"हनी ट्रयाप" एउटा सनसनीपूर्ण अपराध शैली - जनक तिमिल्सिना असार १०, २०७४- ‘हेलो सर म सरु, जागिर लगाइदिनुस् न । जे पनि गर्न तयार छु ।’ ‘को सरु, मैले तपाईंलाई चिनिन नि ?’ ‘म सरु केसी । प्लिज सर, भेटौं न ।’पटक–पटक यही शैलीमा मधुर स्वर भएकी अपरिचित युवतीको तारन्तार फोन बज्न थालेपछि केही महिनाअघि सिन्धुपाल्चोकका एक ३१ वर्षीय व्यवसायीले ‘इग्नोर’ गर्न सकेनन् । खासा–काठमाडौं व्यापार चम्किएका बेला त्यही रुटमा बिजनेस गर्ने उनी कुस्त पैसा कमाएका कन्टेनर व्यवसायी हुन् । जागिर मागेर टेलिफोन सम्पर्क स्थापित गरेकी युवतीले बारम्बार आग्रह गरेपछि उनी भेट्नका लागि तयार भए । पहिलो पटक सरुसँगको उनको भेटघाट काठमाडौंको एक क्याफेमा कफीमै सकियो । भेटपछि युवतीको रूपरंगबाट ती व्यवसायी पनि लोभिए । भर्खरकी टिनएजर युवती, गोरो अनुहार, पुष्ट शारीरिक बनावट एवं आकर्षक जीउडाल । सुन्दरीको त्यो रुप देखेपछि मोहित व्यापारीले उनलाई पहिलेभन्दा बढी महत्व दिन थाले । बाक्लिँदो भेटघाटका क्रममा युवतीले प्रस्तुत गर्ने चालढालका कारण ती व्यापारीको आशक्ति बढ्दै गयो । त्यो आशक्ति प्रेमालाप हुँदै शारीरिक सुखको आकांक्षासँग जोडियो, त्यसका लागि तयार पार्ने काम युवतीका कामुक गतिविधिले नै गरिरहेका थिए । उनीहरूबीचको आपसी सहमतिमा भेन्यु फिक्स भयो- बालाजुस्थित एक गेस्टहाउस । व्यापारीले कोठा फिक्स गरे । त्यसपछि उनी सरुलाई लिएर उक्त कोठामा पुगे । कोठामा पुगेको पाँच मिनेट पनि भएको थिएन । कसैले ‘ढोका खोल’ भन्दै ढोकामा बुट बजार्यो । डराउँदै ती व्यापारीले ढोका खोले । ‘हामी सिआइबीबाट के गरिरहेको ?’ यो प्रश्नसँगै ती व्यापारीको सुन्दरीसँग मस्तीको सुखद आकांक्षा एकै पटक रसातलमा पुग्यो । होसहवास नै उड्ने गरी अचानक परेको सिआइबीको रेडबाट उनी हायलकायल भए । युवतीले आफूलाई त्यहाँ ‘जबरजस्ती ल्याइएको’ बयान प्रहरीलाई दिइन् । रेड गर्न आएको व्यक्ति फोनमा करायो, ‘हेलो डिएसपी सा’ब, के गरौं ?’ त्यसमा सिआइबीको डिएसपी भनिएको व्यक्तिले फोनबाटै केही आदेश दियो । त्यसपछि उनीहरूले व्यापारीलाई धम्क्याउँदै पैसा बार्गेनिङ गर्न थाले । उनीहरूले व्यापारीसँग भएको नगद र गहना लगे । उनीहरूले ती व्यापारीलाई केही ब्ल्यांक चेकमा समेत हस्ताक्षर गराएर छाडिदिए । यो सुन्दरी प्रयोग गरेर अपहरण गर्ने, नक्कली सिआइबी खडा गरेर लुटपाट गर्ने बढ्दो घटनाको एउटा उदाहरण मात्र हो । यस्तै शैलीको सुन्दरी र यौनजालको ट्रयापमा पारेर अपहरण गर्ने र पैसा असुल्ने गिरोहका कुविन भनिने ३१ वर्षीय कोलबहादुर थापामगर तथा सरु केसी भनिने १९ वर्षीया आसिका परियारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार २ गते बत्तीसपुतलीबाट पक्राउ गरेको छ । यसअघि नै प्रहरीले उक्त गिरोहका तीन जनालाई पक्राउ गरिसकेको थियो । उक्त गिरोहका मास्टर माइन्ड शुक्रे तथा अर्की एक युवती भने अझै फरार छन् । गिरोहले गत वर्ष मात्र अमेरिकी दूतावासका एक जागिरेलाई लुुटेको थियो भने गत पुस ४ गते सिन्धुलीका नव धनाढ्य निर्माण व्यवसायीलाई उनीहरूले सुकेधारास्थित डेरामा बन्धक बनाएर नगद, मोबाइल तथा गहना लुटेर थप १२ लाख दिने सर्तमा मुक्त गरेका थिए । यस्तै न्युरोडका एक व्यापारीलाई पनि लुटिएको अनुसन्धानका क्रममा खुल्न आएको छ । अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक हरिबहादुर बस्नेत अहिलेसम्म अनुसन्धानबाट चार–पाँचवटा घटना गराएको पुष्टि भए पनि यस्ता कैयौं घटना प्रहरीसम्म आइ नै पुगेको हुन सक्ने बताउँछन् । ‘अहिलेसम्म उनीहरूले बयानका क्रममा चार–पाँचवटा यस्तै प्रकृतिका घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्,’ बस्नेतले साप्ताहिकसँग भने, ‘उनीहरूको संलग्नता अझ धेरै घटनामा हुन सक्ने देखिन्छ । कतिपय केसमा प्रतिष्ठित व्यक्तिहरू समेत फसेका हुन सक्छन्, जसले परिवार र लोकलाजका कारण प्रहरीसम्म आउन हिम्मत नगरेका हुन सक्छन् ।’ हनी ट्रयापकी सुन्दरी उमेरले उनी १९ वर्षकी मात्र भइन् । उनी अर्थात् हनी ट्रयाप गिरोहका दुई सुन्दरीमध्ये एक । दाङको घोराहीकी आशिकाले प्लस टुसम्म अध्ययन गरेको प्रहरीले जनाएको छ । परिवारको आर्थिक अभाव टार्न विदेश जाने तयारीमा थिइन्, आशिका । यतिकैमा दुई वर्षअघि उनी दाङकै काम्रेड कुमार, रोशन तथा कुमानन्द भनिने ३१ वर्षीय कोमानन्द खड्काको सम्पर्कमा पुगिन् । कोमानन्दले उनलाई जागिर दिलाउने आश्वासन दिएर काठमाडौं ल्याए । काठमाडौं आइपुगेपछि उनले जागिर त पाउन सकिनन्, न त विदेश नै जान सकिन् । कोमानन्दले नै उनको खानपिन एवं बासको प्रबन्ध मिलाइदिए । त्यसपछि उनै कोमानन्दले बेरोजगार आशिकालाई ‘हनी ट्रयाप’मा नक्कली प्रेमिकाको भूमिका दिए । आशिकाको सुन्दर र आकर्षण जीउडाललाई उनले व्यवसायी एवं पैसावालाहरूलाई मोहजालमा पार्ने हतियारमा रूपमा प्रयोग गर्न थाले । आसिकाले प्रहरीसँगको बयानमा कोमानन्दले आफूलाई जागिर लगाइदिने भन्दै प्रयोग गरेको बताएकी छिन् । ‘विदेश जाने तयारीमा थिएँ । उसले (कोमानन्दले) जागिर लगाइदिन्छु भन्दै काठमाडौं ल्यायो । त्यसपछि मलाई टुल्सका रुपमा प्रयोग गर्यो,’ आशिकाले प्रहरीलाई दिएको बयान उद्धृत गर्दै सिआइबीकी प्रवक्ता मीरा चौधरीले भनिन् । कोमानन्दले भूमिका दिन्थे, आशिका फिल्मी हिरोइनकै शैलीमा नाटकीय अपहरण र लुटपाटमा प्रेमिकाको भूमिका निर्वाह गर्थिन् । कोमानन्दले उनलाई व्यवसायी एवं पैसावालहरूको फोन नम्बर दिन्थे, त्यसमा फोन गरेर आशिकाले उनीहरूलाई आफ्नो मोहजालमा पार्थिन् । त्यसपछि आफ्नो कोठा वा गेस्टहाउसमा पुर्याइसकेपछि नक्कली सिआइबी बनेका कोमानन्दका समूहका सदस्यहरूलाई बोलाउँथिन् । केही समयमै त्यहाँ कोमानन्दको समूहले सिआइबीका नाममा रेड माथ्र्यो र बार्गेनिङपश्चात् पैसा असुल्थ्यो । यति गरेबापत आशिकालाई उनीहरूले प्रतिघटना ३० हजारसम्म दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । यही शैलीमा काम गर्ने अर्की एक युवतीलाई भने प्रहरीले खोजिरहेको छ । नक्कली सिआइबी र हनी ट्रयापहनी ट्रयापको यो अपराधकर्ममा ६ जनाको गिरोह संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसका मुख्य मास्टर माइन्ड शुक्रेलाई भने खोजिरहेको छ । उनीसँगै व्यवसायी एवं पैसावालहरूलाई प्रेमजालमा पारेर ठगीका लागि उपयोग गर्ने अस्त्रका रुपमा प्रयोग गरिँदै आएकी अर्की एक युवती पनि फरार छिन् । अन्य चार जनालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । सिआइबीको नक्कली सई बनेर हनी ट्रयापमा संलग्न दाङका ३२ वर्षीय कोमानन्द खड्का तथा सिआइबीको नक्कली हवल्दार बन्ने भोजपुर छिनामखुका २१ वर्षीय नवीनकुमार राईलाई प्रहरीले गत पुस २९ गते नै पक्राउ गरेको थियो । उनीहरू अहिले नख्खु कारागारमा अपहरण तथा शरीर बन्धक केसमा जेलमा छन् । फरार रहेका गिरोहका मास्टर माइन्ड डिएसपी भनिने शुक्रे तथा कोमानन्दले यसअघि २०५९ सालमा कर्तव्य ज्यानमुद्दामा १० वर्षको जेल सजायसमेत काटिसकेका छन् । नख्खु जेलमा सजाय काटेर फर्किएपछि नै उनीहरूले यस प्रकारको अपराधकर्मको योजना बनाएको प्रहरीले जनाएको छ । २ असारमा गिरोहका थप दुई जना रामेछाप गोश्वाराका ३१ वर्षीय कुविन भनिने कोलबहादुर थापामगर तथा दाङ घोराहीकी १९ वर्षीया सरु केसी भनिने आशिका पक्राउ परेका हुन् । प्रहरी निरीक्षक बस्नेत भन्छन्, ‘अन्य मुलुकमा हनी ट्रयापका घटनाहरू घटेको पाइए पनि नेपालमा भने यो नयाँ शैलीको अपराधकर्म हो ।’ बस्नेतका अनुसार यो समूहका पुरुष सदस्यहरू सिआइबीकै शैलीमा काम गर्थे । उनीहरूले व्यवसायीहरूको फोन नम्बर खोजेर अपहरण र लुटपाटको योजना बनाउनेदेखि सुन्दरीहरूलाई परिचालन गर्नेसम्मको काम गर्थे भने गिरोहमा संलग्न युवतीहरूले आफ्नो मोहजालमा पारेर मानिसहरूलाई लुटपाटका लागि आफ्नो कोठा वा गेस्टहाउसम्म पुर्याउँथे । प्रहरीले उनीहरूबाट २०/३० वटा सिम तथा १० सेट मोबाइल समेत बरामद गरेको छ । प्रत्येक व्यक्तिलाई फसाउनुपूर्व उनीहरूले नयाँ मोबाइल सेट र सिम प्रयोग गर्ने तथा फसाइसकेपछि त्यसलाई फाल्ने गर्थे । यो गिरोहले नक्कली हुन् भन्ने थाहा नपाउन् भनेर प्रहरीकै क्यारिकेचर गथ्र्यो । उनीहरूले प्रहरीले सार्वजनिक गर्ने शैलीमै अपहरितको शरीरमा कागजसमेत टाँसेर फोटो खिच्थे । यतिमात्र होइन, अपहरणमा परेका व्यक्तिले ठाउँ पहिचान नगरून् भनेर कालो चस्माभित्र कालो टेप लगाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँथे । के हो हनी ट्रयाप ? शारीरिक आकर्षणमा लोभ्याएर फसाउने कला हो— हनी ट्रयाप । जसरी झिँगा मह खाने लोभमा त्यसमाथि बस्छ, पछि झिंगा मह खाएर उड्न खोज्छ तर उड्न नसकेर ट्रयापमा पर्छ, त्यसैगरी हनी ट्रयापमा महिला शरीर प्रयोग गरिन्छ । यसमा सुन्दर युवतीलाई प्रयोग गरेर सेक्सको लोभ देखाइ आफूअनुकूल ठाउँमा पुर्याई फसाइन्छ । खासगरी रूपवती युवतीलाई प्रयोग गरिने यो शैली लडाइँहरूमा समेत प्रयोगमा आएको पाइन्छ । ‘सुन्दर युवती देख्दा जो–कोही लोभिन्छन्, त्यो मानवीय स्वभाव नै हो,’ बस्नेत भन्छन्, ‘हनी ट्रयापमा शारीरिक आकर्षण प्रयोग गर्दै सेक्सको लोभ देखाएर फसाइन्छ ।’ फेसबुक, फोन वा हाई प्रोफाइल पार्टीमार्फत टार्गेटेड व्यक्तिसँग युवतीको मित्रता जोडिन्छ । पछि बिस्तारै उनीहरू नजिकिँदै आपसमा घुलमिल हुन थाल्छन्, त्यसपछि उसबाट कैयौं सूचना फुत्काउने काम गरिन्छ । यसका लागि युवतीहरू केवल लक्ष्यलाई फोकस नगरी सेक्सुअल ब्लाकमेलिङ पनि गर्छन् । सन् २००९ मा बेलायतमा एक युवतीले चाहिँ शैली प्रयोग गरेर एक युवकको हत्या गराएकी थिइन् । गत मेमा गुजरातका भाजपा सांसद डा. केसी पटेललाई पनि एक युवतीले हनी ट्रयापमा पारेकी थिइन् । इन्दिरापुरमकी ती युवतीले उनलाई ट्रयापमा पारेर ५ करोड मागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रकाशित :असार १०, २०७४ http://bit.ly/2t1Wqwd
ktmpost · Aug 14, 2017 5:38 AM · 2,536 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion