गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, ९ असोज । निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।घटनाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि समितिले बयान लिएको थियो। प्रदर्शनमा क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रजिअ कुमारबहादुर खड्काले समितिलाई बयानमा बताएको प्रतिवेदनमा उल्लेख छ। एसपी डिल्लीराज विष्टलाई यसबारे पटकपटक सम्पर्क गर्दा फोन नउठाएको प्रजिअले समितिसामु बताएका छन्। समितिसँगको बयानमा प्रजिअले गोली चलाउन आफूले आदेश नदिएको अवस्थामा एसपी सम्पर्कमा आउन नचाहेकोु बताएका छन्। समितिले अहिले पनि एसपीका सवारी चालक, प्रहरी जवानहरुमाथि अनुसन्धान गरिरहेको बताएको छ। यस्तै, उक्त घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट पुष्टि नभएपछि रिहा भएका दिलीपसिंह विष्टलाई सरकारले उपचार गर्नुपर्ने प्रतिवदेनमा उल्लेख छ। समितिले गत ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिस अनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो। कञ्चनपुरकी बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो। घटनाको दोषी अझै पत्ता लाग्न सकेका छैनन्।

Ban Dana · Sep 25, 2018 10:51 PM · 10,750 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion