१० लाख क्षतिपूर्ति दिएपछि नेपाली अदालतबाट बालात्कारी छुटे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाह्र वर्षदेखि आफ्नै घरमा संरक्षण दिएर राखेकी किशोरीलाई बलात्कार गरेको अभियोगबाट पत्रकार केदार कोइरालाले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजप्रसाद पौडेलको इजलासले कोइरालालाई सफाइ दिए पनि पीडित किशोरीलाई १० लाख क्षतिपूर्ति भर्न आदेश दिएको छ। २०७४ जेठ १२ गते पीडित किशोरीका दाजुले प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि किशोरीको शारीरिक परीक्षण गर्दा गर्भ रहेको पाइएको थियो। गर्भमा रहेको भ्रूणको उमेरका आधारमा न्यायाधीश पौडेलको इजलासले दुई महिनाअघि कोइरालालाई सफाइ दिएको हो। 'वैज्ञानिक परीक्षणबाट ९ साताभन्दा बढीको गर्भ रहेको पुष्टि भयो। घटना भएदेखि पीडितको शारीरिक परीक्षणको मितिसम्म गणना गर्दा १३ साताभन्दा बढी (९६ दिन) देखिन आयो। त्यसैले प्रतिवादीको करणीबाट त्यो गर्भ रहेको प्रमाणित हुन सकेन,' फैसलामा उल्लेख छ, 'त्यो दिनपछि पनि करणी गरेको भनी पीडितले खुलाएको नदेखिँदा केदार कोइराला उपरको कसुर स्थापित हुन नसकी अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ।' मुद्दाबाट सफाइ पाए पनि कोइरालाले पीडित किशोरीलाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने छ। आजसम्म ती किशोरीलाई संरक्षण दिएकाले अब अलग हुन नमिल्ने भन्दै १० लाख दिनुपर्ने फैसलामा उल्लेख छ। 'प्रतिवादीको घरमा पीडित अहिल्यै पुनर्स्थापित हुने अवस्था देखिन्न। पीडितलाई जीवन निर्वाह, शारीरिक एवं शैक्षिक निरन्तरताको निम्ति १० लाख रुपैयाँ प्रतिवादीबाट खर्च भराई दिने ठहर्छ,' फैसलामा भनिएको छ। किशोरी तर्फबाट बहस गरेकी वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले प्रतिवादीबाट क्षतिपूर्ति भराउन गरिएको आदेश शंकास्पद भएको बताइन्। 'सफाइ दिएको व्यक्तिबाट क्षतिपूर्ति भराउने फैसला कानुनविपरित छ। एकातिर सफाइ दिएको छ, अर्कातिर त्यही मान्छेबाट क्षतिपूर्ति दिलाएको छ त्यसैले यो फैसला शंकास्पद छ,' उनले भनिन्। सर्वोच्च अदालतका एक पूर्व न्यायाधीश पनि मुद्दाबाट सफाइ पाएको प्रतिवादीलाई क्षतिपूर्ति तिराउने फैसला त्रुटिपूर्ण रहेको बताए। 'मुद्दाबाट सफाइ दिने अनि प्रतिवादीबाटै क्षतिपूर्ति भराउने फैसला गर्न मिल्दैन। यस्तो कानुन पनि छैन, नजिर पनि छैन,' उनले भने, 'मुद्दाको प्रतिवादीले सफाइ पायो, तर घटना गराएको खास अभियुक्त फेला परेन भने त्यस्तो बेला सरकारले क्षतिपूर्ति दिने भन्न मिल्छ। सफाइ पाएको प्रतिवादीले नै क्षतिपूर्ति दिने फैसला त्रुटिपूर्ण मानिन्छ।' २०७३ फागुन ११ गते राति साढे ११ बजेतिर घरमा कोही नभएको मौका पारी कोइरालाले आफूमाथि बलात्कार गरेको किशोरीले तीन महिनापछि आफ्ना स्कुलका साथीलाई भनेकी थिइन्। तीन वर्षअघि पनि यसैगरी कोइरालाले आफूमाथि जबर्जस्ती गरेको उनले साथीलाई सुनाएकी थिइन्। पछिल्लोपटक आफूमाथि बलात्कार भएदेखि महिनावारी रोकिएको उनको भनाइ छ। यही कुरा सुरुमा साथीभाइ, त्यसपछि प्रिन्सिपल, प्रहरी र अदालतसमक्ष उनले बताएको देखिन्छ। गत वर्ष जेठ १२ गते किशोरीका कुरा सुनेपछि प्रिन्सिपलले उनका दाजुलाई बोलाए। दाजुले जाहेरी दिए। किशोरी त्यही दिनदेखि सिविनको संरकक्षत्वमा छिन्। जाहेरीपछि २०७४ जेठ १४ गते प्रसूति गृहमा लगेर उनको शारीरिक परीक्षण गरिएको थियो। बलात्कार भएको भनिएको फागुन ११ देखि जेठ १४ गतेसम्म १३ साता हुन्छ। किशोरीको गर्भमा रहेको भ्रूणको उमेर भने ९ साता रहेको भन्दै अदालतले कोइरालालाई सफाइ दिएको हो। उनले किशोरीमाथि बलात्कार गरेका थिए कि थिएनन् भन्नेमा फैसला मौन छ। वरिष्ठ अधिवक्ता ढुंगानाले भ्रूणको उमेरलाई आधार मानेर गरिएको फैसला त्रुटिपूर्ण रहेको बताइन्। 'पीडितले ममाथि केदार कोइरालाले त्यो दिन बलात्कार गर्‍यो भनेको छ, तर अदालतले त्यसमा ध्यानै दिएको छैन,' उनले भनिन्, 'ल एकछिन मानौँ किशोरीको भ्रूण कोइरालाको थिएन रे, तर उनले त्यो दिन बलात्कार गरेका हुन् कि हैनन् भन्ने फैसलामा विश्लेषण गरिएको छ त? छैन। यत्तिकै सफाइ दिइएको छ।' कोइरालाका वकिल भने किशोरीले बलात्कार भएपछि महिनावारी रोकियो भनेकाले मुद्दाको आधारभूत प्रमाण नै भ्रूण भएको जिकिर गर्छन्। 'यो भ्रूण प्रतिवादीको होइन भन्ने पीडितको शारीरिक परीक्षणबाटै देखिन्छ, त्यसैले फैसला ठिक छ,' उनले भने। अदालतले भ्रूण र कोइरालाको डिएनए परीक्षण पनि गर्न आदेश दिएको थियो। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले भ्रूणबाट डिएनएको नमूना छुट्टिन नसकेकाले परीक्षण गर्न नसकिने जवाफ दियो। किशोरी तर्फबाट बहस गरेकी अर्का एक वकिलले प्रयोगशालाको जवाफ शंकास्पद रहेको बताइन्। नमूना छुट्टिन नसक्नुको कारण सोध्दै अदालतले फेरि पत्राचार गरे पनि प्रयोगशालाले पुरानै जवाफ दिएको फैसलामा उल्लेख छ। यस सम्बन्धमा सेतोपाटीले अल्का अस्पतालकी स्त्री रोग विशेषज्ञ नूतन शर्मालाई भ्रूणबाट डिएनए जाँच गर्न नमूना निकाल्न नसकिने अवस्था हुन्छ कि हुन्न भनेर सोधेको थियो। उनले 'भ्रूणबाट जुनसुकै अवस्थामा डिएनए परीक्षणको नमूना निकाल्न सकिने' बताइन्। 'गर्भमा रहेको र क्यूरेट गरिएको दुवै भ्रुणबाट डिएनए जाँचको स्याम्पल (नमूना) निकाल्न सकिन्छ। स्याम्पल निकाल्नै नसकिने त्यस्तो कुनै अवस्था हुन्छ जस्तो मलाई लाग्दैन,' उनले भनिन्। https://setopati.com/politics/...

ktmpost · Jun 5, 2018 11:44 AM · 4,229 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion