राजा महेन्द्रकी नातिनी श्रेयाको नियति– नागरिकता नपाएपछि रुँदै अमेरिका फर्किन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजा महेन्द्रकी नातिनी श्रेयाको नियति– नागरिकता नपाएपछि रुँदै अमेरिका फिर्ता !  दिलनिशानी मगर पुस २९, २०७५ जेठ १९ को अप्रत्याशित ‘दरबार हत्याकाण्ड’ पश्चात् शाही परिवार लगभग विघटनको स्थितिमा पुग्यो । राजनीतिक रूपमा यो घटनाका अनेक रंगहरू थिए तर शाह नश्लका निम्ति भने एकदमै निर्मम थियो । खासमा त्यस दिन नारायणहिटी दरबारभित्र के भएको थियो, त्यो आजको मितिसम्म पनि अनुत्तरित छन् । तर बाहिरबाट हेर्दा शाहहरू जसले अढाई सय वर्षसम्म नेपालको शासनसत्तामा राज गरे उनीहरूको हाडनाताले जोडिएका परिवारहरूको समेत बिचल्ली भयो । बिचल्ली यस अर्थमा कि जेठ १९ को घटनापश्चात् राजाका हजारौं समर्थकहरू देश छाडेर भागेका थिए । भागेका थिए त नभनौं, आफूहरूको निम्ति स्वदेशमा वातावरण अनुकूल नदेखेपछि तिनीहरू विदेश ‘शिफ्ट’ भएका थिए । तीमध्ये कोही जिउधनको सुरक्षाको कारण देखाउँदै विदेश गए, कोही भने शरण मागेर गए । तर स्वाभिमानको विषय के छ भने अनेकौं पीडाका लप्काद्वारा डामिएका पूर्वराजा ज्ञानेन्द्र शाह भने आजको दिनसम्म यही भूमिमा हाँसीखुशी बसिरहेका छन् ।  राजा महेन्द्रका कान्छा छोरा तत्कालीन अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाहकी छोरी श्रेया शाहले नेपाली नागरिकता पाउन नसकेपछि अन्ततः भारी मन लिएर रुँदै रुँदै अमेरिका फर्किएकी छन् मानिसहरू देश किन छाड्छन् ? सिरिया र इराकको हैन, पछिल्लो ताजा उदाहरण पेश गरौं साउदी अरबको । आफ्नो देश र परिवार नै त्यागेर भागेकी साहसी साउदी युवती रहफ मोहम्मदलाई अब क्यानडाले शरण प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेश गरेको उनको शरणार्थी आवेदन स्वीकार्‍यो । इस्लाम त्यागेका कारण आफूलाई आफन्तले नै मारिदिने डर भएको रहफले बताएकी थिइन् ।  कुबेतबाट भागेर ब्यांकक विमानस्थल पुगेपछि सामाजिक सञ्जालमार्फत आफ्नो अवस्था प्रकट गरेकी रहफका निम्ति विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए ।  साउदीकी रहफ मोहम्मद जस्तै देश छाडेर भागेको पनि हैन, आफ्ना आमाबाबाको भूमिको नाताहरूसँग सम्बन्धविच्छेद गरेको पनि हैन । देशको माया र संस्कार त्यागेको पनि हैन । कसैको हातबाट मर्नुपर्ने डरका कारण पनि हैन, स्वतन्त्र भएर बस्न नपाएर पनि हैन । अध्ययन गर्न र सामान्य राजनीतिक उतारचढावका बीच परिवारको साथ लागेर अमेरिका पुगेकी श्रेया शाह अन्ततः नेपाल आइन् र पशुपतिनाथ पुगेर पूजाआजा गरिन् । नेपालको माटोलाई ढोगिन् । पूर्व राजपरिवारको नश्ल श्रेया एक सामान्य नागरिकको हैसियतमा नेपाली नागरिक भएर नेपाल बस्न चाहिन् । त्यसका निम्ति उनलाई नेपाली नागरिकता आवश्यक हुन्थ्यो ।  जन्मेको देशले दिएन नागरिकता राजा महेन्द्रका कान्छा छोरा तत्कालीन अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाहकी छोरी श्रेया शाहले नेपाली नागरिकता पाउन नसकेपछि अन्ततः भारी मन लिएर रुँदै रुँदै अमेरिका फर्किएकी छन् । वंशजको आधारमा नागरिकता प्राप्तिका लागी उनले अनेकौं प्रयास गरिन् तर सफल भने हुन सकिनन् । आफूसँग भएका सबै प्रमाणपत्रहरू बोकेर उनी कहिले मिडियामा त कहिले सरकारी अड्डाहरूमा पुगिन् । तर अहँ, उनको बिन्तीभाउ कसैले सुनेनन् । एकदमै दुःखको कुरा, श्रेयाले अमेरिकी दूतावासबाट ट्राभल भिसा लिएर अमेरिका फर्किनुपरेको छ । नेपालको राहदानीमा यात्रा गर्ने उनको सपना पूरा हुन सकेन ।  श्रेया शाह कस्ता परिवारसँग सम्बन्ध राख्छिन्, उनको वंशजको लिगेसी के हो, उनका पुर्खाहरू को हुन् र तिनले यो भूमिमा के कस्ता कर्म गरे त्यससँग यो पंक्तिकारलाई सरोकार हैन । मुख्य सरोकारको कुरा के हो भने नेपाली माटोमा जन्मिएकी एक नेपाली छोरीले नेपालको नागरिकता पाउनका लागि यो हदसम्मको अन्याय, अपमान बेहोर्नु चाहिँ गम्भीर चिन्ताको विषय हो किनभने यो देश ‘किसी का बाप का नही है’ ।  ती जुनसुकै विचारधारका किन नहुन्, हरेक नागरिकको आधारभूत नैसर्गिक अधिकारको सम्मान गर्नु राज्यको पहिलो प्राथमिकता हो । र श्रेयाको हकमा जानेर वा नाजनेर यस राज्यका कारिन्दाहरूले निकै ठूलो पूर्वाग्रह साँध्यो । यो देशमा हामीले गणतन्त्र ल्यायौं, समावेशी अधिकारका निम्ति ल्यायौं । कुनै विचारधारा, समूह र तिनका प्रवृत्तिलाई अपमान गर्नका निम्ति गणतन्त्र ल्याएका हैनौं, तत्कालीन राजतन्त्रको राम्रा नराम्रा पक्षका विषयमा चर्चा गर्न सकिन्छ तर श्रेयाले नेपाली नागरिकता पाउनुपर्ने माग त चर्चा नै हुनुनपर्ने सामान्य प्रक्रियाको विषय थियो । आज युरोपका धेरै देशमा नेपालीहरू अस्थायी र स्थायी दुवै किसिमका अनुमतिपत्र प्राप्त गरेर आनन्दले बसेका छन् । र तिनीहरूको ‘जेनेटिक फ्याक्टर’मा ढिलोचाँडो नेपाली मूलका विदेशी भन्ने तन्तुको प्रवेश गर्दैछ । यसरी वैधानिक रूपमा दोस्रो दर्जाको नागरिक बनेर भविष्यको मार्गलाई नेपालीको जस्तो दुखिया नबनाउने ‘नेपांग्रेजी’ हरू लाखौं छन् । श्रेयाको लिगेसी त्यो हैन जो नयाँ गाडी चढ्न, मीठो खान, राम्रो कपडा लगाउन, र घरबंगला किन्न मात्रै विदेश भासिएका छन् ।  हो, श्रेयालाई विभिन्न कारणले नेपालमा बस्न मन लागेन होला तर जसरी श्रेयाले अन्ततोगत्वा नेपालको नागरिकता खोज्दै आइन्, यो त गर्वको विषय थियो । उनको राष्ट्रप्रेमको अभिलाषामाथि ब्रजपात गरियो । यो एनआरएन नामको ठगमाराहरूको पहलका कारण यो कमिसनखोर सरकारले विदेशमा जन्म लिएका तर बाबुआमा नेपाली मूल भएकाहरूलाई राजनीतिक अधिकारबाहेक अरू सबै अधिकार पाइनेगरी नेपाली नागरिकता दिन सकिने प्रावधान खडा गरेको छ । तर श्रेयाको हकमा भने यी कुनै पनि प्रावधानहरूको प्रयोग गरेको देखिँदैन । कौडीको भाउमा विदेशीहरूले नेपाली नागरिकता किनिरहेका छन् । दार्जिलिङ, सिक्किम, सिलीगुडीतिरका अधिकांश भारतीयहरूले पहुँच र पैसाको प्रयोग गरेर नेपाली नागरिकता लिइरहेका छन् । यो हावा कुरा हैन । तराई मधेशको सिमानासँग जोडिएका स्थानका भारतीयहरूले हजारौंको संख्यामा विगतदेखि नै नेपालको नागरिकता अवैधानिक तवरले लिने गरेका घटना कैयौं भेटिन्छन् । नेपालमै जन्मिएकी, यहीँ हुर्किएर पढेकी, नेपाली बाउकी छोरी श्रेयाले अथक प्रयास गर्दा समेत नेपाली नागरिकता नपाउनु बडो दुःखको कुरा हो । हामी सिस्टम र थितीको कुरा गर्छौं । तर कागजको सानो उल्झनलाई सल्टाउन नसकेर कुकर्मका हर्कतहरूको साक्षी बस्नुपरेको छ । यसैमा नेपाली हुनुको घृणा जाग्छ । अमेरिका, बेलायत, जापानमा रहेका नेपाली मूलका बुवाआमाले आफ्ना सन्तानलाई त्यहाँ लैजान ‘डीएनए’ जाँच गर्छन् । डीएनएमा तिनका सन्तान नै हुन् भन्ने पुष्टि भयो भने कागजको खोस्टाको उपयोग कम र प्रयोगशालाको उपयोग धेरै हुन्छ । श्रेयालाई स्थानीय जनप्रतिनिधिले धेरै दुःख दिएको, अपमानजनक व्यवहार गरेको कुरा उनकै मुखबाट सुनिएको हो । मलाई लाग्छ, नागरिकता दिनका निम्ति अब यो डीएनए जाँच अनिवार्य गरिनुपर्छ ।  बाबाको निधन भइसकेको अवस्थामा आमासँग डीएनए मिल्यो भने कम्तीमा पाँचजना नेपाली नागरिकताधारी साक्षी बस्दा श्रेयालाई नागरिकता पाउनुपर्ने हो । दरबारभित्रकी र दरबारबाहिरकी महारानीहरूको कथा त लामो छ, तर यो अवस्थामा पूर्वराजा ज्ञानेन्द्रले सहयोगीको भूमिका निर्वाह गर्न सकेको भए राम्रो हुने थियो । त्यसो हुन सकेको भए श्रेया खाँटी नेपाली हुँ भनेर पुष्टि गर्नका निम्ति आँसु बगाउँदै लाटा देशका गाँडा तन्नेरीहरूको आँगनमा हारगुहार गर्नुपर्ने थिएन ।  अस्पतालको रेकर्डअनुसार, श्रेयाको जन्म आमा जया पाण्डे शाहको कोखबाट २०४५ साल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भएको देखिन्छ । त्यो जन्मको प्रमाणपत्र फर्जी हो कि हैन भन्ने कुरा शिक्षण अस्पतालले जान्ने कुरा हो । तर मलाई लाग्छ, विदेशमा पढिरहेकी, जानेकी, बुझेकी र पूर्व नै भए पनि राजखानदानकी छोरी श्रेयालाई नेपाली नागरिकता बनाउन किन फर्जी कागज आवश्यक पर्छ होला र ? शिक्षण अस्पतालको त्यो कागज परीक्षणका निम्ति पठाउन पनि सकिन्थ्यो त । फर्जी काम गर्नका लागि त बच्चा पाउने बेलामा अमेरिका जाने नेपालीहरू, अझ सेलेब्रिटीहरू कैयौं छन् । तिनलाई लाज लाग्नुपर्ने हो । विगतदेखिनै दरबारसँग नजिक रहेर कलम चलाउने वरिष्ठ पत्रकार बबिता बस्नेतका अनुसार, २०४४ (अप्रिल २१, १९८७) सालमा अधिराजकुमार धीरेन्द्रसँग दक्षिणकाली मन्दिरमा गई विवाहबन्धनमा बाँधिएकी जयालाई धीरेन्द्रको वैवाहिक जीवनबारे थाहा थियो । त्यसैले धीरेन्द्रको प्रेम–प्रस्तावलाई उनले शुरूमा अस्वीकार गरेकी थिइन् । तर पछि धीरेन्द्रपत्नी तात्कालिक अधिराजकुमारी प्रेक्षासँग सम्बन्धविच्छेद भएको कागजपत्र प्रस्तुत गरेपछि मात्र जया धीरेन्द्रप्रति सकारात्मक बनेकी थिइन् । जयालाई विधिवत् पत्नी बनाउन इच्छुक भए पनि धीरेन्द्रले प्रेक्षालाई झैं धुमधामका साथ विवाह गर्न बडामहारानी ऐश्वर्यका कारण सकेनन् । त्यसैले घरसल्लाह बमोजिम दक्षिणकालीमा वैवाहिक समारोह सम्पन्न भएको थियो ।’ बबिता थप्छिन्, ‘जयासँग विवाह भएको केही समयपछि धीरेन्द्रले आफू नेपालमा असुरक्षित रहेकोले बेलायत जान चाहेको बताउँदै बेलायत बस्नका निम्ति उतैकी कोहीसँग पेपर म्यारिज (कागजी विवाह) गर्नुपर्ने बाध्यता रहेको जानकारी जयालाई दिएका थिए र त्यसमा जयाको असहमति पनि भएन । तर पछि तिनै ‘पेपर म्यारिजवाली’बाट पनि धीरेन्द्रकी छोरी जन्मिइन् । यसरी अर्की महिला साथमा भए पनि धीरेन्द्रले जयासँगको सम्बन्ध तोडेका भने थिएनन् । निरन्तर सम्पर्कमा थिए । त्यसैबीच २०५३ सालमा जया पनि आफ्नै छोरीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ लागिन् । पति धीरेन्द्रसँग सल्लाह गरेर नै उनी यसरी अमेरिका गएकी थिइन् । तर पछि धीरेन्द्रले नेपालमै बाँकी जीवन बिताउने इच्छा प्रकट गर्न थाले र पत्नी जयासँग भन्ने गर्दथे, ‘छोरी १३ वर्षकी भएपछि ऊ बुवासँग नै हुनुपर्छ ।’ २०५६–५७ सालतिर धीरेन्द्रको बसाइ धेरैजसो नेपालमै हुन थालेको थियो । पति धीरेन्द्रको आग्रहपछि जयाले पनि नेपाल फर्कन जुलाई ५ तारिख (२०५८ साल) को टिकट लिएकी थिइन् । तर जुन एक (जेठ १९) मा नै राजदरबार हत्याकाण्डमा धीरेन्द्रको ज्यान गयो । दुःखद संयोग, १३ वर्षपछि सँगै राख्ने भनिएकी छोरीले १३ वर्ष पूरा गरेको दिन धीरेन्द्रको देहावसान भएको तेह्रौं दिन परेको थियो ।’ श्रेयालाई ग¥यो आफ्नै माटोले अपमान ! श्रेया नेपाली हुन् कि हैनन् भनेर अपमान गर्ने, बडो न्यायाधीश जस्तो बन्ने जनप्रतिनिधिहरू को हुन् ? तरकारीलाई अंग्रेजीमा के भनिन्छ तिनलाई थाहा छ कि छैन ? जुन देशको माटोमा प्रथमपटक आँखा खोलियो, हातगोडा टेकियो त्यस देशसँगको प्रेममाथि शंका गर्ने अधिकार कुनै माईकालाललाई छैन । विदेशीलाई नागरिकता बचेर महल खडा गर्नेहरूले श्रेयाको भावना बुझ्न समय लाग्छ । श्रेयाको बुझाइ थियो ः आफ्नै देशमा मलाई यस्तो यो ‘अन्फेयर’ व्यवहार हुन्छ जस्तो लागेको थिएन । घटना र विचारसँगको संवादमा श्रेयाले भनेकी थिइन्, ‘नेपाली भएर जन्मिएँ, नेपाली भएरै बाँच्न र मर्न चाहन्छु, तर मलाई मेरै देशले नेपाली बन्नबाट वञ्चित गर्न खोज्दैछ, मैले न्याय माग्न कहाँ जाने हो ? उनको एउटै दुखेसो थियो ः मैले मेरो देशबाट खोजेको भनेको नागरिकताको प्रमाणपत्र हो । म जन्मिएको शिक्षण अस्पतालद्वारा उपलब्ध गराइएको जन्म प्रमाणपत्र लगायतका दस्तावेज उपलब्ध गराउँदा पनि मलाई नागरिकताको प्रमाणपत्र दिन आनाकानी गरेको देखेर स्तब्ध भएकी छु ।’ धीरेन्द्रपुत्री श्रेयाकी आमा अर्थात् धीरेन्द्रपत्नीको तर्क थियो, ‘हामीले खुशीसाथ विवाह गरेका थियौं । बडामहारानी सरकार (ऐश्वर्य)को स्वभाव अलिक कडा थियो । जीवन राम्रोसँग बित्छ जस्तो लागेको थियो, यसरी तितरबितर हुनुपर्ला भन्ने चाहिँ कहिल्यै लागेको थिएन । एउटा गीत छ नि ‘मलाई यो जिन्दगीले कहाँ पु¥यायो’ भन्ने । यसो सम्झँदा कहिलेकाहीँ त्यस्तै लाग्छ । अब कुनै ठूला आकांक्षा छैनन् । छोरी सबल नागरिक भएकी हेर्न चाहन्छु । यतिबेला नागरिकता सम्बन्धी विषयलाई लिएर हामीले जुन प्रकारको विपत्तिको सामना गर्नुपरेको छ, यसबाट मुक्ति पाइएन भने हामी सबभन्दा खुशी हुनेछौं । कसैका प्रति हाम्रो कुनै गुनासो रहनेछैन ।’ किन पाइनन् श्रेयाले नेपाली नागरिकता ? धीरेन्द्रपत्नी जया पाण्डे शाह छोरी श्रेयाको नागरिकताका लागि सिफारिश लिन काठमाडौं महानगरपालिकाका वडाध्यक्ष दीपक केसीसमक्ष पुग्दा केसीले भनेका थिए, ‘छोरीले बाउ खोज्नुभन्दा पहिला आमाले पोइ खोज्नुप¥यो’ । तर शिक्षण अस्पतालमा जन्मिएको जन्म प्रमाणपत्रमा बाबुको नाम धीरेन्द्र वीरविक्रम शाह छ, त्यसबाट उनी तत्कालीन अधिराजकुमार धीरेन्द्रकी छोरी भएको स्पष्ट हुन्छ । तर केसीले ‘कस–कसले कहाँ छोराछोरी पाउँदै हिँड्छन्, नागरिकता त्यति सजिलै पाइन्छ ?’ भन्दै हकारेका थिए ।  तस्वीर- घटना र विचारबाट श्रेयाको आमा पहिलोपटक यी विषयहरू लिएर पत्रकार बबिता बस्नेतकहाँ पुगेकी थिइन् । यो स्टोरी तयार गर्दा पंक्तिकारले पत्रकार बबिता बस्नेतलाई टेलिफोन गरेर श्रेयाले नागरिता नपाउनुका कारणहरू सोधेको थियो । उनले भनेकी थिइन्, ‘नेपालमा यति धेरै काम गरियो, सबैसँग सम्बन्धहरू छन्, यति जाबो नागरिकताको काम त्यो पनि स्वतः मौलिक हक कानूनी रूपमा श्रेयाले नेपाली नागरिकता पाउँछिन् भन्नेमा म ढुक्क थिएँ । उनीहरू मकहाँ आएपछि, कागजात हेरेपछि त्यहाँ नागरिकता नपाउने, नमिल्ने भन्ने त नै प्रश्न नै देख्दिनँ । तर दुःखको कुरा, श्रेयाका लागि अन्फेयर भयो ।’ उनले थपिन्, ‘मलाई नि अचम्म लाग्यो, दुःख पनि लाग्यो । तर यहाँ केही स्वार्थ निहित कामहरूले भूमिका खेलेका छन् । एक नेपाली नागरिकलाई नागरिकता नदिनका निम्ति यस किसिमको स्वार्थको खेल सर्वथा गलत हो भन्ने लाग्छ । त्यो के भने दीपक केसी भन्ने मान्छे नेकपा एमालेका तर्फबाट विजयी वडाध्यक्ष हुन् । उनका बाबु गजेन्द्र केसी पनि पहिले सोही वडाका वडाध्यक्ष थिए । बुवाका प्रभावले चुनाव जितेका प्रतिनिधिका रूपमा चिनिने उनी सार्वजनिक जग्गा मिच्ने कारोबारीहरूसँग निकटतम व्यक्तिका रूपमा पनि चर्चित छन् । ती वडाध्यक्षले ‘अन्य सर्वसाधारणलाई भए यति प्रमाण भए पुगिहाल्थ्यो, म सिफारिश पनि गर्थें, तर यो मुद्दामा चाहिँ म गर्दिनँ’ भन्दै आएका छन् ।’  अन्य सर्वसाधरणको हकमा सिफारिश गर्ने, श्रेयाको हकमा भने नगर्ने भनेको कतै सम्पत्तिमा मुद्दा हाल्छिन् भनेर हो कि ? धीरेन्द्रको प्रेक्षातर्फकी छोरीहरूसँग स्थानीय जनप्रतिनिधिहरूको निकट सम्बन्ध रहेको छ । यो सत्य हो भने नाथे वडाध्यक्षले कानून हातमा लिन मिल्छ, यार ? https://lokaantar.com/samachar... पुस २९, २०७५ मा प्रकाशित

ktmpost · Jan 21, 2019 10:43 AM · 10,546 views

1 Reply

that's sad.

AnandNepal · Jan 21, 2019 2:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion