जब बुहारीले सासुलाई बिष खुवाउन थालीन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको सम्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा बसेर बाँकी जीवन बाँच्न उनलाई असह्य कष्टकर हुने देखियो । सासू पुरानो विचारकी, बुहारी आधुनिक सोचाइकी । कुरा कसरी मिल्नु र ? दिनहुँ भनाभन हुन थालिहाल्यो । दिन बिते, महिना बिते र वर्ष पनि बित्यो । न त सासूले बुहारीका विषयमा तीता टीकाटिप्पणी गर्न छाडिन् न त बुहारीले मुख फर्काउन । समस्या झन्भन्दा झन् खराब हुँदै गयो । आरती आफ्नी सासूलाई एकदम घृणा गर्न थालिन् । जब समाजका अन्य मानिसका अगाडि उनले सासूप्रति आदरभाव र शिष्टता प्रकट गर्नुपर्ने अवस्था आइलाग्थ्यो, उनलाई असह्य हुन्थ्यो । उनी सासूबाट छुटकारा पाउने उपायका बारेमा सोच्न लागिन् । तर हाम्रो समाज यही हो, भनेजति सजिलै सासूबाट मुक्ति मिल्दैन । त्यसमाथि लोग्नेले त्यस समस्यालाई वास्तै गरिदिएन भने नारी एक्लैले विद्रोह गरे पनि केही हुनेवाला छैन । एक दिन उनको सासूसँग निकै नराम्रो गरी झगडा भयो । लोग्नेले आमाको पक्षमा लागेर उनैलाई दोषी भनिदिए । उनी निराश, दुःखी र क्रोधित भएर माइत पुगिन् । आरतीका पिता आयुर्वेदका डाक्टर थिए । उनले पितालाई आफ्नो दुखेसो रुँदैरुँदै सुनाइन् । अन्त्यमा उनले भनिन्– ‘हजुरले अब मलाई कुनै कडा विष दिनुपर्यो । म त्यस दुष्ट बूढीलाई खानामा मिलाएर खुवाइदिन्छु । विष दिनुहुन्न भने म त्यस घरमा अब कहिल्यै पाइलो राख्तिनँ ।’ पितालाई छोरीको दुःखले दुःखी बनायो । उनले छोरीलाई प्रेमपूर्वक शिरमा थप्थपाए । उनले भने– ‘छोरी ! तिमीले आफ्नी सासूलाई विष खुवाएर मार्यौ भने ढिलोचाँडो पुलिसले पत्ता लगाएरै छाड्छ । तिमी जेल जानेछौ र मलाई पनि पुलिसले जेलको ढोकाबाट भित्र छिराउनेछ, किनभने विष दिएर षड्यन्त्रमा सघाएको आरोप मलाई पनि लाग्नेछ । यसो गर्नु ठीक हुँदैन ।’तर आरती आफ्नो ढिपीमा अडिग रहिन् । उनले भनिन्– ‘हजुरले मलाई विष दिनैपर्छ । जस्तोसुकै आपत् आइलागोस् बरु, तर अब म त्यस बूढीको मुख हेर्न चाहन्नँ ।’ पिताले केहीबेर सोचेपछि भने– ‘त्यसो भए तिम्रो खुसी ….। म के गर्न सक्छु र ? तर तिमीलाई पुलिसले हत्कडी लगाएर जेलमा हालेको देख्न म सक्तिनँ । मैले जसो भन्छु त्यसो गर्छौ भने मात्र म तिमीलाई विष उपलब्ध गराउन सक्छु । हुन्छ भने ‘हुन्छ’ भन …।’ ‘मैले के गर्नुपर्छ त ?’ आरतीले भनिन् ।पिताले विषको एउटा पुरिया हातमा दिँदै भने– ‘तिमीले हरेक दिन यो विषको एक चिम्टी मात्र सासूको खानामा सुटुक्क मिसाउनुपर्छ । विषको यति थोरै मात्राले कोही मरिहाल्दैन, बरु बिस्तारैबिस्तारै नजानिदो गरी शरीर शिथिल हुन्छ, भित्रभित्रै ऊ रोगाउँदै जान्छ र छ महिनाजतिमा मानिस मर्छ । तिम्री सासूलाई तिमीले दिनहुँ अलिअलि विष खुवायौ भने उनी विषका कारणले हैन प्राकृतिक कारणले मरेकी हुन् भनेर सबैलाई विश्वास हुन्छ ।’ पिताले फेरि भने– ‘तर तिमीले यो काम अत्यन्त होसियारीपूर्वक गर्नुपर्छ । ज्वाइँसाहेबलाई कत्ति पनि शङ्का हुनुहुँदैन । कुनै कारणवश तिमीले लापर्बाही गरिहाल्यौ भने तिमी र म दुवै जीवनभर जेलमा सड्नेछौँ । बुझ्यौ हैन कुराको गम्भीरता ? त्यसैले आजदेखि उप्रान्त तिमीले सासूसँग झगडा गर्न भएन, बरु उहाँको ठीकसँग सेवा गर्नू । कसैले तिम्रो बारेमा टीकाटिप्पणी गरिहाल्यो भने पनि तिमीले चुपचाप सुन्नू । कुनै पनि किसिमले जबाफ नफर्काउनू । भन, यो सब गर्न सक्छौ ?’आरतीले सोचिन्– ‘के भो र, पाँच–छ महिनाको कुरा त हो । त्यसपछि त बूढी मरिहाल्छे । यति समय त सहनै पर्यो नि ।’उनले पिताको आदेश पूर्ण रुपले पालन गर्छु भनेर विषको त्यो पुरिया लिएर गइन् । घर आइपुगेको भोलिपल्टैदेखि उनले सासूको खानामा हरेक दिन बडो होसियारीपूर्वक अलिअलि गर्दै विष मिलाउन थालिन् । उनले सासूका प्रतिको व्यवहारमा पनि परिवर्तन ल्याइन् । बूढीका तीता वचन पनि चुपचाप सहिन् । जतिसुकै रिस उठे पनि उनी त्यो रिस दबाएर अनुहारमा मुस्कान ल्याउन प्रयत्न गर्थिन् । उनी आफ्नी सासूको सेवा र टहल गर्न पनि थालिन् । राति सुत्ने बेलामा गोडासमेत थिचिदिन्थिन् । बूढी अब केही महिनाकी पाहुना मात्र थिइन्, त्यसो भएकाले बूढीका हरेक इच्छा पूरा गर्न उनी प्रयत्न गर्थिन् । उनका सबै कुरा सुनिदिन्थिन् । आरतीले सासूलाई मन पर्ने खाना र खाजाहरु तयार गरिदिन्थिन् । सोधीसोधी नयाँनयाँ परिकार बनाएर दिन्थिन् । सासूको राम्रो ख्याल गर्न थालिन् । उनका आज्ञा पालन गर्न थालिन् । केही हप्तामा सासूको व्यवहारमा परिवर्तन आयो । आफ्नो कुरामा बुहारीले जबाफ नफर्काएकाले बूढीको कचकचमा कमी आयो । बूहारीले आफ्नो सेवाशुश्रूषा गर्दा अब बूढी आशिष दिन पनि थालिन् । छरछिमेकमा आफ्नी बुहारीको बारेमा नचाहिँदा टिप्पणी गर्न पनि छाड्दै गइन् । बिस्तारैबिस्तारै समय बित्तै गयो । आरती हरेक दिन नबिराई विषको मात्रा बूढीको खानामा मिलाउँथिन् । चार महिना बितेपछि उनले विषको मात्रा अलिअलि गर्दै बढाउन पनि थालिन् । केही दिनमा विषको मात्रा पूरा भयो । यता उनको घरको वातावरण भने एकदम बदलिइसकेको थियो । सासू–बुहारीको झगडा एकादेशको कथा भइसकेको थियो । छिमेकी आइमाईहरुसँग आफ्नी बुहारीको निन्दा गर्न नथाक्ने सासू अब आफ्नी बुहारीको प्रशंसामा समय बिताउन थालिन् । बिस्तारै सासूले उनको पनि धेरै ख्याल गर्न थालिन् । बुहारीसँगै खान नपाउँदा उनलाई खाना खाएजस्तै हुन छाड्यो । सुत्नुअघि बुहारीसँग प्रेमपूर्वक बोलीचाली गर्न पाइनन् भने उनी रातमा ठीकसँग सुत्न पनि सक्न छाडिन् । छैटौँ महिना लाग्ने बेलासम्ममा आरतीले विचार गरिन्– सासू उनलाई आफ्नै छोरीलाई झैँ माया गर्न थालेकी छन् । हेर्दाहेर्दै आरतीले आफ्नी सासूमा आफ्नी आमाको प्रतिबिम्ब देख्न थालिन् । आफूले खुवाएको विषको असरले सासू मर्ने दिन नजिकिँदै आयो । आरतीलाई यस कुराले चिन्तित बनाउन थाल्यो । अब उनलाई लाग्न थाल्यो सासू नमरिदिऊन् । यस्तै ऊहापोहका बीच उनी माइत गइन् । उनले आफ्ना पितालाई भनिन्– ‘पिताजी, मलाई त्यो विषको असर समाप्त पार्ने औषधि दिनुहोस् । अब म आफ्नी सासूलाई मार्न चाहन्नँ । उहाँ सारै असल हुनुहुन्छ । मलाई उहाँ आफ्नै आमाजस्तो लाग्छ ।’पिता एकदम जोडले हाँसे । उनले हाँस्तै भने– ‘विष ? कुन विष ? मैले त तिमीलाई विष हो भनेर खाना पचाउने औषधिको पुरिया दिएको थिएँ । हाहाहाहा……।’ छोरीलाई सही बाटो देखाऔँ । आमाबाबुको कर्तव्य ठीकसँगले पूरा गरौँ …। (यो कथा मेरा राजस्थानी फेसबुक मित्र डालचन्द मेनारिया Dal Chand Menaria को वालबाट लिएर हिन्दीबाट नेपालीमा अनुवाद गरी यहाँसमक्ष प्रस्तुत गरेको हुँ । चित्र पनि उहाँकै वालबाट लिएको । कथा कस्तो लाग्यो ?) Copied and translated from my facebook friend Dal Chand Menaria’s wall.. Mr. Menaria is a school Principal in a school at Rajsamand, Rajasthan, INDIA. साभार: पुर्बेली खबर  Last edited: 02-Jun-17 10:27 AM

ktmpost · Jun 2, 2017 9:25 AM · 18,230 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all