कौवाले कान लैजाँदा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कौवाले कान लैजाँदा बाह्रखरी २०७४ भदौ ३ शनिबार ०६:४६:०० भैरव अर्याल "कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने ?" एकदिन गुरुले हामीसित सोध्नुभयो । एउटाले भन्यो, "कौवाले कानै लगिसकेपछि पनि छामछुम गरेर अलमलिनु हुन्छ ? कुदिहाल्नु पर्छ । कौवालाई समातेर एक थप्पड दिई कान खोसिहाल्नु पर्छ । नत्र त भागिहाल्छ नि ।" अर्कोले भन्यो, "खोस्लास् कान ! कान लिएर कौवा उडिहाल्छ, आफू उड्न सकिँदैन । फेरि कौवा यस्तो बाठो हुन्छ कि हामीले भेट्टाउने ठाउँमा कान राख्दै राख्दैन । त्यसैले कौवाले कान लग्यो भने खोसेर ल्याउन कसैका बाबुको तागत चल्दैन, ऊ रूखको टुप्पामा बसेर हामीलाई देखाई देखाई कान खाइदिन्छ । ऊसित कुद्नुभन्दा चुप लागेर बस्नु बेस ।" गुरुले भन्नुभयो, "कुरा दुबैका ठीक हुन् । तर मलाई ठीक लागेन ।" मैले भनें, "कौवाले कान लग्यो भनी कसैले भन्दा 'कान लग्यो, कान लग्यो' भनी कराउँदै कौवाको पछि–पछि दौडने दौडँदै गरून् । हरे शिव ! मेरो कान लगिदियो भनी पिँढीमा बसेर रूने रूँदै गरून् । तर, म त कराएर कुद्दा पनि कुद्दिनँ, बिलौना गरेर रून पनि थाल्दिनँ । के तँ कान छाम्न थाल्छस् त भन्नुहोला, तर म कान पनि पहिल्यै छामिहाल्दिनँ । किनभने कसैले केही भन्यो भन्दैमा आफूले केही सोच्दै नसोची पत्याउने मान्छे बुद्धु, हुस्सु हो र केटाकेटी हो । त्यसैले कौवाले कान लग्यो भनी मलाई कसैले भन्यो भने म सबैभन्दा पहिले उसैसित सोध्छु, "तिम्रो कान लगेको कि मेरो कान हँ ?" अनि ऊ स्वयम् अकमक्क पर्छ । मेरो भनाइको मतलब के भने कसैले केही भन्यो भने सबैभन्दा पहिले उसले भनेको कुरा सम्भव छ कि असम्भव छ त्यो सोच्नुपर्छ । असम्भव भए कुरै सक्किगयो, सम्भव भए यसो छाम्ने सोध्नेतिर लाग्नुपर्ला । तर, कौवाले कान लग्यो भन्ने समाचार बिलकुलै असम्भव हो । त्यसैले कौवासित दगुर्ने कि कान छाम्ने भन्ने प्रश्नै उठ्तैन ।" मेरो जवाफ सुनेर गुरु हाँस्नुभयो । तर, एउटाले प्रश्न झिक्यो, “दुनियाँमा असम्भव भन्ने कुरा के छ र ? कौवा जस्तो चलाख चराले कुनै मान्छेको कान लैजान के बेर ?” अर्कोले पुष्ट्याइँ दियो, “हो, के बेर ? कान भन्ने अङ्ग नै यस्तो अप्ठ्यारो ठाउँमा छ कि आफ्नो आँखाले देख्नै सकिँदैन । फेरि यो सानो मालपुवा जस्तो मासुको लोत्रो छ । कौवाले मालपुवा नै सम्झेर ठुङ्न पनि सक्छ । चुच्चाले लोती च्यापेर थुती भुर्र उड्न पनि सक्छ, कानलाई कसले खोल हालेर राखेको छ र ?" तर्क उसको पनि ठीकै हो । मैले भनें, "शिरको खोल टोपी र खुट्टाको खोल जुत्ता जस्तो कानको कुनै खोल छैन । बूढाबूढी र केटाकेटीले कानेटोपी लाएकाले उनीहरूको कान कौवाले लैजाने डर नहोला तर हाम्रो कान कौवाले लैजान के असम्भव ? म पनि एकछिन नाजवाफ हुन्छु । तर मेरो बुद्धिले भन्छ– दुनियाँमा असम्भव के छ र ? कौवाले ज्युँदो मान्छेको कान लैजानु बिलकुल असम्भव छ । आफ्नो जिउको कान कौवाले कसरी उप्काउन सक्छ ? कसरी चुपो लागेर सहन सक्छ ? बिलकुल असम्भव । नाङ्गाको कुरा गर्ने हो भने नाक पनि त नाङ्गै हुन्छ, कौवाले नाक नलगेर कानै ताक्नुपर्ने किन ? मान्छेको कान कौवालाई के काम ? काम लाग्छ ? यसभन्दा अघि कसैको कान कौवाले लगेको थियो कि थिएन ? इत्यादि प्रश्नहरू उठ्छन् । सबै विचार गर्दा कौवाले कान लैजाने कुरा कत्ति पनि सम्भव लाग्दैन । त्यसैले कराएर भन्छु– कौवाले ज्युँदो मान्छेको कान लान किमार्थ सक्तैन । यो प्रश्नमा सोच्नु मात्र पनि एउटा हुस्सुपन हो ।" गुरुले मलाई स्याबासी दिँदै भन्नुभयो, "ठीक भन्यौ । कसैले केही भन्यो भने तुरून्तै पत्याइहाल्नु मुनासिव छैन । भनेको कुरा ठीक हो कि होइन भनी सोच्नुभन्दा पहिले भन्ने मान्छे ठीक हो कि होइन भनी सोच्नुपर्छ । समाजमा सबै मान्छे ठीक हुँदैनन् । बौलाहा, फटाहा, हुल्याहा, छुल्याहा मान्छे पनि यहाँ कम छैनन् । यस्ता मान्छेले सम्भव कुरा सुनाए भने पनि एकपटक राम्ररी नसोची पत्याउन सकिँदैन । मान्छे त सद्दे नै हो तर जाँड खाएर आएको रहेछ भने अथवा गाँजाले लठ्ठिएको रहेछ भने त्यस्ताको कुरा पनि कसरी पत्याउने ? त्यसैले कौवाले कान लग्यो भन्ने कुरा पत्याउनुभन्दा अघि त्यो भन्ने मान्छे कस्तो हो, उसले भट्टीबाट फर्कंदा भनेको हो कि ठट्टामा भनेको हो, त्यो पनि ठम्याइहाल्नुपर्छ ।" "गुरुले भनेको पनि राम्रो हो । तर, मान्छे चिन्ने उसको परिस्थिति विचार गर्ने र भनेको कुरा सम्भव हो कि होइन सोच्ने शक्ति सबैमा कहाँ हुन्छ र ? धेरैजसो अशिक्षित दाजुभाइ जसले जे भन्यो, पत्याइहाल्छन् । टाढाको कुरा किन ? साक्षात् दश हात भएकी भगवती प्रकट भइन् भनेर कसैले सुनाइदियो भने हो कि होइन भन्ने सोच्दै नसोची हाम्रा आमाहरू पूजासामान बोकेर दगुर्नुहुन्छ । पर्सि प्रलय हुन्छ भनेर सुनाइदिनू, कति मान्छे घर छाडेर बारीका पाटामा पाल टाँग्न थाल्छन् । यसरी समाजको अधिकांश भाग लहैलहैमा कुद्छ । अन्धविश्वास र रूढीको जन्मदाता पनि यस्तै लहैलहै हुन् । त्यसैले समाजमा बराबर यो प्रश्न दोहोर्‍याइरहनुपर्छ– कौवाले कान लग्यो भने कौवासित कुद्ने कि कान छाम्ने ?" गुरु भन्नुहुन्छ, "हो, यस प्रश्नले मान्छेलाई लहैलहैमा कुद्ने होइन, सोचेर मात्र काम गर्नुपर्छ भन्ने सङ्केत दिन्छ । मान्छेले दिमाग पाएकै सोच्नको निम्ति हो, सम्भव र असम्भव छुट्याउनको निम्ति हो, सत्य र असत्य ठम्याउनको निम्ति हो । तर यो केही नगरी जसले जे भनिदियो, त्यही लहैलहैमा लागेर कुद्छ भने उसको कान मात्र होइन, गिदी पनि कौवाले लगेछ क्यार भन्नुपर्छ । होइन भने ज्युँदो मान्छेको कान लैजान कौवा छुसीको के तागत ?" अन्त्यमा, हामी यही निष्कर्षमा पुग्यौँ– जसले जे भन्यो पत्याउन थाल्यो भने मान्छे बेकम्मा हुन्छ, बौलाहा हुन्छ । आज एउटाले कौवाले कान लग्यो भनिदियो, भोलि अर्कोले भँगेरोले भुँडी लग्यो भनिदेला । यसैगरी पर्सि कोही चीलले आँखा लग्यो भन्न आउला त निकोर्सि चमेराले जिब्रै कुदाएको समाचार आउला । अनि क-कसका पछाडि दगुर्ने ? त्यसैले कौवाले कान लग्यो भनी कसैले भन्दैमा हामीले कौवाको पछि–पछि लहै–लहै भन्दै दगुर्नु पनि हुँदैन, साँच्चै लग्यो त भनी कान छाम्न पनि पर्दैन । सबभन्दा पहिले त हामीले यही सोच्नुपर्छ, कौवाले हाम्रो कान लान सक्छ कि सक्तैन । (‘घुम्ती’बाट)

_____ · Aug 19, 2017 5:44 PM · 15,520 views

2 Replies

Good one. I probably had read when I was still in school. But revisiting his essays is wonderful. Thanks for posting. एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ? धत्, बहुला कहाँको !! मैले आफैँलाई हप्काएँ, तर हप्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठयो भने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ, भननन्न एक पटक कोठामा भौँतारिएँ । झुन्डिएजति कोट, पैन्ट, कमिज, बुससर्ट सबका खल्तीखल्ती छामेँ, एउटा टफी कताबाट अड्केको रहेछ क्वाप्प मुखमा हालेर मर्मरी चपाएँ । तैपनि तुलबुलीको रन्को छुटेन । अनि दराज, तखता, खोपा, मेच, बाकस, झ्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारेँ अस्ति नै हरायो भनेको एउटा काँगियो पाइयो, ककसले खसालेर नभेट्टाएका दुई-तीनओटा दुईपैसे, चारपैसे र पाँचपैसे ढयाक भेटिए । टेबुल र खाट सारेर मुन्तिरका घुरान केलाएँ- एउटा भाँच्चिएको होल्डर, दुई-चारओटा गोरखापत्र, समीक्षा र नयाँ समाजको पत्र, साँचो हराएको एउटा ताल्चा, दुइटा बेजोडा मोजा, एउटा कालो रिबन यस्तैयस्तै अर्थ न बर्थका सत्र थोक फेला परे, तर खोजेको जे हो सोचाहिँ हात लागेन । हैरान भएर एक गिलास पानी तन्न पिइदिएँ र तन्द्रङ्ग पल्टिएँ त्यही भताभुङ्ग ओछयानमाथि । प्रश्न फेरि दोहोरियो- हँ, अहिले मलाई के चाहिएको त ? चुरोट : केही झिलिमिली संस्मरण

kalidasbhaisaab · Aug 20, 2017 3:51 AM

आठौ कक्षा मा चुरट पीउन सुरु गर्दा दसौ कक्षाका दाईले भन्थे ठुटा टिप्नु पर्दा थाहा पाउछौ ! मेरा मित्रका बाले चै मेरो कमाइमा हैन तेरो कमाइ भए पछि किनेर ल्याएस बाउ छोरा संगै बसेर पिउला ! चुरोट पियाईका स्मरण !

magorkhe1 · Aug 20, 2017 9:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all