बिद्यार्थीलाइ फिलिमको अफर आए पछि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

इञ्जिनियरिङमा स्नातक अन्तिम वर्षको फाइनल परीक्षा नजिकिँदै थियो। परीक्षाको तयारी गरिरहेका बेला अपरिचित नम्बरबाट फोन आयो। ‘हेलो म आलोक नेम्वाङ, फिल्म निर्देशक।’ सुरक्षा पन्त आलोकको नाउँ सुनेरै अवाक् भइन्। सोधिन्, ‘हजुर साँच्चै नै आलोक दाइ हो?’ आलोकले आफ्नो परिचयको विश्वास मात्र दिलाएनन्, निर्माणाधीन ‘अझै पनि’ फिल्म खेल्ने प्रस्तावधरि राखे। अघिसम्म अवाक् सुरक्षा अब अलमल्ल परिन्। हुन्छ पनि भन्न सकिनन्, हुन्न पनि। एकछिन फोनमै बोलेपछि भेटेरै कुरा गर्ने निधो भयो। सुरक्षाले ‘इमेज भिजे हन्ट’ मा अडिसन दिएकी थिइन्। त्यही अडिसनको भिडियो आलोकले हेरेका रहेछन्। ‘भिडियोमा तिम्रो स्क्रिन फेस एकदमै राम्रो आएको छ, देख्नेबित्तिकै मैले इमेजसँग नम्बर मागेर फोन गरेको,’ आफ्नो पहिलो फिल्मको अनुभव बाँड्दै सुरक्षाले आलोकको भनाइ उद्धृत गरिन्। ‘आलोक दाइको मुखबाट आफ्नो तारिफ सुनेर म त दंग,’ उनले भनिन्, ‘हामीले फिल्मको विषयवस्तु र पात्रबारे छलफल गर्यौं। उहाँले मलाई अफर गर्नुभएको रोल पनि सुनाउनुभयो। म खुसी थिएँ, सँगसँगै मन भारी भइरहेको थियो।’ उनलाई फिल्म खेल्न मन नलागेको होइन, तर इञ्जिनियरिङको अन्तिम खुड्किलोमा आएर एक्कासि अर्कै क्षेत्रमा हाम्फाल्न परिवारले अनुमति दिने हो कि होइन भन्ने उनलाई दुबिधा थियो। केही दिन त परिवारसँग कुरा गर्नधरि अप्ठ्यारो लाग्यो। परिवारको स्वीकृतिका लागि उनले आलोकसँग केही समय मागिन्। सुरक्षालाई सानैदेखि कला क्षेत्रमा रुचि भए पनि आमाबुवालाई यसबारे कुनै खबर थिएन। उनले खुलेर भन्नै सकेकी थिइनन्। खासमा उनी आफैं के गर्ने, के नगर्ने टुंगोमा पुगेकी थिइनन्। नभन्दै, त्यही भयो जुन उनलाई डर थियो। इञ्जिनियरिङ राम्ररी पढ्दै गरेकी छोरीले एक्कासि फिल्म खेल्छु भन्दा परिवारमा एक किसिमको कोलाहल मच्चियो। ‘डरै डर थियो, ममीलाई सम्झाउने आत्मविश्वाससम्म थिएन,’ उनले भनिन्, ‘अचानक मैले फिल्म खेल्छु भन्दा उहाँहरू सबै झसंग हुनुभयो।’ घरमा सबैले फिल्म क्षेत्रमा हामनफाल्न दबाब दिए। सबैले इञ्जिनियरिङमा राम्रो भविष्य छ, कमाइ छ, इज्जत छ भन्दै फकाउन थाले। सुरक्षाका अनुसार परिवारको कुनै सदस्य यो क्षेत्रमा थिएन। फिल्म क्षेत्र राम्रो छैन भन्ने धारणा पनि थियो। उनलाई भने आफू राम्रो काम गरेर यस्तो नकारात्मक धारणा हटाउँछु भन्ने सोच आयो। परिवारलाई पनि यही भनेर विश्वास दिलाइन्। त्यतिबेला छोरीको निर्णयमा समर्थन जनाउन हच्किएका आमाबाबु यतिबेला भने उनले पाइरहेका राम्रा प्रतिक्रियाबाट दंग छन्। ‘अहिले त उहाँहरू गर्व मान्नुहुन्छ,’ उनले भनिन्, ‘बुवा त फलानो फिल्म खेल्ने मेरी छोरी हो भन्दै चिनाउनु हुन्छ, कत्ति खुसी लाग्छ।’ ‘अझै पनि’ बाट फिल्म क्षेत्रको बाटो कोरेकी सुरक्षालाई टेलिभिजन कार्यक्रम चलाउने रहर थियो। इञ्जिनियरिङ पढ्ने क्रममै उनी कलेजमा कार्यक्रम चलाउँथिन्। सबैको राम्रो प्रतिक्रिया आउँथ्यो। त्यही प्रोत्साहनले उनलाई इमेज टेलिभिजनको ‘भिजे हन्ट’ कार्यक्रमसम्म पुर्यायो, अडिसन दिन। ‘मैले क्लास बंक गरेरै त्यो प्रतियोगितामा भाग लिएकी थिएँ,’ उनले सम्झिइन्, ‘टप–थ्रीमा छानिएँ, खुसी लाग्यो।’ त्यसपछि त टेलिभिजन कार्यक्रम सञ्चालनदेखि मोडलिङसम्मका टन्नै अफर आउन थाले। परीक्षाका कारण उनले ती अफर स्वीकार गरिनन्। उनले त्यतिबेला इञ्जिनियरिङ रोजिन्। पछि त्यही कार्यक्रमले उनको फिल्म करिअरको ढोका भने खोल्यो। सुरक्षाको पहिलो फिल्म ‘अझै पनि’ व्यावसायिक रूपमा त्यति राम्रो चलेन। फिल्म रिलिज हुनुअघि नै निर्देशक आलोकले आत्महत्या गरे। ‘फिल्म धेरै नचले पनि मैले चिन्ता मानिनँ, किनकि त्यो मेरो पहिलो पाइला थियो। केही न केही सिकेँ भन्ने लाग्छ। व्यक्तिगत रूपमा त धेरै राम्रा प्रतिक्रिया पाएँ,’ उनले भनिन्, ‘आलोक दाइको निधनले भने दुःखी बनायो, मैले आफ्नो गुरु गुमाएँ।’ ‘आज म फिल्म क्षेत्रमा जहाँसम्म आइपुगेकी छु, त्यो उहाँकै विश्वासको देन हो,’ उनले भनिन्। ‘अझै पनि’ व्यावसायिक रूपमा सफल नभएपछि सुरक्षा लामो समय फिल्म क्षेत्रबाट हराइन्। फिल्म नखेले पनि कला क्षेत्रको यात्रा भने थामिएन। उनले यसबीच कान्तिपुर र सगरमाथा टिभीका केही कार्यक्रममा काम गरिन्। एकाध विज्ञापन र म्युजिक भिडियोलाई पनि निरन्तरता दिइन्। सँगसँगै, इञ्जिनियरिङ पनि अघि बढाइन्। तीन वर्षको अन्तरालपछि फिल्म क्षेत्रमा सुरक्षाको दोस्रो ‘इनिङ’ भयो, दिपेन्द्र के खनालको ‘धनपति’ बाट। हुन त उनी यसअघि नै साम्देन भुटिया निर्देशित ‘सुस्केरा’ मा अनुबन्धित भइसकेकी थिइन्। धनपतिको अवसर साम्देनले नै जुराइदिएका थिए। तर, दोस्रो रिलिज नहुँदै उनको तेस्रो फिल्मको बढी चर्चा भयो। ‘साम्देन दाइ र दिपेन्द्र दाइ साथी हुनुहुँदो रहेछ, धनपतिका लागि हिरोइनको खोजी भइरहेको थाहा पाएपछि साम्देन दाइले मेरो तारिफ गर्दै नाम प्रस्ताव गर्नुभएछ, उहाँले नै भेट्ने व्यवस्था मिलाइदिनुभयो,’ उनले सम्झिइन्। ‘धनपति’ मा गृहिणीको भूमिका गरेकी सुरक्षाको काम धेरैले मन पराए। बुटवल, सुख्खानगरमा जन्मिएकी उनी आफ्नै आमा र गाउँघरका गृहिणी महिलाको आनीबानीबारे परिचित भएकाले उक्त भूमिका निर्वाह गर्न गाह्रो नपरेको बताउँछिन्। ‘सानैदेखि जे देख्दै आएँ, त्यसैलाई पर्दामा उतारेकी हुँ,’ उनले भनिन्, ‘मधेसी महिलाको शैलीमा काम गर्न भने अलि अप्ठ्यारो भयो।’ आगामी दिनमा फिल्म लेखनमा समेत हात हाल्ने सोच बनाएकी सुरक्षाको काम गर्ने आफ्नै सूत्र छ, जुन इञ्जिनियरिङ पढाइबाट प्रेरित भएको उनको भनाइ छ। उनी कुनै पनि भूमिकालाई पर्दामा उतार्न सबभन्दा पहिला त्यसको खाका कोर्छिन्। जसरी इञ्जिनियरले कुनै भौतिक संरचना बनाउनुअघि ‘साइट’ भ्रमण गर्छ, त्यो ठाउँसँग मिल्दोजुल्दो संरचनाको नक्सा बनाउँछ, त्यो नक्सालाई वास्तविक आकार दिन के–कस्ता सामग्रीको खाँचो पर्छ भन्ने अनुमान गर्छ, आफू पनि फिल्मको पात्रलाई त्यही तरिकाले व्यवहार गर्ने उनी बताउँछिन्। ‘इञ्जिनियरका रूपमा मेरो काम शून्यबाट संरचना बनाउनु हो,’ उनले भनिन्, ‘फिल्मको पात्र भनेको पनि स्क्रिप्टमा छउञ्जेल शून्यमै हुन्छ, तर त्यो शून्यमा पनि त्यसका केही भावभंगिमा, आनीबानी र केही ‘एटिच्युड’हरू हुन्छन्। इञ्जिनियरका रूपमा म स्क्रिप्ट पढ्दा तिनै कुरा केलाउने प्रयास गर्छु। यसले पात्रलाई संरचनागत स्वरुप दिन सजिलो पर्छ।’ उनी आफू इञ्जिनियरका रूपमा स्कुल भवन बनाउने काम गरिरहेकी छन्। बेलायती परियोजना ‘युनाइटेड वर्ल्ड स्कुल’ मा उनी पुनर्निर्माणको काम हेर्छिन्। त्यहाँ विद्यार्थीलाई पढाउँछिन् पनि। इञ्जिनियरिङमै स्नातकोत्तर गर्ने योजनासमेत बनाएकी सुरक्षालाई ग्रामीण विकास विषय लिएर गाउँ गाउँ पुग्ने रहर छ। ‘म सहरभन्दा गाउँ केन्द्रित हुन चाहन्छु। गाउँमा शौचालय बनाउने, राम्रो घर बनाउने इच्छा छ,’ उनले भनिन्, ‘स्थानीय स्रोतको अधिकतम प्रयोग गरेर सुन्दर गाउँ बनाउने रहर छ।’ ‘कलालाई फुलटाइम दिएकी छैन। जतिबेला आउँछ त्यतिबेला फुलटाइम दिन्छु। कुनै प्रोजेक्ट आयो भने पहिला अफिसमा कुरा गरेर समय मिलाउँछु,’ दुई डुंगामा खुट्टा राखेकी सुरक्षाले भनिन्, ‘मलाई दुवै क्षेत्र प्यारो लाग्छ र दुवैमा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ।’ यति हुँदाहुँदै राम्रो स्क्रिप्ट आए इञ्जिनियरिङलाई भन्दा कला क्षेत्रलाई प्राथमिकता दिने उनले बताइन्। इञ्जिनियरिङ र कला दुवैलाई मिश्रण गरेर नयाँ अवसर सिर्जना गर्ने धूनमा पनि छिन्। उनी जसरी कलाकारितामा इञ्जिनियरिङको ‘आइडिया’ प्रयोग गर्छिन्, त्यस्तै इञ्जिनियरिङमा कलाकारिताको अभ्यास पनि गर्छिन्। विद्यार्थी पढाउँदा गाउँदै, नाच्दै, हसाउँदै, जोक्स भन्दै पढाउने गरेको उनले सुनाइन्। ‘म दुवै पेसालाई कसरी एकठाउँ राखेर राम्रो काम गर्न सकिन्छ भन्ने अभ्यासमा छु,’ उनले भनिन्, ‘आखिर जुनसुकै पेसाको उद्देश्य सामाजिक हित नै त हो।’ आफ्नो परिचय पनि यी दुवै पेसासँग जोडिएरै बनोस् भन्ने उनी चाहन्छिन्। ‘म चाहन्छु, इञ्जिनियरका रूपमा मलाई चिन्नेहरूले म कलाकार पनि हुँ र आफ्नो पेसासँगसँगै कलाकारितामा पनि समर्पित छु भनेर बुझून्,’ सुरक्षाले भनिन्, ‘यता कलाकारका रूपमा चिन्नेहरूले पनि इञ्जिनियरिङ गर्दागर्दै कलाकारितामा लागेर दुवै पेसालाई सँगसँगै बढाइरहेकी छु भनेर थाहा पाऊन्।’ सायद त्यही भएर, उनी थोरै तर गहन विषयवस्तुका फिल्म मात्र स्वीकार गर्न चाहन्छिन्। ‘महिलाप्रधान र सामाजिक समस्या उठाएका फिल्म खेल्न मन लाग्छ,’ उनले भनिन्। http://khabaryatra.com/archive...

ktmpost · Oct 29, 2017 8:35 PM · 4,327 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion