काठमाडौं- राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जब भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो । गिरोहलाई पैसा दिएर पास हुन परीक्षा केन्द्र पुगेका परीक्षार्थीले प्रश्नपत्र पाएलगत्तै फोटो खिचेर भाइबरमार्फत होटलमा बसेको समूहलाई फोटो पठाएका थिए। शनिबार बिहान ८ देखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कंदै गरेका उनले परिवारसँग खुसी बाँड्न भने पाएनन् । उनी तीनकुनेबाट सीधै टेकुमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पु¥याइए । बौद्धको अरुणिमा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका शिखा झा र राहुल झाको अवस्था पनि सिंहकै झैं भयो । परीक्षा दिएर उनीहरू घर हैन, प्रहरी कार्यालय पुगे । उनीहरूसँगै अर्का परिक्षार्थी सक्षमराज भण्डारी पनि थपिए । केही बेरमै ज्ञानेन्द्र ठाकुर थपिए, जो अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा एमबिबिएस पढ्दै थिए । केही बेरमा सञ्जयकुमार यादव, मुकेश राय, हिरेन्द्र शर्मा, अजयकुमार यादव, आशुतोषकुमार झा र शैलेशकुमार झासमेत थपिए ।यी सबै पक्राउ पर्नुको कारण बढो फिल्मी छ । १४ वर्षअगाडि भारतमा डाक्टर बन्न लालायीत एक गुन्डामा आधारित फिल्म बनेको थियो ‘मुन्नाभाई एमबिबिएस’ । निर्देशक राजकुमार हिरानीले बनाएको उक्त हास्य फिल्म बाबुको डाक्टर बन्ने सपना पूरा गर्न आपराधिक गतिविधिमा लागेका एक व्यक्ति (मुन्नाभाइ) ले अपनाएको उपायमा आधारित छ । उक्त चलचित्रमा मुन्नाभाइको भूमिका सञ्जय दत्तले निर्वाह गरेका छन् । सहयोगी अरशद वारसीसँग मिलेर प्रवेश परीक्षालगायत सबै परीक्षा दिन एक चिकित्सक अपहरण गरी प्रविधि प्रयोग गरेर मोबाइलमार्फत चिट चोरेर परीक्षा दिई उनी चिकित्सक बन्छन् । शनिबार पक्राउ परेको सबैले मुन्नाभाई फिल्मको यही शैलीमा चिट चोर्ने–चोराउने गरेका थिए । फिल्ममा अयोग्य भए पनि चिकित्सक बन्न लालायीत एकजना थिए, यहाँ चारजना निस्किए । पक्राउ परेकामध्ये राजीव, शिखा, राहुल र सक्षम चिट चोरेर प्रवेश परीक्षा पास गरेर चिकित्सक बन्ने ध्याउन्नमा थिए । ज्ञानेन्द्र उनीहरूलाई चिट चोराउन सक्रिय एबिबिएसका विद्यार्थी । पक्राउ परेका अन्यमध्ये कसैले उपकरण उपलब्ध गराएका थिए, कसैले चिट चोर्ने चाँजोपाँजो मिलाएका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रवेश परीक्षाको कोचिङ कक्षा चलाउने आशुतोष र शैलेशले परीक्षार्थीलाई परीक्षामा उत्तीर्ण गराउने भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म लिएका थिए । यसअगाडि एमबिबिएस प्रवेश परीक्षामा अक्षम परीक्षार्थीलाई उत्तीर्ण गराउन नक्कली विद्यार्थीको प्रयोग हुने गरेको थियो । २०७२ मा अर्काको परीक्षा दिन आएका चिकित्सक सुनिल मण्डल र निरज शर्मा पक्राउ परेपछि परीक्षार्थीमाथिको निगरानी बढेको थियो । यसैलाई आधार बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्चमाध्यमिक शिक्षा परिषद्ले संयुक्त अनुसन्धान अगाडि बढाउँदा नक्कली शैक्षिक योग्यताको भरमा चिकित्सक बनेका एक हजारभन्दाको पहिचान भएको थियो । तीमध्ये ५६ जना पक्राउ परेका थिए । संयुक्त अनुसन्धान जारी रहेपछि प्रवेश परीक्षा केही कसिलो बनेको थियो । एक वर्षयता प्रहरीले अनुसन्धान सुस्त बनाएपछि सो गिरोह पुनः सक्रिय भयो र उनीहरूले नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने पुरानो उपायसँगै प्रविधि प्रयोग गर्ने नयाँ शैली अपनाए । उनीहरूले मोबाइलको सिम राखेर कुरा गर्न मिल्ने नयाँ शैलीको उपकरण खोजी गरे । यो उपकरण वायरलेस एअरफोनमार्फत परीक्षार्थीले सहजै शरीरमा लुकाउन सक्थे । होटलमा बसेर उत्तर टिपाउँथ्यो गिरोहचिकित्सा शास्त्र अध्ययन संस्थानले शनिबार १७ वटा परीक्षा केन्द्र तोकेको थियो । अधिकांश केन्द्रमा सेटिङमा पास गराउने गिरोह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अनुसन्धानको नेतृत्व गरेका अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार परीक्षार्थीलाई चिट चोराएर पास गराउन गिरोह चार समूहमा खटिएको थियो । पहिलो समूह चिकित्सक बन्न चाहने र शैक्षिक योग्यता कमजोर भएका परिक्षार्थी खोज्न खटिएको थियो । आशुतोष र शैलेशले इन्स्टिच्युटमा तयारी कक्षा लिन आएका यस्तै परीक्षार्थीको खोजी गरेका थिए । दोस्रो समूह परीक्षा केन्द्रमा उपकरण बोकेर गएका परिक्षार्थीलाई सहज प्रवेश गराउन खटिएको थियो । सोही समूहले उपकरणको बन्दोबस्त गरेको थियो । पक्राउ परेका सञ्जय उपकरण खोजी र केन्द्रमा सहज प्रवेश गराउन खटिएका थिए । तेस्रो समूह परीक्षार्थीलाई प्रश्नको उत्तर मोबाइलबाट टिपाउन होटलमा खटिएको थियो । यो कामका लागि सञ्जीवलगायतका तीन जना लाजिम्पाटको होटलमा कोठा लिएर बसेका थिए । चौथो समूह परीक्षा केन्द्रमा गएर अर्काको नाममा परीक्षा दिन खटिएको थियो । सो समूहका सदस्यमध्ये एकजनामात्र पक्राउ परेका छन् । पक्राउ परेका ज्ञानेन्द्र पप्पु यादव बनेर उनको प्रवेश परीक्षा दिन केन्द्र पुगेका थिए । परीक्षा चल्दाचल्दै प्रश्नपत्र आउटएमबिबिएसको प्रवेश परीक्षामा सेटिङका आधारमा उत्तीर्ण गराउने गिरोह पुनः सक्रिय भएको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महाशाखाको टोली अनुसन्धानमा खटिएको थियो । अनुसन्धानमा गिरोहले नयाँ प्रविधि प्रयोग गरेर चिट चोराउने गरेको पुष्टि भएपछि दुवै टोली प्रवेश परीक्षा सुरु हुने दिनको प्रतीक्षामा थियो । शनिबार बिहान ८ बजे परीक्षा सुरु हुने जानकारी पाएपछि दुवै टोली खटिए पनि गिरोहका सदस्य पक्राउ गर्न महाशाखा टोली पहिलो भयो । महाशाखाको टोलीले विभिन्न परीक्षा केन्द्र पुगेर मिलेमतोका आधारमा प्रवेश परीक्षा दिन आएका परीक्षार्थीसँगै गिरोहका ११ जनालाई पक्राउ ग¥यो । सेटिङ मिलाउन सबैभन्दा सक्रिय रहेका अजयकुमार यादव प्रहरीले खोजी गरिरहेको चाल पाएर उम्किन त्रिभुवन विमानस्थल पुगिसकेका थिए तर प्रहरीको सक्रियताले उनी उम्किन सकेनन् । यस्तै सेटिङ मिलाउन खटिएका भारतीय डाक्टरद्वय शौरभकुमार देव र सुभास देव तथा नेपाली नवराज निरौला पनि पक्राउ परेका छन् ।पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखेर सोधपुछ गर्दा प्रहरीले परीक्षा चल्दाचल्दै प्रश्नपत्र बाहिरिएको पत्तो पायो । अनुसन्धान अधिकारीले होटलबाट पक्राउ परेकाको मोबाइलको भाइबरमा प्रश्नपत्र फेला पारे । एसएसपी लोहनीका अनुसार गिरोहलाई पैसा दिएर पास हुन परीक्षा केन्द्र पुगेका परीक्षार्थीले प्रश्नपत्र पाएलगत्तै फोटो खिचेर भाइबरमार्फत होटलमा बसेको समूहलाई फोटो पठाएका थिए । फोटो पठाएलगत्तै परीक्षार्थीले वायरलेस एअरफोन अन गरे । सिम राखेर मोबाइलझैं चलाउन सकिने उपकरण कम्मरमा राखेका परीक्षार्थीले कानमा सानो एअरफोन राखेका थिए । त्यसैको सहायताले उनीहरूले उत्तर टिपाउने समूहको निर्देशन सहजै सुनेका थिए । होटलमा बसेको समूहले प्रश्नको जेजे उत्तर भन्थ्यो, परीक्षार्थीले त्यसैमा टिक लगाइरहेका थिए ।‘प्रारम्भिक अनुसन्धानमा चिकित्सा शिक्षामा अयोग्य परीक्षार्थीलाई प्रवेश गराउन ठूलै समूह संलग्न रहेको देखिएको छ,’ अनुसन्धानको नेतृत्व गरिरहेका एसएसपी लोहनीले भने, ‘केही पक्राउ परिसकेका छन्, केहीको खोजी जारी छ ।’ http://www.nagariknews.com/new...
ktmpost · Oct 19, 2017 8:50 AM · 2,749 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion