डा. उपेन्द्रकी छोरीको यसरी भएको थियो अपहरण, अपहरणकारीले मागेका थिए १० करोड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१६ बर्षको कलिलो उमेरमा आँट हेर्नुस त .. https://www.youtube.com/watch?... पुरा विवरण यहाँ पढ्नुस गोल्फुटार हेपाली हाइटस्थित घरबाट २०६५ साउन १९ गते चर्चित न्यूरोसर्जन तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण भएको थियो । अपहरण हुँदा मेघा १६ वर्षकी थिइन् र रातो बंगला स्कूलमा १० कक्षामा पढ्दै थिइन् । छ जना मास्क लगाएका अपहरणकारी साउन १८ गते बिहानको दुई बजे हेपाली हाइटस्थित देवकोटाको घरमा प्रवेश गरेका थिए । हतियारसहित आएका अपहरणकारीहरू घरको ‘कम्पाउण्ड’ नाघेर मेघालाई नियन्त्रणमा लिइसकेपछि डा. उपेन्द्रको बेडरुममा प्रवेश गरेका थिए । परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिनुभन्दा अघि उनीहरूले टेलिफोन लाइन काटिदिएका थिए । घरमा भएका मोबाइल फोनहरू पनि किचनमा लगेर पानीमा डुबाइदिएका थिए । नियन्त्रणमा लिइसकेपछि उनीहरूले डाक्टर उपेन्द्र देवकोटासँग दश करोड माग गरे । आफूसँग त्यति धेरै पैसा नभएको देवकोटाले बताएपछि अपहरणकारीले पैसा जुटाउनका लागि केही समय दिन सकिने र त्यतिबेलासम्मको लागि परिवारको एकजना सदस्य आफूहरुसँगै जानुपर्ने शर्त राखे । डाक्टर उपेन्द्र देवकोटा र उनकी श्रीमतीले आफूलाई सँगै लैजान अनुरोध गरे । तर अपहरणकारीले पैसा कसले व्यवस्था गर्छ ? भन्दै उनीहरुलाई लैजान अस्विकार गरे । त्यसपछि जेठी छोरी मेघाले अन्य सदस्यहरूलाई सम्झाउँदै‘म यिनीहरू सँग जान्छु’ भन्न थालिन् । त्यहाँ करिब ३ घण्टा पैसाको बार्गेनिङ चलिरह्यो । विहानको पाँच बज्नै लाग्दा अपहरणकारीहरुले मेघालाई उनकै गाडीमा अपहरण गरेर लगे । अपहरणमा प्रयोग गरिएको देवकोटाको गाडी अपहरणकारीले चावहिलमा छाडिदिए । छोरीलाई अपहरणकारीले लगेपछि डा. देवकोटाले प्रहरीलाई सूचना दिए । त्यसलगत्तै प्रहरीले एआइजीको नेतृत्वमा अनुसन्धान थाल्यो । शुरूमा १० करोड फिरौती मागिएपनि एक करोड तीस लाखमा कुरा मिल्यो । पैसा दिएपछि साउन २२ गते राति साढे ११ बजे गौशालामा मेघालाई छोडियो । प्रहरीले गरेको अनुसन्धानबाट हेम मगर, सिद्धार्थ लामा, राजु लामा, केशव दर्लामीमगर, राजु थापा, गोकुल गिरी र कृष्ण राई अपहरणमा संलग्न भएको खुल्यो । अपहरणमा संलग्न मध्ये अपहरणका मुख्य दोषी भनिएका राजु थापालाई अदालतले १७ वर्ष कैद र २६ लाख २३ हजार जरिवाना सुनाएको थियो । अपहरणमा संलग्न कृष्ण राईबाहेक अहिले सबैले अपहरण, फिरौती असुल र डाँका मुद्दामा सजायँ काटिरहेका छन् । फिल्मी शैलीमा भएको यो अपहरण काण्डपछि राजधानीको सुरक्षा व्यवस्था फितलो भएको भन्दै व्यापक बहस चल्यो । अपहरणको भोलिपल्टै अपहरणमा संलग्न भनिएका हेम मगरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । मेघालाई बन्धक बनाएर राखिएको पाटनस्थित एक घरमा प्रहरीले घेराउ गरेको थियो । प्रहरीले आक्रमण गर्नसक्ने भन्दै अपहरणकारीले मेघालाई मार्ने धम्की दियो । त्यसपछि प्रहरी त्यहाँ बाट पछि हटेको थियो । प्रहरीले आक्रमण गर्न लागेको सूचना पाएपछि अपहरणकारीले आफ्नो १० करोडको मागलाई छाडे र १ करोड ३० लाखमा मेघालाई छुटाउन तयार भए । त्यति बेला अपहरणमा परेकी डाक्टर देवकोटाकी जेठी छोरी मेघा हाल लण्डनको किंग्स कलेजमा अध्ययनरत छिन् । नेपालमा रहेको बेला जन्डिस देखिएपछि डा. देवकोटा छोरीको सामिप्यतामा आफ्नो उपचार गर्न लण्डन गएका थिए । डाक्टर देवकोटा करिब छ महिना लण्डनमा उपचार गराएपछि नेपाल फर्केर बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत छन् । मेघा यतिवेला बुवाको हेरचाहमा सक्रियताका साथ खटिएकी छिन् । डा. देवकोटाका तीन छोरी मेघा, बसुधा र मञ्जरी हुन् । उनीहरु तीनै जना बुवाको हेरचाहमा खटिएका छन् । डा. देवकोटाको स्वास्थ्य स्थिति जेठ २५ गते शुक्रबार राति जटिल बनेपछि सामाजिक सञ्जालहरुमा उनको मृत्युको अफवाह फैलिएको थियो । शनिवार डा. देवकोटालाईं उनको इच्छा वमोजिम पुख्र्यौली घर गोरखा पालुङटार पु¥याएर काठमाडौं फिर्ता ल्याइएर उपचार गरिरहिएको थियो । जेठ २७, २०७५ मा प्रकाशित (लोकान्तरमा)

AnandNepal · Jun 22, 2018 11:41 AM · 5,721 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion