काठमांडूको असन देखि मेरिल्याण्डको टावसन सम्म ....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://www.enepalese.com/2019... काठमाडौँ असन देखि मेरिल्याण्डको टावसन सम्म कान्तिपुरको मुटु असन र अमेरिकाको मेरिलाण्ड राज्यको टावसन शहर बीच कुनै समानता छैन बासव राजोपाध्याय टावसन मेरिलाण्ड ,अमेरिका २०७५ माघ ३ गते २३:२८ मा प्रकाशित 1.4kShares बाल्यकालमा बिताएका असनका गल्ली चोकहरू, बहा: बहीहरू, कलात्मक मन्दिरहरू अनि नून देखि सुन सम्मका मोल/ बोलहरू अनि आजका दिनहरूमा अमेरिकाको मेरिल्याण्ड राज्यको टावसनमा बिताउँदै गरेका दिनचर्याहरू । यहाँका गल्ली सडकहरू ,यहाँका शपिंग मलहरू अनि क्याफेका रौनकहरूमा म असन खोज्दैछु । कान्तिपुरको मुटु असन र अमेरिकाको मेरिलाण्ड राज्यको टावसन शहर बीच कुनै समानता छैन तर पनि म एक पार्ने असफल प्रयास गरिरहन्छु । बिहान उठ्ने बितिक्कै अन्नपूर्णा देवीको मन्दिरको घण्टी अब स्मार्ट फोनमा बज्ने अलार्मले रिप्लेस गरि सक्यो । असनको ग्वारा साहुको पसलमा पाउने हलुवा स्वारी जिलेबि अनि न्ह्यखाको दबूमा बेच्ने फ्रेश ग्वारामरी यहाँका डनकिन डोनटका एग एन् चीज़ क्रोसनमा परिवर्तन भईसक्यो। तर पनि यो जिब्रोमा झुण्डिएका ती हाकुदाजुहरूले थिमि देखि खर्पनमा बोकी असनमा बेच्ने चंमसूर पालुंगालाई यहाँका चाइनीज़ कोरियन सागहरूले जित्न सकेन । अफिसको लागी कुददै कार स्टार्ट गर्दा २३ बर्ष देखि रिटायर्ड जीवन बिताईरहेका छिमेकि मिसेज़ स्मिथ ले गुड मर्निग माई सन भन्दा मेरी आमाको झझल्को त पाउँछु तर आमाको सामीप्यता खोज्न थाल्छु । जन्म भूमि भन्दा हजारौं माईल्स टाढा यो कर्मभूमिमा अनगिन्ति आरोह अबरोहहरू फड्को मार्दै अपरिचित मानव सागरमा डुबुल्कि मार्दै आफ्नो दैनिकी बिताउदै गर्दा मेरो शहरलाई बिर्सन सकेको छैन । परेवाका ताँतीहरूलाई चारा खुवाउदा उडेर आफ्नै काँधमा बस्ने परिदृश्य याद गर्दै लकरेभन लेक पार्कमा साईबेरियन हाँसहरूलाई हेरेर मन बुझाउने गर्छु । परेवाका ताँतीहरूलाई चारा खुवाउदा उडेर आफ्नै काँधमा बस्ने परिदृश्य याद गर्दै लकरेभन लेक पार्कमा साईबेरियन हाँसहरूलाई हेरेर मन बुझाउने गर्छु ।  बिहानीको आगमन संगै गुंला बाजाको सुमधुर आवाजले मन प्रफुल्लित पार्थ्यो । धिमे र मादलहरूमा हराउने गर्थ्यो । वाशिंगटन डिसि, बाल्टिमोर , डलास, न्यूयोर्क शहरहरूमा पनि भुस्या धिमे घन्काउँदै लाखे झ्यालिन्चाहरू नचाउँदै गर्दा मन भरि मजिपा: चस्किने गर्छ । पुलुकिसिहरू बनाएर ईन्द्र जात्राहरू मनाऊँदा किलाग: बशन्तपुरहरू मेरो मनमा खेल्ने गर्छ । कुमारी देवीहरूलाई सजाउंदै गर्दा कुमारी द्य:छें मा हराउन थाल्छु । सम्येबजिको परिकल्पनामा डुबेर ठूलो कलात्मक सम्ये बजिलाई ३ घण्टा लगाएर सजाउँदा सबैबाट वाह वाही पाएपनि आकाश भैरब मुनिको त्यो ठूलो सम्ये बजि मेरो आँखा अगाडी नाची नै रहन्छ । जति जति मलाई पीड़ा दिन्छ ती अतितका कथाहरूले , जति जति मलाई घोच्दै जान्छ बालपनका यादहरूले म तेति तेति नै ती कुराहरू यहाँ पस्किदै जान्छु । जब म छटपटाउन थाल्छु म भित्र संस्कार र संस्कृतिको मूल फुट्न थाल्छ। जब म छटपटाउन थाल्छु म भित्र संस्कार र संस्कृतिको मूल फुट्न थाल्छ।  अनि म्ह पूजाहरू जन्मिन्छ , इहि संस्कार र कयेता पूजाहरू लर्किन थाल्छन, य:मरिहरू बर्षिन थाल्छन् यो कर्मभूमिमा तर मेरो मन भरि असन फुलिरहेको हुन्छ । असनको यादमा मेरो असनलाई भेट्न असनै पुग्दा त्यहाँ असन थिएन । ग्वारा साहुको मिठाई पसल अब शपिंग कम्लेक्स बनेछ । न्ह्य:ख़ाको ग्वारामरि खाने दबू मोटरबाइक पार्किंग गर्ने थलो बनेछ । अब त मेरो प्यारो हाकु दाईचा सिनेमा हलको मालिक रे । मेरो असन त बंगाली रंगमा सजिसकेको रहेछ । मलाई मेरो शहरमा हिड्न पनि अप्रेशन थिएटरमा डाक्टरले लगाउने मास्क लगाएर हिड्नु पर्यो । धन्य मेरो शहर डाक्टर बन्ने सपना पूरा नभएपनि डाक्टर कै मास्क लगाउने मौका दियो । मेरो शहर अब माईक्रो बस र थरि थरिका ट्याक्सीहरूले भरिपूर्ण भईसक्यो तर माईक्रो बसका खलासी बालकहरू स्कूल होईन मान्छे कोच्ने ट्रेनिंड प्राप्त छन् । ट्याक्सी ड्राईभरहरूको बोली वचन त ओ माई गड नै भने हुन्छ। सभ्यता त कुन चरिको नाम हो बिर्सिसके धेरै जसोले। घोक्रे आवाजले “कहाँ जाने?” ५०० रूपिँया लाग्छ … त्यहाँ त नजाने…मानौं कि कुनै ठूलो उपकार नै गरे जस्तो । त्यो मिटर त म्यूजियममा राखे जस्तो मात्र । मेरो शहरका ड्राईभरहरू पहिले यस्तो थिएनन् । ट्याक्सी ड्राईभरहरूको दादागिरी देख्दा यहाँ अमेरिकाका ट्याक्सी ड्राईभर जस्ले गुड ईभिनिंड सर । ह्वेर उड यू लाईक टू गो ? भनेर नम्रपूर्वक सोधेको याद गर्छु । धत् म पनि कस्तो ग्वाँचे होला नेपाल त कहाँ पहिलेको जस्तो हुनु र। अब त गणतन्त्र आईसक्यो । सबैको हक अधिकार बराबर छ देशलाई बिकास गर्नु पर्छ भनेर एबीसी पार्टीका नेताले चिच्याएको भाषण सुन्दा म ओबामाहरूलाई सम्झन्छु । साँच्चै मेरो देश त धनीहरूले बसोवास गर्ने गरिब देश पो हो । जहाँ सँधै धुर्तहरूले सिण्डिकेट सिस्टममा देश हाँकिरहेका हुन्छन् । जनता सँधैं काकाकुल । आफ्नै शहरमा बिरानो जस्तो , असन बजारको मोल सुन्दा बोल सुन्दा आफैलाई भूतपूर्व नेपालीको बिल्ला झुन्ड्याए जस्तो। आफ्नै शहरमा बिरानो जस्तो , असन बजारको मोल सुन्दा बोल सुन्दा आफैलाई भूतपूर्व नेपालीको बिल्ला झुन्ड्याए जस्तो।  अनि फेरि असनलाई नियालेर हेरें – देखें आत्मा नभएको शरीर जस्तो । मेरो असन यस्तो कुरूप कहिले थिएन । म जन्मेको शहरको यति दूषित कहिले थिएन । भाईरसहरूको चपेटामा परिसकेको रहेछ मेरो असन । त्यसैले पो असनलाई भेट्न असनै पुग्दा असन नभेटिएको । विरक्तिएर मेरो कर्म भूमि टावसन शहरमा अनायासै फेरि असन खोज्न थाल्छु । भगवान शरण् बोल्दै सयपत्री फूल उनिरहने माली तताजुहरूलाई सम्झेर यहाँको वालमार्टहरूमा बेचिराखेका रंगीबिरंगी फूलका गुच्छाहरू लिएर सेल्फ चेक आउटमा पाँच डलर तिरेर किन्छु । घर जानुको लागी मेरो कार स्टार्ट गर्ने बित्तिकै रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो … गीत घन्किन्छ । २० मिनेटको ड्राईभ पछि म घर कम्पाउण्ड पुग्नु अगाडि मृगका झुण्डहरूले म तिर हेर्दै गुड ईभनिंग गरेको भान हुन्छ । कारको स्पीड कम गरिसकेको हुन्छु । आफ्नो पार्किंग लटमा गाडि रोकेर ग्रोसरी झोलाहरू बोक्दै किचेन तिर लम्किन्छु । एकैछिन सोफामा बसेर थकावट मेट्दै टिभि अन गरी भ्वाईस अफ अमेरिका हेर्न थाल्छु । कर्मभूमिमा बलजफ्ति रमाउन थाल्छु । जन्मभूमिमा बिहानी भैसकेकोले आमालाई सम्झिदैं फोन घुमाउन थाल्छु । हेल्लो .. हेल्लो । अस्तु । 1.4kShares प्रतिक्रिया Last edited: 06-Feb-19 09:26 AM

Waves of Nepal · Feb 6, 2019 9:16 AM · 10,088 views

3 Replies

आहा ! क्या रमाइलो लाग्यो राजोपाध्याय जी को लेख पढेर/ काठमान्डू को गल्लिहरुमा बिताएको क्षण हरु मलाइ पनि झलझल याद आयो/ धन्यबाद छ, राजोपाध्याय जी/

adhikari_bandhu · Feb 7, 2019 10:35 PM

Nun dekhi sun samma wah wah

Taaremam · Feb 8, 2019 1:56 AM

Thanks a lot for liking my this article. - Basav Juju

Waves of Nepal · Feb 10, 2019 6:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion