संचार त अत्यावश्यक सेवामा पर्ने हो। अहिलेको युगमा ईन्टरनेट जोडेन भने कसरी काम गर्न सकिन्छ र? नहुनको अर्थ त योगी बनेको सरह हुने भयो तर विडम्बना आजकल त आश्रम र योगीहरु झन् धेरै संसारसंग जोडिएका हुन्छन्। एकान्तबास र सन्यास आश्रमका कुरा कता पुगे कता। मैले पनि नेपाल दूरसङचार सेवा (एनटिसि) नै प्रयोग गर्न थालें डेढ वर्ष पहिले देखि जुनबेला एउटा निजी कम्पनीको सेवाबाट चित्त बुझेन। एनटिसि प्रयोग गर्नुमा पनि मेरो आफ्नो स्वाभिमान थियो। मोबाईलका सबै मेरा सिम कार्डहरु एनटिसिकै छन्। यसको प्रतिद्वन्दी एनसेलको सेवा मैले कुनै बेला पनि लिएको छैन। यसमा गहन कारण छ। कारण के होला त? कति जनाले यस बारे केही चिन्तन गरेका होलान् त? सेवा राम्रो छ, धेरै ठाउँमा छ र सस्तो पनि छ भनेर साधारण मानिसहरुले एनसेल नै प्रयोग गर्छन्। यसको असर के होला भन्ने कारण कहिले पनि केलाउँदैन्। मेरो तर्क यस्तो थियो र छ पनि। यो एक विदेशी कम्पनी हो र यसले हाम्रो पैसा बाहिर लान्छ। त्यो त सही हो। त्यसैले मैले जहिले पनि स्वदेशि भए सम्म विदेशीलाई प्राथमिकता दिदिँन। अब याद गरौं पोहोर साल एनसेल काण्डको कुरा। यसले कर छल्न ठुला ३ राजनैतिक दलहरुलाई १० अर्ब रुपैँया गोप्य रुपमा चुनाब लड्न बुझाएको रहेछ। सर्बोच्च अदालतले यसलाई कर तिर्न्र फैसला दिएको बेलामा समाचारमा आएको थियो। दलहरुले हामीसंग लिएको १० अर्ब तिर्ने बितिकै हामी कर तिर्छौं। अब कुरालाई नियालौं। माने एनसेल एउटा भ्रष्ट कम्पनी साबित भयो। राजनैतिक दलहरुसंग साँठगाँठ गरेर नेपाललाई लुट्ने यसको नियत रहेछ भने पछी यो राम्रो कम्पनी त हैन। र जो मानिसले यस कम्पनिको सेवा प्रयोग गर्छ तिनीहरु पनि यस चोरीमा संलग्न मानिन्छ—कर्मको नियम हो। चोरको साथ दिनेलाई त्यसको कर्म सर्ने गर्छ। अब यो भन्दा पनि भयानक चिन्तन छ मेरो। जब राजनैतिक दलहरुले यो चोरीको पैसाले चुनाब लडेर सिट जितेर सरकार बनाए, त्यो सरकार पनि अबैध सरकार हो मेरो नजरमा। हाम्रो पैसा चोरेर चुनाब लड्नु भनेको चुनाब नै चोरी गर्नु हो। त्यसको नतिजा पनि अबैध हो। जब मानिसले यो काण्ड बारे थाहा पाए केही हप्तालाई भने नेपालीको चेतना जागेछ र एनसेल् बहिस्कार अभियान नै चलेको थियो। बिप्लब समूहले त ७ वटा जति एनसेल टावरहरुमा बिस्फोट समेत गराएका थिए। आफू त मुसु मुसु गरेर आनन्दीमा बसें। म त पहिला देखि नै बहिस्कारमा। तर त्यो बहिस्कार कतिको सफल भयो भन्ने अनुमान लगाउन के गाह्रो छ त? यो त भयो एनटिसीको बारे कुरा गर्न खोजेको प्रासंगिक कुरा मात्र। एनटिसी नेपाल सरकारको एक नाफा आर्जन गर्ने संस्थान। जुन कम्पनिले गफगाफको पनि पैसा लिन सक्छ त्यो त घाटामा कसरी जान्छ र? तर एनटिसी पर्यो सरकारी संस्थान। हिजो र आज म दुई दिन यहाँको कार्यालयमा ईनटरनेटको बिल तिर्न गएको थिएँ। एडिएसएल सेवाको बिल तिर्न खास हिजो पनि हैन गत शुक्रबार म्याद जान लागेको हुँदा तिर्न गएँ। त्यसबेला यसको फाईबर सेवा पनि छ भनेर थाहा पाऐँ र द्रुत गतिको हुने आकर्षणले त्यही जडान गर्ने कुरा गरें। त्यो दिन सम्म अफिस बिहान ७-९ सम्म खुल्ने गरेको थियो लकडाउनको कारणले। “आईतबार देखि १० बजेबाट अफिस खुल्छ आउनोस् न त्यति बेला नै फाराम भर्नुस्। ६ महीनाको लिने भए रु ४००० लाग्छ।“ त्यसैले मैले सेवा साट्न आवश्यक फाराम भरें र नाम नम्बर लेखाएर फाइबर जोड्ने प्रकृया सकेर घर फर्कें। अनि भने समस्या शुरु भयो। घर आएको एक घन्टा पछी एडिएसएलको लाई गयो। म संसारसंग सम्पर्क बिहिन बने। त्यस दिन मोबाईलको डाटाले अलिकति मेलहरु हेरें तर काम गर्न त कम्प्युटर नै चाहियो। त्यसैले सोमबार आज बिहान फेरि हतपत १० बजे अफिस पुगें। फाइबरवाला अफिसरलाई भने, “लौ न के हो यो? मेरो त काम सबै चौपट भयो। फाइबर सेबा लिन फाराम भरें, जोडिएको छैन, कहिले जोड्ने हो थाहा छैन तर भएको सेवा चाहीं काटि सक्यो।“ “राउटर को संग छ?” “यहीं छोडेर गएको हो।“ “उसो भए राउटर कता छ त्यो खोज्नोस् र ६ नम्बर कोठामा ध्रुबजीलाई भन्नोस्।“ राउटरको खात रहेछ। ८-९ वटा। मेरो लिएर म कोठा ६ पुगें। कोही पनि थिएन। कुरें, कोही आएन। कोठाको बत्ति समेत बलेको थिएन। १०-१५ मिनेट कुरे पछी फेरी पहिलेको अफिसमा नै गएर सोधें, “खै त त्यहाँ त कोही पनि छैन।“ “आउँदै होला एक छिन कुर्नुस्।“ कुर्नु नै पर्ने भयो। अर्को १५ मिनेट पछी फेरि त्यस अफिस कोठा ६ तिर लागें। १, २ जनालाई सोधें यहाको अफिसको ध्रुबजी कहाँ छ? भनेर। एक जनाले मलाई चिनेको रहेछ, कुरा के हो सोध्न थाल्यो। सबै बृतान्त सुनायँ। “हिजो त बिहिबार फाराम भरेकाहरुको जोड्दा नै दिन गयो। एक चोटी त्यही अफिसमा सोध्नोस् न।“ म गएँ पहिले कै अफिसमा। “खै ध्रुबजीको पत्तो भएन, के गर्ने?” अर्को एक जना पनि कर्मचारी थियो, झ्यालबाट हेर्दै सुभाव दिनु भयो। “हैन, वहाँ त हुनहुन्छ। माथी तल्ला तिर गएर हेर्नुस् न। वहाँले नै हो जडान गर्न पठाउने।“ फेरि कुदान। माथिको तल्ला तिर पनि कोही देखिएन। सोधें, थाहा रहेनछ। अब के गर्ने। कोठा नं ६ खाली नै थियो। बिचार गरें। ल अब पुरानो नै जोडिदिन भन्नु पर्ला। बाँकी जहिले गर्ला गरोस। एडिएसएल अफिस पत्ता लगाएँ। रितो थियो। फेरी बाहिर गएर टोलाएर बसें। यसरी नै मेरो सोमबार बिहानी बित्यो। द्रुतमार्गको नेट चढ्ने योजना बनाएको त भएको घोडा पनि हरायो। मैले त्यहाँ सोचेको कुरा। जागिरे मानिस र निजी व्यबसाय गर्नेको सोच र व्यहोरामा आकाश पातालको अन्तर हुन्छ। जागिरे भनेको अरुको ईसारामा चल्नु पर्ने जात। नयाँ तरकिब, सेवामा प्रबलता, चुस्तता गरेर नाफा राम्रो गरौं भन्ने निजी व्यबसायीहरुको जस्तो लगनशिलता नै शुन्य हुन्छ। जागिर हो महिना महीनाको तलब थाप्यो। बस्यो। कसरी सेवालाई उत्कृष्ट बनाउने, सेवाग्राहीलाई खुशि बनाउने र आफ्नो क्षेत्रमा अगाडि बढ्ने भन्ने निजी कम्पनीको व्यबसायी जस्तो मानसिकता यिनमा हुँदैन। देशलाई चुस्त र दुरुस्त सेवा दिन सरकारी कार्यलय र कर्मचारीहरुको कार्य मुल्यांकन कडा रुपमा गर्नु पर्छ र अहिलेको नीति पुरा बदल्नु पर्छ। यस सरकारले त गर्ने कुरा भएन। मैले भनि सकें पहिले नै यो अबैध सरकार हो मेरो नजरमा। अब भविष्यमा नयाँ सरकार बन्ने दिन त आउँछन नै। आगामी दिनका नयाँ नेपालको हीत गर्ने सरकार भए पछि यस्तो कछुवा चाल र ग्राहकलाई बौलाहा बनाउने प्रकृया बदलिने कार्यक्रम त आउँछ होला नै। परिवर्तनको आशामा। साभार गरिएको साईटः https://strong-nepal.blogspot....
Surendra Shakya · May 11, 2020 4:31 AM · 3,449 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion