हामीलाई किन विभेद गरिन्छ ?- गोपाल शिवा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बर्षौँ देखिको सामन्ति समाज ब्यवस्था बाट पिल्सिएका दलितहरू यो बिपत्तिमा पनि हरेक ठाउँमा अपमानित हुनुपरेको छ ।नेपाली समाजले दलित भनेर थाहा पाए पछी कति सम्म तल झरेर कस्तो ब्यबहार र आचरण गर्छ भने कुरा हामीले दिनहु नेपाली समाजमा देख्दै भोग्दै सुन्दै आएका छौ । बिपत्तिको घडीमा न कुनै क्षेत्र,वर्ण र जात हेरिन्छ, न त कुनै पार्टी , न त धर्म नै हेरिन्छ ।तर बिपत्तिमा पनि नेपाली समाज दलितहरुलाइ सामाजिकरुप ले हेपुवा चेपुवामा पारेर आफु ठालु र चोखो बनि रहन्छन ।छुवाछूत र जातीय विभेदको अन्त्यका लागि सयौँ बहस भए, कानुनहरु बनाइए र कानुनद्वारा नै अन्त्य नि गरिएको घोषणा गरिएको छ । तर दलित समुदायमाथि अरु बेला होस् कि बिपत्तिमा परेको बेला होस् उत्पीडन हुने क्रमचाहिँ रोकिएको छैन । कुप्रथा समाजमा जरा गाडेर बसिरहेको छ र समाज झनै अमानविय बन्दै गएको छ । केहि बर्ष अघि विनासकारि भूकम्पले घरबार बिहीन भएकि मनिता विश्वकर्माले भोगेको दु:ख पिडा र विभेद मिडियामा भाइरल बन्यो । मनभित्रको व्यथा मनिताको थियो । वातावरणसँग तिरस्कृत हुनुको यथार्थ र आफू जस्तै मान्छे बाट विभेद गरिनुको पिडा थियो मनिताको बाल मस्तिस्कमा ।त्यहि भएर उनले प्रश्न गरिन ‘काट्दा सबैको रगत रातो आउछ। सबै समान हुन् केही फरक छैन तर हामीलाई किन विभेद हुन्छ ? उनि जन्मनु भन्दा अघि जातीय भेदभाव मुक्त नेपाल भनेर घोषणा गर्ने राज्यको सरोकारवाला पनि उनको बाल मस्तिस्कले सोधेको जवाफ दिन कोहि पुगेनन् ।अनि आफूलाई लोकतान्त्रिक भने यो समाजले भोलिका कर्णधार मध्ये एक मनिताको सवाललाई लाजै पचाएर कथित दलित भएकै कारण हेपिनु,न्युन स्तरको ब्यबहार गरिनु अपराध हो, बिभेद हो , अन्याय हो भन्ने हिम्मत समेत गर्न सकेन। बरु मनिताको विचार सुनेर मनकारी राजेश पायल राई र दिनेश डिसिको टोलिले घर निर्माण गरि दिए। बाल मस्तिस्कले सोधेको जवाफलाई मनिता कै घर परिवारको हातबाट पानी पिँउदै छुवाछुत र जातीय विभेद छैन भन्दै सामाजिक विकृतिहरूका विरुद्ध सांकेतिक जवाफ दिए। यसै साता जातीय विभेद र छुवाछूतको संस्कृतिले भित्रैदेखि जरो गाडेर बसेको हाम्रो समाजमा मानवता कै उपहास गर्ने गरि विपत्तिको अर्को अवस्थामा सप्तरीमा फेरी अर्को अमानविय घटना घटाए । सप्तरीको तिलाठी, कोइलाडीमा कथित उच्चजातीय भुइँहार समुदायले आफ्नो जमिन अपवित्र हुने कारणले भूमीहीन मुसहर परिवारका मृत बालक कमलु सदालाई गाड्न तीन बाइ दुई फिटको जमिन समेत दिन मानेनन् । त्यसपछी बाध्यतावस मृत बच्चालाई नदीमा बगाउन बाध्य भए । मृत बालक लाइ नदीमा बगाएको नरेन्द्र श्रेष्ठले खिचेको यो हृदयबिदारक फोटो एकाएक भाईरल बन्यो । शुरुमा सवै तिर बाढीले गर्दा होला मृत बालकलाइ गाड्न जमिन नभएको भन्ने बुझाइ सवैको भयो तर बास्तबिक जातीय विभेद र छुवाछूत रहेको पछिला दिनमा मिडियाकर्मीले उजागार गरे पछी कथित दलित भएकै कारणले मर्दा पर्दा सम्म साथ नदिने नेपाली समाजमा दलितले कति उत्पिडनमा बस्नु परेको छ भन्ने कुरा सवै सामु प्रस्ट राखी दिएको छ । केहि बर्ष अघि कान्तिपुरको साप्ताहिकमा बेचन मरिक बाबा भूतनाथ कसरि बने भन्ने कुराको उजागर गर्दै अन्तर्वार्तामा यस्तै प्रकृतिको पीडाको पोको खोलेर सार्वजनिक गरेका थिए । उनको अनुसार २०१७ सालमा उपचार गर्ने क्रममा बिहारको दरभङ्गास्थित लोहरियासराय अस्पतालमा निधन भएका आफ्ना पितालाई खर्च अभाबमा उतै कोसी नदी किनारमा दाहसंस्कार गर्ने निधो गरेका बेचन मरिक र उनका आमालाई दागबत्ती दिने बेला पण्डितले बेचनकी आमासँग मृतकको गोत्र सोधे । जसै उनी डोम भएको थाहा भयो, ती पण्डितले बेचनकोे बुबाको लासलाई लात्तले हानेर चिताबाट तल झारिदिए । त्यतिले नपुगेर आमा छोरामाथि पहिले नै जात किन नभनेको भन्दै कुटपिट समेत गरेछन् । जातिकै कारण जन्मैदेखि तिरस्कार भोग्दै आएका बेचन मरिक (डोम) त्यो घटनाले बेचन ज्यादै मर्माहत भए पछी म एकदिन यस्ता कथित बाहुनहरूलाई घुँडा टेकाएरै छाड्छु भनेर कसम खाएछन । डाक्टर रामनाथ अघोरीसँग भेट भए पछी अघोरीले सिकाएको साधना र मार्गमा लागेर आज उच्चकोटीको योगी बनेर बेचन मरिक अहिले हजारौं व्यक्तिले खुट्टामै ढोग्ने बाबा भूतनाथ भएका छन् ।थाहा छैन फुदन सदाले पनि मनमा यस्तै ईख राखेर मृत छोरो बगाउन बाध्य पार्ने यो समाजको घुँडा टेकाउछन कि टेकाउदैनन । तर यति थाहा छ आफ्नै आँखाको अगाडि मृत भाईलाई समाजले बगाउँन बाध्य पारेको दृश्य देख्नेका भोलिका कर्णधार मध्ये अर्को एक लालकु सदाले यो विभेद देखेर केहि त महसुस गर्दै होलान । सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली भनेर स्कुलमा सधै पढ्ने बाल मस्तिस्त्कमा दलित र गरिब चै यो समाजमा र राष्ट्रमा कुन फुल हो भनेर कति प्रश्न गरेको होलान । यहि प्रश्न कालान्तरमा बिद्रोहको आगो नबन्ला भन्न सकिन्न ।एक्काइसौँ शताब्दीमा आएर पनि अझै पनि पानी छोएको निहुँमा दलितलाइ पिट्ने अपराधि वा साइतको बेलामा देखियो भनेर थूक्ने तथा बिपत्तिको बेला समेत जात धर्म हेरेर तिरस्कृत गर्ने दुष्ट मानबहरुको जमात सहितको जबसम्म हाम्रो समाज यथावत रहन्छ तब सम्म यहि जातपात र उत्पीडनको कुराले देशलाइ आत्मस्वभिमानको अर्को जनयुद्ध तिर जान उन्मुख गराई रहन्छ। त्यसैले दलित वर्ग शोषित र पीडित नै भएर बस्न बाध्य हुनु र जातकै कारण विभेद गरिनु दुःखको कुरा हो त्यसैले समय रहदै मानव बनौँ। छुवाछूत र जातीय विभेद बाट माथि उठौँ। नत्र समाजले अपहेलना गरेर कथित दलितहरुले योगी बन्न बाध्य हुनु पर्ने मात्र हैन बन्दुक उठाउन बाध्य हुनुपर्ने समय आउन सक्छ ।

SIWAG · Sep 3, 2017 7:11 AM · 3,604 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all