नेपालका भारतिय नेताहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजभोली लिपुलेकबाट भारतले चीनको मानसरोबर जोड्ने बाटो बनाएको जसले नेपालको २२ किमी भूमी मिचेको भन्ने चर्चा आईरहेको छ। सरकारले केही थाहा नभएको अभिनय गरे पनि नेपालका पत्रिका, नागरीक समाज र स्थानिय तहका अधिकारीहरुले बेलाबेलामा सरकारलाई जानकारी दिने गरेको कुरा खुलासा गरेको छ। भारत र चीन दुबै मिलेर नेपाललाई किनारा लगाउने सम्झौता २०१५ मा गरेको थियो। त्यसबेलाका प्रधानमन्त्री सुशिल कोईरालाको सरकारले दुबै सरकारलाई राजदूतहरुलाई बिरोध पत्र भने पठाएको थियो तर त्यतिमै परराष्ट्र मन्त्रालय चित्त बुझाएर बसेको देखिन्छ। पछि सुशिल कोईरालाले प्रम मोदीलाई एक पटक फोनमा वार्तालाप गरेर यस बारे प्रश्न गरेको भए पनि बिरोध स्वरूप कोईरालाको भारत भ्रमण अचानक २०१५ मा रोकियो। बस नेपाका नेताले गरेको पुरुषार्थ यति मात्र रहेछ। हामीले बारम्बार हेर्दै र बुझ्दै आएको कुरा हो की नेपालका नेताहरु भारत विरुद्ध र त्यहाँको नेतृत्व बारे चूँ सम्म गर्ने आँट गर्न सक्दैनन्। नेपालले २०७२ को सम्बिधान निकालेको पुरस्कार भारतले नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय कानून मिचेर नेपाललाई बल मिचाई गर्दा पनि कुनै पनि अन्त्रर्राष्ट्रिय मन्चहरुमा नेपालका कुनै नेताहरुले एक शब्द पनि यसबारे विश्वको ध्यानाकर्षण गर्ने जमर्को गरेका थिएनन्। कुरोको चुरो सबै नेपाली माझ छर्लंग नै छ। नेपालका नेता र प्रशासनमा रहेका हजारौं मानिसहरु लैनचौरमा गएर मासिक तलब थाप्छन्। कैयौं उच्च तहका मानिसका सन्तानहरुलाई भारतमा उच्च शिक्षाको लागी छात्रवृत्ति दिएर राखेको हुँदा ति नेपाली ठालुहरुको ओंठ सिलाउने काम गरेको छ। नेताहरुको एउटै मनस्थिति हुने गरेको छ। “चुप लागेर बस्नु पर्छ, केही भन्नु हुँदैन, भारत रिसाउला है।“ यो कुरा मैले पहिलो पटक सुन्दा तिन मात्र हैन सात छक नै परेको थिएँ। मैले मन मनै भनेको थिएँ, “ओहो, यिनिहरु त आफ्नो साहुले आफ्नै आँखा सामु आफ्नो मातालाई बलात्कार गर्दा पनि हेरेर बस्ने र साहु रिसाउला भनेर मौन साँध्ने महापुरुषहरु पो रहेछन त।“ धन्न तालि पिटेर स्याबासी दिएका छैनन्। यसैले बुझ्न सकिन्छ नेपालमा देशको लागी जिम्मेवारी लिएर बसेकाहरुले आफ्नो नैतिकता बेचिसकेका छन्। बेचेको पनि भन्न नमिल्ला। यिनीहरुमा नैतिकता भन्ने चिज नै छैन। आफ्नो ईतिहास र संस्कृतिको केही लेश मात्र पनि ज्ञान पाएका भए यिनीहरु सत्यको पथमा रहन डराउने थिएनन्। तर त्यो बेचेर छोराछोरिको छात्रवृत्तिसंग साटि सके। महीना महीनाको लैनचौरबाट पाईने बक्सिससंग घाँसी सके। यिनीहरु धमिरा बनेर समाजलाई खोक्रो पार्ने किटाणु भन्दा कम छैनन्। बहादुर शाह, बलभद्र र अमरसिंहको ईतिहास त किताबी कुरा मात्र हुन्। नेपालका विद्वान मानिएका पूर्ब प्रमले त नेपालको त्रिभुवन हवाई अड्डामा भारतिय सुरक्षा सैनिक जडान गर्ने जमर्को समेत गरेका थिए किनकी उनी पनि क्रिश्चियनहरुको शिक्षाबाट पछि भारतमा नै उच्च शिक्षा पाउँदा भारतले राजसी ठाँटबाँटको सुबिधा दिएर पालेका कुरा उनी संगै पढिरहेको काठमान्डूका सहपाठिहरुले पत्रिकाहरुको अन्तर्वार्तामा बताएका थिए। त्यसैले अचम्भ मान्नु नै बेबकुफी हुन्छ कसरी भारतले माओबादीहरुको पालन पोषण गरेर नेपालको बिरुद्ध एक दशक सम्म द्वन्दमा फसाएका थिए र यस देशको जग नै मेटाउने चेष्टामा आज सम्म पनि चलायमान नै रहेका छन्। दरवार हत्याकाण्ड भारतिय गुप्तचर संस्थाको हात भएको त खुलिसकेकै छ। जो नेपालीहरु नेपालको अस्तित्व नै मेटाउने भारतिय खेलमा तटस्थ बस्छन् वा मुखमा बुझो लगाएर बस्छन् ति नेपाली नै हैनन्। जसले महाकाली नदी देखि ईमान धरम नै बेचिसके तिनबाट नेपालको कुनै भलो हुन नसकनू त छँदैछ नेपालीहरु पनि आफ्नै नालायकीपन देखाउन कम्ति सिपालु छैनन्। घरको साँचो चोरलाई सुम्पेर तिजोरीको सुरक्षा हुन्छ भन्ने जनतालाई के भन्ने? आफ्नो हक हीतको रक्षा त आफै गर्नु पर्ने हो। राजा आउ, रबि आउ, ज्ञानेन्द्र शाही आउ, यस्तै सँधै अरुको भरोसा दिँदै यसले गर्ला कि भन्दै बसेर कहिले पनि देशको कल्याण हुने हैन। “म गर्छु र हामी गरौं” भन्ने मानसिकता नपलाए सम्म भारतमात्र हैन अब त चीनले पनि नेपाली र नेपालको हुर्मत लिने काम गरि सकेको छ। भारत जस्तै खेल चिनले पनि खेल्दैछ, त्यसैले चिनले पनि अब छात्रवृत्तिको सुनौलो पिंजडा खोलि सकेको छ र बक्सिस थाप्ने नेपालीहरुको लर्को लगाउन शुरु गरिसकेको छ। नेपालीहरु सोच ले नै दरीद्र, दिनहीन हुने हुनाले विदेशीकै गुणगान र तिनले दिने मान सम्मानमा मख्ख पर्छन्। कहिले सबेरा हुने हो? शिक्षा, रोजगार र सम्मान जति विदेशमा नै छन भनेर सोच्ने देशले कहिल्यै उन्नति गर्छ? अंग्रेजीमा एउटा कहावत छ नि, “घाँस सँधै पारि तिर हरियो हुन्छ।“ यो सत प्रतिसत गलत हो। सत्य के हो त? सत्य त यो हो, “घाँस त्यहाँ हरियो हुन्छ जहाँ पानी हालिन्छ।“ त्यसैले नेपालमा नै घाँस हरियो बनाउने कि? अब त अरुले आएर बिकास गरिदेला भनेर सोच्ने बेला सकिएन र? यत्रा दशकहरु बितिसके केही भयो? साम्राज्यबादको बेला नझुकेको शिर आजको दिन आई पुग्दा ठाडो समेत हुन सकेको छैन। त्यसैले भारतले आफ्नो कुनियतबस नेपाललाई सँधै निरिह र विभाजित राख्ने योजना बनाएको हुँदा हामीले भारत हाम्रो मित्र राष्ट्र हैन केवल एउटा धुर्त छिमेकी राष्ट्र हो जसबाट हर पल चौकन्ना रहु पर्छ भन्ने पाठ बच्चै देखि सिकाउनु पर्छ। अब चीन पनि त्यही बाटोमा लागि सक्यो। त्यसैले नेपालीहरु आफैले धक नमानी सत्यको पथमा निडर भएर जे पर्ला सो टर्ला भन्ने मनस्थिति बनाएर यस शताब्दीलाई अपनाउनु बेश हुनेछ। पहिले हाम्रो पुर्खाहरूले १०० दिन भेँडा भएर बाँच्नु भन्दा एक दिनको शेर बन्नु उचित मान्थे। हामी चाही के भेँडा बन्नु जति अरु के मा आनन्द छ भनेर बस्ने? यो सोचको अन्त गरेर नेपाल आमाको सपुत हुनुमा गर्व गर्न सके कति राम्रो। अहिलेका नेताबाट केही आश गर्नु त दुधको साक्षि बिरालो भनेको जस्तो भैकाखेको छैन र? If you want to read other opinions by this author, please follow his blog: https://strong-nepal.blogspot....

Surendra Shakya · May 10, 2020 2:21 AM · 6,258 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion