खस सभ्यता खोज्दै महाविकट कर्णाली–१, सत्यमोहन जोशी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बेइजिङमा चार वर्ष रेडियोकर्मीहरुलाई नेपाली पढाएर भर्खर फर्किएको थिएँ। यो २०२६ सालको कुरा हो। त्यतिबेलै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको दोश्रो प्राज्ञ परिषद गठन भयो। दोश्रो गठनमा पहिलोजस्तो राजा महेन्द्र स्वयं कूलपति थिएनन्। हामी १४ जनाको परिषद बनेको थियो। मसहित आठ जना सह-प्राज्ञ, चार जना प्राज्ञ, बालकृष्ण समजी उपकूलपति र केदारमान ब्यथितजी कूलपति। हाम्रो कार्यकाल सुरु भयो। त्यसै सिलसिलामा ब्यथितजीले एक दिन सँस्कृतिसम्बन्धी काम गर्ने प्राज्ञहरुलाई बोलाउनुभयो। ‘तपाईंहरुलाई सँस्कृति क्षेत्रमा के के काम गर्ने इच्छा छ?’ ब्यथितजीले सोध्नुभयो। त्यो बेला सँस्कृतिमा काम गर्न हामी चार जनाको समूह थियो। समूहको नेतृत्व सूर्यविक्रम ज्ञवालीजीले गर्नुभएको थियो। उहाँ सबभन्दा पाको मानिस हुनुहुन्थ्यो। त्यसबाहेक यो फाँटमै ज्ञवालीजी मात्रै प्राज्ञ हुनुहुन्थ्यो। बाँकी हामी तीन जना सह-प्राज्ञ थियौं। प्राध्यापक डा. चूडानाथ भट्टराय, धर्मराज थापा र अर्को म आफैं। हामी चारै जना सँस्कृति क्षेत्रमा आफूले गर्न चाहेको काम बताउन अग्रसर भयौं। ज्ञवालीजीले सँस्कृतिमा इतिहासै भएन भने त्यो सँस्कृति नै रहँदैन भन्नुभयो। ‘अहिलेसम्म नेपालमा राष्ट्रिय इतिहास लेख्ने कामै भएको छैन,’ उहाँको भनाइ थियो, ‘त्यसैले प्रज्ञा प्रतिष्ठानले कमसेकम नेपाली सँस्कृतिको निमित्त एउटा राष्ट्रिय इतिहास तयार पार्न सकेको खण्डमा त्यो सँस्कृतिकै इतिहास बन्थ्यो। र, मेचीदेखि महाकालीसम्मै साँस्कृतिक विविधतामा बाँचेका नेपालीको एउटा सिंगो इतिहास पनि तयार हुने थियो।’ त्यति बेला त्रिभुवन विश्वविद्यालयमा इतिहास पठनपाठन भए पनि खुद नेपालकै इतिहासको अत्तोपत्तो नभएको अवस्था थियो। गोरखाको इतिहास होला, मल्लहरुको एउटा होला, पाटनको बारेमा बेग्लै होला, काठमाडौंको होला तर राष्ट्रिय इतिहास थिएन। सिंगो नेपाल जोड्ने इतिहास थिएन। त्यो राष्ट्रिय इतिहासको खोजी र अन्वेषण गर्नुपर्यो भनेर सुरुआतकै रुपमा पनि केही काम हुनसके पछि त्यसले धेरै उपलब्धि दिने उहाँको भनाइ थियो। सँस्कृतिकै क्षेत्रमा पनि इतिहासै नहुने हो भने नाचगान मात्र गरेर कहिलेसम्म यो अगाडि बढाइरहने भन्ने तर्क उहाँले राख्नुभयो। ज्ञवालीजीको कुरा सुनेपछि ब्यथितजी खुसी हुनुभयो। ‘तपाईंले ज्यादै राम्रो प्रस्ताव ल्याउनुभयो,’ उहाँले भन्नुभयो, ‘अब यो काम अगाडि बढाउन के गर्नुपर्छ, त्यसमा लाग्नुभए हुन्छ।’ ज्ञवालीजी त्यसपछि त्यतैतिर लाग्नुभयो। ज्ञवालीजीले त्यो काम सम्पन्न गर्न भने सक्नुभएन। ख्वै के भएर हो बीचैमा छाड्नुभयो। परिणामस्वरुप आजसम्म हामीसँग ज्ञवालीजीले उतिबेलै भनेजस्तो राष्ट्रिय इतिहास भएन। त्रिभुवन विश्वविद्यालयमा पनि नेपालका उही टुक्राटाक्री इतिहास मात्रै पढाइ भइरहेको छ। या त हाम्रो बेलामा जस्तै भारत र बेलायतका इतिहास पढाएर काम चलाइन्छ। अब त झन् मुलुक संघीयतामा गइसक्यो। यी सात प्रदेश जोड्ने इतिहास ख्वै? उही गोरखा, मल्ल, काठमाडौं र ललितपुरका भोगाइ जोडिएका इतिहासबाटै काम चलाइरहेका छौं। त्यो बैठकमै ब्यथितजीले चूडानाथ भट्टरायजीलाई उहाँले गर्न चाहेका कामबारे सोध्नुभयो। ‘कूलपतिज्यू, सँस्कृतिका निम्ति दर्शन चाहिन्छ,’ भट्टरायजीको कथन थियो, ‘पशुपति पूजा गर्न पाशुपत्य दर्शन छ, देवी पूजा गर्न तान्त्रिक विधिअनुसार गर्ने दर्शन छ। त्यसैगरी वेद छ, बौद्ध दर्शन छ। हाम्रा चाडबाडहरुमा दार्शनिक कुराहरु जोड्न त्यसतर्फको अध्ययन जरुरी छ।’ भट्टरायजीको कुरा पनि ब्यथितजीलाई मनपर्यो। उहाँ दर्शनकै ज्ञाता हुनुहुन्थ्यो। आफूले पढेका किताबको अनुवाद मात्र गरिदिए पनि पुग्थ्यो। ‘राम्रो विषय छान्नुभएछ,’ ब्यथितजीले भन्नुभयो, ‘अघि बढ्नूस्।’ चूडानाथजीले त्यतिबेलै पशुपतिसम्बन्धी पाशुपत्य दर्शन पनि अध्ययन गरेर किताबै प्रकाशित गर्नुभएको थियो। त्यसपछिको सह-प्राज्ञ हुनुहुन्थ्यो, धर्मराज थापा। त्यो पञ्चायत समय थियो। धर्मराजजीले पञ्चायत र राजतन्त्रलाई सघाउ पुग्ने खालका गीत लेखेर गाउँघरमा प्रचार गर्ने कुरा गर्नुभयो। यसरी प्रचार गर्न जाँदा ती गाउँको लोक साहित्य टिपोट गरी ल्याएर यहाँ एकेडेमीमा जम्मा गर्न सकियो भने एउटा ठूलो काम हुन्छ भनेर कुरा राख्नुभयो। ‘यो पनि राम्रै काम हो,’ ब्यथितजीले भन्नुभयो, ‘ल त तपाईं पनि त्यसैमा लाग्नूस्।’ आफ्नो प्रस्ताव स्वीकार भएपछि धर्मराजजीले यो खबर बाटुले चौरमा पुर्याउनुभएछ। उहाँ त पोखराको मान्छे। खबर पुगेपछि बाटुले चौरका गाइनेहरु सबै हुलै बाँधेर यहाँ आइपुगे। त्यतिले नपुगेर गोरखाका गाइनेहरुसम्म पनि खबर पुगेछ। त्यताबाट पनि अर्को हुल आइपुग्यो। यसरी ठाउँ ठाउँका गाइनेहरु फौजै बाँधेर आएपछि एकेडेमीमा त दिनदिनै रमितै लाग्न थाल्यो। धर्मराजजी जता–जता जानुहुन्थ्यो, ती सारंगी बोक्दै हिँड्ने गाइने पछिपछि लागिरहेको दृश्य देखिन्थ्यो। त्यतिबेलै धर्मराजजीले एउटा नयाँ कुरा ल्याउनुभयो। यसरी भेला भएका गाइनेलाई सम्बोधन गर्दै ‘तिमीहरु सबै अब गन्धर्व भयौ’ भनेर घोषणै गरिदिनुभयो। ‘तिमीहरु अब उप्रान्त गाइने होइनौ,’ उहाँको कथन थियो, ‘इन्द्रको सभामा सारंगी बजाउने गन्धर्व हौ।’ यसरी धर्मराजजीको आफ्नै पाराका काम पनि अघि बढ्न थाले। उहाँका गीत त छँदै थिए, त्यसरी जम्मा भएका गाइनेहरु मार्फत विभिन्न गतिविधि पनि अगाडि बढाइरहनुभएकै थियो। बाँकी रहेँ म। यसरी तीन जना प्राज्ञहरुको कामकुरा सोधिसकेपछि ब्यथितजीले मसँग सोध्नुभयो, ‘जोशीजी तपाईंलाई चाहिँ के विषयमा काम गर्न मन छ?’ म त के भनौं भनौं भयो। मैले पनि काम त उही लोकगीत संकलनकै गरेको थिएँ। त्यो लोकगीत संकलनकै कामले पुरस्कार पाएपछि साहित्यकारकै रुपमा एकेडेमी पुगेको थिएँ। तर, त्यत्रो जगजगी भएका धर्मराजजीले त्यो जिम्मा लिइसक्नुभएपछि अब मैले गर्ने के? ‘मैले पनि लोकगीतकै क्षेत्रमा काम गर्छु भनिदिँदा धर्मराजजीकै काम दोहोरिने भयो,’ मैले भनेँ, ‘नेवारको छोरा भएकोले धर्मराजजी जस्तो गाइनेहरु परिचालन पनि गर्न सक्दिनँ। त्यसैले एक दुई दिन समय पाउँ। त्यसपछि प्रस्ताव दिन्छु।’ त्यो बेला नेपाली भाषाको ब्यूत्पत्ति थलो दुर्गम क्षेत्र कर्णाली अञ्चलको जुम्लाभन्दा अझ पर सिंजा खोला उपत्यका हो भनेर कुरा आइरहेको थियो। त्यहाँबाटै नेपाली भाषा जन्म भएको हो भन्ने कुरा आएपछि त्यसबारे राम्ररी बुझ्न पाए हुन्थ्यो भन्ने मनमा खेल्न थाल्यो। सामान्य चर्चामा आएको त्यो कुराको खोजीनीति कसैले गरेका थिएनन्। यत्रो राष्ट्रिय भाषाको रुपमा सारा देशभर प्रचलित छ। त्यो भाषा उत्पत्ति थलोको एउटा चित्र उभ्याउने इच्छा मभित्र भयो। त्यसको खोजी गरेर विवरण ल्याउने हो भने सबैले थाहा पाउँथे। त्यहाँ कस्ता मान्छे थिए, कताबाट आएका थिए, त्यो ठाउँकै इतिहास कस्तो छ, लोकसाहित्यको अवस्था कस्तो छ, जनजीवन कस्तो छ, सामाजिक–आर्थिक अवस्था कस्तो छ, यी सारा कुरा समेट्ने लोकगीतदेखि उखानहरु के कस्ता छन्, चाडबाडदेखि लिएर धर्मका यावत कुराहरु सबै खोजीका विषय हुनसक्थे। मैले सर्सर्ती सोचेपछि ‘गर्नुपर्ने काम त यो पो हो’ भन्ने मनमा गढेर बस्यो। दुई-तीन दिनमै मैले प्रस्ताव बुझाउँछु भनेर कूलपतिजीलाई सुनाएको थिएँ। दोहोर्याएर मलाई सोधिएपछि त्यही प्रस्ताव मैले आफ्नो तर्फबाट राखेँ। ‘मलाई अनुमति दिनुहुन्छ भने म त्यही सिंजा खोलातिर जान्छु,’ मैले भनेँ, ‘नेपाली भाषाको ब्यूत्पत्ति थलो खोजी गर्छु।’ मैले यस्तो प्रस्ताव राख्दा सबैबाट उत्साह मिल्ला भन्ने सोचेको थिएँ। भइदियो उल्टो। सभामा उपस्थित प्राज्ञहरु गलल्ल हाँसे। ‘यो त हुँदैन’ पो भन्न थाले। ‘एक त त्यत्रो टाढाको ठाउँ छ,’ उनीहरुले भने, ‘त्यस्तो अनकन्टारमा तपाईं जाने कसरी? काम गर्ने कसरी?’ कुरो त सही नै थियो। त्यतिबेला विमानसमेत त्यो भेगमा जाँदैन थियो। असाध्यै अनकन्टार कर्णाली। जाने-आउने नै कसरी र कति समय लाग्छ भन्ने ठेगान थिएन। ‘गइसकेपछि कहाँ के समस्या आइपर्छ त्यो समेत थाहा नहुने यस्तो विचित्रको काममा हात नहाल्नूस्,’ प्राज्ञहरुले मलाई सुझाव दिनुभयो, ‘बरु यतै बसेर काब्य लेख्नूस्, उपन्यास लेख्नूस् वा अरु कुनै काम गर्नूस्। केही नपाए कुनै अनुवाद गरे पनि भयो।’ अनाहकमा दुःख पाउने काममा अगाडि नबढौं भन्ने साथीहरुको भनाइ थियो। मलाइ चाहिँ मनमा आएको त्यो कुरा संकल्पजस्तै बसिसकेको थियो। ‘म त्यहीँ गएर काम गर्ने हो,’ मैले भनेँ, ‘जिम्मा पाएँ भने म गएर गर्न सक्छु।’ सबै जना हाँस्न थाले। ‘होइन जोशीजी, के यस्तो कुरा गर्नुभएको हो? ‘काम पो गर्ने हो, यसरी मर्न जाने हो र?’ सबैले मेरो कुरा पन्छाउन खोजे। ‘मेरो प्रस्ताव चाहिँ त्यही नै हो, र रहन्छ,’ मैले भनेँ, ‘तपाईंहरुले पास गर्नुभयो भने ठीकै छ, गर्नुभएन भने पनि ठीकै छ।’ त्यो दिनको बैठक त्यत्तिकै टुंगियो। मेरो प्रस्तावबारे कुनै निर्णय भएन। अलिदिनपछि फेरि बैठक राखियो। बैठकमा मेरै प्रस्तावको कुरा आयो। ‘के विचार गर्नुभयो त जोशीजी?’ मलाई सोधे, ‘अर्को कुनै योजना तयार पार्नुभयो?’ मैले एकछिनसम्म उपस्थित सबैलाई हेरेँ। सबैजना मेरो मुखबाट कुनै अर्को कुरा निस्कन्छ कि भनेर ब्यग्र साथ कुरिरहेका थिए। ‘मेरो त कुरा उही हो,’ भनेँ, ‘पाएदेखि त्यहीँ सिंजा खोला गएर काम गर्ने हो।’ सिंजा खोला उपत्यका जाने, सामाजिक आर्थिक र लोकसाहित्य सर्वेक्षणजस्ता काम गर्ने भन्ने अठोट मभित्र अझ मजबुत भइसकेको थियो। ‘यिनले धेरै नै कराए,’ ब्यथितजीले भने, ‘जे होस् होस् अब। गरे गर्छन्, नगरे जे होला होला।’ मेरो प्रस्ताव पास भयो। प्रस्ताव त पास भयो। अब अगाडि बढाउने कसरी? त्यो महापहाड थियो। मैले चाहेजस्तो अनुसन्धान गर्न टिम चाहिन्थ्यो। एकेडेमीमा त कोही थिएनन्। अब त्यस्तो टिम कहाँबाट ल्याउने र कसरी सबैलाई तयार पार्ने? यी चुनौतीका बाबजुद मैले हरेस खाइनँ। योजना बनाउन सुरु गरेँ। (बाँकी अंश अर्को भागमा) बेइजिङमा

_____ · Apr 22, 2018 7:10 AM · 11,981 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion