अमेरिका जसरी पनि जाने भूत चढेको छ? यो पढ्न नछुटाउनुस् By Salokya, on January 11th, 2018 – रत्न बिडारी – हाल: इरभिङ, डालस (टेक्सस) अमेरिका आइपुगेपछि सोचे अनुसार नभएपछि डिप्रेसनको शिकार भएर धेरै नेपालीले अकालमा ज्यान गुमाइरहेका छन्। राति सहज रुपमा सुतेको मान्छे भोलीपल्ट बिहान मृत अवस्थामा भेटिन्छ। कोही मदिरा धेरै पिएर आफूलाई समाप्त पार्छन। यस्ता धेरै घटनाहरु छन्। केही महिना अघि अमेरिकी राज्य क्यालिफोर्नियाको राजधानी सेक्रामेन्टोमा अर्का एक नेपालीले मदिरा ज्यादा पिएर मृत्युलाई रोजेका थिए। नेपालबाट अफ्रिकी मुलुकहुादै १४ बर्ष अघि अमेरिका आइपुगेका ती नेपालीले आफू आउँदा गर्भमा रहेकी छोरीको प्रत्यक्ष रुपमा अनुहार समेत देख्न पाएनन्। यस्ता घटनाहरु सम्झँदाखेरिनै आङ जिरिङ्ग भएर आउँछन्। सपना बोकेर आउनेहरु कतिले आफूलाई वैधानिक बनाउन सकिरहेका हुन्छन् भने नसक्नेहरु पीडा, छट्पटीका बीच डिप्रेसनमा पुगेर बाँचेपनि दिनदिनै मरेतुल्य अवस्थामा मेसिन जसरी काम गर्दैछन् अमेरिकामा। सपनाको मुलुकमात्र होइन नेपालबाट हेर्नेले स्वर्गकै उपमा दिइएको ठाउँमा आइपुगेर पनि किन नेपालीहरु आत्महत्याको बाटो रोजिरहेका छन् त? के कारणले डिप्रेसनमा पुग्छन्? के साँच्चै नेपालबाट सोचिने अमेरिका अनि यहाँ आएपछि भोगिने अमेरिकामा आकाश–पातालको फरक भएकै हो त? अमेरिकालाई स्वर्ग ठान्नेहरु अनि यहाँ आएपछि यो ठाउँलाई नर्क भन्नेहरु प्रति समर्पिन गर्दै मेरो आफ्ना अमेरिकी अनुभव साट्न चाहन्छु। ताकी कोही पनि अमेरिकालाई स्वर्ग सोचेर लाखौं रुपैयाँ दलाललाई सुम्पिएर नआउन्। जो आइसकेका छन्, बाटोमा छन् उनीहरु यहाँको वातावरण देखेर दिक्दार मान्दै बाँकी जीवननै समाप्त भएको ठान्दै आत्महत्याको बाटो रोज्नेतिर नजाउन्। म त्यो अभागी भने होइन जसले लाखौं रुपैयाँ दलालको हातमा राखेर ज्यान जोखिममा पारेर, अनि महिनौ जंगलमा रात बिताउँदै मेक्सिकोहुादै अमेरिका छिर्नुपर्यो। म नेपालको कहिल्यै नसुध्रने फोहोरी राजनीति, अनि व्यबसायमा सफल हुनलाग्दा धेरैले आाखा लगाउँदै चन्दा माग्नेदेखि लिएर ज्यानै मार्ने धम्कीबाट आजित भएर यतातिर भासिएको व्यक्ति हुा। सन् २०१२ को सेप्टेम्बरमा अमेरिकी राज्य टेक्ससको डालस फोर्टओर्थ विमानस्थलमा ओर्लदा मसँग साथमा थिए दुई सुटकेशमात्र। त्यसभित्र नेपालमै लगाएका पुराना कपडा शिवाय अरु केही थिएनन्। दारी काट्नका लागि नेपालमै किनेको ब्लेड, क्रिम, ‘आफ्टर सेभ लोसन’ ह्याण्डक्यारीमा परेछ। कति काठमाडौं त कति सिंगापुर एअरपोर्टमा मिल्काउनुपर्यो। अर्थात मसँग यहाँ आइपुग्दा दारी खौरिने ब्लेड समेत साथमा थिएन। एअरपोर्टमा चिनेजानेका (तर त्यति घनिष्ठ भने होइन) साथी आइपुगेका थिए मलाई लिन भनेर। नेपाली भनेपछि अध्यागमनले कम्ति केरकार गर्ने होइन। मैले यहाँ एक नेपाली संस्थाको कार्यक्रममा सहभागी हुन भनेर आएको भन्दा मरिगए पत्याउने होइन। सारा पत्रहरु देखाएपछि अध्यागमनले मलाई ६ महिनासम्म बस्न पाउनेगरि आइ नाइन्टीफोर भनिने भिसा सरहको कागज पासपोर्टसँगै थमाइदियो। त्यो कागज हातमा पर्ने बित्तिकै मलाई लाग्यो ‘संसार जिते मैले। अब मेरो नयाँ संसार सुरु भयो।’ तर होइन रहेछ। अमेरिकामा त काम कतिकति भनेर जसरी सोचिन्छ त्यो कदापी होइन। नत यहाँ रुखका पात टिपे जसरी डलरनै कमाउन सकिने रहेछ। आएको एक महिनासम्म म उनै नेपाली साथीकोमा पाहुना लागेर बसे। अमेरिका भासिने निर्णय गरेदेखिनै मैले मनलाई यसरी दह्रो बनाएको थिए कि–’त्यहाँ पुगेर शौचालय सफा गर्ने काम मिल्यो भने पनि इन्कार गर्दिन। जे काम आइपर्छ गर्छु।’ तर त्यसले पनि कता काम गर्नु? काम खोज्नका लागि धेरै नेपालीहरु गुहारे। चिनेजानेका साथीभाई, आफन्तहरुलाई अनुरोध गरे। ‘लौन म आएको एक महिना भैसक्यो, अब त कति बेरोजगार भएर बस्नु? लाज पनि लागिसक्यो,’ म यसरी दिनदिनै भेटिएका नेपालीहरुलाई अनुरोध गर्थे। तर सजिलै काम के मिल्थ्यो र? अमेरिकीहरुकोमा काम पाउन कमसेकम ‘वर्क परमिट’ चाहिने रहेछ। वर्क परमिट नभएकालाई काममा लगाउनु गैर कानुनीमात्र नभएर अपराधै हुने रहेछ। अमेरिकनले यस्तो गैर कानुनी काम पटक्कै गर्दैनन्। बाँकी विकल्प थियो भारतीय या पाकिस्तानीका स्टोर, रेस्टुरेन्टहरुमा काम खोज्नु। म कामको खोजीमा नेपालीहरुकै सहयोगले घरि डालसको कुन कुना त घरि पल्लो छेउसम्म पुग्थे। रेस्टुरेन्टमा काम गर्नु सुरक्षाको दृष्टिले अलि राम्रो र पैसा पनि हुने, अनि बस्नको लागि ठाउँ पनि दिने भएकोले त्यतातिर लाग्न धेरैको सुझाव थियो। स्टोर, ग्याँस स्टेशनमा काम गर्नका लागि कम्तिमा एक महिना त सिक्नुपर्ने, त्यसपछि पनि पेस्तोल लिएर लुट्न आउने भएकाले धेरैनै खतरा हुने सल्लाह नेपालीहरुले दिए। नेपालमा आफ्नै व्यबसाय गरेर, एक दर्जनलाई रोजगारी दिदै सुखले परिवार समेत पालेर बसेको म यहाँ आइपुग्दा कामको खोजीमा अति भौतारिए। दिनभरि बस चढेर कामको खोजीमा हुन्थे। भोक लाग्यो भने म्याकडोनाल्डमा पसेर ८ डलर तिरेर बर्गर खान्थे। स्टारबक्समा पसेर तीन डलरको कफी पिउँथे। ‘एउटा इण्डियन रेस्टुरामा वेटर खाली छ, काम गर्नुहुन्छ त?’ एक साँझ रहादा बस्दा चिनजान भएका एक नेपालीले प्रस्ताव ल्याए। ‘ढुंगा खोज्दा हिरा भेटिएजस्तो’ भयो मलाई। भोलीपल्टै त्यो रेस्टुरामा पुगे। त्यहाँ एकजना नेपालीनै रहेछन् मेनेजर। उनले मेरा सबै कुरा बुझिसकेपछि घण्टाको ८ डलर पारिश्रमिक दिइने र केही टिप्स समेत मिल्ने बताएपछि म कामका लागि तयार भए। किनकी मलाई जसरीपनि काम चाहिएको थियो। तर त्यो रेस्टुरामा काम गरेपनि बस्ने ठाउँ भने रहेनछ। पहिलो दिन बिहान ११ बजेदेखि काम गर्न थाले मैले। जिन्दगीमा नगरेकोमात्र होइन नसोचिएको काम सुरु गर्दैथिए रेस्टुरेन्टमा वेटर। ग्राहकलाई पानी दिनु, काँटा चम्चा सफा गर्नु, रोटी (नान) टेबलमा लगेर राखिदिनु, अनि खाना खाइसकेपछि जुठा प्लेट, कचौराहरु उठाएर सफा गर्ने ठाउँमा लगेर थुपारिदिनु मेरो काम थियो। ‘ओ, क्या कर रहा हे? जल्दी करो’ काम गर्दैगर्दा रुखो स्वर सुनियो। मलाई छिटो गर्न भन्दै उसले हप्काएको रहेछ। त्यो केटो रेस्टुरामा १० प्रतिशत सेयर भएको साहु रहेछ। ‘यो सालेले मलाई हप्काउने?’ मनमनै कम्ति रिस उठेन। तर के गर्नु? मेरो वाध्यता थियो। आाखाबाट तपक्क आाशु निस्क्यो। हाछ्यु आएको जस्तो अभिनय गरेर रुमाल निकालेर आाशु पुछे, ताकि कसैले नदेखुन। शायद नेपाली मेनेजरले त्यो दृश्य देखेछन् क्यार। उनले नजिकै आएर भने– ‘दुख नमान्नुस यो सैतान हो। यसको मनमा दया, माया करुणा भन्ने छैन।’ लगातार उभिएर एक घण्टापनि काम नगरेको मलाई दिउँसो २ बजेतिर साह्रै खुट्टा गल्यो। थुचुक्कै बसुा जस्तो भयो। ‘भाई, पानी धेरै पिउनुस है, गाह्रो हुन्छ नि नत्र,’ अर्का एक नेपाली भाईले सल्लाह दिए। शायद उनलाई पनि सुरुसुरुमा काम गर्दा यस्तै कठिनाई भोगेकोले होला सल्लाह दिएका। तैपनि म ढल्ने अवस्थामा पुगे। कसैलाई भन्न सकेको छैन। किनकी यस्तो भयो भनौं भने भोलीदेखि काममा नआउन भन्न सक्थे। रेस्टुरामा ग्राहक अलि कम भएको मौका पारेर म सुटुक्क ट्वाइलेट छिरे, दिशा–पिसाब लागेर होइन खुट्टा सारै गलेकोले एकछिन आराम गर्न। कमोडमा १५ मिनेट आरामले बसे। मेरो मनले भन्दैथियो–’किन यस्तो दुख गर्छस अमेरिकामा? तालाई नेपालमै के नपुग्दो छ र?’ अर्को मनले भन्दैथियो–’दुख गर्, मान्छेको शरिर हो, विस्तारै बानी पर्दैजान्छ।’ ट्वाइलेटबाट निस्केपछि मेनेजरले सोध्दैथियो–’कता हराउनु भएको भाई?’ मैले दिसा लागेकोले ट्वाइलेट गएको त बताए। तर उसले पत्याएन। कसरी पत्याओस् त? सुरुसुरुमा आउने सबैले गर्ने त्यही रहेछ। कामबाट अतिनै थाकेपछि सबैजना त्यसरीनै ट्वाइलेट पसेर निकै समय हराउँदा रहेछन्। ११ बजे काम थालेको मैले त्यो दिन साँझ ७ बजेसम्ममात्र गर्न सके। साह्रै थाकेको देखेर मेनेजरलेनै आज जानुस भनेर बिदा दियो। दिउँसो कुरा हुँदा राति ११ बजेसम्म काम गर्नुपर्छ भनेको थियो। ७ बजेनै छुट्टी पाउँदा यति खुशी लागेन। रेस्टुरेन्टबाट साथीको अपार्टमेन्टमा पुग्न झण्डै एक घन्टा हिड्नुपर्थ्यो। यति थाकेको थिए कि के वयान गर्नु र? त्यो रुटमा बस थिएन। अक्टोबरको महिना अलि आध्यारो भैसकेको थियो। हिडेर जानुको विकल्प थिएन। १० मिनेट हिडेपछि सडक पेटीमै थुचुक्क बसेर अर्को १० मिनेट आराम गर्थे। लाग्थ्यो–’पेटीमा हिड्ने अनि गाडीमा यात्रा गर्नेहरुले मलाई होमलेस (घरवारविहीन) ठान्दै होलान्।’ हुनत एक प्रकारको होमलेसनै थिए म यतिखेर। दुईघण्टामा घर पुगेर थुचुक्क बसे। दिनभरिको कामको थकाई, त्यसमाथि हिडेर आउनुपर्दा कम्ति पीडा थिएन। खुट्टा पुरै सुनिएको थियो। वाथरुममा पसेर झण्डै १५ मिनेटसम्म तातोपानीले खुट्टा भिजाए। अलिकति आरामको महसुस भयो। १० बजे सुतेको म भोलीपल्ट बिहान ८ बजेछ व्युझिादा। तीनदिन काम गरिसकेपछि त्यो रेस्टुरेन्टमा एकजना नयाँ केटा काममा थपियो। शायद दक्षिण भारतीय हुनुपर्छ। लाग्यो–नयाँ स्टाफ थपेको होला। त्यो दिन दिउँसो खाना खाइसकेपछि साँढे दुई बजेतिर मेनेजरले बोलाएर भन्यो–’भाई आजलाई घर जानुस। आवश्यक पर्यो भने बेलुका फोन गरेर भोलीलाई बोलाउँला।’ किन यसो भने मैले सोच्नै सकिन। खुरुक्क घर हिाडे। जान्न भन्न पनि मिलेन। बेलुकी फोन आएन। भोलीपल्ट पनि आएन। एकसातासम्म पनि फोन आएन। म ढुक्क भए मेरो ठाउँ त्यही धोती केटाले लिएछ। मेरो ठाउँमा त्यसलाई राखियो होला। अति भएपछि एकदिन फोन गरेर मेनेजरसँग कुरा गरे। उसले पनि ‘सरी’ भन्यो। माफ माग्नुको त के अर्थ थियो र? लाग्यो– काम गरेको समयको त पारिश्रमिक देलान् नि कामबाट निकालेपनि। काम गरेको समयको पारिश्रमिक माग्न हिडेरै त्यहाँ पुगे। म पुग्दा मुख्य साहु आफैं काउण्टरमा थियो। मलाई देख्ने बित्तिकै पारिश्रमिक माग्न आयो भन्ने सोचेर होला निधार खुम्चायो। मैले आफ्नो तीन दिनको पारिश्रमिक मागे। उसले अलि पर गएर उभिन इसारा गर्यो। १० मिनेट कुरिसके कुनै अत्तोपत्तो छैन दिने। उल्टो म भन्दा पछि आएको एकजना भारतीयसँग गफ दिएर बसिराख्या छ त्यो बुढो साहु। म उसको नजिक गएर उभिए। उसले मलाई यसरी हप्कायो कि मानौ म भारतको कुनै शहरमा छु र उसको घरको कामदार हुा। तैपनि मसँग सहनुको विकल्प थिएन। पसिना बगाएको समयको मेहनत मलाई त्यत्तिकै छाड्न मन लागेन। तर उसले नदिने हो भने मसँग कानुनी रुपमा लड्ने आधार केही पनि त थिएन। त्यसैले म चुपचाप अर्को १० मिनेट कुरेर उभिरहेा। उसले बोलायो। रजिष्टर निकालेर हेर्यो मैले काम गरेको घण्टा। अनि एकसय २७ डलर मेरो हातमा थमायो। मैले हिसाब गर्दा एकसय २५ डलर चानचुन मैले पाउनुपर्ने थियो। दुई डलर बढी दियो। यो मेरो अमेरिकामा काम गरेको पहिलो पारिश्रमिक थियो। मेरो पहिलो डलर कमाई। ‘धन्यवाद’ भन्दै म त्यहाँबाट निस्किए। मैले अमेरिकामा बगाएको रगतको कमाई २० डलर अहिलेपनि मेरो वालेटमा सुरक्षित राखेको छु। म यो डलर मेरो छोराछोरीलाई देखाउन चाहन्छु ताकी उनीहरुमा ज्ञान होस् कि कति दुख गर्नुपर्दो रहेछ जिन्दगीमा। अनि कति हण्डर, कष्ट भोग्नु पर्ने रहेछ। मेरो जीवनकथा सुनेर टिपोट गरेर राम्रोसँग लिपीवद्ध गरिदिने कोही मिलेभने किताबै पनि लेख्नपनि सक्छु। तीनदिनमै म कामबाट रिटायर भए। अमेरिकामा ‘हायर एण्ड फायर’ बहुत सजिलो छ वैध कामदारका लागि समेत। तर म थिए अवैध कामदार। श्रम कार्यालयबाट छड्के जाँचका लागि कर्मचारी आउँदा म लुक्नुपर्ने हुन्थ्यो। त्यसो हुादा मलाई फायर गर्न कुन आइतबार र साहुका लागि? दोस्रो कामको खोजीमा लागे। एक दिन नेपालीहरुको भेलामा पुग्दा म बसेको ठाउँभन्दा अलिक टाढा अर्को काउन्टीमा रेस्टुरेन्टमै कामदारको खोजी भैरहेको सुने। ‘जानुहुन्छ भने म भनिदिउँला त्यहाँ, चिनेका साथीभाईहरु त्यहाँ छन्,’ एकजना नेपालीले प्रस्ताव गरे। मैले उनीसँग जसरी पनि त्यो काम मिलाइदिन आग्रह गरे। नभन्दै भोलीपल्ट दिउँसो मेरो मोबाइलमा फोन आयो। ‘भोली बिहान १० बजे हाम्रो रेस्टुरेन्टमा आउनुस्, कुराकानी गरेपछि सबै कुरा थाहा हुन्छ,’ उताबाट बोल्ने नेपालीले भने। म ट्याक्सी चढेर भोलीपल्ट बिहानै त्यहाँ पुगे। ‘नेपालमा के गर्नुहुन्थ्यो? कसरी आइपुग्नुभयो यहाँ? कहाँ बस्नुहुन्छ?’ जस्ता नानाभाती प्रश्न सोधे मेनेजरले। मलाई काम चाहिएको थियो झर्को नमानि सबै कुरा बताए। ‘ल तपाईलाई हामी काममा राख्छौं, महिनाको १६ सय डलर पाउनुहुन्छ। थपमा बस्नको लागि यही काम गर्ने साथीहरुसँग मिलेर बस्नुपर्छ। के गर्नुहुन्छ? मलाई जसरी पनि काम चाहिएको समयमा आएको त्यो प्रस्ताव उचितै लाग्यो। कामको लागि तयार भए। फेरि मेरो रेस्टुरेन्टको कामको यात्रा सुरु भयो। बिहान १० देखि राति ११ बजेसम्म १३ घण्टा लगातार काम गर्नुपर्थ्यो। मुख्य काम खानाको अर्डर लिने, खाना पुर्याइदिने र जुठा भाँडा उठाउने। अरु चार जना नेपालीहरु पनि काम गर्थे रेस्टुरेन्टमा। धेरै चाँही भारतीयहरु थिए। कहिल्यै नगरेको काम भएकोले केही हप्ता साह्रै कठिन भयो। छाडेर नेपालै फर्कु कि जस्तो नलागेको पनि होइन। कत्रो सपना बोकेर अमेरिका छिरेको म नेपाल फर्किए भने आफन्तले के भन्लान? साथीभाईले के सोच्लान्? अनि नेपालमा फर्केर गर्ने पो के? ‘होस्, काम गरेर मरिदैन। केही महिना गाह्रो होला, त्यसपछि त बानी परिहाल्छ नि’ मनमनै चित्त बुझाउँथे। घरपरिवारलाई समेत रेस्टुरेन्टमा काम गर्दैछु भनेर भन्न सकेको छैन मैले। ‘एउटा कम्पनीमा काम गर्छु, घण्टाको १० डलर मिल्छ’ भनेर ढाँटेको थिए मैले। रेस्टुरेन्टमा काम गर्दैछु भनेको खण्डमा मलाई परिवारले के भन्लान्? साथीभाईले कस्तो मूल्यांकन गर्लान् भन्ने ठूलो डरले मैले ढाँटे। हुनतः यहाँ आउने सबै नेपाली चाहे डिभी परेर आएका किन नहुन् उनीहरुले सुरुमा काम गर्ने भनेको यस्तै रेस्टुरेन्टमै हो। भाग्यले साथ दिएको खण्डमा कसैले ग्याँस स्टेसन त कसैले स्टोरमा काम पाउलान्। तर त्यसमा काम गर्न कम्तिमा एक महिना सित्तैमा काम गरिदिनुपर्छ तालिमका नाममा। एक महिना सित्तैमा कसरी काम गर्नु? त्यसो हुादा होटलमा काम गर्ने भनेर कसैले गफ दिएपनि यथार्थतामा उनीहरुले भारतीय वा पाकिस्तानीकै रेस्टुरामा काम गरिरहेका हुन्छन्। दुई बर्षका बीचमा मैले अमेरिकामा के र कस्तो चाँही दुख गरिन होला? मानिसको भोगाईनै सबैभन्दा ठूलो स्कूल हो, कलेज हो अनि विश्वविद्यालय पनि हो। सपना बोकेर अमेरिका छिरेको मैले यो बीचमा कानुनी वैधताका लागि वकिल लगाएर कागजपत्र बनाइपनि भ्याए, जसरी अरु आम नेपालीले गर्छन। अधिकांश नेपालीले गर्ने भनेको शरणार्थी (एसाइलम) आवेदननै हो। थोरैलेमात्र ‘एक्स्ट्रा अर्डिनरी’ प्रकृया गर्ने हुन्। एक्स्ट्रा अर्डिनरीका लागि समाजमा चिनिएको, कुनै क्षेत्रमा ख्याती कमाएको हुनुपर्छ। जो मसँग थिएन। म यतिखेर परिवार सहित छु। म आएको झण्डै डेढ बर्षपछि परिवार आइपुगे यहाँ। जे सोचेर अमेरिका आएको थिए अहिलेपनि पुरा हुन सकेको छैन। किनकी हामी नेपालीसँग अमेरिकाको लागि चाहिने कुनै पनि शीप र क्षमता छैन। प्राविधिक रुपमा कुनै शीप हुने हो भने यहाँ मध्यमस्तरको जीवन विताउन गाह्रो छैन। कपाल काट्नेमात्र शीप कोहीसँग छ भने त्यसले राम्रैसँग आफ्नो परिवार पाल्नसक्छ, दुईचार जनालाई रोजगारी दिनसक्छ। तर मोहन वलीजस्ता हजारौं नेपाली दलाललाई २५ देखि ३५ लाख रुपैयाँ बुझाएर यहाँ छिर्छन ज्यान जोखिममा पारेर। कोही विद्यार्थी भएर आउँछन् र कलेजै नटेकी काम खोज्न थाल्छन्। उनीहरु कुनै शीप सिक्दैनन्। अनि यहाँ आएपछि उही रेस्टुरेन्टमा जुठा भाँडा उठाउनेभन्दा अरु काम केही मिल्दैन। कतिले त महिनौसम्म पनि त्यही काम पनि पाउँदैनन्। दलाललाई तिरेको रकमको व्याजले आकाश छोइसकेको हुन्छ। परिवारले फोन गरेर साहुको धम्की सुनाउँछन्। अनि अमेरिकामा आइपुगेपछि पनि एकातिर काम मिल्दैन। अर्कातिर मिलिहाले पनि २५/३० लाख रुपैयाँ अनि त्यसको व्याज कहिले चुक्ता गरिसक्नु? मेरो अमेरिकी अनुभवले के भन्छ भने दलाललाई मोटो रकम बुझाएर यो सपनाको दलदलमा आउँदै नआउनुस्। यहाँ बस्नेले समुद्री किनार, स्ट्याचु अफ लिवर्टी, टाइम्स स्क्वायर, गोल्डेनगेट, हलिउडमा बसेर खिचेको फोटोलाई देखेर मूल्यांकन नगर्नुहोला। किनकी हामीजस्ता शीप, दक्षता अनि अंग्रेजी भाषामा कमाण्ड नभएकालाई यो संसार निकै कठिन ठाउँ हो, स्वर्ग होइन नर्क हो शीप र भाषा नहुनेका लागि। यहाँ आएर डिप्रेसनमा परेर आत्महत्या गर्ने अवस्थामा पुग्नुभन्दा अघि एक पटक अमेरिका पुगेाभने मैले काम पाउनसक्छु? काम पाइन भनेपनि कति महिना खाली हात बस्नसक्छु? त्यति समयसम्मका लागि मलाई सहयोग गर्ने आफन्त, साथीभाई छन् कि छैनन्? अनि जस्तोसुकै काम पनि गर्छु भन्ने आाट हिम्मत लिनुभयो भनेमात्र अर्को गोलार्द्धको यो संसारमा टिक्न सकिन्छ। किनकी यो ठाउँ भनेको कसैले कसैलाई मतलब नराख्ने, अनि परिआउँदा आफन्तले समेत मुन्टो बटार्ने, चिनेको छैन भन्ने ठाउँ हो। ट्वालेट सोर्छु, लगातार ८ घण्टासम्म लगातार उभिएरै काम गर्न सक्छु भन्ने आाट छ, हातमा कुनै शीप छ भने यो संसारमा टिकिन्छ। डिप्रेसनको शिकार हुनुपर्दैन। नत्र यो ठाउँ कहिल्यै पुरा नहुने सपनाको संसारमात्र होइन बनारसको लड्डुपनि हो। जसरी बनारसको लड्डु खानेपनि पछुताउँछ, खान नपाउने पनि पछुताउँछ। अमेरिका पनि यस्तै हो। जहाँ आइसकेका पनि पछुताएका छन् र आउन नपाएका पनि पछुताइरहेका छन्। अमेरिका जसरी पनि आउने भुत चढेको छ कसैलाई भने कुनै न कुनै शीप सिकेर आउनुस। बरु कपालै काट्ने शीप भएपनि आफूसँग बोकेर आउनुभयो भने तपाईलाई यहाँ बाँच्न कुनै गाह्रो छैन। हातमा शीप नभएका, भाषामा कमाण्डिङ नभएका म जस्ताले काम गर्ने भनेको रेस्टुरेन्ट, कुनै स्टोर या ग्याँस स्टेशनमा मात्र हो। भाग्यले साथ दिइहाल्यो भने कुनै कम्पनीमा छिर्न पनि सकिन्छ। तर त्यो भनेको धेरैपछिको कुरा हुन्छ। http://www.mysansar.com/2018/0... Last edited: 11-Jan-18 02:37 PM
ktmpost · Jan 11, 2018 2:16 PM · 51,400 views
यो कुरो कस कसलाई लागु हुन्छ ? यहाँ निम्न परिकार का भद्रहरु हुनुहुन्छ १. असाइलम (जस्तो सुकै बाट पाए पनि) २. कार हरु (गीत कार, संगीत कार, कलाकार, साहित्यकार, कति छन् कति भनेर साध्यै छैन ) ३. बोर्डर बाट लुसुक्क पसेका ४. डि भी बाट ज्याक पोट परेका (बाटो मा हेरी नसक्नु छयास छ्यास्ती छन्) ५. नेपाली मा भुकम्प आएर दुर्भाग्य हुदै यहाँ भाग्य खुलेका ६. क्यामरा बोक्दै पर्यटक हुदै पसेका अनि पछि हराएका ७. विद्यार्थी हुदै आएका अनि पछि नविद्यार्थी हुदै गएका ८. विद्यार्थी बाट सफल हुदै पेसा गत् जागिर पाएका ९. अरु थप्दै जाम न साथि हरु ....
dhoti_prasad · Jan 11, 2018 3:16 PM
jatho guff pani kati dina aeko, kaam napaeko bhokmari lay $8 tirera mac ma burger khancha? $2 ma burger paiincha. Iillega baseko bhatuwa lai ghumne kursi ma basne fedral job chaiyo ta?
gone12 · Jan 11, 2018 4:26 PM
lol mysansar and especially salokya is anti-america. Write an anti-america article, forward that to Salokya and make some money. He will pay for it.
pepsi · Jan 11, 2018 6:59 PM
Gone12 Your observation may not be accurate because just imagine the situation. This was a new person in the US. He does not have any idea how to eat cheap. He goes to macdonald and sees the combo deals he goes to star bucks for coffee because that's probably the only coffee shop sign he sees. B+ = Be Positive
funtush · Jan 12, 2018 9:37 AM
Everybody goes through this. Quit whining. Nepali ko jaat laai dukha Nagari hakim Saab ko jaagir chaahiney?
Laalmon · Jan 12, 2018 9:42 AM
america aye, scholarship ma masters gare, college end hunu bhanda pahila job offer thiyo that pays over 80k. kaali,gori,amiga sanga ramailo gariyo,almost every state,mexio,bahamas ghumiyo,lexus chadiyo bada bhutro ko depression!! tyo jatha mero saathi bahnaudo mexico hudai america ayo,restaurant ma kaam garyo,asylum thokyo,gc bhayo,$$ kamayo,india hudai nepal gayo,$$ udayo,ahila usa ma moj garcha. bada bhutro ko depression teslai. yo sala nachaine news chapera waiyaat. advise : always come to usa legally like sojoketo did
sojoketo · Jan 12, 2018 10:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion