अमेरिका अनुभव : नेपालमा अमेरिका मोह

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिका अनुभव : नेपालमा अमेरिका मोह - नवीन रायमाझी, काठमाडौं अमेरिका र अमेरिकासँग सम्बन्धित प्राय सबै कुरामा नेपाली समाज अत्यन्तै उदार र उत्सुक छ । भिसा पाएको समयदेखि नै बधाई नभन्ने कोहि हुँदैन, यद्यपी त्यो बधाईमा नेपालमा हुनेहरुले लौ यो पनि जाने भयो भन्ने इर्ष्या र अमेरिकामा हुनेहरुले लौ यो पनि आउने भयो भनेर कुनै सहयोग गर्नु पर्ला कि भन्ने डर वा पहिले आफुले आफ्नो बारेमा बढाईचढाई लगाएको गफ थाहा पाउने भयो भन्ने त्रास मिसिएको भने हुन्छ नै ।  आफुलाई वकिल दाबी गर्ने एक व्यक्तिलाई जुत्ता पसलमा बिक्रेताको रुपमा काम गरिरहेको देख्दा अर्को​ तर्फ मुन्टो फर्काएर बोल्दै नबोलेको अनुभव यो पंक्तिकारलाई छ । त्यस्तै मेरो छिमेकीको घरमा जेठी बुहारीले बच्चा पाउँदा म बुढीले अब यस्तो काम गर्न सक्दिन भनेर वर को सिन्को पर नसारेको र अर्की बुहारीले अमेरिकामा बच्चा पाउँदा सहयोग गर्न मख्ख परेर खुशी हुँदै अमेरिका आएको असमान ब्यवहार पनि मैले देखेको छु । यो अमेरिकाप्रतिको आकर्षण नभएर अरु केहि होइन । त्यस्तै विभिन्न कारणले अमेरिकाबाट फर्किनु परेका व्यक्तिहरुलाई पनि बढो सम्मानका साथ हेर्ने प्रचलन छ हाम्रो समाजमा, उ त "युएस रिटर्न" हो नि भन्ने शैलीमा । यहाँ टिक्न नसकेका, शरिरले बोझिल काम गर्न नसकेका र सरकारी तवरबाटै फ़र्काइएका अर्थात् डिपोर्ट भएका हरुले नेपाल पुगेर मलाई आफ्नै देश प्यारो लागेर फर्कें भनेर दिएको 'खोक्रो राष्ट्रबाद' को भाषण पनि हामी ध्यान दिएर सुन्छौं । अपवादको रुपमा यि माथी उल्लेखित कारणहरु नभएर पनि नेपाल फर्किनेहरु नभएका भने होइनन् ।  कुनै प्रतिष्ठित विश्व बिद्यालयमा अध्ययन गरेर काम गरेकाहरु बाहेक दैनिक आठ घण्टा काम गर्ने अधिकाँश नेपालीहरुको आम्दानी हप्तामा पाँच सय डलर भन्दा बढी हुँदैन । धेरै लामो समयसम्म जोगाएर राखेको पैसा नेपाली रुपैयाँमा विनिमय गर्दा मात्र धेरै देखिएको हो । यदी यहाँ कै मान्छेहरुले जसरी खर्च गर्ने हो भने एक पैसा पनि बच्दैन । रेस्टुरेन्टमा काम गर्नेहरुको कमाई तुलनात्मक रुपमा अरुको भन्दा बढी हुन्छ किनकी उनीहरुलाई खानाको लागि पैसा पर्दैन र कोहि कोहि त राति काम गर्ने स्थान मै टेबुल जोडेर सुत्ने भएकोले घर भाडा पनि जोगिन्छ । सामान्य पसल तथा किराना पसलमा काम गर्नेले पनि नेपालमा म सुपर मार्केटको म्यानेजर छु भनेर भनेको हुन्छ र उसले आफ्नो कमाई पनि ठुलो देखाएको हुन्छ । हाम्रो जस्तो गरिब समाजमा परिवारले त्यस्तै रुपमा आशा गर्दा त्यो कुरा पुर्याउन नसकेर घर परिवारसँग सम्पर्क बिहीन भएका मान्छेहरु पनि यहाँ प्रसस्तै छन् ।  एकातिर उनीहरुलाई घर परिवारसँग झुठो बोलेको अपराधबोध छभने अर्कोतिर परिवारको सम्झनाले सताउने चिन्ता छ । त्यस्तै नेपालबाट पनि कुनै कुरा नै नबुझेर अनेकौ किसिमका माग गर्ने गर्छन् । उदहारणको लागि यदि एकै पटक सबै पैसा तिर्न पर्ने भए आइफ़ोन, आइप्याड जस्ता बस्तु अधिकाँश नेपालीहरुले खरिद गर्न सक्दैनन्, धन्न मासिक रुपमा अलिअलि बुझाउँदा हुने कारणले त्यस्ता बस्तु प्रयोग गर्न सकेका छन् । नेपालमा रहेका व्यक्तिहरुले आइफ़ोन को माग गर्नु नाजायज छ किनकी त्यो सम्भव नै हुँदैन । यदी कसैले आफुलाई सम्पन्न भएको देखाउन मन मारेर पठायो भने पनि त्यसले जिन्दगी भरि सराप्छ । त्यस्तै विभिन्न कारण देखाएर पैसा माग्ने चलन पनि छ । यत्रो मेहनत गरेर कमाएको पैसा अरुलाई बाँढ्ने किन ? यदी दिन मन लागे पनि दिन नसक्ने अवस्था हुन्छ । यहाँ एउटा प्रकारले चलिरहेको जीवन कुनै कारणले तल माथि भयोभने उसले जिन्दगी भरि दु:ख पाउछ । आफुले अनावश्यक दु:ख पाएर अरुलाई पैसा दिने मुर्खता कसैले गर्ला जस्तो मलाई लाग्दैन । यदी गर्यो भने त्यो महान मुर्ख हो भन्ने बुझे हुन्छ । त्यस्तै नेपालबाट यता बस्नेहरुलाई किसिम किसिमका जानकारीहरु सोधेर हैरान पार्ने चलन पनि छ । ट्याक्सी चलाउने काम गर्नेलाई विश्वबिद्यालयको बारेमा सोधेर कुनै मतलब हुँदैन किनकी उसलाई त्यो फुर्सद पनि हुँदैन र उसले कुनै कुरा पनि बुझ्दैन । आजको समयमा एक क्लिकले सबै जानकारी पाउन सक्ने अबस्थामा त्यो नगरेर अरुलाई किचकिच गर्नु बेकार छ । यहाँका कलेजहरुका बारेमा यताबाट बुझ्नु र नेपालबाट बुझ्नु उस्तै हो केहि फरक छैन । त्यस्तै कुनै घटनाको बारेमा सोध्नु पनि बेकार छ, उदहारणको लागि लस एञ्जलसबाट न्युयोर्कको दुरी साढे पाँच घण्टा को हवाई उडानमा छ अर्थात् नेपालबाट जापानको दुरी जतिकै । अब एक ठाउँमा बस्नेले अर्को ठाउँमा भएको घटना थाहा पाउने भनेको पत्रपत्रिका र टेलिभिजनबाट नै हो, जसरी हामीले नेपालमा थाहा पाउँछौं । अब यस्तो अबस्थामा अनेकौ प्रश्न सोधेर उसलाई कि त हैरान बनाउनु हो कि त अर्थहीन ।  अमेरिका भित्रै एक ठाउँबाट अर्को ठाउँ तीन घण्टा समय फरक पर्ने अबस्थामा फोन गर्न त सोच विचार गरेर गर्नुपर्छ भने नेपालबाट त झनै सोच्नु पर्ने हो । मध्यरातमा अचानक नेपालबाट फोन आउँदा कुनै आपदविपद पर्यो कि भन्ने भान हुन्छ । आफुलाई सम्झेर स्नेह राखेर फोन गर्नुलाई अन्यथा लिएको त होइन । तर, माया गर्नेले पनि सोच विचार गरेर माया गरिदिए दुवै पक्षलाई फाइदा हुन्थ्यो । नेपालमा यदि सित्तैमा पायो भने हेरौन भनेर फोन घुमाउने प्रचलन छ । त्यसरी विना काम बेला न कुबेला फोन गर्दा सम्बन्धमा दरार आउने सम्भवना हुन्छ । तर, यहाँबाट काम पर्ने वा नपर्ने सबैलाई फोन गर्ने भनेको त्यो उसको मनोरन्जन हो, लगभग निशुल्क जस्तै पाउने इन्टरनेटको कारण अब फोन गर्नु कुनै ठुलो कुरा भएन । अमेरिकाबाट आएको फोनको महत्व जति हुन्छ त्यति महत्व नेपाल कै अर्को शहरबाट कसैले गर्यो भने हुँदैन ।  यी कुराहरुले शतप्रतिसत प्रतितिधित्व गर्छ भन्ने मेरो दाबी त छैन । तर, यो एउटा सामान्य अवस्था हो भनेर ठोकुवा भने गर्न सक्छु । यि माथि उल्लेखित कुराले एउटा व्यक्तिलाई मात्र मन नै देखि छोयो भने पनि म आफुलाई सफल भएको मान्छु, अब कसैले आफ्नो सत्य कुरा लुकाएर बाहिर पाखण्ड देखाउछ भने त्यो उसको व्यक्तिगत समस्या हो ।  प्रकाशित: जेष्ठ ९, २०७४ http://bit.ly/2rc7plY

ktmpost · May 24, 2017 9:55 AM · 15,572 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all