जब पृथ्वीनारायण शाहले सम्झौता गरे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जब पृथ्वीनारायण शाहले सम्झौता गरे राजकुमार दिक्पाल शनिवार, साउन २१, २०७४ इतिहास मौलिक इतिहासप्रति ठूलो गौरव गर्छन्, लिम्बूहरू । धेरै इतिहासकारले लिम्बू जातिको प्रामाणिक इतिहास प्रकाशमा ल्याएका छन् । त्यही इतिहासको ज्ञानले उनीहरूमा आफ्नो इतिहासप्रतिको गौरव चुलिएको हो । इतिहासकार इमानसिंह चेम्जोङले सन् १९४८ मा सिक्किमको गान्तोकबाट ‘किरात इतिहास' प्रकाशमा ल्याए । त्यो बेला नेपालमा नेपाली इतिहासकारले इतिहाससम्बन्धी पुस्तक प्रकाशन गर्न सकेका थिएनन् । बाबुराम आचार्य र नयराज पन्तहरूमा इतिहाससम्बन्धी विशद ज्ञान थियो, तर राणाहरूको निरंकुशताका कारण उनीहरूको खोज र अनुसन्धानले प्रकाश पाउन सकेको थिएन । उनीहरूभन्दा अघि नै चेम्जोङले इतिहाससम्बन्धी पुस्तक प्रकाशन गरे । चेम्जोङको पहिलो प्रकाशनले नै लिम्बू जातिको अनेकौं ऐतिहासिक प्रसंग र प्रमाण प्रकाशमा ल्याइदियो । अन्य इतिहासकारहरूले पनि लिम्बू जातिको ऐतिहासिक प्रसंगहरू सप्रमाण प्रकाशमा ल्याइदिएपछि लिम्बू जातिमा आफ्नो इतिहासप्रतिको प्रेम र गौरव उच्च स्तरको हुन पुग्यो । तर, लिम्बू जातिको विषयमा प्रकाशमा आएका इतिहास र त्यसबाट स्थापित मान्यतालाई केही परिमार्जन वा संशोधन गर्न भने आवश्यक देखिन्छ । लिम्बू-गोर्खा युद्ध पाँच महिना मात्रै ? हालसम्म प्रकाशित इतिहाससम्बन्धी पुस्तकबाट प्राप्त ज्ञानका आधारमा लिम्बू इतिहास सम्बन्धमा एउटा मान्यता स्थापित छ । सारांशमा त्यो मान्यता यस्तो छ, ‘पृथ्वीनारायण शाहका सेनाले लामो समय लिम्बुवानमा लड्दा पनि जित हासिल गर्न नसकेपछि गोर्खाली सेना लिम्बू सुब्बाहरूसँग सम्झौता गर्न बाध्य भए । पृथ्वीनारायण शाहले १८३१ साउन सुदी २२ रोज २ मा लिम्बू सुब्बाहरूको नाममा एक लालमोहर जारी गरेपछि युद्धको अन्त्य भयो ।' यदि १८३१ साउन महिनामै युद्धको अन्त्य भएको हो भने गोर्खाली सेना र लिम्बू सेनाबीच छोटो समय अर्थात् केवल पाँच महिना युद्ध भएको ठहर्छ । के लिम्बू सेना र गोर्खाली सेनाबीच केवल पाँच महिना मात्र युद्ध भएको थियो होला त ? इतिहासशिरोमणि बाबुराम आचार्यले ‘नेपाल देशको निर्माण' शीर्षकमा इतिहासप्रधान पत्रिका ‘पूर्णिमा'को पूर्णांक ५० (भाद्र २०३८ः२२)मा उल्लेख गरेअनुसार युद्धका क्रममा विसं १८३० को चैत महिनामा गोरखाली सेना चैनपुर पुग्यो । लिम्बू र गोर्खाली सेनाबीच घमासान युद्ध भयो । यही युद्धमा सभाखोला किनारमा रघु रानासँग मल्लयुद्ध हुँदा वीर लिम्बू सेनापति काङ्सोरेलाई गोरखाली सेनाले छलकपट गरी मारेको प्रसंग हज्जन पेपरको भोल्युम ८५को पृष्ठ १३२ र १३३ मा उल्लेख भएको कमल तिगेला लिम्बू, भरत तुङघङ र भैरव आङ्लाले अनुवाद गरेको ‘हज्जन पाण्डुलिपिमा लिम्बू गोर्खा युद्ध' (२०६९ः२०-२१) मा पढ्न पाइन्छ । पृथ्वीनारायण शाहले १८३१ साउनमा लिम्बू सुब्बालाई दिएको लालमोहरमा यसअघि सेन राजाले जुन अधिकार उनीहरूलाई दिएका थिए, त्यो अधिकार आफूले पनि दिने उल्लेख गरेका छन् । यस लालमोहरमा श्रीजंग राय, श्रीफुङ राय र जमुन रायको नाममात्रै उल्लेख छ । इमानसिंह चेम्जोङको पुस्तक ‘किरात इतिहास' (२०५९ः४५-४६) अनुसार त्यस बेला १० लिम्बू १७ थुममा १२ जना नामी सुब्बा थिए । तीमध्ये फेदापको आतहाङको नेतृत्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र मेवाखोलाका रैनसिंह राय गोरखासँग मिले । चैनपुरमा घमासान युद्ध हुँदा त्यहाँका सुब्बा हार खाई सिक्किमतिर पसे । यता गोरखालीसँग नमिल्ने छथरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आआफ्नो गढमा बसी लड्दै रहे । तर, हातहतियारको अभावले उनीहरूले हार स्वीकार गर्नुपर्‍यो । आफ्नो देश छाडी सिक्किम पस्ने लिम्बू सुब्बाहरूले शत्रु सेनासित लड्न भने छाडेनन् । यो तथ्यबाट के बुझ्नुपर्छ भने गोर्खा र लिम्बूबीच १८३१ को साउन महिनामा भएको सम्झौता ठूलोचाहिँ थियो । तर, त्यो अन्तिम सम्झौता भने थिएन । त्यसपछि पनि यी दुई पक्षबीच बेलाबेलामा युद्ध भइरहेकै थियो । आफ्नो क्षेत्रबाट सिक्किम पलायन भएका लिम्बू सुब्बाहरूले बेलाबेलामा छापामार शैलीमा सीमाक्षेत्रमा रहेर युद्ध गरेको, सिक्किमसँग मिलेर चैनपुरमा ठूलै विद्रोह मच्चाएको र पछि माफी पाएकोजस्ता प्रसंगहरू केलाउँदै पल्लो किरात लिम्बुवानमा गोर्खालीले चाहेजस्तै शान्ति कायम हुन २० वर्ष लागेको इतिहास सप्रमाण यहाँ लेखिएको छ । सुदी २२ हुन्छ ? पृथ्वीनारायण शाहले तीन लिम्बू सुब्बाहरूसँग सम्झौता गरी दिएको लालमोहर विसं १८३१ साउन सुदी २२ रोज २ जारी भएको भनी हालसम्म प्रकाशित हुँदै आएको छ र लिम्बू इतिहासमा त्यही मान्यता स्थापित हुँदै आएको छ । हालसम्म यो लालमोहरको सक्कल पाउन सकिएको छैन । त्यो लालमोहर सारेर राखिएको अवस्थामा संकलन गरिएको देखिन्छ । पृथ्वीनारायण शाहले लामो समय लिम्बुवानमा लड्दा पनि जित हासिल गर्न नसकेपछि गोर्खाली सेना लिम्बू सुब्बाहरूसँग सम्झौता गर्न बाध्य भए । पृथ्वीनारायण शाहले १८३१ साउन सुदी २२ रोज २ मा लिम्बू सुब्बाहरूको नाममा एक लालमोहर जारी गरेपछि युद्ध अन्त्य भयो । लालमोहरमा उल्लेख गरिएको भाका र पछि उनका सन्तानले पनि लिम्बू सुब्बाहरूको नाममा जारी गरेको लालमोहर तथा रुक्काहरूले पनि पृथ्वीनारायण शाहले सम्झौता गरी लालमोहर जारी गरेका थिए भन्ने पुष्टि हुन्छ । तर, लालमोहर सार्दाको गल्तीले सुदी २२ हुन गएको हो भन्ने अनुमान गर्न सकिन्छ । यस प्रसंग पनि परिमार्जन तथा संशोधन हुन आवश्यक देखिन्छ । नेपालमा प्रचलित तिथि चन्द्रमास (लुनार क्यालेन्डर) अनुसार गणना गर्ने गरिएको छ । चन्द्रमाको रूप परिवर्तन हुँदै जाने गन्तीअनुसार तिथि गणना गरिन्छ । चन्द्रमा पूर्ण आकारमा र सबैभन्दा उज्यालो देखिने रातलाई पूर्णिमा भनिन्छ । पूर्णिमापछि चन्द्रमाको आकार घट्दै जाने र प्रकाश पनि धमिलो हुँदै जान्छ अर्थात् औंसी सुरु हुन्छ ।औंसीसम्मका यी दिनहरूको तिथि गणनालाई वदी अर्थात् कृष्णपक्ष भनिन्छ । औंसीमा चन्द्रमा देखिन्न । रात असाध्यै कालो हुन्छ । औंसीपछि चन्द्रमा सानो आधारमा देखिन थाल्छ । त्यसपछि चन्द्रमाको आकार बढ्दै जाने र प्रकाश पनि उज्यालो हुँदै जान्छ । पूर्णिमासम्मको तिथि गणनालाई सुदी अर्थात् शुक्लपक्ष भनिन्छ । यो क्रम सामान्यतया १५ दिनको हुन्छ । यसो हुँदा सुदी २२ सम्म पुग्दैन अर्थात् सुदी २२ हुँदैन । त्यसैले पृथ्वीनारायण शाहले लिम्बू सुब्बाहरूलाई जारी गरेको लालमोहर सार्ने क्रममा त्रुटि भएकाले यसमा पनि परिमार्जन र संशोधन गर्न आवश्यक छ । यस सम्बन्धमा एउटा विचारयोग्य पक्ष यहाँ उल्लेख गरिन्छ । पृथ्वीनारायण शाहले जारी गरेको उक्त लालमोहरको बेहोरा सरकारी निकाय अर्थात् पुरातत्वव विभागको मुखपत्र ‘प्राचीन नेपाल'मा पनि छापिएको छ । इतिहासकार तथा लिपिविज्ञ शंकरमान राजवंशीले पूर्वी नेपालको भ्रमण गरी उक्त लालमोहरको बेहोरा सङ्कलन गरेका हुन् । उनको ‘प्राचीन नेपाल'को संख्या ३ (वैशाख २०२५ः२९-३०)मा ‘पृथ्वीनारायण शाहका लालमोहर र धैवुङको अभिलेख' शीर्षक लेखमा छापिएको यो लालमोहरको तिथि र त्यसलाई मितिमा रूपान्तरण गरिएको विवरण विचारयोग्य छ । राजवंशीले छपाएको यस लालमोहरको बेहोरामा भने लालमोहर जारी गरिएको तिथि विक्रम संवत् १८३१ श्रावण सुदी १ रोज २ उल्लेख छ । पञ्चांगमा समेत राम्रो ज्ञान राख्ने उनले यो तिथीलाई हिसाब गरी निकाल्दा यो लालमोहर १८३१ साल साउन २७ गते सोमबार प्रतिपदा तिथि, घडी ३२ पला २९ मा जारी गरिएको उल्लेख गरेका छन् । यसअनुसार राजवंशीले उल्लेख गरेको र हालसम्म लिम्बू इतिहासमा स्थापित मान्यता फरक देखियो । लिम्बू इतिहासमा हालसम्म उल्लेख हुँदै आएको सुदी २२ नभई २२ गते हुनसक्छ । यसो हुँदा उनले निकालेको निष्कर्ष र साउन २२ गतेमा केवल पाँच दिनको फरक हुन आउँछ । फेरि राजवंशीले आफ्नो लेखमा उक्त सालको वैशाखको अधिकमास लिइएको छैन भनेका छन् । यसबारेमा पञ्चांग विशेषज्ञसँग बसेर छलफल चलाई निष्कर्ष निकाल्न सकिन्छ । सिमानामा छापामार युद्ध इमानसिंह चेम्जोङलाई उद्धृत गर्दै लिम्बुवानमा गोर्खाली आक्रमणपछि केही लिम्बू सुब्बाहरू सिक्किम गएका उल्लेख गरिसकिएको छ । यो कुरा स्वयं पृथ्वीनारायण शाहको एक भनाइबाट पनि स्पष्ट हुन्छ । उनले आफ्ना गुरु भगवन्तनाथदेवलाई पल्लो किरात लिम्बुवान आफ्नो अधिकारमा ल्याइसकेपछि आफ्नो विजयको बारेमा वि.सं. १८३१ भाद्र सुदी ६ रोज ६ मा लेखेको पत्र योगीनरहरिनाथले सम्पादन गरेको ‘इतिहास प्रकाशमा सन्धिपत्र संग्रह' (२०५५ः६-७) मा छापिएको छ । पत्रमा ‘किरात अम्बल भएको मधेशमा कन्काई नदी, पहाडमा सभाखोला तमोर नदीको साँध लागेको ८५ जनाभन्दा बढि काटिएको, कति भागेर मुगलान र कति सुखिमतिर गएको' भन्ने वाक्य परेको छ । यसरी सिक्किमतिर पसेका लिम्बू सुब्बाहरू सिमानामा रहेर आफ्नो भूमि फिर्ता गर्ने मनसुवाले लड्दै, लुटपिट गर्दै, अशान्ति मच्चाउँदै बसेका थिए । उनीहरूले गरेको यस्तो क्रियाकलाप आइन्दा नगर्न र यसप्रति माफी दिइएको र आफ्नै भूमिमा आएर बस्न आह्वान गर्दै राजा रणबहादुर शाहले ती लिम्बू सुब्बाको नाममा जारी गरेकोे लालमोहरको छायाँप्रति पाइएको छ । यो सामग्री भारतको मिरिकमा रहेका संस्कृतिविद् विरही काइँलाले साहित्यकार कविता राई ‘गाउँले'मार्फत यस पंक्तिकारलाई उपलब्ध गराएका छन् । १८४३ ज्येष्ठ सुदी रोज २ मा जारी यो लालमोहर देवपति राय, थामावुं राय, बहीनामसा राय, फेन्दुवा राय, शाभामुधा राय, थेवेसिं राय, जसमुषा राय, गोथिम राय, सां राय, नामसाहां राय, इगुमसेदी राय, पोतवा राय, ओङदेवा राय, फोवोहांग्या राय, यंवा राय, षिंभिदिंग राय र पात्लुवा राय गरी १७ जना लिम्बू सुब्बाको नाममा जारी गरिएको छ । यिनीहरू प्रायःजसो तमोरपूर्वका सुब्बाहरू हुन् । लालमोहरमा ‘हिजो तिमीहरूले पारि बसी लुटपीट गोवध खतछित् गर्‍याको सब माफगरिबक्यौं हाम्रा पिछा पर्‍यापछि गोवध नगर्नु पारी हुँदा गर्‍याको षत वापत तिमीहरूलाई कसैले दराउतम्बी गर्‍या अप्सरिया होला निमिषको साझो गरी टहलमा रुझु रहु तिमी सुबा सुबाहरूको षातिरजामासित पजनी भेटाई आज तम्रो खायन पायन जस्को जस्तो जस्तो छ जाँची बुझि लाजिमा माफिक बनाइबक्सौंला सर्वथा चाँडो गरी आव ढिलाइ नगर' भन्ने बेहोरा परेको छ ।पृथ्वीनारायण शाहले पल्लो किरात लिम्बुवान दखल गरेको १२ वर्षपछि रणबहादुर शाहले जारी गरेको यो लालमोहरको बेहोरामा पारी अर्थात् सिमानामा बसी लुटपिट गरेको भन्ने अर्थ लाग्छ । यसअनुसार उनीहरूले १२ वर्षसम्म छापामार शैलीमा युद्ध लड्ने र शान्ति भंग गर्ने काम गरिरहेकै थिए भन्ने स्पष्ट हुन आउँछ । १८४८ को लिम्बू विद्रोह नेपाल र तिब्बतबीच युद्ध चलिरहेको बेला विसं १८४८ मा सिक्किमले चैनपुरमाथि कब्जा जमायो । त्यस बेला चैनपुरमा सिक्किमका पक्षमा लागेर लिम्बूहरूले ठूलो विद्रोह मच्चाएका थिए । यो विद्रोह दबाइयो । यसमा पाँच सयजना सिक्किमे फौज र लिम्बू विद्रोहीको ज्यान गयो । चैनपुरको युद्ध र लिम्बूहरूको विद्रोहका बारेमा तत्कालीन राजा रणबहादुर शाहको नामबाट जाजरकोटी राजा गजेन्द्र शाहलाई युद्ध सकिनासाथ विसं १८४८ साल चैत शुक्ल २ रोज ६ मा लेखिएको पत्र ‘इतिहास प्रकाशमा सन्धिपत्र संग्रह' (२०५५ः६-७) मा छापिएको छ । यसबाट चैनपुर युद्ध र यसमा लिम्बूहरूको संलग्नताबारे बुझ्न सकिन्छ । पत्रअनुसार राजा रणबहादुर शाहले वर्णन गरेको चैनपुर युद्धको दृश्य यस्तो छ : (विजयपुरतिर अरुण नदीपार सुखिम चैनपुरमा चिनिया भोटेसमेत आए । लिम्बुवान लाप्चालाई भित्र खर्च दिएर विद्रोह गरी एक दुई जग्गा लिएको थियो । पाँच सात हजार वैरी आएका रहेछन् । विजयपुरका सुब्बा पूर्णानन्द उपाध्यायले पठाएको एक दुई कम्पनी फौज सामेल भई सिद्धपोखरीमा तीन ठूला ठूला खलंगा बारी बसेको बैरीलाई दुईतिरबाट छेकेर आक्रमण गरियो । बैरी पक्ष एकै जना पनि उम्कन नपाई काटिए । खलंगाभित्रै पाँच सय वैरीका गीड पुगेको थियो । करुवाङसहित काजी काटिए । अरु दुई चार जना पनि काटिए । यो थाहा पाएपछि हामीले बढाईं गर्‍यौँ, त्यतितिर पनि बढाईं गर्नुहोस ।) यस प्रसंग ‘प्राचीन नेपाल'को संख्या २४ ( श्रावण २०३०ः२) मा प्रकाशित ‘नेपाल देशको इतिहास'मा पनि परेको छ । यसमा उल्लेख भएअनुसार, शाके १७१३ किराती मूलुकमा लिम्बहरूले विद्रोह गर्दा सरदार बदलसिंह बस्नेत, सुब्बा पूर्ण पाध्या र सुब्बा अदल सैन्य लिएर विजयपुर गएका र बैरीको लस्कर ठूलो छ भन्ने खबर आउँदा काजी देवदत्त थापाको नेतृत्वमा काठमाडौंबाट फौज पठाइएको र सिद्धिपुरमा ठूलो लडाइँ हुँदा बैरी फौजलाई साफसँग काट्दै धपाएर कनकामा खाँडो पखाली कद्रुहीमा आइबसेको उल्लेख छ । लिम्बू विद्रोह विषयमा रणबहादुर शाहले त्यस समयका नामी लिम्बू सुब्बा सिर्देउ रायलाई लेखेको दुईवटा रुक्का प्राप्त भएका छन् । पंक्तिकारलाई यी रुक्का बेलायतनिवासी साहित्यकार तथा संस्कृतिकर्मी टंक वनेमले उपलब्ध गराएका हुन् । सिर्देउ रायको नाममा जारी १८५२ भाद्र सुदी ७ शुक्रबार जारी गरिएको रुक्कामा त १८४८ सालको विद्रोहबारे स्पष्ट उल्लेख छ । रुक्कामा विद्रोहको बेला भागेर मधेसलगायत अन्यत्र गएका लिम्बूहरूलाई बोलाउन र बस्ती बसाई भोगचलन गराउन भनिएको छ । रुक्काको बेहोरा यस्तो छ ः (स्वस्ति श्री मन्मंहाराजाधिराज कस्य रुक्का आगे. फागु. सिर्देउराईके. तेरो वावु. वराज्युका पालादेषिको किपटजिमिन. तेरा भाई विरादार. मुसा पर्जा. अठचालिस सालमा कुल हुँदा. भागि. ठडियाका. प्रजा. थामिबक्स्यौं. भोट. मधेश गयाका. झिकि. बस्ति बसाई. भोग्य गर. इति सम्वत १८५२ साल मिति अधिके भाद्र शुदि ७ रोज ६ कांतिपुर सुभम् ।)इतिहासशिरोमणि बाबुराम आचार्यले लिम्बूहरूले समेत सिक्किमे फौजलाई साथ दिएको १८४८ को युद्ध फागुन-चैत महिनामा भएको इतिहासप्रधान पत्रिका ‘पूर्णिमा'को पूर्णांक ६३ (चैत्र २०४१ः१३) मा उल्लेख गरेका छन् । तर, यो विद्रोह हुनु ६ महिनाअघि मात्र सिर्देउ रायकै नाममा रणबहादुर शाहले जारी गरेको अर्को रुक्कामा हिजो सिक्किमसित मिलेर लिम्बूहरूले विद्रोह गर्दा उनीहरू हारेको भए पनि कुनै कारबाही नगरिएको उल्लेख छ । रुक्कामा विजयपुरमा रहेका सुब्बा पूर्णानन्द उपाध्यायसँग सामेल हुन र उनले जता खटाउँछन्, त्यता झारा खटाउन पनि आदेश दिइएको छ । यो रुक्का १८४८ भाद्र सुदी २ सोमबार जारी भएको हो । यसबाट १८४८ सालको विद्रोहअघि पनि सिक्किमसँग मिलेर गोर्खाली फौजविरुद्ध लिम्बूहरू लडेका थिए भन्न प्रमाण प्राप्त हुन्छ । विसं १८३३ मा सिक्किमे फौज लड्दै चैनपुरसम्म आइपुगेका इमानसिंह चेम्जोङको ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास' (सन् १९७५ः१७४-१७६) लाई उद्धृत गर्दै रमेश ढुंगेलले ‘प्राचीन नेपाल'को संख्या ११३ (असोज २०४६ः८) मा उल्लेख गरेका छन् । यसबाट १८४८ मा चैनपुरमा भएको लिम्बू विद्रोह पहिलो थिएन भन्ने पुष्टि हुन्छ। १८३१ मा पृथ्वीनारायण शाहले दखलमा लिएको पल्लो किरात लिम्बुवान निक्कै पछिसम्म अशान्त थियो । यसको छनक मिल्ने एक पत्र राजा रणबहादुर शाहले विजयपुरमा प्रशासन चलाएर बसेका सुब्बा पूर्णानन्द उपाध्ययलाई लेखेको लालमोहरको भाकाले पनि स्पष्ट पार्छ । यस पत्रले लिम्बूहरूले बेला बेलामा विद्रोह गर्ने गरेको स्पष्ट संकेत प्राप्त हुन्छ । विसं १८५० आषाढ सुदी ७ मा लेखेको पत्रअनुसार पूर्णानन्दले राजदरबारमा खबर गरेअनुसार गान्तोकका मन्त्री छत्रजितले लिम्बूहरूलाई विद्रोह गर्न सल्लाह दिने गरेका थिए । यता रणबहादुर शाहले पूर्णानन्द उपाध्यायलाई सिक्किमका भोटेलाई मात्र नभई लिम्बूहरूलाई पनि विश्वास नगर्न आदेश दिएका पत्र रेग्मी रिसर्च सेरिजको वर्ष ३ अंक १२ (सन् १९७१ः२७८-२७९ ) मा पढ्न पाइन्छ । यी तथ्यहरूबाट के बुझ्नुपर्छ भने १८३१ को साउनलगत्तै लिम्बुवानमा युद्ध रोकिएको थिएन । लगातार दुई दशकसम्म यहाँ युद्ध, छापामार युद्ध र विद्रोह भइरहेको थियो ।

_____ · Aug 5, 2017 4:39 AM · 15,636 views

2 Replies

Is this fact or fiction? is the guy a historian? so many made up stories about history these days.

shiva_linga · Aug 6, 2017 4:50 PM

I do not know whether those thins are correct or not , but if they re correct then following points caught my eye. पृथ्वीनारायण शाहले १८३१ साउनमा लिम्बू सुब्बालाई दिएको लालमोहरमा यसअघि सेन राजाले जुन अधिकार उनीहरूलाई दिएका थिए, त्यो अधिकार आफूले पनि दिने उल्लेख गरेका छन् माथि को कुरा ले के देखाउछ भने प्रिथिवी नारयण शाह सके सम्म युध्ह नगरी मेलमिलाप द्वारा नै एकिकरण होस् भन्ने चाहन्थे र सकेसम्म अधिकार खोस्द्दैना थिए . यसरी सिक्किमतिर पसेका लिम्बू सुब्बाहरू सिमानामा रहेर आफ्नो भूमि फिर्ता गर्ने मनसुवाले लड्दै, लुटपिट गर्दै, अशान्ति मच्चाउँदै बसेका थिए । उनीहरूले गरेको यस्तो क्रियाकलाप आइन्दा नगर्न र यसप्रति माफी दिइएको र आफ्नै भूमिमा आएर बस्न आह्वान गर्दै राजा रणबहादुर शाहले ती लिम्बू सुब्बाको नाममा जारी गरेकोे लालमोहरको छायाँप्रति पाइएको छ । यो सामग्री भारतको मिरिकमा रहेका संस्कृतिविद् विरही काइँलाले साहित्यकार कविता राई ‘गाउँले'मार्फत यस पंक्तिकारलाई उपलब्ध गराएका छन् । त्यो बेला आफ्ना दुश्मन हरुलाई मार्ने चलन थ्यो, झन् दुस्मन सैनिक हरुलाई त दूख्हद मिर्तेउ दिन्थ्यो तर यहाँ रणबहादुर शाह ले माफी दिएको र आफ्नै ठाम मा आएर बस्न समेत भनेको बाट के देखिन्छ भने तिनीहरु सकेसम्म मेल्मिलाप्चाहंठे युध्ह होइन यो कुरा तल को रुक्क ले पनि भन्छ सिर्देउ रायको नाममा जारी १८५२ भाद्र सुदी ७ शुक्रबार जारी गरिएको रुक्कामा त १८४८ सालको विद्रोहबारे स्पष्ट उल्लेख छ । रुक्कामा विद्रोहको बेला भागेर मधेसलगायत अन्यत्र गएका लिम्बूहरूलाई बोलाउन र बस्ती बसाई भोगचलन गराउन भनिएको छ । त्यो बेला हर्ने सैनिक र कमान्डर लै मार्ने वा आरु राज्य मा धपाउने वा अनेक प्रकार ले दुक्ख दिने चलन थियो तर रण बहादुर शाह ले तर, यो विद्रोह हुनु ६ महिनाअघि मात्र सिर्देउ रायकै नाममा रणबहादुर शाहले जारी गरेको अर्को रुक्कामा हिजो सिक्किमसित मिलेर लिम्बूहरूले विद्रोह गर्दा उनीहरू हारेको भए पनि कुनै कारबाही नगरिएको उल्लेख छ यसो भने बाट के देखिन्छ भने, बिदेशी डलर पचाएर प्रिथिबी नरायण शाह संग राष्ट्र निर्माण गर्ने सोच थिएन, भौगोलिक एकिकरण गरेको भएपनि मानसिक एकिकरण को प्रयाश भएको थिएन भनेर कराउने हरु लाई गतिलो जबाफ मिलेको हुनपर्छ

_____ · Aug 7, 2017 3:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all