्षा के गर्ने?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

The original article with all the graphics is here: https://strong-nepal.blogspot.... गत चैत्र महीनामा नेपाल भरिका विद्यार्थीहरुको एसईई सकिने थियो हरेक वर्ष जस्तै। नेपाल भरिका ५ लाख जति विद्यार्थीहरुको रातदिनको निद हराम गर्ने परीक्षा एसईई परीक्षा कोरोनाको कारणले स्थगित हुन गयो। अहिले पनि घर घरैमा नजरबन्द कायम भएकोले यो परीक्षा हुन सकेन र अब त झण्डै नतिजा समेत निस्कने बेला भैसकेको छ। असार मा त हर्ष र विस्मातको मेला हुन्छ नेपालमा यस औचित्य नभएको परीक्षाको कारण। धेरै भन्दा धेरै पाठशालामा शैक्षिक कार्यक्रम गराएर हिँडेको पनि एक दशक नै नाघि सकेको छ। जुन उत्साह र जोशले अमेरिकामा सिकेका कुरा नेपालमा सिकाउनु पर्छ भनेर शुरुवात गरिएको थियो त्यो दिन अब रहेको छैन। नेपालका पाठशालाहरु समाज र युगलाई सुहाउँदो चरित्रवान नयाँ पिँढी तालिम दिने स्थान होईन रहेछ। यहाँ नयाँ ज्ञान र शीप सिकेर भविष्यमा केही गरूँ भन्ने सपना छात्रछात्रा कसैले पनि देखेका हुँदैनन्। देखेका हुन्छन् त एउटै मात्र सपना जसरी भए पनि राम्रो अंक ल्याएर एसईई पास गर्ने। नेपालका पाठशाला वास्तब मै भन्ने हो भने नयाँ पिंडिको सपना लुट्ने स्थान हो। व्याबहारिकता अपनाउने, विश्लेषण र चिन्तन गर्ने बानी बसाउने नैतिकवान शिक्षा भएको भए देशमा असल नागरिक तयार हुन्थे, तर पाटशालाहरुको स्थिति र दैनिक तालिका सहित को शिक्षकहरुको दिनचर्या हेर्दा पाठशाला सहि मायनेमा एक महँगो युनिफर्म भएको कारागार जस्तो मात्र हो। नेपालको पाठशालाहरुमा बिहान देखि बेलुकी सम्म र शनिबार लगायत छुट्टीको अरु दिनहरुमा पनि कक्षा संचालन हुने गर्छ। कोचिङ् र ट्युशन त निरन्तर पाठशालाको कक्षाहरुमा नै संचालित हुन्छ। दैनिक नियमित कक्षा भन्दा कोचिङ र ट्युशनको नै चहलपहल हुन्छ, त्यसमा नै जोड दिईन्छ। पहिले पहिले त १० कक्षाको एसईई दिनु पर्ने छात्रछात्राहरुले मात्र बिहान ६, ७ बजेदेखि रातीको ६,७ बजेसम्म पाठशालामा नै हुनु पर्थ्यो। तर निजि क्षेत्रलाई पनि पाठशाला संचालन गर्ने दिने निर्णय भए देखि विस्तारै ब्यापरीकरणले जरो गाड्न थाल्यो र अनेक बहानामा अभिबावकहरुसंग कसरी दाम लुट्न सकिन्छ त्यो नै प्राथमिकताको विषय भयो। युनिफर्म माथि युनिफर्म थपियो, टाई, कोट थपियो, किताब हैन अतिरिक्त पुस्तक थपियो, अनि टेस्ट गाईड किताबहरुको थाक लाग्न थाल्यो। प्रकाशकहरुले पाठशालालाई कमिशन दिन थाले उनिहरुको पुस्तक नै चलाउनको लागी। अरुहरुले पनि मौका देखेर कसैले विद्यार्थी परिचय पत्रको ब्यापारको लोभ देखाए त कसैले खेलकुदको ट्र्याकसुटहरु। प्राय जसो निजी पाठशालाहरुमा खेल्ने चउर मुश्किलले भेटिन्छ। तैपनि खेलकुदको युनिफर्म पनि भिडाएकै हुन्छ, हप्तामा २ दिन भए पनि लगाउन अनिर्वार्य गराएर। नेपालका विद्यार्थीहरु विदेशी पहिरन लगाएर काँध नै बंग्याउने गह्रौं झोला बोकेर आफ्नो भविष्यको आफै मलामी गएको हुन्छ। सरकारी पाठशालाहरुले पनि नीजीको देखासिकी युनिफर्म भने उनकै दाँजोको राख्ने थालि सकेका छन्। खुट्टामा चप्पल नै किन नहोस, घाँटीमा भने टाई नै बाँधेको देख्न रमाईलो नै हुन्छ। जब पाठशालाहरुमा विध्यार्थी संख्या बढाउने तँछाडमाँड बढ्न थाल्यो, केही न केही कुरामा त तुलना हुन पर्ने स्थिति आयो। त्यसमा एसईई परीक्षा सुनौलो पंछी बनेर खडा भयो। सबैले दिनु पर्ने अनिर्वार्य राष्ट्रिय परीक्षा भएकोले जुन पाठशालाले राम्रो नतिजा ल्यायो त्यसले नै नयाँ सत्रको लागी नाम कमायो। नगरमा उत्कृष्ट, जिल्लामा उत्कृष्ट, प्रदेश, देश केकेमा हो केकेमा उत्कृष्ट भएको भन्दै सबैलाई बेबकूफ बनाउने खेल वर्षौ देखि चल्न शुरु भयो। एसईई परीक्षाको यति महत्व बढ्यो कि निजी पाठशालाको प्रधानाध्यापक परीक्षा बोर्डमा करोडौंको ब्रिफकेश बोकेर आफ्नो पाठशालाको विध्यार्थिलाई नै नेपालको उत्कृष्ट १० (बोर्ड) मा पहिलो स्थानमा राख्न अनुचित कदम उठाउन थाले। बर्तमान अवस्थामा आईपुग्दा अब त १० कक्षा मात्र हैन तल्लो कक्षाहरुमा पनि कारागार सिस्टम लागू भैसकेको छ। अभिभावकहरुमा पनि सही र आधुनिक शिक्षा जसले विद्यार्थीको मस्तिष्कको बिकास गर्छ त्यसको बारेमा राम्रो जानकारी छैन त्यसैले जति महँगो शुल्क भयो त्यति नै राम्रो होला भन्ने अनुमान लगाउँछन्। जायज नाजायज सबै कुरामा पाठशालाहरुले विज्ञापन गर्ने र बढाई चढाई धाक धक्कुको लर्को लगाउने सामान्य बनी सकेको छ। एसईई परीक्षाको नतिजा पछि त पाठशालाहरुले विध्यार्थीहरुको जुलुस निकालेर नाराबाजीका साथ नगर परिक्रमा गराउने घटना पनि अपेक्षित विज्ञापन सरह बनिसकेको छ। शिक्षासंग राम्ररी परिचितहरुले के देख्छ? भन्ने नै हो भने नेपालको पाठशालाहरुमा शिक्षाको कुनै दरकार छैन। त्यो पाईन्न। युगानुयुग देखि जे चलेको छ त्यसमा थोरै परिवर्तित रुप देखिन्छ तर मूलभूत प्रणाली र पाठ्यक्रम नै असान्दर्भिक छ। कक्षा कोठाहरु पनि न त वैज्ञानिक पठनपाठनको लागी उपयुक्त छ चाहे जत्रो सुकै भवन खडा गरेको किन नहोस्, न त विषयानुकुल ढगले गठित हुन्छ । बस एउटा कोठामा अगाडि सेको बोर्ड लगाई दियो र अगाडि ४,५ जना विध्यार्थीहरु मिलेर बस्नु पर्ने बेन्चहरु राख्यो। सरकारी पाठशालको लागी त यो सुबिधायुक्त गनिन्छ तर महंगाहरुको लागी त दरवारमा बसेर ठर्रा खाए जस्तो भन्न सकिन्छ। कक्षा कोठाको बनोट, बस्ने प्रणाली, पठनपाठन बिधी सबैमा त्रुटि नै त्रुटि रहेको छ। अनुशासनको लागी पुरानै लौरोको मार प्रणाली यथावट छ। विद्यार्थीहरुलाई कुट्नुमा कुनै दुबिधा हुन्न। ठुला कक्षाका विद्यार्थीहरुलाई तँ का तँ लगाउन शिक्षकलाई कुनै असामान्य कुरो लाग्दैन। निष्कर्षमा भनू नेपालको शिक्षामा केवल विकृति मौलाएको छ। यस महामारीले गर्दा केही नयाँ हुन बेर छैन। व्यापारीहरुको संघले यस वर्ष आन्तरिक मुल्यांकन नै लागु गरेर परीक्षा नगर्ने भनेर दवाब दिन थालेका छन। शायद यो कायम पनि हुन सक्छ र यथा सक्दो चाँडो यस साल मात्र हैन सँधैको लागी एसईई खारेज गर्नु फाईदाजनक हुन्छ। यो भारत बाट आयात गरेको बेलायतीहरुले कारिन्दा उत्पादनको लागी लागू गरेको प्रणाली संसारमा कतै पनि मान्यता नभएको म्याट्रिक परीक्षाको महत्व धेरै पहिले नै समाप्त भएको हो। तर नेपालीमा आफ्नो देशको लागी उचित शिक्षा कस्तो हुन्छ भन्ने सोचेर नीति निर्माण गर्ने क्षमता त विकास हुन बाँकी नै छ। अरुको देखा सिकी गरेर नक्कल गर्नु नै यहाँको चलन रहेको हुँदा एसईई चलेको चले नै छ। चाहे त्यसले छात्रछात्रामा मानसिक तनाव बढाओस् वा समाजमा शिक्षाको अर्थ नै अपभ्रंस गरेर देशलाई सधै अंधकारको कुवामा डुबाई राखोस् त्यसको चासो रहेन। जै भैराखेको छ त्यही ठिक छ भन्ने र कहिले पनि “ईनोभेशन” को दरकार नराख्ने समाजमा शिक्षाको उज्यालो हैन युग युग सम्म दुस्वप्नको चक्र चलायमान रहने मति विद्यामान छ। कहिले उपनिवेश नरहेको भनेर गर्व गर्ने नेपालीले शिक्षामा भने अंग्रेजको उपनिवेशी योजना नै आयात गरेर मानसिक रुपमा उपनिवेशीता अपनाएको छ। यो सके सम्म शिघ्रातिशिघ्र बिदाई दिएको खण्डमा शिक्षाको उपनिवेशिता समाप्त हुनेछ। यस वर्षदेखि एसईई खारेज भएमा कोरोना माईको दिवस मनाउन विद्यार्थीहरुमा अपिल गर्दछु।

Surendra Shakya · May 18, 2020 10:11 AM · 1,877 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion