शृङ्खला भर्सेज निर्मला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सौन्दर्यका परम्परागत मान्यता नपछ्याउनेलाई ‘खतरनाक महिला’ भन्दै मौसमी रिपोर्ट लेख्ने काम सयौं गुणा सजिलो छ । मंसिर १५, २०७५सावित्री गौतम काठमाडौँ — आफ्नो रुचिको गतिविधि गरेबापत म रुबी, माल्विका, निकिता वा शृङ्खलाको विरोध व्यक्तिगत रूपमा किन गरौं ? मेरो उनीहरूसँग व्यक्तिगत दुश्मनी छैन । मलाई त निर्मला र मेरी छोरीजस्ता लाखौं बालिकाका लागि सुरक्षित समाज चाहिएको छ जसको कारण उनीहरूले शृङ्खलाले जस्तै स्वतन्त्र जिन्दगी बाँच्न पाऊन् । देशमा यतिबेला एक जना किशोरी र एक जना युवतीको सर्वाधिक चर्चा छ । एउटी हुन् चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी महेन्द्रनगर उल्टाखामकी निर्मला पन्त । पोखरामा कलाकार सुनील सिग्देलको कलाकृतिको प्रदर्शनीमा आमाको हात समातेर आएका एक जना बालकले कलाकार सिग्देलले निर्मला र मिथककी ‘दुर्गा भवानी’ को फ्युजन गरेर बनाएको चित्र ‘माई गड्डेस लस्ट द ब्याटल’ लाई ढोकाबाहिरबाटै देखाउँदै भन्दै थिए, ‘त्यो त निर्मला होइन ?’ अर्की हुन् हिडन ट्रेजर प्रालि नामक निजी कम्पनीले आयोजना गरेको मिस नेपाल शीर्षकको प्रतियोगिताकी विजेता शृङ्खला खतिवडा जो यतिखेर मिस वल्र्ड प्रालि नामक अर्को निजी कम्पनीले चीनमा आयोजना गरिरहेको विश्वस्तरीय प्रतिस्पर्धा मिस वल्र्डमा प्रतिस्पर्धारत छिन् । उनी नेपालमा चिनिइसकेर अब विश्वलाई नै आफ्नो र आफ्नो देशको नाम चिनाउने तरखरमा जोडतोडले लागिपरेकी छन् । वर्षमा पचासौं पटक देश–विदेशका विभिन्न प्रतियोगितामा सहभागी नेपाली र नेपाली मूलका प्रतियोगीलाई भोट गर्ने उत्सव मनाउन पाउने नेपालीहरू यतिबेलाशृङ्खलालाई भोट गरेर विश्वसुन्दरी बनाउन सघाउने मौकाको भरपूर उपयोग गर्दै भोटिङ महोत्सव मनाइरहेका छन् । न शृङ्खला हालको नेकपा डबल र उसका ‘भारदार’ का व्यक्तिगत सम्पत्ति हुन् न निर्मला नेकपाइतरका व्यक्तिको सम्पत्ति हुन् । दुवै नेपाली महिलाका अनुहारका दुईवटा पाटा हुन् । एक जनाले बाल्यकालमै गरिबी, छोरी भएको आधारमै बाबुले छोड्नुको पीडाको साथमा बलात्कारसँगै बीभत्स हत्याजस्ता अँध्यारा मात्र भोगिन्, अर्कीले आमाबाबुको प्रशस्त माया र हौसला, सम्पन्नता, उच्चकोटीको शिक्षादीक्षाको साथमा ग्ल्यामरको दुनियाको आँखा तिरमिराउने प्रकाशसँग रमाउने मौका पाइन् । बीभत्स मृत्यु भोगिसकेपछि पनि सरकारका कारिन्दाले निर्मलाको शवमाथि समेत बलात्कार र हत्याको सबुत मेटाउनका लागि गरेको ज्यादतीको विरोधमा उल्टिएको सिङ्गो देशका एकएक मान्छेको आँखामा निर्मलाको अनुहार अमिट बनेर रहेको छ । उता शृङ्खलालाई पनि यतिखेर धेरै मान्छेले चिनेका छन् किनकि उनको सहभागिता सुरुदेखि नै रोचक बनेको छ । कारण उनी यस्ता प्रतियोगिताले महिलाको वस्तुकरण गर्छ भन्ने विश्वास राख्ने राजनीतिक दलका नेता दम्पतीकी छोरी हुन् । उनका मातापितासहित मर्ज भएको अर्को दल पूर्वनेकपा माओवादीको विरोधका कारण त झन् सन् २००८ को मिस नेपाल प्रतियोगिता स्थगित नै हुन पुगेको थियो । निर्मला हत्याकाण्ड नेकपा डबलको दुईतिहाइ सरकार भएको बेला भएको छ । यही कारण निर्मलाको निम्ति न्याय माग्दै सडकमा चार महिनादेखि हिँड्नेहरू नेकपा डबलका केही ‘भारदारहरू’ का नजरमा स्वत: सरकारविरोधी, डलर पचाउने रोजगारी कायमै राख्न उफ्रेका झुन्ड आदि बनेका छन् । उता फेरिपूर्व नेकपा एमालेका नेताद्वयकी छोरीले विश्वसुन्दरी प्रतियोगितामा भाग लिएको कारण नेकपा डबलकै केही ‘भारदार’ का लागि विश्वसुन्दरीको ताज प्रतिष्ठाको सवाल बनेको छ । यतिबेला शृङ्खलाभन्दा निर्मला महत्त्वपूर्ण भन्नेहरू पनि ती भारदारहरूको नजरमा स्वत: सरकारविरोधी बनेका छन् । विश्व सुन्दरीको ताज देशमा भित्र्याएर देशको देशको शिर ठाडो पार्ने धुनमा धुनधानसँग लागिपरेका नेकपाका भारदार र अन्य केही सर्वसाधारण मनुष्यहरूको सबैभन्दा बढी तारो बनेका छन् हामीजस्ता दुई–चार जना महिला, जसलाई सौन्दर्य प्रतियोगिताको आधारभूत धारणा नै औचित्यहीन लाग्छ । *** अर्कातिर छन् ठयाक्क सुन्दरी प्रतियोगिताको सिजन सुरु भएपछि यसको विरोध वा समर्थन गरेका व्यक्तिहरूको विचार जुधाएर सनसनी मच्चाउने दाउमा चिलले सिनो ढुकेको झैं ढुकेर बस्ने सञ्चारमाध्यम । कोटेसन माग्नेहरूलाई यही बेला सुन्दरी प्रतियोगिताविरोधीहरूको धारणा धमाधम माग्नुपरेको छ । माग्नेहरूले त कम्तीमा त्यतिसम्म जाँगर चलाए । अरू कतिपयले त सामाजिक सञ्जालमा हामीले साथीसँग गरेका संवादलाई नै बिनासोधपुछ वा निर्लज्जतापूर्वक छापिदिएर हामीलाई ‘शृङ्खलाका विरोधी’ करार गरेका छन् । उदाहरणका लागि कान्तिपुर एफएममा काम गर्ने साथी स्वर्णा ताम्राकारले मिस नेपालको परिचयात्मक भिडियोमा ‘स्क्रिप्टबाहेक सबै ठीक छ, किन पढ्न असाध्यै जान्ने थिएँ भन्नुपरेको’ भनेर टिप्पणी गरिन् । मैले त्यसमा थपें, ‘स्क्रिप्टमा भएको’ एउटी ‘बोरिङ’ पढन्ते यतिखेर मिस नेपाल भएकी थिई’ भन्ने आशयको वाक्यले ‘मिस नेपाल बौद्धिकताको प्रतिस्पर्धा हो’ भन्ने आयोजक र प्रतिस्पर्धीको सदाबहार दाबीप्रति विरोधाभास देखाउँछ । ‘हामीमाथि मिस वल्र्डका लागि बनाइएको परिचयात्मक भिडियोजस्तो कुनै सार्वजनिक कन्टेन्टमा टिप्पणी गरेबापत कुरूप र ईष्र्यालु फेमिनिस्ट, महिला भएर अर्की महिलाको बारेमा पँधेर्नीले जसरी कुरा काट्ने र फेरि महिलाले हेपेको भन्दै हिंड्नेजस्ता तुच्छ टिप्पणी त पहिल्यै गरिएका थिए जुन कुनै प्रतिक्रियाका लायक थिएनन् । यसमा प्रतिक्रिया दिनैपर्ने स्थितिचाहिं एउटा सञ्चारमाध्यमको हर्कतका कारण बन्यो । हामी दुईको यो संवादलाई स्क्रिनसट गरेर गरिएका सयौं गालीमध्येको एउटा टिप्पणी ‘तिनीहरूले यस्तो भन्ने हिम्मत कसरी गरे, शृङ्खलालाई आफ्नो उपलब्धि बताउने पूर्ण अधिकार छ’ आशयको भनाइसँग मिसाएर प्रकाशित गरेर बीबीसी नेपालीजस्तो ‘प्रतिष्ठित’ सञ्चारमाध्यमले लेखेको छ, ‘सामाजिक सञ्जालमा शृङ्खलाको विरोध र प्रतिरक्षा दुवै गरिएको छ ।’ ‘नेपालकी ग्ल्यामर गर्ल शृङ्खला खतिवडा मिस वल्र्ड उपाधिको कति नजिक’ (२२ नोभेम्बर २०१८) को बीबीसी नेपाली समाचारशृङ्खलाको विरोध थियो वा स्क्रिप्टप्रतिको मात्रै चित्त नबुझाई, उनलाई हराउनेषड्यन्त्र थियो वा कुनै सार्वजनिक सामग्रीमाथि साथीसाथीले गरेको सामान्य हाँसोठट्टायुक्त गफ ? त्यो फिचर तयार पार्ने बीबीसीका पत्रकारले त्यतिसम्म सोध्ने जाँगर पनि चलाउन सकेनन् । (सोधेका भए थाहा पाउँथे, कम्तीमा स्वर्णाचाहिं मिस नेपालजस्ता प्रतियोगिताको विरोधी त पटक्कै होइनन् बरु उनको नजरमाशृङ्खला आजसम्मका मिस नेपालमध्ये उत्कृष्ट हुन् रे ।) *** ‘हामी गणतन्त्र र खुला समाज भएको देशमा बस्छौं, यस्ता समाजमा खेलकुदका, ग्ल्यामरका, लेखपढका गतिविधि समानान्तर रूपमा भइरहन्छन् । त्यसैले शृङ्खलाले कुनै गैरकानुनी काम गरेकी छैनन् । उनी आफ्नो रुचिको काम गर्न स्वतन्त्र छन् । मलाई त्यससँग सरोकार छैन तर म आफूचाहिं व्यक्तिगत रूपमा सौन्दर्य प्रतियोगिताले व्यक्तित्व विकास हुन्छ भनेर मान्दिनँ ।’ एउटा दैनिक पत्रिकामा फिचर तयार पार्दै छु भनेर फोन गरेकी पत्रकारलाई मैले यस्तो जवाफ दिएपछि उनले भनिन्, ‘भनेपछि आज न्युट्रल (तटस्थ) बस्ने विचार गर्नुभयो ?’ ‘म सधैं न्युट्रल छु’ उनीप्रति उत्तेजित नभईकन जवाफ दिएँ । किनकि उनले हाम्राबारे गरिने टिप्पणीको आधारमा हामीलाई ‘छुच्चा आइमाई’ को रूपमा नै चिनेकी छन् भनेर म सजिलै बुझ्थें । यतिखेरकै कुरा गर्दा जसजसलाई हामीलाई सुन्दर र कोमल महिलालाई देखी नसहने कुरूप र छुची महिलाको रूपमा प्रस्तुत गर्नुपरेको छ उनीहरूले हाम्रा विचारहरूबाट जति चाहियो त्यति जसरी प्रस्तुत गर्न मन लाग्यो, त्यसरी आफ्नो कोणबाट प्रस्तुत गरिरहेका छन् । बीबीसीपछि अर्को एउटा अनलाइन ‘सारंगी न्युज’ भन्नेले सेतोपाटी अनलाइनमा मैले लेखेको ‘सौन्दर्यको सिमसारमा हामी’ शीर्षकको लेखबाट त्यति नै भाग निकालेको छ जति निकाल्दा हाल म शृङ्खला खतिवडाको खुँखार विरोधीजस्तो देखिन्छु । उक्त हिस्सालाई अरू केही व्यक्तिको फेसबुक पोस्टसमेतसँग मिसाएर छापिएको छ (विश्वसुन्दरी ताज : सर्वश्रेष्ठ सुन्दरी कि बिकेको माल ? सारंगी न्युज डट कम (मंसिर ८, २०७५) लेखबाट साभार हो भनिएको छैन, बकायदा मेरो फोटोसहितको लिंक मलाई नै फेसबुकमा टयागसमेत गरिएको छ । साभार भनेर लेख्ने त परको कुरा, यसबाट तपाईंको विचार यति निकाल्यौं है भनेर सोध्ने वा जानकारी दिनेजस्तो सामान्य नैतिकतासमेत पालना गरिएको छैन । आफ्नो रुचिको गतिविधि गरेबापत म रुबी, माल्विका, निकिता वा शृङ्खलाको विरोध व्यक्तिगत रूपमा किन गरौं ? देशको संविधान र कानुनले सौन्दर्य प्रतियोगितालाई बन्देज गरेको छैन र मेरो उनीहरूसँग व्यक्तिगत दुश्मनी पनि छैन । मलाई त निर्मला र मेरी छोरीजस्ता लाखौं बालिकाका लागि सुरक्षित समाज चाहिएको छ जसको कारण उनीहरूले सुरक्षित हुर्कन पाऊन् र शृङ्खलाले जस्तै स्वतन्त्र जिन्दगी बाँच्न पाऊन् । तर, मलाई सौन्दर्य प्रतियोगिताको आधारभूत धारणा, त्यस्ता प्रतियोगिता जित्नुलाई उपलब्धि भनेर गरिने वर्णन र त्यस्ता प्रतियोगितालाई सरकारविरोधी र सरकारमुखी मुद्दा बनाएर झगडा गरिनु, भोट गर्नुलाई राष्ट्रिय चाड वा महोत्सव जसरी मनाउनु हास्यास्पद लाग्छन्, त्यत्तिचाहिं पक्का हो । कुनै नागरिकले आफूले चाहेको क्षेत्र रोज्ने अधिकार छ । त्यसैले यसमा उसका बाबुआमालाइ जोडेर गरिने बहससमेत बेकार छ । तर, बहसको मुद्दा के चाहिं हो भने कुनै दम्पती जसले सारा जीवन महिलाको वस्तुकरणको विरोध गर्ने ‘कम्युनिस्ट’ भनिने राजनीतिक दलमा आबद्ध भएर बिताएकी आफ्नै छोरीले घरमा कुन ‘कम्युनिस्ट स्कुलिङ’ पाइन् र दुई–चार प्रश्नका उत्तर रटाएर, शरीरको नापजाँच गरेर घोषित गरिने सुन्दरी प्रतियोगितामा भाग लिन मन लाग्ने बनेर हुर्किइन् ? ल छोरीलाई कम्युनिस्ट स्कुलिङ मञ्जुर थिएन मानियो । अझ अनौठो त आज आफ्नी छोरीले प्रतिस्पर्धा गर्नेबित्तिकै कुनै ‘प्राइभेट लिमिटेड’ ले सञ्चालन गर्ने सामान्य इभेन्टमा भाग लिने सन्तानको चाहनालाई ‘यो उनको प्राइभेट कुरा हो’ भन्न नसकेर ‘शरीरको मात्र प्रतिस्पर्धा होइन बुद्धिको पनि हो’ भनेर जोडतोडका साथ भोट माग्ने लेबलमा स्वयं कम्युनिस्ट बाबुआमा कसरी पुगे ? यो कुनै व्यक्तिविशेष र उसले कुन चुनाव चिह्नमा भोट हाल्छसँग नभई समाजले निर्माण गरेको हाम्रो चेतनामाथि गरिनुपर्ने प्रश्न हो । यो प्रश्न र बहस वर्षैभरि जरुरी छ । सिजन लागेपछि दुई–चार जनालाई बोल्न–लेख्न लगाउने, जुधाउने, कुनै ‘कमरेडद्वय’ की छोरीलाई जिताउन लागिपरेका दलका बफादार चाटुकारहरूले दुई–चार जना ‘कुरूप महिला’ लाई अमर्यादित गाली गर्ने वा सञ्चारमाध्यमले गालीको पृष्ठभूमि तयार पारिदिनेजस्तो हल्का विषय होइन । तर, सम्बन्धित टिप्पणीकर्तालाई सोध्ने सामान्य नैतिकतासमेत पालन नगरीकन, उनीहरूको विचारको पुष्टि नगरीकन, अनुमतिसमेत नलिईकन सामाजिक सञ्जालमा अभिव्यक्त विचार छापेर काम चलाउने अल्छीहरू भएको देशमा यस्ता सामाजिक मुद्दाबारे उन्नत सार्वजनिक बहसहरू हुने सम्भावना हाललाई कमै देखिन्छ । किनकि यसमा गम्भीर बहस चलाउनुभन्दा सौन्दर्यका वा घर व्यवहारका परम्परागत मान्यता नपछयाउने, त्यसमा विश्वास नगर्ने महिलालाई ‘खतरनाक महिला’ को रूपमा चित्रित गरिदिएर मौसमी रिपोर्ट लेख्ने काम सयौं गुणा सजिलो छ । *** निर्मलाको बलात्कार र हत्या सम्बन्धमा नेपाल सरकारको गृह मन्त्रालय र त्यसअन्तर्गतको नेपाल प्रहरीले देखाएको नकचरोपनाको वर्णन यहाँ गरिरहनु जरुरी छैन, हजारौं पटक भइसकेको छ । निर्मला एउटा प्रतीक मात्र हुन् देशमा महिलामाथिको हिंसाको भयावह स्थितिको, असुरक्षित हाम्रा आमा, हामी र छोरी तीनै पुस्ताको, हिंसामा परिसकेपछि पनि उचित न्याय नपाइने दयनीय अवस्थाको । दिनको तीन जनाको दरले भइरहेका बलात्कारको तथ्यांक केही वर्षदेखि स्थिर छ । बिहान–दिउसो–साँझ, विद्यालयमा, होटलमा, घरमा, कार्यस्थलमा जतासुकै बलात्कृत हुने र मारिने स्त्रीलिंगीहरूको संख्या र उमेर हेर्दा कोही पनि कहीं पनि सुरक्षित छन् भनेर ढुक्क हुन सकिंदैन । साना छोरीहरूका आमाको मुटुको चाल त कैयौं महिनादेखि स्थिर हुन सकेको छैन । एकातिर देशमा समृद्धिको रटान लगाइएको छ र अर्कोतिर देशका ५१ प्रतिशत जनसंख्या अर्थात् महिलामा घरभित्रसमेत आफू कसरी सुरक्षित हुने र छोरीहरूलाई कसरी सुरक्षित राख्ने भन्ने त्रास छ । वर्षौंदेखि देशको आधाभन्दा बढी जनसंख्या असुरक्षित छ, देशको विकास र उत्पादन प्रणालीसँग जोडिन पाएको छैन । यतिखेर त सुरक्षाको माग गर्दै महिनौंदेखि सडकमै छ । समृद्धिको यात्रामा आधा मात्र जनसंख्या सहभागी भएपछि सरकारले कल्पना गरेको समृद्धि कसरी आउँछ र कस्तो खालको आउँछ महिलामाथिको हिंसा महिलालाई तल्लो वा सहायक दर्जाको लिंगको रूपमा हेरिने चलन हो भनेर सोच्ने, घर चलाउने, देश चलाउने, धर्म संस्कृति वा सुन्दरताका परम्परागत व्याख्या र तरिकाहरूसँग सहमत नहुने, तिनको बारेमा प्रश्न गर्ने महिलालाई घर समाजमा मात्र होइन राजनीतिक दलका उच्च तहका मिटिङहरूमा समेत बडेबडे ‘मर्द’ हरूले ‘टयाउँटयाउँ नगर्न’ निर्देशन दिन्छन् । यस्तोमा देशको इज्जत कुनै निजी कम्पनीले वितरण गरेको सुन्दरीको ताजले कसरी ढाक्ला ? देशको आधाभन्दा बढी जनसंख्या यौनहिंसा र त्यसपछिको हत्याको त्रासबाट मुक्त नहुनु, सामाजिक सुरक्षा प्रत्याभूत नहुनु, उनीहरूले बाँच्नका लागि ढुक्क महसुस नगर्नु देशको बेइज्जती सूचकभित्र पर्छ कि पर्दैन ? देशको इज्जत त कुनै ताज भित्र्याएर नभई यी सबै कुराको प्रत्याभूति भएपछि बढ्छ । देश चलाउनेहरूप्रति हाम्रो इज्जतचाहिं निर्मला हत्याकाण्डजस्ता घटनाको शृङ्खला रोकिएको दिनबाट बढ्न सुरु हुनेछ । देश चलाउनेहरूले हामीबाट इज्जत त्यो दिनदेखि कमाउलान् जुन बेला देशका ५१ प्रतिशत जनसंख्याले सुरक्षित महसुस गर्न सुरु गर्लान्, निर्धक्क हिंड्न–डुल्न, काम गर्न पाउलान् । देशको उत्पादन प्रणाली र विकाससँग जोडिएलान् र देशलाई समृद्ध बनाउने यात्रामा आफू पनि सहभागी हुन पाएकामा गर्व गर्लान् । रूपरंगका र पारिवारिक–सामाजिक–राजनीतिक संरचनाका परम्परागत व्याख्यासँग सहमत नहुने महिलालाई बाहिर आउटर स्पेसमा जति कटाक्षको, प्रश्नको, लाञ्छनाको सामना गर्नुपर्छ सामाजिक सञ्जालजस्ता साइबर स्पेसमा त्योभन्दा बढी सामना गर्नुपर्छ । समग्रमा गरिने गाली, बाझाबाझ र आलोचनात्मक धारणा राख्ने महिलालाई महिला भएकै आधारमा गरिने अश्लील र हिंस्रक गालीगलौजमा फरक छ । कुनै सार्वजनिक विषयमा समेत विचार व्यक्त गरेकै आधारमा अमर्यादित र यौनसँग सम्बन्धित फोहोरी भनेर चिनिएका शब्द प्रयोग गरेर गरिने टिप्पणीको सिकार हुनुपर्दा हामीले केही कुरा व्यक्त गर्ने कि नगर्ने भनेर दस पटक सोच्नुपर्नेजस्तो भएको छ । आउटर स्पेसमा भौतिक असुरक्षाका कारण हाम्रो हाम्रो हिँडडुलको र साइबर स्पेसमा अमर्यादित टिप्पणी सुन्नुपर्दा लाग्नुपर्ने झिंझोले हाम्रो अभिव्यक्ति स्वतन्त्रताको परिधि साँघुरिएको जस्तो भएको छ । त्यसमाथि सुरक्षा संयन्त्र बाहिर त यति बेजिम्मेवार छ, साइबर दुनियाँमा उसलाई जिम्मेवार हुनुको दरकार किन रहोस् । बलात्कार र हत्याका अपराधीलाई त सजाय दिलाउन नसकेको लाचार सुरक्षा संयन्त्रबाट हामीले साइबर स्पेसमा सुरक्षाको ग्यारेन्टी, निर्धक्क भएर आफ्नो धारणा व्यक्त गर्न पाउने अवस्थाको प्रत्याभूतिको आस कसरी राख्नु । तर, पितृसत्ताका बफादार ठेकेदार र सरकारी भारदारहरूले बुझ्नुपर्ने कुरा के भने यो सबैका बाबजुद हामी रोकिनेवालाचाहिं छैनौं । देशका, समाजका र साइबर दुनियाँका सबैखाले सार्वजनिक वृत्त प्रयोग गरेर प्रश्न गर्ने अधिकार हाम्रो पनि उत्तिकै छ । *** नीलो ताजका दाबेदार सुन्दरीहरूले रटेका प्रश्न–उत्तरले महिलाको सशक्तताको कत्तिको ग्यारेन्टी गर्छ थाहा छैन तर निर्मलाहरूको शृङ्खला नरोकिएसम्म, संसार सबैका लागि सुन्दर नभए पनि सबैका लागि कम्तीमा बाँच्नलायक संरचना नहुन्जेल प्रश्न गर्न रोक्नुहुन्न भनेर बुझ्नेजत्तिको सशक्त मेरी छोरीचाहिं बनेकी छ । मेरो अनुपस्थितिमा पनि उसले यी प्रश्न कायमै राख्नेछ भन्ने विश्वास छ । दलअनुसारका सरकार फेरिएलान्, सरकारी भारदारका पनि अर्का टोली आउलान् तर हाम्रो प्रश्न त समाजको आधारभूत संरचना, ज्ञान र चेतनाको निर्माण प्रक्रियासँग, स्रोत र अधिकारको बाँडफाँडसँग हो जुन उत्तर नपाएसम्म रोकिंदैन । जुनसुकै दलका भारदारले लाञ्छित गरे पनि रोकिंदैन । आउटर वा साइबर स्पेस दुवैमा गरिने अमर्यादित तुच्छ टिप्पणीले रोकिने त झन् कुरै भएन । जुन दिनसम्म यो समाज, देश, संसार, यसका स्रोतहरू, राजनीतिक सामाजिक अधिकारहरू, अभिव्यक्ति स्वतन्त्रताका अवसरहरू, सामाजिक सुरक्षाका प्रत्याभूति आदिको समान वितरण हुँदैन, त्यतिन्जेल ‘कुरूप’ र ‘खतरनाक’, ‘समाज भाँड्ने’ आदि उपाधि पाएका महिलाहरूको यो टयाउँटयाउँ रोकिंदैन । कान्तिपुरमा प्रकाशित .. ब्यक्तिगत रुपमा मेरो बिचार चाँहि pro-shrinkhala हो ! https://www.youtube.com/watch?...

AnandNepal · Nov 30, 2018 11:31 PM · 1,545 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion