अमेरिका आउन लागेकाहरुलाई केही सुझाव

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

श्रावण २०, २०७४- तपाई एक्लै वा सपरिवार अमेरिका आउँदै हुनुहुन्छ ? सर्वप्रथम तपाईलाई म स्वागत गर्दछु । व्यक्तिगत रुपमा म एउटा गरिव देशको मध्यम वर्गीय मान्छे यस्तो अवसरै अवसरको देशमा बसोबास गर्न पाउनुलाई शौभाग्य ठान्दछु । तर, यदी तपाई पहिलो पटक यो देशमा आउँदै हुनुहुन्छ भने धेरै कुराको तयारी र विचार गरेर आउनु होला । हत्तेरिका भनेर पछुताउनु पर्दैन ।  नेपालमा बसेर अमेरिकाको बारेमा सुनेको र अंग्रेजी सिनेमा हेरेर हामीले अमेरिकाप्रति बनाएको धारणा लगभग सबै उल्टो हुने हुँदा यहाँ बसोबास गर्ने इष्टमित्रसँग सबै जानकारी लिएर आउनु होला । हामीले कतिसम्म उल्टो सुनेका हुँदा रहेछौं भने म त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा त्यहाँको पुस्तकालयका एक जना ओझा थरका कर्मचारीलाई सधै उभिएर काम गरेको देख्थें । कोही कोही उभिएर काम गरेको कारणले उनको नाम गिनिज बुकमा छापिन्छ भन्थे पनि । हामीलाई पनि लौ चिनेको मान्छेको नाम गिनिज बुकमा छापिन्छ भनेर अर्कै किसिमको खुशी लाग्थ्यो । यहाँ आए पछि थाहा भयो लगभग ९५ प्रतिशत मान्छेले उभिएर नै काम गर्दा रहेछन् । मेरो बिचारमा उभिएर काम गर्दैमा गिनिज बुकमा नाम प्रकाशित हुन्छ भन्ने कुरा वाहियात रहेछ । तपाई जसको भरमा र घरमा आउँदै हुनुहुन्छ त्यो कतिको बिश्वासिलो व्यक्ति हो त्यो राम्रोसँग बुझ्नुस् है । तपाईं नेपालमा हुँदा म छँदैछु भनेर भन्ने तर यहाँ आउन लागेको समय तर्केर हिड्ने कयौं व्यक्तिहरु हुन्छन् । जसको भरमा अमेरिका आयो त्यो व्यक्ति एअरपोर्टमा लिन नआएर बिचल्ली परेको घटनाहरु पनि भएका छन् । त्यसैकारण सामान्य परिचय भएको र केवल हुन्छ भनेकै भरमा कसैलाई शतप्रतिसत बिश्वास गरिहाल्नु उचित होइन ।  यसको मतलव सबै व्यक्ति केवल कुरा मात्र गर्छन् र कसको विश्वास गर्न हुँदैन भन्ने पनि होइन । तपाई यहाँ पुगेको केही दिन मै आफ्नो छुट्टै ब्यवस्था गरिहाल्नुस्, भन्नको लागि किन यति छिटो गर्नुपर्यो दुई चार दिनपछि गर्दा भइहाल्छ भनेर तपाईंलाई सहयोग गर्ने व्यक्तिले भन्ला । तर, धेरैजसो त्यो केवल भन्नको लागि भनेको मात्र पनि हुन् सक्छ । यसैले कुनै अप्रिय घटना हुनु वा सम्बन्धमा चिसोपना आउनुभन्दा पहिले नै आफ्नो ब्यवस्था गर्न सकेमा सम्बन्धित व्यक्तिसँगको सम्बन्ध पनि सुमधुर भइरहन्छ । यहाँ आएको भोलिपल्ट देखिनै काम पाइने र एक महिना भित्रै अर्बपति हुने सम्भावना लगभग सुन्य हुने हुँदा आफु र आफ्नो परिवारलाई कम्तिमा पनि छ महिनालाई पुग्ने गरि आर्थिक जोहो गर्नु बुद्धिमानी हुन्छ । यहाँ कसैले कसैलाई ऋण दिनु भनेको नसकिने कुरा हो र कुनै व्यक्तिले इच्छा हुँदाहुँदै पनि आर्थिक सहयोग गर्न कठिन छ । एउटा रुटिनमा चलेको उसको जिन्दगी तपाईंलाई ऋण दियो भने त्यसमा रुकावट आउन सक्छ । त्यसैले आफ्नो इष्टमित्रहरुलाई धर्म सङ्कटमा पार्ने काम नगर्दा उचित हुन्छ । तपाईले नेपालमा जति पढेपनि यहाँ आइपुग्दा औंठा छाप भन्दा जतिकै हुने हुँदा केहि सीप सिकेर आउनु राम्रो हुन्छ । कुरा गर्दा सबै सजिलो लाग्ने र काम गर्दा यताको सिन्को उता सार्न नसक्ने हाम्रो आमचरित्र भएकोले र केवल ठुला ठुला कुरा  गरेको वा फलानो दाई र ढिस्कानो कमरेड भनेको भरमा यहाँ कसैले काममा नराख्ने भएको कारण पहिले नै बुद्धि पुर्याउनु राम्रो हो । हामीलाई नेपालमा हुँदा राम्रैसँग अँग्रेजी बोल्न जान्ने वा बुझ्ने भ्रम भएपनि यहाँ आएपछि आफ्नो हैसियत राम्रैसँग थाहा पाइने हुँदा केही अंग्रेजी भाषाको कक्षा लिन सक्यो भने राम्रो हुन्छ । त्यस्तै गाडी चलाउन नजान्ने हो भने लगभग अपाङ्ग जस्तै हुने भएकोले त्यसको तालिम पनि लिएर आएमा फाइदा नै हुन्छ । यहाँ गाडी चलाउन सिक्नु र नेपालमा सिक्नु पैसा लगभग उति नै हो, त्यहाँ नेपाली रुपियाँमा तिरे पुग्नेमा यहाँ त्यति नै डलर तिर्नु पर्छ, जस्तो नेपालमा गाडी चलाउन सिकाएको छ हजार रुपियाँ पर्छ भने यँहा छ हजार डलर तिर्नु पर्छ, जो एउटा सामान्य नेपालीको लागि निकै ठुलो रकम हो ।  यहाँ आउँदा नेपालमा आफन्त र साथीहरुलाई पैसा र उपहारहरु पठाई दिउँला भनेर बाचा गरेर नआउनुस, बचन दिए पछि मान्छेलाई आशा हुने र कुनै कारणवश त्यो पुरा गर्न सकिएन भने बेकारको तनाव हुन् जान्छ । हामी जस्तो तेश्रो बिश्वमा बसोबास गर्ने बासिन्दाहरुमा अरु भन्दा पृथक देखाउन  कसैले  हैसियत भन्दा धेरै खर्च गर्ने र कसैले अरुसँग मागेरै जिन्दगी चल्छ भनेर सोच्ने बानी हुन्छ । यी दुई किसिमका बानी हामी सबैमा धेरै वा थोरै छ, स्वीकार गर्ने/नगर्ने अर्कै कुरा हो । आफुसँग सुबिस्ता भएको समयमा र इच्छा पनि लागेमा कसैलाई सहयोग गर्नु राम्रो कुरा हो । तर, मेरो बिचारमा आफ्नो जिन्दगी आफैले चलाएका व्यक्तिहरुको लागि आफ्नो मेहनतको कमाई खर्च गर्नुभन्दा सक्ने जति कुनै समाजसेवामा खर्च गर्नुले अर्थ राख्छ ।  हामी धेरैमा यहाँका महिलाहरु त्यतिकै हाम्रो नजिक आउँछन् भन्ने ठुलो भ्रम छ । अब कसैलाई कोही भित्रैदेखि मन नै पर्न गयो भने अर्कै कुरा हो । तर, साधारणतया हामी उनीहरुको अगाडी चाउरे देखिने कारणले हामीलाई उनीहरुले खासै भाउ दिंदैनन् । महिलाहरुको मुख तथा अङ्गहरुमा ट्वाल्ल परेर हेर्ने तथा यौनजन्य टिप्पणी गर्ने क्रियाकलापलाई यहाँ गम्भिर अपराध मानिने हुँदा यदी कुनै कारण यौन उत्पीडनको घटनामा मुछिन गएमा जिन्दगी लगभग समाप्त हुन जाने हुँदा त्यो कुरालाई राम्रोसँग विचार गर्नुहोला । त्यस्तै बच्चाहरुलाई बोक्ने तथा गाला मुसार्ने जस्ता कार्यलाई पनि यहाँ अति नराम्रो मानिने हुँदा सफा मनले गरेको काम पनि उल्टो पर्न जान्छ । त्यसैले देश अनुसारको भेष गर्नु पर्छ । अर्काको घरमा हेरिरहने, फुल टिप्ने र कुकुर, बिरालो जस्ता पाल्तु जनाबरलाई आफुसँग भएको खानेकुरा दिनु पनि राम्रो मानिंदैन । त्यसैले यस्तो काम पनि नगर्नुहोला । त्यस्तै जता पायो त्यतै थुक्ने गर्नु अपराध सरह हुने हुँदा त्यो बानीलाई हटाउने प्रयास गर्नुहोला ।  अन्त्यमा, अमेरिकाको भिसा लिने बेलामा भर्ने फाराममा म आजसम्म कुनै कम्युनिस्ट पार्टीमा लागेको छैन र मैले त्यस्तो पार्टीलाई चन्दा दिएको छैन भन्ने प्रश्नको कोष्टमा टिक लगाएर आएपछि तपाईं नेपालमा छँदा जति सुकै ठुलो बामपन्थी भए पनि यहाँ आएपछि त्यो कुरा लागु हुँदैन र यसलाई यसै अनुसार मनन् गर्नुपर्दछ ।  अमेरिका आउन लाग्नु भएका व्यक्तिहरुलाई पंक्तिकारले केही अरुको देखेको र केही आफैले भोगेको आधारमा सल्लाह दिन खोजिएको हो न कि कुनै अमेरिकाको ज्ञाता भएर होइन । यसलाई यसै अनुसार बुझ्न पनि अनुरोध छ​ ।​​ प्रबुद्ध पाठकहरुबाट पाइने उचित सुझाब को स्वागत छ, तर अरुको कुरा सुन्न नचाहने र मेरो मात्र कुरा ठिक हो भनेर जिद्धी गर्ने मनोरोगी हरुलाई "राम" भन्नु बाहेक म सँग अर्को कुनै बिकल्प छैन ।  ​@twitter#naviinr​ http://bit.ly/2vvY75A

ktmpost · Aug 8, 2017 9:07 AM · 13,777 views

1 Reply

यो पोस्ट चाहिँ सत्य घटनामा आधारित जस्तो लाग्यो । नेपाली पाखेहरु सित ठ्याक्कै मेल मिलाप खाने ।

NepalPsycho · Aug 8, 2017 10:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all