३० श्रावण २०४६ नखु जेल प्रिय शोभा, मधुर सम्झना रक्तचाप १०५/७५ पुगेको छ। यसको अर्थ पहिलेभन्दा प्रगति छ। आमाको स्वास्थ्य र सुवेग अनि विवेकको विषयमा बरोबर सोच्ने गर्छु, यसबारे तिमीले आवश्यक विचार गर्ने नै छौ। अहिले मेरो कोठाअगाडि सानो फूलबारी छ। मखमली, पार्वती, गुलाब, सयपत्री, लाहुरे, चिरुकला आदिका स–साना बोटहरू छन् र फूलहरू फुलिरहेका छन्। सानो पोखरीमा रङ्गीचङ्गी माछाहरू छन्। नासपातीका स–साना २–४ वटा बोटहरू पनि छन्। साँझ र बिहान म त्यही बगैंचामा बस्छु, १५–२० मिनेट जेलको पर्खालको तल तल घुम्छु, ५ मिनेट हल्का कसरत (व्यायाम) गर्न सुरु गरेको छु। तर पनि टेबुलटेनिस र अरु खेल खेल्न आवश्यक शक्ति भइसकेको अनुभव गर्न सकेको छैन। पत्रपत्रिकाबाहेक लेख्ने र अन्य गम्भीर विषय पढ्ने गरेको छैन। स्वास्थ्यमै ध्यान दिँदैछु। कोठामै बसेर रेडियोको समाचार सुन्छु राती ११ बजेसम्म। ९ः३० को समाचारपछि गीत र गजल सुन्छु। रोमानी गजल सुन्दा हाँस्न मनलाग्छ। हिन्दी फिल्मभन्दा पाकिस्तानी गजलको निश्चित अर्थ छ। एउटा गजलको अर्थ हो– मेरो नभए आफ्नैबारेमा कुरा गर धेरै टाढा भए पनि नजिकै देखिन्छ तिमी नजिक देख्दा मलाई कस्तो कस्तो लाग्छ कुनै फूल पनि तिम्रो ओठजस्तो लाग्छ तिमी भएपछि रातमा जून किन? तिम्रो अगाडि जून पनि धमिलो देखिन्छ। यस्ता गजल र गीतहरूभन्दा त श्रृङ्गार रसका संस्कृत काव्य वा कविताहरू कता कता राम्रा छन्। उच्च कल्पना, सटिक प्रतीकमा संस्कृत काव्य कता कता माथि छ। राम्रा भनिएका हिन्दी र नेपाली गीतहरू तल्ला स्तरका नक्कलजस्ता मात्रै देखिन्छन्। केन्द्रीय कारागारमा मैले लेख्न सुरु गरेको, आधा लेखिसकिएका र सिद्धिनै लागेका लेखहरू सबै अधुरा रहे। अब मन पनि केन्द्रित भइसकेको छैन, लेख्ने जाँगर पनि छैन। ३–४ वर्षदेखि 'नेपाल–भारत सम्बन्धको भूमिका' भन्ने २–३ सय पेजको पुस्तक लेख्नका लागि लेखिएका नोटहरू पनि सबै अस्तव्यस्त भयो, पुस्तकहरू पनि प्रहरीमा 8364 अब के लेख्ने? 'दोस्रो विश्व युद्ध र त्यसका नायकहरू वा चर्चित व्यक्तिहरू' विषयमा पनि झण्डै १०० पेज जति टिपोट तयार भयो तर पनि अधुरो छ। नत्र ती दुवै पुस्तकले नेपाली भाषा र साहित्यको सेवा गर्ने थियो र नेपाली पाठकहरूको खाँचो पूरा गर्ने थियो। कहिलेकाहीं दोस्तोवस्कीको 'अपराध र दण्ड' भन्ने विश्व प्रसिद्ध उपन्यासकै अनुवाद गरूँ कि जस्तो मनमा कुरा खेल्छ। त्यसले प्रहरी अनुसन्धान के कस्तो हुन्छ भन्नेबारे अध्ययन र मनन गर्नेहरूलाई पनि काम लाग्थ्यो। तर त्यसको मोटाइ देखेपछि मन मर्छ। अर्कोतिर अन्तर्राष्ट्रिय आर्थिक र राजनैतिक विचारधाराहरूबारे केही लेखूँ भनेर सेन्ट्रल जेलमा सुरु गरेको थिएँ। ३०–४० पेजपछि ती पनि अधुरै रह्यो। ती सबै कुराहरूले गर्दा लेख्ने जाँगर पलाएन। नयाँ विषयमा कलम उठाउन मन मानिरहेको छैन। हो, कहिलेकाहीं कविता लेख्न मनलाग्छ – मेरो भाषा, मेरो संस्कृति नै के मेरो अपराध बन्यो? मेरो पुर्खाका योगदान मेरो संवेदनशीलता आफै मेरो व्यक्तित्वको शत्रु बन्यो? सुनका धारा बनाउने पुस्ता आज एक घुटको पानी पाउँदैनन् सुनका ढोकाहरू बनाउने रगत आज टाउको लुकाउने सानो छाना पाउँदैनन् ठिक्कै छ ढुङ्गा र काठका टुक्राहरूलाई मूर्तिमान बनाउने नयाँ हातहरू यहाँ बाँधिएका छन् नेपालीलाई स्वर र संस्कार दिने पुर्खाका नयाँ क्रम यहाँ अज्ञात अपराधमा बन्द छन् चार किल्लाभित्र। हो त नयाँ पुस्ताले यहाँ भिक्षा होइन आकास मागिरहे छ हराएको आफ्नो गीत र नाच मागिरहेछ सद्भावनाविनाको आतङ्कसँग खोज, विज्ञान र सभ्यता नै मेरो दोष समयसँगै बग्ने मेरो लालसा नै मेरो अपराध? हो आज मानव सभ्यता र मानवता नै बन्धकीमा छ यहाँ (यो कविता प्रकाशनको लागि होइन शोभा) यस्तै यस्ता भावनाहरूले मलाई भड्काउन खोज्छन्, संयम र धैर्यले सम्हाल्न खोज्छ, तर ब्रम्ह्माण्ड असीमित हुँदैमा सबै कुराको सीमा हुन्न भन्ने चाहिं होइन। ढिलो र चाँडोमात्रै हो। काम नपाएका र बाटो नपाएका केटाहरू विदेशमा केटीहरू बेच्ने काम गर्दछन्, आमाबाबुहरू पनि पल्टनबाट छोराहरूले कमाएर कम्पनी (भा.रु.) ल्याएजस्तै छोरीहरूले पनि कम्पनी ल्याएको हेर्न चाहन्छन्। दोष कसको? आमाबाबुको? केटीहरूकै वा गल्लावालाहरूको वा किन्नेहरूको? बेकारी, विवशता र बन्दोबस्त गर्न नसक्नु नै त्यस दोषको कारण हो। अपराधी त्यही परिस्थिति हो। व्यवस्था र सरकारको? त्यस्तै यस्ता नजोतिएका यहाँ अनगिन्ती जग्गा छन्, जसबारेे अनुसन्धान जरुरी छ। प्रसङ्ग फेरुँ। प्रदीप गिरीजीले सानो छोराको नाउँ 'विवेक' राम्रो भएन भनेर गुनासो गर्नुभएको छ। भारतीजी आउनुभयो/भएन – भाइहरूमार्फत् खबर गर्नूत्र मैले भित्रै एउटा सेतो तन्ना किनेँ, घरबाट दुःख गर्नुपर्दैन। बिदा। माया गर्ने
huippa · Feb 2, 2018 12:06 AM · 5,418 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion