‘म गे हुँ र यसमा गर्व गर्छु, यसकै कारण मैले फरक सोच्न र फरक तरिकाले काम गर्न सकेँ’ - प्रबल गुरुङ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

We love Prabal! ललितपुर — अन्तर्राष्ट्रिय रूपमा स्थापित फेसन डिजाइनर प्रबल गुरुङले आफू गे तथा होमोसेक्सुअल (तेस्रोलिंगी) भएकाले नै यत्तिको सफलता मिलेको बताएका छन् । हाल नेपाल आएका प्रबलले आफूलाई स्वीकार गरेर काममा लगनशील भए अवश्य अगाडि बढिने अनुभव सुनाए  । फेसन डिजाइनर प्रबल गुरुङ पाटन दरबार क्षेत्रमा बिहीबार आफ्ना अनुभव साझा गर्दै । ‘म गे हुँ र यसमा गर्व गर्छु,’ उनले भने, ‘यसकै कारण मैले फरक सोच्न र फरक तरिकाले काम गर्न सकेँ । म जे छु, त्यसको मूल कारण मेरो यौनिक पहिचान हो ।’ स्लट, छक्काजस्ता शब्दले आफूलाई हीन महसुस नगराउने बरु उल्टै शक्ति प्रदान गर्ने उनको भनाइ थियो । ‘यी हामीमाथि फयाँकिने शब्द हुन्,’ उनले भने, ‘यिनले हामीलाई पावर दिनुपर्छ । हामी पृथक छौं प्रमाण हुन् ।’ आफू फरक रहेको र समाजमा घुल्न सक्दिनँ भन्ने आभास भएपछि नै काममा दृढ भएको प्रबलले सुनाए । केही हप्तादेखि जारी ‘फोटो काठमाडौं, इन्टरनेसनल फोटो फेस्टिभल’ ले गरेको कार्यक्रममा प्रबलले बिहीबार साँझ पाटन दरबार क्षेत्रको खुला प्रांगणमा आफ्ना अनुभव र अभिव्यक्ति साझा गरेका थिए । उनलाई सुन्न विशेषत: युवायुवतीको भीड लागेको थियो । समारोहमा प्रबलले आफू महिलावादी भएको पनि बताउन चाहे । सयौं वर्षदेखि पुरुषले महिलालाई निर्देशन दिँदै आएकाले अब भने चुप रहनुपर्ने उनको भनाइ थियो । ‘तिमीहरू भान्सामै बस, यो गर/त्यो नगर, यो लगाऊ/त्यो लुगा नलाऊ, त्यस्तो लगायो भने बलात्कृत हुन्छौ भन्यौं,’ प्रबल बोल्छन्, ‘अब हाम्रो पालो सकियो । हामीले सुन्ने र सिक्ने बेला आएको छ । यसमा हाम्रै फाइदा छ ।’ प्रबलका अनुसार अबको भविष्य महिला नै हुन् । गत साल उनले आफ्ना डिजाइनहरूमा समेत ‘फयुचर इज फिमेल’ लेखेका थिए । एकल आमा र दिदीको स्याहारमा हुर्किएको भन्दै उनले आफ्नो जीवनमा महिलाको भूमिका अहम् रहेको बताए । ‘मेरो प्रेरणा महिला नै हुन्,’ उनले भने, ‘अब त झन् महिलाकै लागि लुगा बनाउँछु, महिलाबाट प्रेरित हुनैपर्‍यो ।’ मिसेल ओबामादेखि बियोन्से, प्रियंका चोपडा, आलिया भट्टजस्ता ठूलाबडा स्टारका लागि प्रबलले ड्ेरस डिजाइन गरेका छन् । घर वा समाजमा उदाहरण बन्न सफल महिलालाई आफ्ना पहिरनमा उतार्न लालायित हुने गरेको बताए । ‘बियोन्से मेरा लागि सबैथोक हुन्,’ उनले उदाहरण पेस गरे, ‘काला जातकी महिला । सिमान्तकृत । सफल । प्रभावशाली । म उनको ठूलो फयान थिएँ, उनलाई मेरो लुगा लगाइदिने धोको थियो ।’ बियोन्सेका लागि ‘पावर सुट’ डिजाइन गरिदिएका प्रबलले बलिउडबाट हलिउड प्रवेश गरेकी प्रियंका चोपडालाई भने आफ्नो ‘स्प्रिङ कलेक्सन’ बाट एउटा वान पिस दिएका रहेछन् । ‘प्रियंकाले हलिउडमा के नै गर्न सक्लिन् र भन्ने ठानिएको थियो,’ प्रबल बोले, ‘तर, उनी आफ्नो आँटले हलिउडमा स्थापित भइन् ।’ अमेरिकाकी पूर्वप्रथम महिला मिसेललाई भने आफ्नी आमाको इच्छाबमोजिम ड्रेस डिजाइन गरेको अवगत गराए । सिमान्तीकृत समूहको पक्षमा बोल्न रुचाउने प्रबलले यसको भेद पनि खोलिहाले । दुई दशकअघि अमेरिका जाँदा त्यहाँ आफूलाई सिमान्तीकृत र पहिचानविहीन महसुस गरेको बताए । ‘त्यो बेला नेपालबारे धेरैलाई थाहा थिएन,’ उनले भने, ‘मलाई आफ्नो आइडेन्टिटी सिर्जना गर्न मन लाग्यो । नेपालबाट जाने सामान मास प्रोडक्सन थियो । धेरै जाने तर कम गुणस्तरका । मैले फेसनको ठूला ब्रान्डसँग प्रतिस्पर्धा गर्न चाहेँ । त्यसैले लक्जरी ब्रान्ड रोजेँ, थोरै बनाउने तर उच्च गुणस्तरको ।’ यो क्रममा नेपाललाई चिनाउन आफ्नो तर्फबाट अलिअलि भए पनि कोसिस गरिरहेको उनको भनाइ थियो । भिक्षुलाई बौद्ध मन्त्र पाठ गराएर फेसन सो उद्घाट गर्नेदेखि रनवेमाथि लुङर टाँग्नु यही कोसिसअन्तर्गत पर्ने बताए । ‘मेरो जरा र नेपालबारे अलिअलि भए पनि थाहा पाऊन् भनेर म मेरा प्लेटफर्म प्रयोग गर्छु,’ उनले भने, ‘सामाजिक सञ्जाल पनि यसमा पर्छन् ।’ नेपालीपन झल्किने ड्रेस उनले पटकपटक बनाउँदै आएका छन् । ‘फेसन डिजाइनिङ भनेको लुगा सिउनु मात्र होइन,’ उनले फोटोग्राफीका सम्बन्धमा भनेका थिए, ‘फोटोबाट कथा भनेजस्तै फेसन डिजाइनिङ भनेको लुगाबाट कथा भन्नु पनि हो ।’ प्रकाशित : कार्तिक १०, २०७५ ०८:३०https://www.kantipurdaily.com/...

ktmpost · Nov 27, 2018 11:17 AM · 11,235 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion