रानी हिजै मात्र हो जस्तो लाग्छ । “भोलि स्कूल आउँदा आफ्नो सबैभन्दा सुकिलो लुगा लगाएर आउनु है,” सरले कक्षाको अन्तिम बेन्चिमा बस्नेले पनि सुन्नेगरि कराउनु भयो-- "आज तिमीहरु सबैजनाले घर पुगेपछि भोलीको लागि सबैभन्दा राम्रो, सुकिलो, भर्खर धोएको स्कूलको लुगा ठिक्क पारिदिनु भनेर आ-आफ्ना आमाहरुलाई भन्नु है त ।" "हुन्छ सर," हामी सबै विद्यार्थीले उत्तिनै जोडले जवाफ फर्कायौं । सर र मिसहरुको प्रश्नको जवाफ फर्काउथ्यौं। उल्टो प्रश्न सोध्न पाउने चलन थिएन । त्यो दिनको त्यो अन्तिम कक्षा थियो । हामी कक्षाबाट बाहिर निस्कँदै एक-अर्कासँग सोधपुछ गर्न थाल्यौं-- भोली कुनै ठूलै चाडबाड हो कि क्या हो ? हाम्रो नेपालमा कति धेरै चाडबाड छन् । यति धेरै चाडबाड छन् कि कहिलेकाहीं त हामीलाई कुनै चाड आएको गएको थाहा नै पो हुन्न । कुनै ठूलै चाडबाड नभै त सरले आफ्नो सबैभन्दा राम्रो, सुकिलो, भर्खर धोएको लुगा लगाएर स्कूल आउनु भनेर किन भन्नु हुन्थ्यो र ! "हैन होला हौ," एउटा साथीले भन्यो-- "भोली त्यस्तो कुनै ठूलो चाड भा'को भए त मेरो बाबाले मलाई भन्नु पर्ने हो ।" "अनि फेरि त्यति राम्रो लुगा लाउनुपर्ने खालको ठूलो चाड भएको भए त भोली स्कूल बिदा नै पो हुनु पर्ने त, हैन र ?" अर्को साथीले थप्यो-- "सरले हामीलाई स्कूल नबोलाउनु पर्ने त्यत्रो ठूलो चाड हो भने त ।" "त्यसो भए बिदा नै हुने खालको ठूलो चाड हैन होला," अर्को साथीले गम खाँदै भन्यो-- "बिदा-सिदा नहुने कुनै सानतिनो चाड होला हौ ।" "मलाई पनि त्यस्तै लाग्यो," मैले सही थपें-- "केही छैन, म घर गएर बाबालाई सोध्छु ।" मेरा साथीहरुले हुन्छ भन्दै टाउको हल्लाए । त्यत्रो चार-पाँच जनाको दिमाग लगाउँदा पनि भोली किन हामीले सबै भन्दा राम्रो, सुकिलो, भर्खर धोएको लुगा लगाएर आउनु पर्ने भो भनेर पत्तो लगाउनै सकिएन । -------------- म एक बर्षको उमेर हुँदा हामी सोलुखुम्बुको यो हिमाली गाउँ आएको थियौं । हाम्रो खास घर चाँही तराइमा थियो-- बिराटनगर । हाम्रो तराईमा गर्मी महिनाहरुमा गर्मी खूब हुने । जाडो महिना चाँही ठिकै मौसम हुन्थ्यो । अहिले चाँही हामी यो हिमालि गाउँमा थियौँ । बाबाले यहीँ जागिर भेट्टाउनु भएको थियो, त्यही भएर । हामी हाम्रो तराईको खास घरबाट धेरै टाढा थियौं । तर मलाई केही मतलब थिएन । बच्चै त थिएँ म । मेरा बा-आमा जहाँ, मेरो घर त्यहीं । अनि मेरा बा-आमा थिए यहाँ यो एउटा घरको भूइँ तलामा । हामीले दुइटा कोठा भाँडामा लिएका थियौं । ठूलो कोठोलाई सुत्ने कोठा बनाएको थियौं । यो कोठामा बाबा, मम्मी, म र मेरी ठूली बहिनी सबैजना एउटै ठूलो खाटमा सुत्थ्यौं । मेरी कान्छी बहिनी त्यतिखेर जन्मेकै थिइन । सानो कोठोलाई चाँही हामीले भान्छाघर बनाएको थियौं । हाम्रो घरबेटी शेर्पा थरी थिए । हाम्रो घर एउटा पहाडको फेदमा थियो । त्यही पहाडको टुप्पामा म पढ्ने स्कूल थियो । हाम्रो शेर्पा घरबेटिको दुइ-चार वटा छोराछोरी थिए । घर पछाडि एउटा तबेला पनि थियो-- घोडाको कोठा । घरबेटिका छोराछोरी घोडा हाँक्थे ब्यक्तिगत यातायातका लागि । हाम्रो घरबेटिको जेठो छोरो म भन्दा धेरै नै बर्ष जेठा थिए । मलाई खूब मन पराउँथे । त्यही भएर होला जहिले पनि घोडा चढ्छस् ? भनेर मलाई सोधेको सोधै गर्थे । कहिलेकाहीं मन छैन भन्थें म । कहिलेकहीं चाँही हुन्छ, चढ्छु भन्थें । ति जेठा दाइले अनि मलाई जुरुक्क उचालेर घोडामा बसाइदिन्थे । हातमा घोडाको लगाम थमाइदिन्थे । म सानै थिएँ, त्यही भएर तल खुट्टा अड्काउने फलाम सम्म मेरो खुट्टाहरु पुग्दैन थिए । अनि खुट्टाहरु घोडाका दुइतिर झुन्डिन्थे । घोडामा मलाई बसाएपछि जेठा दाइले घोडाको पछाडि बेसरी आफ्नो हातले ड्याम्म हिर्काउँथे । त्यो हिर्काइले दुखेर होला, हरेक पटक यसो गर्दा घोडा अलिकति दुइ-चार मिटरसम्म पर जान्थ्यो अनि जेठा दाई भा'को ठाउँमा फिर्ता आउँथ्यो । अनि जेठा दाई मलाई घोडाबाट तल ओराल्थे । बडो मज्जा लाग्थ्यो मलाई । एकदिन त्यो घोडाले झण्डै मेरो ज्यानै लियो । के भयो भने जेठा दाइले अरु बेलाको जस्तै आफ्नो घोडामा मलाई राखे अनि घोडालाई बेसरि पछाडि हिर्काए । अलिक ज्यादै नै बेसरि हिर्काएछन् कि क्या हो घोडा त रिसले बुरुक्क उफ्रेर दगुर्यो । मलाई के गर्ने भन्ने केहि थाहा थिएन । सधैं घोडा चढेको थिएँ तर साँचिकै घोडा हाँक्न त मैले कहिल्यै पनि सिकेको थिएन । घोडाको लगाम पकडेर घोडामाथि बस्नमात्र आउँथ्यो । के गर्ने के गर्ने केही थाहा भएन । खस्नु चाँही हुँदैन, घोडाबाट खसें भने घोडाले कुल्चेर मार्छ भन्ने मात्र दिमागमा आइरह्यो । डरले जिऊ अगाडि घोप्टो पारें अनि बेसरि घोडाको लगाम पकडेर सकेसम्म नलड्ने कोशीश गरें । एकपटक लगाम अलिक बेसरि तानेछु कि क्या हो घोडा त झन् रिसाएर बुरुक्क-बुरुक्क उफ्रँदै दौडिन थाल्यो । लामो समयसम्म यसो गरेपछि घोडापनि थाकेछ होला अलिक शान्त भयो अनि आँफै लखर्-लखर् घर फर्कियो । बिचरा जेठा दाई घोडाको पछि-पछि दौडेका थिए । अन्तिममा घोडा शान्त भएपछि मात्र आफ्नो घोडालाई पकड्न सके । जेठा दाइको अनुहार हेरेको त रातो-पिरो भा'को थियो । सातो गएछ जेठा दाइको । मेरोपनि अनुहार डरले रातो-पिरो भा'को थियो । जेठा दाइले त्यो दिनको घटना आफ्नो बालाई भने कि भनेनन् मलाई थाहा छैन । मैले चाँही आजको दिनसम्म मेरा बा-आमालाई त्यो दिनको घटना भनेको छैन । सातो-पुत्लो उडेर होला त्यो दिनदेखि जेठा दाइले मलाई घोडा चढ्छस् ? भनेर कहिलेपनि सोधेनन् । मैले त्यो हिमालि गाउँमा मृत्युसङ्ग आँखा जुधाएर जितेको त्यो दोस्रो पटक थियो । -------------------- त्यो गाउँमा जाडो महिनामा असाध्यै हिउँ पर्थ्यो । मलाई हिउँ पर्दा स्कूल जान असाध्यै दिक्क लाग्थ्यो । स्कूल धेरै टाढा थिएन तर पहाडको टुप्पामा थियो । हिउँ परेको बेला त्यो डाँडो चढ्न हिमाल चढ्ने सिप चाहिन्थ्यो । शेर्पाको घरमा डेरा बसेर मलाई त्यो पहाड चढ्न केहिपनि सजिलो भएको थिएन । हाम्रो घरबेटी पो शेर्पा थिए त । हामी त थिएनौं । हामी त तराइको मधेशबाट आएका शहरीया थियौं । त्यही भएर म स्कूल जाँदा सधैं चिप्लेर लड्थें, नलडेको त दिन नै हुँदैनथ्यो । एकदिन चिटिक्क परेर स्कूल जान भनेर कोठाबाट बाहिर पाइला मात्र के टेकेको थिएँ एउटा काठको फलेक देखें हाम्रो भान्छाकोठाको ढोका बाहिर । मम्मिले कतै भेटेर ल्याउनु भा'को होला दाउरा बाल्न हुन्छ भनेर भन्ने ठानें । मेरो दिमागमा तरकिब चल्यो । त्यो काठको फलेकलाई टेको बनाएर त्यो दिन स्कूल गएँ । अरु मान्छेहरु पहाड चढ्न लौरो टेक्छन्, म चाँही त्यो दिन काठको फलेक टेकेर गएँ । त्यो दिनपछि म फलेकको दुई छेउ दुई हातले समाएर चढ्न थालें । स्कूलबाट फर्किंदा हातमा त्यो फलेक बोक्दै ओर्लन्थें । केहि दिनपछि यसो बिचार गरेर अर्को जुक्ती निस्कियो । माथि जाँदा फलेकलाई दुई हातले पकडेर टेक्दै गएँ । ओर्लने बेलामा चाँही फलेकलाई हिउँमा ओछ्याएँ, अनि फलेकमाथि बसें, अनि दुइतिर हातले ठेल्दै ओरालोमा फलेकमाथि बसेर चिप्लिएँ। बडो मज्जा आयो । मैले नयाँ, अनौठो तरिका पत्ता लगाएको थिएँ पहाडबाट ओर्लने । तल ओर्लेपछि घरको आँगनमा पनि त्यसै गर्न खोजें । तर आँगनको सम्म परेको जमिनमा त्यो उपाय खासै काम लागेन । अर्को दिन स्कूल छुटेपछि साथीहरुलाई मेरो नयाँ तरकिब देखाएँ । साथीहरु दङ्ग परे । भोलिदेखि उनिहरुपनि एक-एक वटा काठको फलेक बोकेर स्कूल आउन थाले । धेरै बर्षपछि क्यानाडा आएपछि मलाई थाहा भो क्यानाडाका मान्छेहरु यसलाई टोबोग्गन गरेको भन्दा रहेछन् । ------------------------- हाम्रो त्यो हिमाली गाउँमा घर-घरमा धारा-पानी थिएन । हाम्रो घरमा पनि धारा थिएन । घरबाट २०० मिटर पर सार्वजनिक धारो थियो एउटा । अलिक परको अल्गो पहाडमा एउटा मुहान रहेछ, हो त्यहाँदेखि एउटा मोटो कालो पाइपमा पानी तानेको थियो । हाम्रो घर अनि छेउ-छाउका सबै घरहरुले त्यही धारोको पानी चलाऊँथ्यौं । पानीको कारणले त्यो गाउँको जाडो महिनाका शनिबारहरु अहिले पनि सम्झन मन छैन मलाई । हरेक शनिबार बिराएर हामी त्यो धारोसम्म जान्थ्यौं कोठाभरिको मैला लुगाकपडा बोकेर । आगो बाल्न दाउरा र सलाई, पानी तताउन एउटा ठूलो सिलेबरको बाटा, र भान्छाबाट आगो फुक्ने फलामको ढुङ्ग्रो पनि बोकेर जान्थ्यौं । मम्मी धाराको छेउमै आगो बाल्नु हुन्थ्यो अनि सिलेबरको बाटा बसाउनु हुन्थ्यो आगोमा । मेरो जागिर चाँही त्यो सानो फलामको ढुङ्ग्रो लिएर माथि सम्म जाने अनि ड्याम्म-ड्याम्म त्यो सानो ढुङ्ग्रोले मोटो पाइप बजार्ने थियो । यसो गर्दा त्यो कालो पाइप भित्र जमेको बरफ बिस्तारै फुट्थ्यो । निकैबेर तल-माथि दगुर्दै ढुङ्ग्रोले कालो पाइप बजार्दै गरेपछि बिस्तारै बिस्तारै फुत्त-फुत्त स-साना बरफका टुक्रा पाइपको मुखबाट खस्थे । मम्मी त्यो बरफ जम्मा गरेर बाटामा हालेर तताउनु हुन्थ्यो । त्यसरी तातेको पानीले हामी नुहाउँथ्यौं अनि लुगा धुन्थ्यौं । हिउँ परेको बेलापनि यसरी हामी घण्टौँ बाहिर बसेर नुहाइ-धुवाइ गर्थ्यौं । ति शनिबारहरु त अहिलेपनि सम्झन मन छैन मलाई । ------------------- हामी तराइको भएकोले होला हामीलाई सोलुमा असाध्यै जाडो हुन्थ्यो । झ्यालबाट चिसो हावा कोठामा नछिरोस् भनेर हामीले भित्रबाट झ्याललाई ठूलो प्लास्टिकले ढाकेर सबैतिरबाट टेपले टाल्थ्यौं जाडो महिना सुरु भएपछि । एकदिन बाबाले जाडोको थप उपाय पत्तो लाउनु भएछ : एक बोरा कोइला । त्यसपछि राती सुत्ने बेलामा हामी त्यो कोइलाको गोल बाल्न थाल्यौं कोठाको एउटा कुनामा । राती सुत्दा न्यानो हुन थाल्यो । अभागीको खप्पर, हफ्ता दिनजति त्यसो गरेपछि त्यो गोलले झन्डै ज्यान लियो हामी सबैको । भयो के भने, मेरी ठूली बहिनी छ महिनाकी थिहोली, हामी सबै गोल बालेर न्यानोमा मस्तसङ्ग सुतेका थियौं । बिहान २-३ बजेको हुँदो हो, बाबालाई निद्रामै सास फेर्न गार्हो भएको अनुभव भएछ । हतारिएर उठ्नु भयो र हामीहरुलाई ओच्छ्यानमा हेर्नुभो । मम्मी, म र बहिनी अचेत भएछौं निद्रामै । बाबाले मम्मी र मलाई बेसरी थुप्रै पटक घच्घच्याउनुभो । हामी उठेनौं, बेहोस भइसकेका रहेछौं । बहिनी त झन मुखभरी सेतो फिंज काढेर बेहोस रहिछे । बाबालाई बिज्ञानमा पढेका कुरा झल्-झल् याद आएछन् । कोइला बाल्दा कार्बन-मोनोअक्साइड भन्ने ग्याँस निस्किन्छ । आँखाले देख्न सकिन्न त्यो ग्याँस तर त्यसले मान्छे मार्छ भन्ने याद आएछ । अहिलेपनि नेपालमा हरेक बर्ष जाडोमा ग्याँसको सिलिण्डर बालेर नुहाउँदा बाथरूममा मान्छेहरु मर्नुको कारण यही ग्याँस हो । बाबा ढोकातर्फ दौडिनु भो, ढोका खोल्नु भो, बहिर गएर चिच्च्याउँदै छिमेकिहरुलाई डाक्नु भो, अनि भित्र आउनुभो र हामीलाई पालैपिलो बाहिर लानुभो । हामी घर बाहिर भूइँमा लडेका थियौं । वरिपरि छर-छिमेकका मान्छे भेला भएका थिए । हाम्रो होश कसरि फिर्ता ल्याउने भनेर सबैले आ-आफ्नो सल्लाह दिए । कोही हाम्रो अनुहारमा पानी छर्कन थाले । कोही आफ्नो खुट्टाको मोजा फुकालेर हामीलाई सुँघाउन थाले । कोही सारीको लत्तोले हाम्रो अनुहारमा हावा हम्किन थाले । सबैले आ-आफुले जानेको कुरो गरे । एक घण्टापछि हामीलाई होश आयो अरे । कुन उपायले काम गर्यो कसैले भन्न सकेन । गन्हाउने मैलो मोजाले त के होला र ! पानी र हावाले नै होला । हामीसँग बाँकी भएको कोइला हामीले के गर्यौं मलाई याद छैन । तर अर्को हप्ता हाम्रो ओच्छ्यानमा देखेको, सुत्दा ओढेको खासाको त्यो नयाँ बाक्लो चिप्लो न्यानो ओढ्ने याद छ । मैले मृत्युसङ्ग आँखा जुधाएर जितेको त्यो पहिलो चोटि थियो । ------------------- "मम्मी, भोली कुनै ठुलै चाडबाड हो कि क्या हो?" बेलुकाको भात खाँदै गर्दा मैले मम्मिलाई सोधें । त्यो दिन साँझमा साथीहरुसङ्ग खेलकुद गर्दापनि हामीले भोली के चाँही रहेछ त्यस्तो भनेर पत्तै लाउन सकेका थिएनौं । के चाँही हो र'छ ? भनेर पत्तो लगाउन नसकेर सबैको जिऊ चिलाउन थालिसकेको थियो अब त । हाम्रो सबै भन्दा राम्रो लुगा लगाएर स्कूल जानुपर्ने त्यस्तो के चाँही र'छ भनेर खुल्दुल भा'को थियो सबैलाई । "हैन त, किन?" मम्मिले प्रश्नको जवाफ प्रश्नले नै दिनुभो । "सरले भोली तिमीहरुको सबै भन्दा राम्रो, सुकिलो, भर्खर धोएको लुगा लगाएर आउन भन्नुभा'को छ, त्यही भएर ।" "ए, भोली शिक्षा दिवस भएर हो कि ?" हामी शिक्षा दिवस मनाउँथ्यौं तर स्कूल बिदा नै हुने चाडचैं होइन त्यो । तर चिटिक्क परेर हिंड्नुपर्ने खालको चाडचैं हैन । गएको बर्ष त यसरी चिटिक्क परेर आउनु है भनेर सरहरुले भनेकोपनि याद थिएन मलाई शिक्षा दिवसमा । <p dir="ltr" style="line-height: 1.2; margin-to
mickthesick · May 8, 2019 11:30 AM · 567 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion