स्वर्गभन्दा रमाइलो अमेरिका - किशोर नेपाल श्रावण २५, २०७४- नेपालको रमणीय धर्तीमा बसेर अमेरिकाको कल्पना गर्नेहरू धेरै छन् । अमेरिकी सरकारले खोलेको डिभी चिठ्ठामा भाग लिने नेपालीको ताँती देखेर कसको मन उल्लासमय नहोला ? नेपालमा अमेरिकाको जबर्जस्त क्रेज छ । धेरै नेपालीलाई अमेरिका अहिलेसम्मको सबैभन्दा शक्तिशाली राष्ट्र हो भन्ने थाहा छैन, तैपनि क्रेज अमेरिकाकै छ । बेलायत पुरानो भैसक्यो । जर्मनीले जथाभावी बस्नै दिँदैन । फ्रान्समा भाषा नै बुझिँदैन । स्विट्जरल्यान्ड महँगो छ । यस्तोमा जे छ अमेरिका छ । राष्ट्रपतिमा ट्रम्प जितून् कि ओबामा हारून्, केही मतलब छैन । इमिग्रेसन टाइट होस् कि राइट होस्, कुनै टेन्सन छैन । देश होस् त त्यस्तो पो होस् । खाना सस्तो । वाइफाइ फ्री । घरभाडा किञ्चित महँगो भए पनि मोटर सस्तो । सधैं झकिझकाउ बजार । गाईजात्रे नेपालीका लागि सधैं रमिता । यही रमिताको आकर्षणले अचम्मसँग तानेको छ नेपाली जनतालाई अमेरिकाले । यतिबेला थुप्रै नेपाली छन् अमेरिकामा । तीमध्ये कतिपय माओवादी जनयुद्धपछि सुखद आश्रयको खोजीमा त्यता पुगेका छन् । उनीहरूले आफूलाई शरणार्थी स्टेट्समा उकालिसकेका छन् । भात अमेरिकामा खान्छन् । काम स्टोरमा गर्छन् । लेख नेपालमा लेख्छन् । आफू अमेरिका आएपछि नेपालको बौद्धिक क्षेत्र शून्य भएको लागेको छ उनीहरूलाई । नेपालबाट कोही मानिस आएको थाहा पाए भने त्यसको ठेगाना पत्ता लगाएर भात खान बोलाउँछन् । देशको हालचाल सोध्छन् । त्यसपछि आफू अमेरिका आएपछि देशको अवस्था दिन–परदिन घायल भएको कन्याउँछन् । यो अमेरिकामा बस्ने नेपालीहरूको निकै प्रचलित धन्दा हो । जीवनमा नेपालका धेरै मानिस चिनियो । धेरै मानिससँग परिचय भयो । धेरैसँग क्रस पर्यो । जतिलाई चिनियो ती सबै अमेरिका जान व्यग्र थिए । जीवनमा एकबार अमेरिका गएपछि कायाकल्प नै भैहाल्छ— सबैको चिन्तन यही थियो । भजन–कीर्तन जे–जे भने पनि त्यही थियो । अमेरिका शब्दमा जोड दिएर मानिसहरू भन्थे— अम्मेरिका । उतिखेर अमेरिकी दूतावासले भिसा दिंदा अहिलेको जस्तो कडीकडाउ केही गर्दैनथ्यो । मानिसको अनुहार र आवरणकै भरमा पासपोर्टमा भिसाको छाप हानिदिन्थ्यो । समय बदलियो । पहिले–पहिले नेताजी गुहारेर भारतीय दूतावासको कोटामा सन्तानलाई भारतभूमिमा पढ्न पठाउनेहरूले पनि आफूलाई बदले । उनीहरूले समेत आफ्ना सन्तानलाई अमेरिका पठाउन थाले । डलरको भाउसँगै सन्तानको आवश्यकता पनि बढ्न थाल्यो । सरकारी सेवामा हुनेले नियम–कानुनको म्यानिपुलेसन गरेर त्यो आवश्यकताभन्दा सयौं गुणा बढी रकमको आपूर्ति सहज ढंगले गर्न थाले । व्यापार–व्यवसायमा लागेकाहरू कर छल्न र नाफा बढाउन थाले । उद्योगीहरू एलसी खोलेर विदेशबाट झिकाएका सामानको निर्यात प्रवद्र्धनमा लागे । ठेकेदारहरू सडकमा भ्वाङ पार्ने–टाल्ने काममा लागे, अर्थात् विकासका जे–जे बबन्डर हुन्छन् त्यो सबैको प्रेरणास्रोत बन्यो अमेरिका । सपनामै भए पनि, भगवान् आएर सोध्न थाले, ‘स्वर्ग जान्छस् कि अमेरिका ?’ नेपालीहरूले जवाफ दिन थाले, ‘स्वर्गभन्दा अमेरिका नै रमाइलो ।’ साथीहरू अमेरिका गए पनि, अमेरिकाको भिसा नलागेर अन्यत्र जतासुकै गए पनि, नेपालको चिन्ता गर्न छाड्दैनन । आफ्नो राष्ट्रवादी पहिचान सडकमा, मलमा, रेस्टुराँमा, पबमा, डान्सबारमा जहाँ पुगे पनि छाड्दैनन । फेसबुकको टाइम लाइनमा आफ्ना विचार र चिन्तनको डढेलो सल्काउँछन् । अमेरिकामा बसेर राष्ट्र र राष्ट्रियताको विकासका लागि आफूले गरेको योगदानको अनुसूची बनाउँछन् । त्यसबाहेक खानपिनका कुरामा उनीहरू नेपाली स्वाद रुचाउँछन् । तोरीको गुन्द्रुक र मासको मस्यौराको तारिफमा गीताको पुनर्लेखन गर्छन् । नेपाली खाना दाल–भात नखाएसम्म खाएजस्तै नलाग्ने बिलौना गर्छन् । महिनामा दुई पटक भोज गर्छन् र आफूलाई मन नपर्ने नेता र अभिनेताको नाममा भडास निकाल्छन् । झिसमिसे बिहानदेखि झमक्क साँझ नपरेसम्म कोलको गोरु दलिएजस्तो दलिएर कमाएको डलर काठमाडौ पठाउँछन् र ‘अनलाइन’ खोल्न लगाउँछन् अनि त्यसैबाट राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्छन् । त्यति मात्र हो र ? कमाएको पैसा अमेरिका भ्रमणमा आएका नेताहरूलाई हजारौं डलर चन्दामा दिन्छन् । समयमा डिनर ख्वाउन सक्दैनन् । बाह्र बजे राति मस्त डिनर ख्वाएर टन्न गाली गर्छन् । कम्ता रमाइला हुँदैनन् त अमेरिका भासिएका हाम्रा नेपालीहरू ? एक गाउँबाट अर्को गाउँमा, पहाडबाट मधेसमा, देशबाट विदेशमा बसाइँ सर्नु स्वभाविक मानवीय प्रवृत्ति हो । मानिस आफूलाई जसो गर्दा सजिलो हुन्छ त्यसै गर्छ । पहिले–पहिले भैंसीले दूध नदिएपछि मानिसहरू आफू बसेको गाउँबाट अर्को गाउँतिर बसाइँ सर्थे । अहिले देशमा पैसा कमाउन असफल भएपछि मानिस विदेश लाग्छ । नेपाली मानिस सकेसम्म अमेरिका नै जान चाहन्छ । पहिलो चोटमा त्यो सम्भव भएन भने पनि ऊ प्रयत्न गरिरहन्छ । सुविधाका दृष्टिले कोरिया अहिले अमेरिकाभन्दा सुविधाजनक देश भैसकेको छ तर नेपालीहरू त्यसमा विश्वासै गर्दैनन् । अमेरिका भनेको रहस्य हो । अमेरिकी भूमि टेकेर त्यसको अद्भुत रहस्य पत्ता लगाउने जूनूनमा प्रत्येक नेपाली डुबेको छ । त्यो रहस्य पत्ता लगाउने क्रममै ऊ कालको जालमा पर्छ । बाबुको चिताको धूवाँ अन्तरिक्षमा पुगेको हुँदैन, बाबुको बानी छोराले समातिहाल्छ । प्रकाशित :श्रावण २५, २०७४ http://bit.ly/2ujG3bz
ktmpost · Aug 9, 2017 12:20 PM · 2,337 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion