खस सभ्यता खोज्दै महाविकट कर्णाली–४, सत्यमोहन जोशी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खस सभ्यता खोज्दै महाविकट कर्णाली–४ सिंजाखोलाबाट काठमाडौं आइसकेपछि हामी आ–आफ्ना दुनियाँमा फर्कियौं।&nbsp; मानवशास्त्री विहारीकृष्ण श्रेष्ठजीको काज सकिएकाले गृहमन्त्रालयमै हाजिर भए। भूगोलविद् स्थिरजंगबहादुरजी योजना आयोग गए। भाषाशास्त्री चूडामणि बन्धुजी प्राध्यापक, विश्वविद्यालयमै फर्किए। प्रदीप रिमालजी चाहिँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान(एकेडेमी)मा सँगै बसेर मलाई सघाउन थाले। हामीले पाँचै जनाको अध्ययन जम्मा गर्यौं। त्यसको पाँचवटै बेग्लाबेग्लै रिपोर्ट बनाइयो। रिपोर्टलाई पाँच खण्डमै पुस्तक आकार दिएर एकेडेमीबाटै छाप्यौं। पहिलो भाग मेरो थियो, ‘कर्णाली लोक सँस्कृति–इतिहास’। दोश्रो स्थिरजंगबहादुरजीको, ‘कर्णाली लोक सँस्कृति–भौगोलिक दृष्टिकोण’। तेश्रो विहारीकृष्णजीको, ‘कर्णाली लोक सँस्कृति–जनजीवन’। चौथो चूडामणिजीको, ‘कर्णाली लोक सँस्कृति–भाषा’। पाँचौ भाग प्रदीपजीको, ‘कर्णाली लोक सँस्कृति–साहित्य संगीत कला’। यी पाँचैवटा पुस्तक छाप्ने काम एकेडेमीबाटै भयो। पुस्तक त छाप्यौं। यस्ता अनुसन्धानात्मक पुस्तकअब कसरी बढीभन्दा बढी लाभदायी बनाउने भनेर पनि सोच्न थाल्यौं। त्यसैक्रममा ती पुस्तकको एक–एक प्रति मदनपुरस्कारका निम्ति गुठी पठायौं। नभन्दै २०२८ सालमा गुठीले त्यस वर्षको पुरस्कार ‘दर्शन विज्ञान’ विधामा संयुक्त रूपले पाँचवटा कृतिलाई दिने घोषणा गर्यो। हामी पाँचैजना एकसाथ सम्मानित भयौं। पाँचवटा कृतिका लागि यसरी संयुक्त रुपमा पाँच जनाले मदनपुरस्कार पाएको त्यो पहिलोपटक थियो। मेरो चाहिँ त्यो तेश्रो मदनपुरस्कार थियो। एक हिसाबले न भूतो न भविष्यती। किनभने त्यसपछि त एकैजनालाई दोश्रोपटक समेत मदनपुरस्कार नदिने भनेर घोषणै गरियो। म लोक साहित्यका क्षेत्रमा लागेरै जीवन बिताएको मान्छे हुँ। यसले मलाई धेरै उपलब्धि पनि दियो। तर, त्यो तेश्रोपटक मदन पुरस्कार ग्रहण गर्दाबेला जस्तो आनन्द कहिल्यै भएन। कर्णालीमा गएर गरेको काम राष्ट्रकै निम्ति योगदान रुपमा थप पुष्टि भयो। यसरी एकेडेमीमा मैले राखेको, त्यहाँका साथीहरूले नमानेको, मैले अडान लिएको र बल्ल सम्पन्न भएको एउटा प्रस्तावले अन्तिममा पाँच जनालाई मदन पुरस्कार दिलायो। पुस्तकको चर्चासँगै स्वयं कर्णालीका मान्छेले समेत आफूहरू यति धनी रहेको कुरा पहिलोपटक थाहा पाएको भनेर सुनाउन आए। ‘तपाईंहरूले त हाम्रो भूगोल, सामाजिक आर्थिक व्यवस्था, सँस्कृतिदेखि लिएर इतिहाससम्मका महत्व पहिल्याइदिएर हाम्रैसमेत आँखा खोलिदिनुभयो’ भन्थे। अहिले आएर लाग्छ, खस भाषाको मूल खोज्ने क्रममा कर्णालीकोजस्तो रिपोर्ट हामीले तयार गरेका थियौं त्यस्तो मुलुकभरकै सबै भेगको हुनुपथ्र्यो। तर, उति पहिले हामीले गरेको कामपछि यसको निरन्तरता भएन। दुःख यसैमा लाग्यो। मुलुक अब संघीयतामा गएको छ। प्रदेशहरूले उनीहरूको इतिहास खोजी गर्लान् भन्ने मलाई विश्वास छ। त्यो भइदियो भने बल्ल हामीलाई राष्ट्रिय सँस्कृति निर्माण गर्न मद्दत पुग्छ। जहाँसम्म कर्णालीको कुरा छ, हामीले अध्ययन–अनुसन्धान गरेर जुन पुस्तक तयार पारेका छौं, त्यस आधारमा अब जे काम गरे पनि हुन्छ। समाज सुधारदेखि लिएर विकासका कामसम्म। यताबाट त्यहाँ के पुर्याउनेदेखि लिएर त्यहाँबाट हामीले के लिनेसम्म। एउटा उदाहरण त विहारीकृष्णजीकै दिन्छु। उनले विभिन्न मन्त्रालय पुगेर प्रशासकका रुपमा काम सम्हाल्दा कर्णालीका तिनै उदाहरणलाई सरकारी नीतिभित्र समेटे। सामुदायिक वन र गुठीमा आधारित(कुमटी)सिँचाइका अवधारणाहरू विहारीजीले नै कर्णालीबाट ल्याएर स्थापित गराएका हुन्। समुदायका मान्छे मिलेरै उनीहरूको क्षेत्रको वन जोगाउने र त्यसैबाट फाइदा पनि लिने अर्थात् सामुदायिक वन। अर्को चाहिँ गुठीजस्तो रुपमा आलोपालो पानी प्रयोग गर्ने सिँचाइ अवधारणा। त्यो अवधारणाले गर्दा नै करिब छ सय वर्षअघि तत्कालीन राजाहरूले तयारपारेका ‘जचौरी कुलो’ पछिल्लो समयसम्म पनि जुम्लातिर निर्वाध प्रयोग भइरहेको देखिन्थ्यो। जबकि त्यतिबेला सम्बन्धित विभाग नै हेरिरहेका विहारीजीकै भनाइ अनुसार यतातिर अपनाइएको सिँचाइ कस्तो थियो भने मन्त्रीले उद्घाटन गर्नपाएको छैन, भत्किहाल्ने। कर्णाली कति सम्पन्न छ भन्ने कुरा यहाँ उल्लेख गरेर साध्य छैन। त्यहाँको जंगलमा राजबाज पाइन्छ। राजबाज भनेको बाजहरूमै पनि सबैभन्दा महत्वपूर्ण। हुन त एउटा चरो न हो। तर, कसैगरी मरेछ भने पनि उतातिर राजाको सम्मानजस्तो किरिया गर्नुपर्दोरहेछ। कसैले त्यसलाई समातेर ल्याउँदा पनि पन्चे बाजा नै बजाएर गाउँघरमा भित्र्याउने गरिन्थ्यो। त्यत्रो सम्मान थियो त्यो राजबाजको। त्यसैगरी त्यहाँका कस्तुरी मृग। यीसारा जंगलका महत्वपूर्ण पशुपंक्षीदेखि लिएर खेतीपातीका तरिकासम्म हाम्रा किताबमा उल्लेख छन्। फेरि त्यो सिंजाखोलाको पानी कलकल बग्दा साह्रै निर्मल देखिने। हेर्दै खाउँखाउँ लाग्ने। जुम्लीहरू त्यही पानी खान्थे। कर्णालीको खेतीपाती हाम्रोजस्तो हुँदैन थियो। फलानो दिन धानको बिऊ राख्ने भनेर छुट्याएपछिसबैले त्यही दिन राख्नै पर्ने। त्यो बिऊ राख्ने दिन तोक्ने काम मष्टोको धामीले बताउँथ्यो। ठ्याक्कै त्यही दिन सम्पूर्ण कर्णाली अञ्चलभर लागू हुन्थ्यो। बिऊ हाल्ने पनि बेग्लै तरिका थियो।चन्दननाथको पालामा कश्मीरदेखि ल्याएर धान रोपेको इतिहासै छ त्यहाँ। त्यो चन्दननाथले ल्याएको भनिने धान पाक्नै जुम्लामा एघार महिना लाग्छ। चिसो हावापानी भएकाले यहाँको जस्तो तीन–चार महिनामा पाक्दैन।उबेला काठमाडौंका राणाजीहरूले जुम्लाको त्यही धान खान्थे। मिठो र उत्तिकै पोषिलो। हामीले लेखेका ती पाँचवटा पुस्तक पढेपछि कर्णालीको सारा तस्बिर छर्लङ्ग आउँछ। त्योबेलाको गुलजार कर्णाली। त्यस्तो कनकसुन्दरीको मन्दिर। अहिले त्यो भत्किसकेको छ। कर्णालीले कतिसम्म गुमाएको छ भन्ने कुरा जति इतिहासभित्र पस्यो त्यति रोचक भेटिन्छ। इटालीको एकजना प्रकाण्ड विद्वान गुसेप तुच्ची थिए। उनी विशेषतः पूर्वेली सँस्कृतिबारे विज्ञता राख्थे। उनको आफ्नो भेगको त छँदैछ, यतातिरका सँस्कृत, बंगाली, पाली, प्रकृत, चिनियाँ र तिब्बती भाषा पनि जानेका। इटालीका शासक मुसोलिनीसँग समेत सामिप्यता राखेर जापानमा दूतै रहेका तुच्ची हाम्रोतिर चाहिँ हिमाली र तिब्बती भेगमा बौद्ध धर्म अध्ययन हिसाबले नजिकिएका थिए। त्यसैक्रममा बीसको दसकताकै उनी विकट हिमाली भेगको तिब्बती पाटोमा आठपटक र नेपाली पाटोमा छ पटक घुमेका थिए।ती विद्वानले सन् १९६२ मा लेखेको उतिबेलाको असाध्यै चर्चित पुस्तक ‘डिस्कभरी अफ द मल्ल’मा सिंजाखोलाको महत्व वर्णित छ। त्यो पुस्तकमा वर्णन गरिएको मल्ल हामीले जानेको काठमाडौंका शासक होइनन्। ती त उतिबेला कर्णालीका शासक मल्लहरूको बारेमा हो।त्यो किताबमा सिंजाखोलाको महिमा उल्लेख गर्दै तुच्चीले लेखेका छन्–वन्स दि इम्पायर अफ दि सिंजाखोला इम्परर वाज ग्रेटर देन माइ कन्ट्री इट्ली(एकसमय सिंजाखोलाका राजाहरूको साम्राज्य मेरो मुलुक इटालीको भन्दा पनि महान थियो।) पश्चिमा मल्लहरूले शासन गरेको त्यो मुलुक तीन शताब्दीभन्दा लामो कालखण्डसम्म अस्तित्वमा थियो। त्यसको प्रमाणमा उनले पुस्तकमा सिंजाखोला अर्थात् कर्णालीभन्दा वारिको मात्र वर्णनगरेका छन्। तर पनि पारिको खारी प्रदेश पनि उनीहरूकै, गुगे पनि उनीहरूकै। त्यतिले मात्र नपुगेर माथिको मानसरोवरसमेत सिंजाकै राजा रजौटाहरूको भएको दाबी गरेका थिए। त्यत्रो फराकिलो क्षेत्रमा साम्राज्य थियो सिंजाली मल्लहरूको। पुस्तकको भूमिकामै तुच्चीले लेखेका छन, ‘पश्चिमी तिब्बतमा उतिबेला शासन गर्ने राजाहरू जसलाई तिब्बती इतिहासले समेत पहिचान गर्न सकेको छैन, ती त वास्तवमा पश्चिमी नेपालका मल्ल राजाहरू थिए।’ हामी त यहाँ उपत्यकाका यी तीन राज्यका मल्लहरूका स–साना प्रभाव क्षेत्रको कुरा गर्दै आइरहेका थियौं। उताका त्यत्रा विशाल क्षेत्र शासन गरेका मल्लहरूबारे त हामीलाई थाहै थिएन। त्यत्रो साम्राज्य, त्यत्रो सभ्यता थियो त्यहाँ। हाम्रै नेपाल को कुरा हो यो। यसबारे समेत व्यंग्य गर्दै तुच्चीले पुस्तकको भूमिकामै लेखेका छन्– जसरी हामीले रोम र लाटिनमका घटनाहरूमै रमाएर बाँकीका सारा इट्लीलाई रहस्यमै छाडिदिएका छौं, त्यसैगरी नेपालमा पनि सबै अध्ययन ठूला सहररुपी काठमाडौं उपत्यकामै सीमित राखेर बाँकीको सारा मुलुकलाई ‘टेरा इनकोग्निटा’ (अज्ञात भूमि) कै रुपमा छाडिराखिएको छ। उनले कर्णाली पारि बस्न गएका ठकुरीहरू नै बौद्धमार्गी भोटे बनेका पनि दाबीका साथ उल्लेख गरेका छन्। म अष्ट्रेलिया र न्यूजिल्याण्ड जाँदा त्यहाँको सभ्यता हेरेपछि ‘माइक्रोनेशन कल्चर’ र ‘पोलिनेशन कल्चर’ अध्ययन गरेको थिएँ। त्यो जुम्लाको सिंजाखोला उपत्यकाको पनि त्यस्तै किसिमको सभ्यता पाएँ। त्यहाँको मस्टो देवतालाई केन्द्रित गरेर मस्टो सम्प्रदायले माडु भन्ने मुख्य स्थानै कायम गर्छन्। त्यहाँ मूर्ति हुँदैन। पुजाआजा गरिराखेका हुन्छन्।देउतालाई पुतली बनाएर अर्पण गर्ने। उता अष्ट्रेलियाका एबोरिजिनल्स र न्यूजिल्याण्डका माओरीजस्तै। यो प्राचीन सँस्कृतिमा देखिएका एकरुपताको मिल्दोजुल्दो संयोग थियो। त्यसैगरी धामी प्रथा। अघिपछि छुवाछुत बार्ने गरे पनि सार्की, कामी अथवा दमाइमा धामी चढ्यो भने व्यवहारै अर्को। ‘गोसाइँ महाराज’ भन्दै सबै ढोग्न जाने। उसका लागि बनाइएको आसनमै बस्ने। तमाखु तान्न थाल्ने। तान्दा–तान्दै काम्न थाल्ने। काम्दा–काम्दै र तमाखु तान्दा–तान्दै जुरुक्क उठ्ने। त्यसपछि बक्न सुरु गरिहाल्ने। त्यो प्रथा अहिले पनि छँदैछ। त्यसैले मस्टो भन्ने परम्परामा बाह्र भाइ मस्टो नौ भाइबहिनी भन्ने हुन्छ। त्यो धार्मिक सम्प्रदायमा देउता चढ्यो भने काम्न थालिहाल्छ। त्यसपछि सबै भविष्यवाणीदेखि लिएर रोगव्याधि हेर्ने, खेतीको दिन तोक्नेसम्मका काम उसैले गर्छ। यसरी भविष्यवाणी गर्नुलाई चाहिँ पतुर्ने भन्थे। उसको भाषै बेग्लै। त्यो कुन बेलाको भाषा हो भन्ने थाहै छैन। बुझ्नेले त बुझ्थे।हामीलाई गाह्रो हुने। उसले जे भन्यो त्यो बाँकी सबैका लागि शिरोपर हुन्छ। त्यति शक्तिशाली हुन्छन् मस्टो सम्प्रदायका ती धामी। यो सब सिंजाखोलामा खसहरू आएपछिको सभ्यता रहेछ। त्योभन्दा अगाडि पनि ‘बुढा’ भन्नेहरूको अर्कै परम्परा रहेछ। उनीहरू लेक–लेकमा बस्थे। ठकुरीहरूचाहिँ सबै ब्याँसी (बेसी)मा खेतीपाती गरेर धान रोप्थे। माथि–माथि बसेकाहरूमकै र कोदो मात्र फलाउँथे। त्यसरी माथि बस्नेहरू आदिवासी थिए। एकै ठाउँमा बसे पनि उनीहरू भित्रै फरक सँस्कृति थियो। जे होस् नेपाल आदिवासी सास्कृतिबीच पनि विविधतामा ज्यादै धनी मुलुक हो। यी सबलाई एकै ठाउँमा जोडेर एउटा राष्ट्रिय सँस्कृतिका रुपमा विकास गर्नुपर्छ भन्ने लाग्छ। अहिले राजनीतिक हिसाबले सबै जोडिएका छौं तर साँस्कृतिक हिसाबले सबै अलग। कर्णाली महत्व हामीभन्दा पहिले योगी नरहरिनाथले अघि सारेका हुन्। त्यो सिंजाखोला सभ्यताको मूलथलो हो भन्ने तर्क योगीजीबाटै आएको होे।त्यसैलाई महत्व दिएर हामीले अगाडिका काम गरेका हौं। त्यतैतिरबाट आएका योगी नरहरिनाथले इतिहास र राजा पृथ्वी मल्लदेखि जितारी मल्लसम्मका कुराहरू, बाह्रौं–तेह्रौं शताब्दीका राजाहरूका सुनका अक्षरले लेखिएका कनकपत्रहरू अध्ययन गरेर निकालेका थिए। ती सबैमा कर्णालीकै महत्व झल्किएको थियो। एक हिसाबले कर्णालीका राजाहरूको वंशावलीजस्तै थियो। राजाहरूका लेनदेनका अभिलेखसमेत त्यसमा थियो। मैले पनि एउटै खोलामा गाडेर राखेका अठार वटा शिलालेख पढेको थिएँ। त्यस्ता शिलालेख त त्यहाँकति छन् कति। त्योबेलामा ती राजाहरू गर्मीमा सिंजाखोला र जाडोमा दैलेखको दुल्लुमा बसेर शासन गर्दा रहेछन्। योगी नरहरिनाथजीले व्यवस्थित दस्तावेजीकरणगरेका थिएनन्। कुनै कता कुनै कता थियो। हामीले भने स्थलगत अध्ययनपछि त्यसलाई पुस्तकको रुप दियौं र त्यसले आफ्नो महत्व स्थापित पनि गर्यो। यसरी पुस्तक आएको दस वर्षपछि इसिमोड (एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय संस्था)ले विहारीकृष्णजीलाई बोलायो। त्यही जुम्लामा अब कति परिवर्तन आयो, के प्रभाव पर्यो,भन्ने अध्ययन गर्नउनलाई फेरि दुई पटक उता पठाएछ।फर्केपछि उनले जुन किताब लेखे त्यसको रोयल्टी, त्यहाँ बस्दाको भत्ता गरेर प्रशस्त पैसा कमाए। नत्र काठमाडौंको प्याफल टोलमा जन्मेका भए पनि मैले विहारीजीलाई पहिलोपटक डेरामा भेटेको हुँ। त्यसरी परिश्रम गरेर कमाएको पैसा विहारीकृष्णजीले अध्ययन संस्था ‘सोसल साइन्स बहाः’लाई चन्दास्वरुप प्रदान गरे। पचास लाख रुपैयाँ। एउटा अध्येताले परिश्रम गरेर कमाएको त्यो ठूलो रकम हो। तर, कति फराकिलो छाती विहारीकृष्णजीको। कसैले कल्पना गर्न सक्छ? तिनै विहारीकृष्ण श्रेष्ठजी। मसँग उतिबेला पहिलोपटक कर्णाली गएका। हाम्रो त्यो पाँचवटै किताब अहिले त्यही सोसल साइन्स बहाःले छाप्दैछ। त्यो चन्दा विहारीजीले सन् २०११ को फेब्रुअरीमा प्रदान गरेका थिए। शंकर होटलमा आयोजित समारोहमा मलाई पनि बोलाइएको थियो।काठमाडौंका सारा विद्वान थिए। मेरो जिज्ञासा एकपछि अर्को गर्दै बढिरहेको थियो। ओहो…यत्रो रकम…के साँच्चै दिन्छन्? हामी सबै शंकर होटलमा पर्खिरहेका थियौं। ‘दाता आउँदै हुनुहुन्छ। बागमती पुलमा जाममा पर्नुभएको छ’ कार्यक्रम सञ्चालक बताइरहेका थिए। ढिलो हुने भयो भनेर हामीलाई थुम्थुम्याउँदै थिए। पछि त त्यो मान्छे मुसुमुसु हाँस्दै आयो। मलाई टाउको उठाएर विहारीजीको अनुहार हेर्न पनि आँट आएन। हरे…सँगैको साथी यस्तो, म कस्तो!कार्यक्रम सुरु भयो। दुईजनाले चेकको नमूनाजस्तोे बोर्डल्याए। दुईतिरबाट समातेको त्यो ठूलो बोर्ड विहारीकृष्णजीकै हातबाट सोसल साइन्स बहाःका प्रमुखलाई दिन लगाए। त्यसपछि विहारीजीको बोल्ने पालो आयो। ‘तपाईंहरूलाई अचम्म लाग्ला, यो मान्छेले कसरी पचास लाख दियो भनेर। यसले कसरी यति पैसा कमायो भन्ने लाग्ला। यसको पछाडि एउटा कारण छ। झण्डै पचास वर्षअघि सत्यमोहन जोशी एकेडेमीमा थिए। त्यतिबेलै उनले एउटा योजना बनाएका थिए। त्यो योजना निम्ति त्यतिबेलाको कर्णाली पुग्ने सर्भे टिममा उनले मलाई पनि लगेका थिए। हामी पाँच जना त्यहाँ गएर काम गरेका थियौं। फर्केपछि मैले पनि मदनपुरस्कार पाएँ। त्यो अनुभव बोकेरै मैले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा काम गर्दै गएँ। दस वर्षपछि फेरि मलाई त्यहीँ पुगेर उतिबेला र पछिल्लो समयको परिवर्तन र प्रभाव अध्ययन गर्न इसिमोडले पठायो। त्यसैगरी दुई–चारवटा कन्सल्टेन्सीको काम पनि गरेँ। मैले पैसा कमाएँ। कमाए पनि मेरा यी कुरा पछिका मान्छेलाई काम लागोस् भनेरसोसल साइन्स बहाः लाई आज प्रदान गरेको हुँ। आफ्नै पसिनाले कमाएको पैसा हो। सदुपयोग होस् भन्ने चाहन्छु। तर, यदि मलाई सत्यमोहन जोशीले त्यसरी नलैजानुभएको भए यो सम्भव थिएन। यसको श्रेय उनैलाई जान्छ।’ <p style="box-sizing: border-box; outline: 0px !important; margin: 0px 0px 20px; font-size: 20px; color: rgb(34, 34, 34);

_____ · Apr 24, 2018 8:32 PM · 13,139 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion