राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणअन्तर्गत खाडी मुलुक कतारमा छिन् । कतारमा श्रम बेचिरहेका लाखौं नेपाली युवाहरू नै नेपाल–कतार सम्बन्धको आधार हो । तेलमा समृद्ध देश कतारको भौतिक विकास र आर्थिक गतिविधिका लागि आवश्यक सस्तो श्रमिक नेपाली शासक वर्गले निर्यात गरिरहेको छ । यसरी आफूलाई आवश्यक श्रमशक्ति सस्तोमा पठाइरहेकोमा कतारका शासकहरू नेपालका शासकहरूप्रति आभारी छन् ।इतिहासमा नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतको भ्रमण गरेका थिए । उनको त्यहा“ भव्य स्वागत भएको इतिहासज्ञाताहरू भन्छन् । बेलायती शासक वर्गले जङ्गबहादुर ‘लहडी’ शासक भएकाले भव्य स्वागत गरेको थिएन । बरू बेलायती उपनिवेशवादको शक्ति जोगाउन रगत बगाउने गोर्खाली सिपाहीं दिएको हुनाले त्यस्तो अभिनन्दन गरिएको थियो । अर्थात् तात्कालीन बेलायती र नेपाली शासक वर्गको सम्बन्धको आधार भनेको बेलायतका लागि भाडाका सिपाहींको रुपमा रगत बगाउन तयार गोर्खाली सिपाहीं थिए । शासक वर्गबीचको यस्तो सम्बन्ध कामदार जनताको शोषण र अन्यायमा आधारित हुने गर्दछ । जसरी बेलायती उपनिवेशवादको भाडाको सिपाहीं भएर नेपाली युवाहरूले बेलायतमा दोस्रो दर्जाको नागरिकको व्यवहार भोगेका थिए, त्यसरी नै आज कतारमा रहेका नेपाली युवाहरू दोस्रो दर्जाको मानिसको व्यवहार भोग्न बाध्य छन् । नेपाली युवामाथिको अन्याय र शोषण हिजो बेलायतमा जस्तो थियो, आज कतारमा उस्तै छ । हिजो भाडाको सिपाहीं भएर बेलायती मूलका सेना जान नसक्ने वा नमानेका लडाइ“का मोर्चामा नेपाली गोर्खाली फौज परिचालन गरिन्थ्यो । आज कतारका अति जोखिमपूर्ण र शारीरिक श्रम पर्ने काममा नेपाली युवालाई लगाइएको छ । अनि आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरिएको स्वागत बेलायतले जङ्गबहादुर राणालाई गरेको भव्य स्वागतको आधुनिक संस्करणमात्र हो । दुई घटनाको आधार भनेको नेपाली युवामाथिको शोषण नै हो । आफ्नै देशमा रोजगारीको बन्दोबस्त गर्नुको सट्टा नेपालका शासक वर्गले युवाहरूलाई कतारमा सस्तोमा बेचिरहेको हो । अदक्ष, प्राविधिक ज्ञान नभएको, भाषा नजानेका नेपाली युवाले कतारमा भोग्ने अपमानको हिसाब गरी साध्य छैन । अन्य खाडी देशमा जस्तै कतारमा पनि नेपालीहरूको खसी बोकाजस्तै किनबेच हुने गरेको छ । यी सबै आत्मगौरवहीन वास्तविकता नेपाली शासक वर्गलाई थाहा छ । तथापि उनीहरूले नेपाली युवाहरू अझ पनि वैदेशिक रोजगारीको लागि प्रोत्साहित गरिरहेका छन् । कतारको शासक वर्गबाट वफादारिताको तक्मा पाउन नेपाली शासक वर्गले यसरी नेपाली युवाहरूलाई विदेशी भूमिमा अझै बेचिन बाध्य बनाइरहेको छ । जसरी जङ्गबहादुरले बेलायती महारानीप्रति वफादारिताको तक्मा भिर्ने लोभमा नेपाली युवालाई आफ्नै देशमा रोजगार बनाउनुको सट्टा विदेशी भूमिमा भाडाका सिपाहीं बन्न प्रोत्साहित गरेका थिए, आज कतारलगायतका देशप्रतिको वफादारिता (कमिशन) को नेपाली युवालाई विदेश पठाउन उत्साहित गरिरहेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको प्रस्ट लक्ष्य भनेको नेपाली श्रमिकको बजारलाई अझ फस्टाउन दिनु हो । यो कदापि व्यापक नेपाली कामदार जनताको पक्षमा छैन । यस्ता भ्रमणको लागि सरकार र सरकारी मिडियाले प्रयोग गर्ने भाषा जति सुन्दर हुने गर्दछ, त्यसभित्रको अन्तर्निहित लक्ष्य त्यति नै कुरुप हुने गर्दछ । यो भ्रमणको लक्ष्य नेपाली युवामाथिको शोषणलाई वैधानिकता र व्यापकता दिनु हो । नेपाली कामदार जनताले शोषक वर्गबीचको यस्तो मिल्तीको विरोध गर्नुपर्दछ । त्यो नै कामदार जनतामाथिको शोषणबाट मुक्तिको बाटो हो ।
huippa · Oct 31, 2018 5:13 PM · 17,250 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion