बिबेकशील पार्टी र साझा पार्टी एकताका बारे के भन्छन रबिन्द्र मिश्र र उज्ज्वल थापा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

११ साउन, काठमाडौं । विवेकशील पार्टी र साझा पार्टीको एकता घोषणा कार्यक्रम नयाँ वानेश्वरस्थित इन्द्रेणी बैंक्वेटको एउटा ठूलो हलमा आयोजना गरिएको थियो । हलभित्र दुवै पार्टीका नेता-कार्यकर्ता र पत्रकारहरु खचाखच थिए । करिब डेढ घन्टा लामो कार्यक्रममा एकीकृत पार्टीका सहसंयोजकद्वय रवीन्द्र मिश्र र उज्ववल थापाले मात्र बोले । सुरुमा दुवै नेताले भाषण गरे भने त्यसपछि प्रश्नोत्तर राखियो । दुवै नेतालाई एउटै हैसियतमा राखिएको भए पनि पुरै कार्यक्रममा थापामाथि मिश्र हावी भए । थापाको भाषण मात्र ७ मिनेटको थियो भने मिश्रको करिब २५ मिनेटको । थापाले संक्षिप्त र कुटनीतिक ढंगले बोलेका थिए भने मिश्रले तार्किक र विस्तारित शैलीमा । दुवै नेताहरुले आफ्नो भाषणमा ‘समृद्ध नेपाल’को सुगारटाई गरेका थिए । एकतामा दुवैलाई ‘सहसंयोजक’ पद दिइएकोमा हलभित्र प्रश्न उठ्यो, ‘दुवै जना सहसंयोजक भए संयोजक चाहिँ को ?’ यो प्रश्नको जवाफ नेताद्वयबाट आएन । उनीहरु मुखामुख मात्र गरे । एक पत्रकारले सोधे, ‘देशका ज्वलन्त राजनीतिक मुद्दाहरुमा तपाईंहरु किन कहिल्यै मुख खोल्नु हुन्न ? संविधान संसोधन र मधेस आन्दोलनलाई हेर्ने तपाईंहरुको दृष्टिकोण के हो ?’ यो प्रश्नको जवाफ दिन मिश्र अघि सरे । तर, उनले दुवै मुद्दामा मुख खोलेनन् । ‘हामीले अन्तरवार्ता दिएर तथा प्रेस विज्ञप्ति निकालेर आफ्ना धारणाहरु राख्दै आएका छौ,’ उनले यति मात्रै भने । संविधान संसोधन र मधेस आन्दोलनको विषयमा प्रवेश नै गरेनन् । अर्का पत्रकारले प्रश्न गरे, ‘तपाईंहरुले अंगाल्नुभएको राजनीतिक सिद्धान्त के हो ?’ यो प्रश्नको थापाले कुटनीतिक जवाफ दिँदै भने, भने, ‘नेपालमा कि त लेफ्ट कि त राइट हिँड्नेहरु छन् । हामी लेफ्ट पनि हिँड्दैनौं, राइट पनि हिँड्दैनौं, केवल फरवार्ड हिँड्छौं ।’ थापाको जवाफमा मिश्रले चित्त बुझाएनन् । ‘म केही थप्न चाहन्छु’ भन्दै माइक लिएर भने, ‘हामी लेफ्ट र राइटको बीचतिरै छौं, तर अलिकति लेफ्टतिर ढल्किएका छौं । किनभने हामी पहिलेदेखि नै लोककल्याणकारी राज्यको अवधारणामा विश्वास गर्छौं । सहभागीतामूलक लोकतन्त्रमा विश्वास गर्छौं ।’ अर्का सहभागीले प्रश्न राखे, ‘विवेकशील र साझा पार्टीलाई केही एलिटहरुको गफ गर्ने क्लवको रुपमा हेरिन्छ नि ?’ मिश्रले यसमा भने, ‘म डोटी र दार्चुलामा सुकुलमा बसेर पढेको मान्छे हुँ । पछि भाग्यले अलिकति प्रगति गरेँ । बीबीसीमा जागिर पाउनुअघि पनि मेरो आर्थिक स्थिति राम्रो थिएन । म कसरी एलिट भएँ ? हाम्रा अरु साथीहरु पनि मजस्तै हुनुहुन्छ ।’ अर्को प्रश्न आयो, ‘कांग्रेस एमाले र माओवादीलाई हेर्ने तपाईंहरुको दृष्टिकोण के हो ?’ जवाफमा मिश्रले भने, ‘अधिकारको लडाईंमा उहाँहरुले गर्नुभएको त्याग र तपस्याको हामी कदर गर्छौं, तर, देशलाई रुपान्तरण गर्नसक्ने उहाँहरुको क्षमतामा हामी प्रश्न गछौंं । त्यसैले विकल्पका रुपमा आएका हौं ।’ ‘तपाईंहरु देशलाई समृद्ध बनाउने भनेर रटेको रट्यै हुनुहुन्छ ? समृद्ध भनेको कुन स्तरमा पुर्‍याउने हो ?’ अर्को प्रश्न सोधियो । जवाफ मिश्रले नै दिए । उनले ०३० सालसम्म नेपाललाई मध्यम आय भएका मुलुकको सुचीमा उभ्याउने लक्ष्य रहेको बताए । ‘हामी अहिले नै देशलाई स्वीट्जरल्याण्ड बनाउछौं भनिरहेका छैनौं,’ उनले भने, ‘योजनावद्ध विकासको कुरा गरिरहेका छौं ।’ सहसंयोजक थापालाई सोधियो, ‘नयाँ शक्ति स्थापना हुँदा तपाईं दोस्रो तहको नेता हुने भनेर चर्चा भएको थियो । नयाँ शक्तिको कार्यक्रममा पनि जानुभयो । तर, पछि किन ब्याक हुनुभयो ?’ थापाले यसको खण्डन गरे, ‘कार्यक्रममा जाने वित्तिकै त्यही पार्टीमा प्रवेश गर्न लागेको भनेर अर्थ लगाउनु हुँदैन । म आफ्नो राजनीतिक अनुभव र आफूले सिकेका कुराहरु सुनाउन गएको थिएँ । यस्तो कार्यक्रममा अरुले बोलाए पनि जान्छु । हामी आफूमा रहेको पोजिटिभ भाइरस अरुलाई पनि सार्न चाहन्छौं ।’ ‘राजनीतिक दर्शक उस्तै भएकाले भविष्यमा नयाँ शक्तिसित पनि एकीकरणको सम्भावना छ कि छैन ?’ फेरि सोधियो । यसमा थापाले खुलेर जवाफ दिएनन् । ‘हामीसँग विचार मिल्ने जोकसैसँग मिलेर अघि बढ्न चाहन्छौं,’ यति मात्र भने । एक सहभागीले मिश्रमाथि आक्षेप लगाए, ‘तपाईंले नेपाललाई भारतमा मिसाउँदा के हुन्छ भनेर बीबीसीको कार्यक्रममा बहस चलाउनुभएको सुनेको थिएँ, यो सत्य हो कि होइन, भनिदिनुस् ।’ मिश्रले यसको खण्डन गरे । ‘यो अनर्गल प्रचार हो, आजभोलि कपोलकल्पित कुराहरु पनि सामाजिक सञ्जालमा हावासरी फैलिन्छन्,’ उनले भने, ‘मबाट यस्तो वाहियात काम हुनै सक्दैन ।’ २०७४ साउन ११ गते १८:०० मा प्रकाशित

ktmpost · Jul 26, 2017 10:33 AM · 4,734 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all