यमबुद्धले आत्महत्या गरेकै होइनन भन्छन त उनका बाबु आमा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रमाण भए पनि नदेखाउने रे .. https://www.youtube.com/watch?... पुरा पढ्नुहोस् ‘फेरि एक यम बुद्ध जन्मिन्छ’ बुबाले क्रिकेट खेल्न दिएनन्, आमाले र्‍यापर बनाइन् ! १८ माघ, काठमाडौं । मान्छे जन्मेपछि मर्नैपर्छ । कसैले छोटो आयु लिएर आएको हुन्छ त कसैको आयु लामो । को कति आयु बाँच्यो भन्ने कुराले अर्थ राख्दैन्, तर उसले आफ्नो जीवनकालमा के कस्ता कामहरु गर्‍यो, त्यसले विशेष अर्थ राख्छ । आजभन्दा २ वर्ष अगाडि र्‍यापर यम बुद्धले आफ्नो परिवार र शुभचिन्तकलाई आँशुमा डुबाएर संसार छोडे । लण्डनमा रहेका उनले आत्महत्या गरेका समाचारहरु छ्यापछ्याप्ती भेटिए । आफ्नो एक्लो छोराको आत्महत्याको खबर सुनेर आमाबुबाको मनमा के भयो, त्यो कल्पनाभन्दा बाहिरको कुरा थियो । भर्खर २९ वर्ष पुगेको एक्लो छोराले आत्महत्या गरेपछि यम बुद्धमा बाबा–आमाको आँशु अहिले पनि सुकेको छैन । ‘हामी दिनदिनै मरिरहेका छौं’ यम बुद्धका बुबा अम्बिकाप्रसाद अधिकारी र आमा उर्मिला अधिकारीले छोरालाई सम्झेर नरोएको दिन छैन । जब साँझ पर्छ, उनीहरु अंकमाल गर्दै छोराको यादमा आशु बगाउँछन् । ‘दिनभरि त जसोतसो मन भुलेको हुन्छ, जब साँझ पर्छ, अनि छोराको यादले मुटु भक्कानिएर आउँछ’, यम बुद्धकी आमा भन्छिन्, ‘के गर्नु ? सम्झियो, रोयो । त्यसको विकल्प त केही छैन रहेछ ।’ छोराको यादमा धेरैपटक झस्किएकी छिन्, आमा । सपनामा आएर छोराले नरुन आग्रह पनि गर्ने गर्छन् । तर, त्यो कुराले उनको मनमा झनै ठूलो पीडा थपिदिन्छ । ‘सपनामा आफूसँगै बेडमा खेलिरहेको छोरा आँखा खोल्दा साथमा हुदैन । त्यस समय एउटी आमाको मन कस्तो हुन्छ होला ?’ आमाका आखाँमा आशु भरिन्छन् । कसैले ठूलो आवाजमा बोल्यो भने बाबा–आमालाई आफ्नै छोराले बोलाएजस्तै लाग्छ । मलीन स्वरमा बुबा भन्छन्– ‘उ पनि राति राति घर फर्किँदा ठूलो स्वरले चिच्याउने गर्थ्यो । त्यसैले कसैले ठूलो स्वरमा बोल्यो भने हामी छोराको स्वर सुन्छौं ।’ यमबुद्धलाई सम्झेर गरिने सभा–समारोहमा सहभागिता जनाउन उनीहरुलाई गाह्रो हुन्छ । प्रज्ञा भवन र पशुपति पुग्न सक्दैनन् उनीहरु । ‘म त मन कठोर बनाएर भए पनि केही कार्यक्रमहरुमा पुग्छु’, बुबा थप्छन्, ‘उनलाई (आमालाई) त गाह्रो हुन्छ । त्यसैले पनि उनी कतै जाँदिनन् ।’ यम बुद्धले आमाबुबालाई विभिन्न रेष्टुरेन्टहरुमा लाने गर्थे । अहिले छोराले लगेको रेष्टुरेन्टसम्म पुग्ने हिम्मत उनीहरुमा छैन् । यमबुद्धका बुबा भन्छन्, ‘छोराले जुन जुन रेष्टुरेन्टमा लग्यो, त्यो रेष्टुरेन्टसम्म पुग्ने सामथ्र्य हामीमा छैन ।’ आँखाको डिलमा हात पुर्‍याउँदै आमा भन्छिन्, ‘मर्न पनि नसकिने, बाँच्न पनि धेरै गाह्रो हुने रहेछ । पाइला पाइलामा ठक्कर खाएर बाँचिरहेका छौं ।’ छोरीहरुका लागि, उनीहरुलाई नै हेरेर जीवन बिताइरहेका छन् अम्विकाप्रसाद र उर्मिला । ठक्कर खाँदा खाँदा र्‍यापर परिवारमा रहदाँ निकै रमाइलो गर्न रुचाउँथे अनिल अधिकारी उर्फ ‘यम बुद्ध’ । घरमा कोही कसैको अनुहार अँध्यारो भएको उनलाई मन पर्दैथ्यो । बुबाआमा र दिदीबहिनी सबैका प्रिय पात्र थिए । अनिल अधिकारी ठक्कर खाँदा खाँदा र्‍यापर यम बुद्ध बन्न पुगेको उनका पिताको बुझाइ छ । बाल्यकालदेखि नै क्रिकेटमा विशेष रुचि भएका यमबुद्ध क्रिकेटका पनि राम्रो खेलाडी थिए । उनले अन्डर १६ को टीममा छनोट भएर विदेशमा गेम खेल्न जाने अवसर पनि पाएका थिए । तर, त्यो समय उसलाई बाबाले रोकिदिए । बाबा भन्छन्, ‘मलाई छोराले पढाइमा विशेष ध्यान दिए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यसैले मैले उसलाई रोकेको थिएँ ।’ यो पनि पढ्नुस्, यम बुद्धको मृत्युले जन्माएको प्रश्नः जिन्दगीलाई मृगतृष्णामा कहाँसम्म दौडाउने ? क्रिकेटमा खेल्न नपाएपछि अनिल बास्केट बल खेल्नतिर लागे । कलेजमा पढ्दै गर्दा उनी बास्केट बलको पनि राम्रो खेलाडी बने । तर, खुट्टाको लिगामेन्ट च्यातिएपछि उनले बास्केटबल पनि खेल्न नपाएको बुबा अम्बिकाप्रसाद बताउँछन् । उनी भलिबलमा पनि राम्रा खेलाडी थिए । उच्च शिक्षा सकेपछि उनी पढ्नका लागि अष्ट्रेलिया जाने तयारीमा थिए । तर, त्यही समय उनको दुर्घटनामा परेर खुट्टा भाँचियो । त्यसपश्चात उनले केही समय आराम गर्नुपर्ने भयो । बेड रेस्ट गर्दा नै उनले र्‍याप सुरु गरेको बुबाले अनलाइनखबरलाई बताए । ‘उसले जब बेड रेस्ट गर्नुपर्‍यो, त्योबेला देखि नै र्‍यापमा विशेष रुचि देखाउन थाल्यो’, बुबाले भने, ‘उसले युट्युबमा पनि र्‍यााप मात्रै हेथ्र्यो र त्यहीँबाट र्‍याप सुरु गरेको हो ।’ बुबालाई थाहा नदिई र्‍याप रेकर्ड यम बुद्ध पढाइका लागि लण्डन पुगेका थिए । तर, फ्याक्चर भएको खुट्टामा समस्या दोहोरिएपछि उनी नेपाल फर्किए । नेपाल आएपछि उनले आमालाई आफूलाई र्‍याप रेकर्ड गर्न मन भएको बताए । आमाले पनि छोराको इच्छालाई पूरा गरिदिन बाबासँग लुकाएर पैसा सहयोग गरिन् । सपोर्ट गरिन् । आमा सम्झिन्छिन्, ‘छोराछोरीको ईच्छालाई एकजनाले त सपोर्ट गर्नुपर्छ भन्ने भएर नै उसलाई मैले सहयोग गरेकी थिएँ ।’ छोराले आफूलाई पहिल्यैदेखि र्‍यापहरु सुनाइरहने उनले बताइन् । उर्मिलाले अनलाइनखबरसँग भनिन्, ‘उसको प्रतिभा बुझेर नै र्‍यापमा सहयोग गरेकी हुँ । आखिर उसले प्रमाणित पनि त गरिदियो नि, हैन ?’ यम बुद्धले पनि धेरै अन्तरवार्ताहरुमा आफूलाई आमाले धेरै सपोर्ट गरेको बताउने गरेका थिए । छोरालाई चर्चित सम्बोधन गर्दा गर्वले नाक फुल्थ्यो आफ्नो सफलतामा भन्दा पनि आफ्नो सन्तानको सफलतामा बाबा–आमा धेरै खुसी हुन्छन् । यम बुद्धका बाबा–आमा पनि छोराको सफलतामा निकै खुसी थिए । कसैले छोरालाई चर्चित र्‍यापर भनेर सम्बोधन गरेको सुन्दा उनीहरुको नाक फुल्थ्यो । ‘हामीले यस धर्तीलाई अनिल अधिकारी दिएका थियौं । उ त चर्चित यम बुद्ध बन्यो’, बाबा भन्छन्, ‘छोराबाट हामीले सोचेको भन्दा पनि बढी खुसी पायौं ।’ अहिले पनि धेरै ठाउँमा पुग्दा उनीहरुलाई यम बुद्धका बाबा–आमा भनेर चिन्छन् । आफ्नो छोराको नामबाट चिनिन पाउँदा उनीहरुमा त्यो खुसी व्यक्त गर्ने शब्द नै छैन । ‘जो कोही पनि हामी भएको ठाउँमा आएर फोटो खिच्न खोज्नुहुन्छ । हामीप्रति माया देखाउनुहुन्छ । यो सबै उसैको देन हो ।’ तर, यत्तिको माया पाउने बनाएर छोराले कलिलै उमेरमा संसार छोड्दा दुःखी पनि छन् अधिकारी जोडी ।’ ‘यो मायामा छोरा पनि साथैमा भइदिएको भए…’ लामो सुस्केरा हाल्दै उर्मिलाले भनिन् । ‘आत्महत्याको कलंक’ यम बुद्धको हत्या नै भएको हो कि आत्महत्या हो भन्ने विषयमा उसबेला लामो छलफल पनि भयो । अधिकारी परिवारले आफ्नो छोरा आत्महत्या गर्नेखालको नभएको दाबी गर्न अझैसम्म छाडेका छैनन् । बुबा अम्बिकाप्रसाद भन्छन्, ‘संसार जितेको मेरो छोराले संसार छाडेको भन्दा पनि उसले आत्महत्या गरेको हो भनेर उमाथि लगाइएको कंलकमा हामी अझ बढी दुःखी भएका छौं । ऊ आत्महत्या गर्नेखालको मान्छे नै हैन । संसारलाई खुसी दिने उसले आफैँलाई कसरी मार्न सक्छ ?’ यम बुद्धको आत्महत्या नभएको भन्ने कुराको केही प्रमाण पनि उनीहरुले भेटेका रहेछन् । तर, दोषीलाई कारवाही गर्दैमा वा जेलमा लगेर कोच्दैमा आफ्नो छोरा फिर्ता नआउने भएकाले उनीहरुले मौन बसेको बताए । बुबा अम्बिकाप्रसाद भन्छन्, ‘हामीले आत्महत्या नभएको केही प्रमाण पाएका छौं, सुरुमा लण्डनमा पहुँच नपुगेर हामीले एक्सन लिन सकेनौं । अहिले दोषीलाई समातेर थुन्दैमा हाम्रो छोरो फर्केर आउँदैन भन्ने लागेर मौन बसेका छौं ।’ ‘हाम्रै कारण दोस्रो यम बुद्ध जन्मियोस्’ यम बुद्धका फ्यानहरुले उनको सम्झनामा विभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छन् । त्यसमा सहभागी हुन बाबा–आमा पुग्छन् । बाबा–आमाले उपस्थित हरेक फ्यानको आखाँमा यम बुद्धलाई देख्छन् । बाबा भन्छन्, ‘मैले उसको फ्यानका आखाँमा उसलाई देख्छु । र, उसैका फ्यानलाई हेरेर उसको याद मेटाउने कोसिस गर्छु ।’ अहिले यम बुद्धका बाबा–आमाले यम बुद्ध फाउन्डेसनको सुरुवात गरेका छन् । यस फाउन्डेसनले विभिन्न आर्थिक हैसियत कमजोर भएका बालबालिकाहरुलाई सहयोग गर्ने गरिरहेका छन् । अहिले सहयोग गरिरहेका बालबालिकामा पनि बाबा–आमाले यम बुद्धलाई भेट्छन् । ‘मलाई विश्वास छ, फेरि पनि एक यम बुद्ध पक्का जन्मिन्छ’, अम्बिकाप्रसादले भने, ‘त्यो यम बुद्ध हाम्रै कारण जन्मियोस् भनेर नै बालबालिकालाई सहयोग गरिरहेका छौं ।’ साभार - onlinekhabar.com

AnandNepal · Feb 2, 2019 7:45 PM · 3,038 views

3 Replies

आज मंगलबार -- अनिल अधिकारिको बायोग्राफि https://www.youtube.com/watch?...

AnandNepal · Feb 5, 2019 10:04 AM

Anand Nepal le pani aru ko chiyo charcho garda garda wakka lagera vawisyamaa kunai din atmahatya gareka hainan vanne khabar sunna naparos.

Taaremam · Feb 5, 2019 12:25 PM

oh, thank you @Taareman same to you!

AnandNepal · Feb 6, 2019 11:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion