अमेरिकास्थित नेपाली राजदूतका लागि ८० करोडमा निवास किन्ने तयारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकास्थित नेपाली दूतावासले सार्वजनिक खरिद कार्यविधि नियम मिच्दै करिब ८० करोडमा राजदूतको निवास किन्ने तयारी गरेको छ। विदेशस्थित नेपाली नियोगका लागि भवन गरिदको सार्वजनिक खरिद कार्यविधि बि.सं.२०७३ को नियमावली प्रावधानलाई मिच्दै करिब ८० करोडमा भवन किन्ने प्रकृया अन्तिम चरणमा पुगेपछि अहिले परराष्ट्र मन्त्रालय र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीबीच सामान्य संवाद समेत हुन छाडेको छ। 'भवन किन्ने प्रकृया अन्तिम चरणमा पुगेको हो। तर, यो हाम्रो इच्छाले किन्न लागिएको होइन। परराष्ट्र मन्त्रालयले किन्न ताकेता गरेपछि यही आर्थिक वर्षभित्र निवास किन्ने निर्णय गरिएको हो। सार्वजानिक खरिद कार्यविधि नियम अनुसार नै निवास खरिद गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ', दूतावासका प्रवक्ता जीवन श्रेष्ठले सेतोपाटीलाई बताए। काठमाडौस्थित परराष्ट्र मन्त्रालय स्रोत भन्छ, 'राजदूतको निवासभन्दा पुरानो र साँघुरो घरमा रहेको दूतावासको कार्यालय अहिलेको जरूरी हो। यस्तो बेला उताबाट निवास खरिदमा बल गरिएका कारण विवाद भएको हो।' परराष्ट्र मन्त्रालयले गएको वर्षमात्र लगभग ४ करोड रुपैया खर्च गरेर राजदूतको निवास मर्मत गराएको थियो। चार करोड खर्च गरेर निवास मर्मत गरिएको एक वर्षभित्र करिब ८० करोडमा नयाँ निवास किन्नुको औचत्य पुष्टि गर्न भन्दै परराष्ट्र मन्त्रालयले वैशाख १२ मा दूतावासलाई पत्राचार गरेपछि मन्त्रालय र दूतावासबीचको दूरी झन बढेको हो। दूतावासले कर्मचारीहरुका लागि आवास भवन किन्न छाडेर राजदूत निवास किन्ने कुरामा बढी चासो देखाउँन थालेपछि परराष्ट्र मन्त्रालयले 'अहिलेको भवनको बिशेषता, नयाँ किन्न लागिएको भवनको उपयोगिता, नयाँ किन्ने भनिएको भवनको मासिक खर्च, राजदूतावास किन्नुको सट्टा निवास किन्नुको कारण र कार्यालय भन्दा निवास किन्नुमा बढी प्राथमिकता दिनुको कारण को' जवाफ माग्दै दूतावासलाइ वैशाख १२ मै पत्र पठाएको थियो। 'परराष्ट्रको प्रकृया अनुसार नै हामीले भवन खरिद गर्न लागेका हौं। त्यो बाहेक हामीलाई कुनै पत्र आएको छैन', प्रवक्ता जीवन श्रष्ठले दावी गरेका छन्। ‘दूतावासले मलाई इन्जिनियरीङ सम्वन्धी सल्लाह दिनका लागि सहयोग माग्ने गरेको छ। दूतावासले अहिलेसम्म ४ वटा घर हेरेको हो। ती मध्ये एउटा पुरानो हो। बाँकी तीन वटा राम्रा भवन हुन', खरिद प्रकृयामा संलग्न इन्जिनियर कुलमान आचार्यले सेतोपाटीसँग भने। किन्ने अन्तिम चरणमा पुगेको भनिएको २९११ युनिभर्सिटी टेररको घर वासिंटन डीसीक्षेत्रका सबैभन्दा महंगा घरहरुमध्ये तेह्रो स्थानमा पर्छ। जसको बजार मुल्य ७२ लाख डलर हो। यसको मुल्य ८० करोड भन्दा बढी हुन्छ। यति महंगो अर्को निवास किन चाहियो?   ‘अन्य देशका राजदूतहरुले राष्ट्रिय दिवश तथा पर्वहरु निवासमा मनाउने गरेका छन्। यसका लागि हाम्रो अहिलेको निवास अनुपयुक्त छ। त्यसैले हामीले ठूलो निवास हेरेका हौं', प्रवक्ता श्रेष्ठले तर्क गरे। काठमाडौस्थित परराष्ट्र मन्त्रालयले भने वैशाख १२ को चिठीपछि राजदूतले कर्मचारीसँग कुरै गर्न छाडेर परराष्ट्रमन्त्रीसँग कुरा गरिरहेको दावी गरेको छ।   'निवास खरिदका लागि परराष्ट्रमन्त्री मार्फत अहिले दवाव सृजना भइरहेको छ। अहिले रहेको दूतावासको कार्यालय सानो छ। सरकार ब्राजिल र क्यानाडाको दूतावास बन्द गर्ने तयारीमा छ। त्यसको कार्यबोझ अमेरिकास्थित नेपाली दूतावासलाई नै पर्ने हुँदा यताबाट दूतावासको कार्यालय किन्न बल गरिएको हो। दूतावासका केही साथीहरुले पनि यसैमा बल गरिरहनु भएको छ', परराष्ट्र स्रोतले भन्यो। https://setopati.com/global/am... Last edited: 13-Jun-18 03:12 PM

ktmpost · Jun 13, 2018 3:11 PM · 4,426 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion